‘ट्रेण्डको पछि लाग्नुभन्दा आफ्नै पाराको गीत गर्न मनपर्छ’

आइतबार, ०१ भदौ २०७६, ११ : ५६ शुक्रवार
‘ट्रेण्डको पछि लाग्नुभन्दा आफ्नै पाराको गीत गर्न मनपर्छ’

हस्की स्वरका कारण छुट्टै पहिचान छ गायिका तृष्णा गुरुङको। ‘खनी हो यामु ए कान्छा’, ‘गाइने दाजै’, ‘साँझको बेला’,  ‘माया पिरती’लगायतका  हिट गीत गाएकी तृष्णा ब्यान्डमा पनि आबद्ध छिन्। प्रायः उनी आफैँ गीत लेख्छिन्। उनले हालै ‘माया मनभरि’ बोलको गीत सार्वजनिक गरिन्। लोक रकमा युवा दर्शकको मन जित्न सफल तृष्णासँग उनको सांगीतिक यात्रामा केन्द्रित रहेर रीना मोक्तानले गरेको कुराकानी:

नयाँ गीतको प्रतिक्रिया कस्तो आइरहेको छ ?
अँ, नयाँ गीत सोचेको भन्दा धेरै राम्रो भएजस्तो लाग्छ। युट्यूबमा अपलोड गरेको तीन दिनमै वान मिलियन (१० लाख) भ्यूज कटिसक्यो। अहिलेसम्मका प्रतिक्रिया उत्साहजनक छन्।

पहिलोपटक अरुको शब्दमा गीत गाउनु भएको होइन ?
हो, मोविन्द्र राईको कम्पोज मनपरेर उहाँलाई लिएकी हुँ। केही मेलोडिज अनि शब्दहरु थपेर गरेकी हुँ यसपाली। म धेरै अघिदेखि एकजना गीतकार खोज्दै थिएँ, जसको टेस्ट मेरो टेस्टसँग मिलोस्। मलाई अलिकति नेपालीपन, लोक अनि टिपिकल भाका मनपर्छ। मेरो ब्यान्डको भाइबाट मोविन्द्रसँग भेटघाट भयो। उहाँले धेरै गीत सुनाउनु भयो। त्यसमध्ये मैले ‘माया मनभरि’ नै रोजेँ।

त्यस्तो धेरै एक्टिङ आउँदैन मलाई। म त लाजले भुतुक्कै हुन्छु होला एक्टिङ गर्नुप-यो भने

नेपालीपन रुचाउनु हुन्छ संगीतमा ?
एकदमै (मन्द मुस्कानसँगै)। सबैको उस्तै टेस्ट हुन्छ भन्ने छैन। घरमा दाइहरु गितार बजाउने भएकोले होला पहिलेदेखि रक गीतहरु सुन्दै आएँ। समय र उमेरले व्यक्तिको सोचाइ र टेस्ट फरक हुँदै जाँदो रहेछ। मलाई भने अहिले झ्याङझ्याङझुङझुङ सुन्नै मन पर्दैन। त्यस्तो हुँदोरहेछ। मलाई सफ्ट पाराको आफ्नै भाका सुन्ने बित्तिकै, त्यो लोकगीत नै किन नहोस् त्यस्तो गीत सुनेँ भने निकै मनपर्छ। समयसँगै टेस्ट चेन्ज हुँदोरहेछ।

ब्यान्ड पनि खोल्नु भयो है, को–को छन् ब्यान्डमा ?  
एउटा ठूलो इभेन्टमा ब्यान्डसँग प्रस्तुति दिनै पर्ने थियो। यसअघि पनि अरु ब्यान्डसँग सहकार्य गर्दै आएकी थिएँ। तर, गत वर्ष सिक्किममा हाम्रो इभेन्ट थियो। अनि त्यसका लागि आफ्नो व्यक्तिगत ब्यान्ड त्यो पनि डरलाग्दो अभ्यास गरेर, लटरपटर होइन कि राम्रो गर्नुपर्ने भएको थियो। त्यसैले मैले मेरो एकजना ड्रमर साथीलाई ब्यान्डका लागि यो–यो खालको बाजागाजा बजाउने व्यक्ति चाहियो भनेँ। त्यसपछि विभिन्न ब्यान्डका उत्कृष्ट म्युजिसियनहरु लिएर ब्यान्ड बन्यो। ब्यान्डको नाम, ‘तृष्णा गुरुङ  एण्ड दि कोलाब’। ब्यान्डले नेपालको विभिन्न ठाउँमा प्रस्तुति पनि दिइसकेको छ।

मलाई बाँसुरी एकदमै मनपर्छ, त्यसैले ब्यान्डमा बाँसुरी पनि राख्या छौँ। बाँसुरीमा राहुल नेपाली, ड्रममा अजित तामाङ, गितारमा अभिषेक थापामगर, इलेक्ट्रिक गितारमा लुमन स्थापित, रिदममा सुरज थापा गरेर ब्यान्डमा ६ जना छौँ।

तपार्इं लिड भोकलिस्ट ?
त्यही भन्नुपर्ला है (हाँस्दै)।

ब्यान्डबाट नयाँ गीत निकाल्नुभयो त ?
ब्यान्डसँगै बसेर गीत निकाल्न अहिले गाह्रै भइरहेको छ। किनकि उनीहरु मसँग बजाउने बाहेक आ–आफ्नै ब्यान्डमा पनि बजाउँछन्। मसँग बजाउने बेला भने हामी एकै ठाउँमा हुन्छौँ। अरु बेला यहाँकै लोकल गीतहरु गरिराख्नुहुन्छ। म पनि व्यस्त, उनीहरु पनि व्यस्त। तर अहिले  मेरो १० वर्ष पुरानो गीत ‘तिमी र म’लाई विथ ब्यान्ड रिमेक गर्ने भनेर काम गरिसक्याैँ। ४० प्रतिशत काम सकिइसक्यो।

सोलो करियर नै यति हाइपमा हुँदा ब्यान्ड किन चाहियो ?
लाइभ ब्यान्ड भनेको लाइभ ब्यान्ड नै हुन्छ। त्यसको मज्जा छुट्टै गाउदा छैन। त्यसको मतलब ब्यान्डले नै गर्छ भन्ने छैन। राम्रो बजाउने हुनुप-यो। अनि मिहिनेती पनि। उहाँहरुसँगै म पनि मिहिनेती हुनुप-यो । मिहिनेत गरी अभ्यास गरी साधारण बजाउ, राम्रो बजाउ, दर्शकलाई मन छुने बजाउ। मेरो ब्यान्डमा सबै बुझ्ने नै हुनुहुन्छ। कहिलेकाहीँ लामो बाटो, गाउँ ठाउँमा ब्यान्ड पुग्न सक्दैनौं। दुवैलाई मिलाएर लगिरहेकी छु।

जति तपार्इं परिचित हुनुहुन्छ ब्यान्ड त्यति परिचित छैन। किन ?
एक वर्ष त भयो ब्यान्ड बनेको। यही बीचमा पनि कतिपय ठाउँमा  ‘कोलाब’ ब्यान्ड भन्ना साथै ए तृष्णा गुरुङको भन्ने भइसक्यो। अब चिनिन्छ बिस्तारै। मलाई पनि त कति वर्ष लाग्यो। रातारात आको त होइन नि।

महिलाको ब्यान्डलाई कसरी हेर्दा रहेछन् ?
नेपालको संगीत क्षेत्रमा मान्छेहरुको दिमाग अलि खुलिसकेको जस्तो लाग्छ । अरू फिल्डमा मलाई थाहा भएन। तर अहिले यो फिल्डका बुढापाका अनि परिवारमा पनि चेत खुलिसक्यो।

गीत लेख्न वर्षाको समय पर्खन्छु। ठ्याक्क झ्याल खोल्छु, कालो बादल आउँछ, सररर पानी पर्छ। काँडा उम्रिन्छ शरीरमा। त्यो जति चिच्याए पनि कसैले सुन्दैन। अनि त्यही बेला गीत लेख्छु। ‘कति बस्छौ परदेशमै’ बोलको गीत, म युके हुँदा आफैँले आफैँलाई कल्पना गरेर लेखेको गीत हो। त्यो बेला म बुवा र आमासँगै युके गएकी थिएँ। त्यहाँ त हेभी पानी पर्छ। पानी परेको बेला त्यो गीतको शब्द कोरेँ ‘कति बस्छौ परदेशमै देशै छोडेर, फर्की आउँ माछापुछ्रे हिमाल सम्झेर’।

ब्यान्डहरु फुटिरहेका छन्। लामो समय सँगै हुन सकिएला त ?
हामी इमोस्नल्ली अट्याच छौँ। उनीहरु मेरो परिवार नै हो। ब्यान्डमा यति धेरै जना छौँ। भोलिपर्सि कोही भाइहरुलाई विदेश जानुपर्ला। परिवारले पनि विदेश नै जाउ भन्छ भन्ने कुरा होला। त्यो बेला रोक्न त मिलेन। धेरै होस्, थोरै होस् म्युजिक नै गर्छु भन्ने पनि हुन्छ होला। अहिले सोच्दा पनि चित्त भने दुख्छ। उहाँको ठाउँमा अरु राख्नुपर्छ। टुट्न भने टुट्दैनौँ।

म्युजिक फिल्डमा कसरी प्रवेश भयो ? परिवारका कोही यो क्षेत्रमा थिए र ?
हाम्रो परिवारको कोही पनि यो म्युजिक फिल्डमा हुनुहुन्न। मेरो बुवा मेकानिकल इन्जिनियर । परिवारको टाढाटाढासम्म कोही छैन यो क्षेत्रमा। तर घरमै गाउने बजाउने माहोल हुन्थ्यो। बाबा बाँसुरी बजाउनु हुन्थ्यो। त्यही सुनिराख्थ्यौं हामी। जिनमै थियो भनुम न। हाम्रो दाइहरु भने साथीभाइसँग, ब्यान्डसँग गाउने बजाउने गर्नुहुन्थ्यो। अब दिनभरि घरमै बजाएपछि त मैले त सुन्न नै प-यो। इच्छा जाग्दै आयो संगीतमा। सानोमा बोली फुट्दा केही कुरा देख्यो भने आफैँ गीत गाउने गेर्थेँ रे आमाले भन्नुभएको। ठूलो भएपछि क्यासेट बजाएर गीत गाउन खोज्ने गर्थेँ। गितार भने दाइले बजाएको हेरिरहन्थेँ। दाइहरु जानु भएपछि गितारमा उहाँहरुले जुनजुन फ्रेडमा हात राख्नुहुन्थ्यो त्यसैमा हात राखेर बजाउन सिक्थेँ। त्यो देखेर सुरुमा दाइहरुले बजाउन दिनुहुन्थेन। मलाई दाइले सिकाउनु हुन्न जस्तो लाग्थ्यो। ठूलो भएपछि मैले बजाएको देखेर दाइले आफैँ सिकाउन थाल्नु भयो।

लजालु थिएँ। तै पनि गाइनै रहन्थेँ। कक्षामा कोही डाक्टर, इन्जिनियर बन्ने लक्ष्य राक्थे। म भने गायिका बन्छु भनेर भन्थेँ। हाम्रो पुख्र्यौली घर स्याङ्जा, त्यसपछि भैरहवा अनि अहिले काठमाडौं। भैरहवामा केही पढाइ सकेर वनस्थलीमा पढेँ, त्यसपछि ह्वाइट हाउसमा अनि क्याम्पेटमा ब्याचलर सकाएँ। पहिलो गीत ‘दैव जानोस्’ ११ मा पढ्दै गर्दा गाएँ। त्यो पहिलो सोलो फिचरिङ गीत थियो।

‘खनी हो यामु ए कान्छा’ले दर्शकमा तपाईंलाई चिनायो हैन ?
हो, ‘खनी हो यामु ए कान्छा’ले दर्शकमा मलाई चिनायो। हाम्रो नेपाली परिवारमा त डाक्टर बन्नुपर्छ है, नर्स बन्नुपर्छ है भन्ने हो नि। आफन्तहरुले पनि मलाई साइन्स लिएर पढ्नुपर्छ है भन्नुहुन्थ्यो। तर, मेरो परिवारबाट  त्यस्तो दबाब दिइएन। जे गर्नुपर्छ मनदेखि गर्नुपर्छ भन्नु हुन्थ्यो। मेरो ठूलो दाइ मनीष गुरुङले पैसाको पछाडि नलाग, आफ्नो काममा मिहिनेत गर भन्नु हुन्थ्यो।

त्यही दाइले म कक्षा ३ मा पढ्दा गितारको प्लगिङमा ‘खनी हो यामु ए कान्छी’ भनेर बजाउनुहुन्थ्यो। अनि दाइ नहुँदा म भने खनी हो यामु ए कान्छा’ भनेर गाउँथे। तर जब म ठूलो भएर म्युजिक फिल्डमा लागेँ। मेरो दाइ भने अहिले युकेमा आर्मीमा हुनुहुन्छ। मलाई भने त्यो भर्सन एकदम मनपर्ने, त्यसैले पछि त्यसमा अझ शब्द थपेर कम्पोज ग-यौँ। गीत बनाएर हिट हुन्छु भनेर सोचेकै थिएन। गीत गर्छु, जसरी तसरी गर्छु, भर्खर त स्टार्ट हो भन्ने थियो। बिस्तारै राम्रो हुँदै गयो।

‘खनी हो यामु ए कान्छा’ हिट भएको तीन महिनापछि मलाई फोन आउन थाल्यो। कन्सर्टको अफर आउन थाल्यो। देश विदेशमा प्रस्तुति दिने अफर आउन थाल्यो।

बीचबीचमा ‘डरलाग्दो’ शब्दलाई थेगो जसरी नै प्रयोग गर्नुहुन्छ। किन  ?
ल्हा, डरलाग्दो भनेँ हो (हाँस्दै)। डरलाग्दो भनेको चाहिँ खत्रा, हरिप के। थेगो भने होइन।

नयाँ गीतको शीर्षक ‘माया मनभरि’ छ। कोही स्पेसल व्यक्तिका लागि माया मनभरि छ कि छैन ?
अबुई, अहिलेसम्म त कोही पनि छैन है। अहिलेसम्म म गीत लेख्दा कल्पनामा डुबेर लेख्छु। ‘माया मनभरि’ पनि कल्पनामै लेखेकी हुँ। तर, जति पनि दर्शकश्राेता हुनुहुन्छ उहाँहरुका लागि माया मनभरि छ।

एल्बम निकाल्ने तयारी हो ?
एल्बम निकाल्न धेरै समय लाग्ने भयो। म र मेरो टिमले धेरै प्रयास गर्छौँ। इन्पुट धेरै लगाउँछौँ। एउटा गीत निकाल्न ६ महिना लाग्छ। कतिपय रेकर्डिङको एरेन्ज चित्त बुझेन भने रि–रिकर्डिङ गर्छौँ। भोकल चित्त बुझेन भने रिपिट गर्छौँ। भिडियोमा पनि सानो–सानो कुरामा याद गर्छौँ। यो ‘माया मनभरि’को पनि ३ चोटी सुट गर्यौँ। अब एउटा गीत निकाल्न ६ महिना लाग्छ। २ ओटा गीत निकाल्न वर्ष दिन।

बजारको ट्रेण्ड अर्कैतिर छ। तपाईं नेपालीपनतिर लाग्नु भएको छ, किन ?
आफ्नै पारामा आफ्नै धुनमा जान्छु भन्ने पनि होइन। बजारको ट्रेण्डअनुसार पनि जानुपर्छ। तर म के सोच्छु भने अहिले आधुनिक, रक, वेस्टर्नको जमाना छ। म ती सब सुन्छु। तर सबैजनाले त्यो फलो गरिदिँदा नेपाली देश बाहेक विदेशमा भएका कसैले नेपाली गीत सुनाउँनुस् भन्नुहोला। अब हाम्रो कति नयाँ जेनेरेसनको भाइबहिनी हुन्छ। उहाँहरु विदेशी गीत सुनेर हुर्कनुहुन्छ। त्यो हुँदै जाँदा टिपिकल नेपाली गीत सुरक्षित गर्ने कोही त हुनुप-यो नि । म मात्र होइन तर अरुले पनि गर्नु भएको छ। मैले नेपालीपन दिने प्रयास गरिरहेकी हुँ।

तपाईंको गीतमा नेपालको गाउँ, पाखा पखेरा देखिन्छ है ?
म त एक्लै बस्ने मान्छे हुँ। एक्लै बस्दा दिमागमा कति कुरा खेल्छन्। त्यसरी पनि म गीत लेख्छु। जब म गाउँको भाषा, शब्दहरु कोर्छु अनि त्यसलाई गितारमा अभ्यास गर्छु, आनन्द लाग्छ। मलाई एकदमै मन परेकोले पनि होला नेपालीपन देखाउँछु।
म कहिल्यै ट्रेण्डको पछाडि लागेकी पनि छैन। मलाई मनपर्छ, मनदेखि लेख्छु, मनदेखि गाउने प्रयास गर्छु।

तपाईंका लागि संगीत के हो ?
अब यो हो, उ हो त भन्न जान्दिनँ तर म्युजिकविना त म बाँच्न सक्दिन होला।

हेर्दा एकदमै खुलामन भएको देखिनुहुन्छ। तर शान्त स्वभावको हुनुहुँदो रहेछ।
म पहिला ठिकै बोल्ने मान्छे हो। त्यो भन्दा अघि त दिदीहरुसँग बस्दा, दिदीको साथीहरुले के–के सोध्नुहुन्थ्यो। मेरो मनमा जवाफ आउँथ्यो। तर बोली फुट्थेन। घोप्टो परेर बस्थेँ। अनि उहाँहरु ओइ तेरो बहिनी त बोल्दैन भनेर दिदीलाई भन्ने गर्नुहुन्थ्यो। बहिनी भनेर कोट्याउँदा घोप्टो परेर हजुर भन्थेँ। अब समयसँगै काम गर्दै जाँदा बोल्ने भएँ। अहिले ती दिदीहरु छक्क पर्नुहुन्छ। काममा पनि अहिले कहिल्यै नभेटेको मान्छेसँग पनि बोल्नुपर्छ नि त। संगीतले नै परिवर्तन ल्यायो।

तपाईंको हरेक म्युजिक भिडियोमा नयाँ प्रतिभालाई चान्स दिनुहुन्छ आफैँ मोडलिङ गरौं भन्ने हुँदैन ?
त्यस्तो धेरै एक्टिङ आउँदैन मलाई। म त लाजले भुतुक्कै हुन्छु होला एक्टिङ गर्नुप-यो भने (हाँस्दै)।

फिल्ममा गाउने अफर आएको छैन ?
आइरहेको छ। समयको अभाव भयो। भ्रमणका लागि विदेश जानुपर्ने थियो। अब फिल्मको त झटपट, डेट दिएको हुन्छ। कतिपय ठाउँमा चित्त पनि बुझेन। त्यसैले फिल्मको गीत गरिरहेको छैन।

पानी परेको बेलामा गीत फुर्छन् रे हो ?
हो। गीत लेख्न वर्षाको समय पर्खन्छु। ठ्याक्क झ्याल खोल्छु, कालो बादल आउँछ, सररर पानी पर्छ। काँडा उम्रिन्छ शरीरमा। त्यो जति चिच्याए पनि कसैले सुन्दैन। अनि त्यही बेला गीत लेख्छु। ‘कति बस्छौ परदेशमै’ बोलको गीत, म युके हुँदा आफैँले आफैँलाई कल्पना गरेर लेखेको गीत हो। त्यो बेला म बुवा र आमासँगै युके गएकी थिएँ। त्यहाँ त हेभी पानी पर्छ। पानी परेको बेला त्यो गीतको शब्द कोरेँ ‘कति बस्छौ परदेशमै देशै छोडेर, फर्की आउँ माछापुछ्रे हिमाल सम्झेर’।

विदेश मन पर्दैन ?
विदेश जान मन लाग्छ, त्यहाँको क्राउडलाई आफूतिर समेट्न मनपर्छ। उहाँहरुका लागि स्टेजमा गएर सँगसँगै गाउन मनपर्छ। तर लामो समय बस्न सक्दिनँ।

‘कति बस्छौ परदेशमै’मा त्यति चर्चामा आएन है  ?
आफूले मिहिनेत गर्ने हो। त्यसबाट सिक्नुपर्ने सिक्नु प-योे, लिनुपर्ने लिनु प-यो। यस गीतमा पनि हामीले मिहिनेत गरेका थियौँ। तर गीत रिलिज गर्ने बेलामा हतार गरियो। काम गञ्जागोल भयो। चिन्ता छैन। भोलि म बुढी भएपछि रिमेक गर्छु होला।

Leave A Comment