रहरै रहरमा निर्देशक

आइतबार, ०१ भदौ २०७६, ०२ : ५९ भोला अधिकारी
रहरै रहरमा निर्देशक

अभिनेत्री रेखा थापाले आफ्नै निर्देशनमा ‘हिम्मतवाली’, ‘राम पियारी’, ‘रुद्रप्रिया’ र ‘मालिका’ निर्देशन गरिन्। आफैँ फिल्म निर्देशनमा तम्सिने थापालाई यो पालि के भयो कुन्नि अर्कैलाई फिल्म निर्देशनको जिम्मा दिइन्।

नाम नजुरेको उनको पाँचाैँ फिल्मको निर्देशन गर्दैछिन् रेनशा वान्तवा राईले। राईसँग उनले सम्झौता गरिसकिन्।

उनको निर्देशनमा बनेको ‘हिम्मतवाली’ले लगानी सुरक्षित गरे पनि अन्य फिल्मले राम्रो व्यापार गर्न सकेन। प्रायः एक्सपेरिमेन्ट गर्ने उनका सबै फिल्मको मुख्य पात्र महिला हुने गर्छन्।

स्थानीय कलाकारलाई अनुबन्ध गरेर जोखिम पनि लिन्छिन् उनी। जस्तो ‘मालिका’मा उनले सुदूरपश्चिमकै स्थानीय युवतीलाई डेब्यु गराएकी थिइन्। उनको हिम्मतले बक्स अफिसमा कमाल गर्न भने सकेन। निर्देशनको जिम्मा अरूलाई नै दिनुको मूल कारण यही हो त ?

अहँ उनी स्विकार गर्दिनन्। उनी नयाँ फिल्मको क्यारेक्टरमा फिट हुन आफ्नो २० किलो वजन घटाउनुपर्ने भएकाले त्यता व्यस्त भएपछि रेनशालाई निर्देशनको जिम्मा दिएको उनको तर्क छ।

‘आफैँले निर्देशन गर्नैपर्छ भन्ने छैन। पहिला त म निर्माता हुँ,’ उनले शुक्रवारसँग भनिन्, ‘निर्माता र कलाकार पनि भएकाले जो कसैलाई निर्देशन गर्न लगाउन सक्छु। तर मैले फिल्म निर्देशन गर्न नसकेर हैन, नभ्याएर हो।’

उनले जे तर्क गरे पनि अर्को निर्देशन खोज्नुको कारण लगातार फ्लप हुनु नै मुख्य कारण देखिन्छ। अभिनय एक पाटो हो फिल्मको, निर्देशन अर्कै। अभिनयमा चल्दैमा निर्देशनमा पनि उस्तै नतिजा आउँछ भन्ने हुन्न। तर नेपालका केही कलाकार अभिनयको अनुभवकै आधारमा निर्देशनमा हाम फाल्ने गरेका छन्। र आलोचित हुने गरेका छन्।

निर्देशनमा उनीहरुको अनुभव आफूले अभिनय गरेको फिल्ममा निर्देशकले गरेको काम मात्रै हो। अभिनयसँगै निर्देशनसम्बन्धी औपचारिक कोर्स गरेर हात हाले त ठिकै हो। देखेकै भरमा ‘ए यत्तिको त गर्न सकिहाल्छु नि’ भनेर हामफाल्दा अधिकांशको हालत रेखाको भन्दा भिन्न छैन।

केही फिल्म व्यापारिक रुपमा सफल भए। तर फिल्मको निर्देशकीय पक्ष कमजोर नै देखिन्छ। समीक्षकबाट राम्रै दनक भेट्ने गरेका छन् रहरैमा निर्देशक बन्ने कलाकारले। तै पनि यो क्रम रोकिने लक्षण भने छैन।

केही कलाकार अभिनयको अनुभवकै आधारमा रहरै रहरमा निर्देशक बने, तर नतिजा उत्साहजनक नभएपछि पछि हटे, कोही ढिपी कस्दै निर्देशनमै छन्।

हास्य सिरियल ‘तीतो सत्य’ बाट अभिनयमा जमेकी अभिनेत्री दीपाश्री निरौलाले ‘छक्का पञ्जा २’ निर्देशन गरिन्। फिल्म निर्देशन उनको बाध्यता थिएन। ‘छक्कापञ्जा’ व्यापारिक रुपमा सफल भएपछि हौसिएर सिक्वेलको निर्देशनमा आफैँ हाम फालिन्। व्यापारिक हिसाबमा फिल्म हिटै भयो। तर कन्टेन्ट र निर्देशनपक्ष आलोचित भयो। उनले ‘छक्कापञ्जा ३’ पनि निर्देशन गरिन्। तर पारा उस्तै। समीक्षकले निर्देशनपक्षको खुलेर आलोचना गरे।

‘छक्कापञ्जा’ को सिक्वेल छाडेर सोही समूह ‘छ माया छपक्कै’ को निर्माणमा जुट्दा भने निर्देशक फेरिए। दीपेन्द्र लामाले फिल्मको निर्देशन गरे। ‘छक्कापञ्जा४’ को निर्देशन भने उनैले गर्ने बजार हल्ला छ। तर फ्लोरमा कहिले जान्छ सो फिल्म एकिन छैन।

अभिनेत्री झरना थापा ‘ए मेरो हजुर’ को दोस्रो र तेस्रो सिक्वेलमा अभिनेत्रीबाट निर्देशकको भूमिकामा देखिइन्। दोस्रो सिक्वेल व्यापारिक रुपमा सफल भयो तर छोरी सुहानालाई लिएर बनाएको तेस्रो सिक्वेलले सोचेजस्तो नतिजा दिन सकेन। समीक्षकबाट कटु आलोचना व्यहोरिन् उनले।

रहरैरहरमा आफूबाट भएको कमजोरी स्विकार्नुको साटो उनी ‘महिला निर्देशकलाई हेप्ने’ भन्दै उल्टै बम्किइन्। हिन्दी फिल्मका घिसिपिटी प्लटमा फिल्म बनाउने गल्ती गरेको स्विकारिनन्।

टेलिसिरियलमा लेखन, निर्देशनका साथ अभिनय गर्दै आएका हास्य कलाकार शिवहरि पौडेलले  ‘लक्का जवान’ मार्फत ठूलो पर्दाको फिल्मको निर्देशनको अनुभव बटुल्ने मुडमा छन्।

कुनै समय नेपाली फिल्ममा एक्सन हिरोका रुपमा राज गरेका अभिनेता निखिल उप्रेतीले ‘भैरव’ फिल्म निर्माण र निर्देशन गरे। ‘भैरव’ मार्फत ४ वर्ष अगाडि कमब्याक गरेका उनको प्रयास सफल भएन। उनको फिल्म ‘पिँजडा’को सिक्वेल ‘पिँजडा ब्याक अगेन’ मा अभिनय गरेका थिए। तर फिल्मले दर्शकलाई हलसम्म तान्न सकेन। अहिले ‘आयो भैरव’ को तयारीमा रहेका उनी आफैँ निर्देशन नगरी भारतको साउथतिरको निर्देशक ल्याउने मुडमा छन्।

यता अर्का एक्सन अभिनेता विराट भट्ट ‘साङ्लो’ बाट निर्देशनमा डेब्यु गरे। फिल्म रिलिज भइ नसकेकाले उनको निर्देशकीय क्षमता परीक्षण हुन पाएको छैन।

अभिनेत्री केकी अधिकारीले ‘कोहलपुर एक्सप्रेस’ फिल्म बनाइन्। फिल्ममा पूरै भारतीय फिल्मको कपी भएको रहस्य खुलेपछि उनी अहिले चुपचाप छिन्। उनले दोस्रो फिल्म निर्देशनको हिम्मत गर्छिन् या होस् भनेर अभिनयमै केन्द्रित हुन्छिन् मुड खुलिसकेको छैन।

नायक राजेश हमाल पनि फिल्म निर्देशनको मुडमा देखिएका छन्।  तीन वर्ष अगाडि ‘शकुन्तला’ फिल्म प्रदर्शनमा आएपछि उनको कुनै फिल्म आएको छैन।

सञ्जालमा ‘मेरो मनसाय फिल्म खेल्नेभन्दा पनि निर्देशन गर्ने मुड आइरहेको’ लेखे पनि कुन कहिले उनी निर्देशकको भूमिकामा आउँछन् खुलेको छैन। अघिल्लो महिना स्टोरीको ड्राफ्ट तयार भइसकेको र छिट्टै छायांकनमा जाने दाबी गरेका थिए।

एभरेज अभिनय भएकी नायिका प्रियंका कार्की पनि फिल्म निर्देशनको मुडमा छिन्। उनले यसको प्रारम्भ वेभ सिरिजबाट गर्दैछिन्। त्यसको टिजर समेत आइसकेको छ।

 

फिल्म निर्देशन गर्ने सबै कलाकार असफलै हुन्छन् भन्ने हुन्न। वरिष्ठ कलाकार तथा नीर शाह पनि निर्देशकको भूमिकामा समेत देखिँदै आएका छन्। कलाकारको रुपमा उनी जति सफल छन् उनका केही फिल्म पनि उत्तिकै राम्रा छन्।  शाहले ‘वासुदेव’, ‘मसान’ लगायतका फिल्म निर्देशन गरेका छन्।

निर्देशनमा किन कमजोर छन् कलाकार ?
फिल्म समीक्षक गोकर्ण गौतम फिल्ममा अभिनय गर्दा जे जति फिल्म निर्माणको सेट देखे त्यसैको भरमा निर्देशनमा हाम फाल्दा समस्या देखिएको बताउँछन्।
‘अभिनय गर्दा  कसरी खिच्नुपर्दो रहेछ भनेर सेटका बारेमा जानेका होलान् बाँकी काममा त अपुरो नै हुन्छन्। उनीहरुले भित्री कुरा बुझेकै हुँदैनन्,’ गौतमले भने, ‘एक दुईजना निर्माता खोज्ने, उनीहरुलाई मुर्गा बनाएर फिल्म निर्माण गर्ने तर फिल्मका बारेमा सबै जानेको छु भन्दा समस्या देखिएको छ।’

‘मुर्गा खोजेर निर्देशक बन्नु कसरी राम्रो’: गोकर्ण गौतम, फिल्म समीक्षक,

 

कलाकारबाट निर्देशनमा आएकाहरू किन नजमेका ?
कलाकारले निर्देशन गरेका कतिपय फिल्म चलेका छन्। तर फिल्म चलेका छन् भन्दैमा उनीहरुले बनाएको फिल्म राम्रो छ भन्न मिल्दैन। कलाकारहरुले फिल्ममा अभिनय गर्दा जे जति फिल्म निर्माणको सेट देखे। त्यो देखेको भरमा फिल्म निर्देशन गर्छु भनेर लाग्नु राम्रो होइन। कलाकारले  फिल्ममा अभिनय गर्दा कसरी खिच्नुपर्दो रहेछ भनेर सेटका बारेमा जानेका होलान् बाँकी पक्षको ज्ञान त अपुरो नै हुन्छ। उनीहरुले भित्री कुरा बुझेकै हुँदैनन्।

फिल्म हिट पनि भएका छन्। कसरी नराम्रो भन्ने ?
फिल्म चलेर हिट हुनु ठूलो कुरा होइन। राम्रो मेकिङ मुख्य पाटो हो। वर्षौंसम्म फिल्ममा अभिनय गरेर निर्देशन गर्न सक्छु भनेर आँट गर्नु राम्रै होला। तर उनीहरुले बनाएको फिल्ममा निर्देशकीय पक्ष राम्रो देखिँदैन। कलाकार भनेको क्यारेक्टर हो। उसले राम्रो अभिनय गरेर दर्शक रिझाउन सक्छ। तर राम्रो फिल्म बनाउनका लागि निर्देशन नै गर्छु भनेर लाग्नु सजिलो नहोला।

हेरेकै भरमा कलाकार निर्देशक बन्नु भनेको पत्रिकामा डिजाइनरले रिपोर्टिङ गर्न जान्दछु भने जस्तो हो। उसले रिपोर्टिङ गर्न सक्दैन। उसलाई समाचारमा कहाँ के पुगेन भन्ने कुरा थाहा हुन्छ तर फिल्डमा निस्केर काम गर्न गाह्रो हुन्छ।

कलाकार हुँदै निर्देशनमा आउनु गलतै हो त ?
कलाकार हुँदै निर्देशनमा आउनु बेठिक होइन। तर पढेर, बुझेर आए राम्रो। निर्देशक बन्न सजिलो छैन। यो कठिन काम हो। एउटा सम्पूर्ण फिल्म बोक्ने काम निर्देशकको हो। कलाकारलाई फिल्ममा कलाकार कसरी प्ले गराउने भन्ने ज्ञान कम हुन्छ। निर्देशकीय पढेर आएकाले दिमाग लगाएर काम गरेका हुन्छन्।

अहिले देखिएको कमजोरी के हो ?
अहिलेको कमजोरी भनेको यसो कलाकारले एक दुईजना निर्माता खोज्ने, उनीहरुलाई मुर्गा बनाएर फिल्म निर्माण गर्ने तर फिल्मका बारेमा सबै जानेको छु भन्ने। यही हो। आफ्नो निर्देशकीय क्षमता के कति छ भनेर नजानी निर्देशकमा हात हाल्नु नै अहिलेको कमजोरी हो।

Leave A Comment