स्तनपान र यौनको सम्बन्ध

मङ्गलबार, ०३ भदौ २०७६, १२ : ५३ डा. दिनेश बाँस्ताेला
स्तनपान र यौनको सम्बन्ध

औसतमा महिला महिनावारी भएको दिनदेखि २८४ दिनमा गर्भमा रहेको भ्रुण पूर्ण बयस्क भई आमाको भित्री शारीरिक वातावरणबाट बाहिरी वातावरणमा जन्मन्छ। त्यसैगरी महिलाको भ्रुण र शुक्रकिट निशेचित भएको २७० दिनमा गर्भमा रहेको भ्रुण जन्मन्छ।

यौन र स्तनपानको मामलामा बुझ्न जटिल भए पनि स्तनपानलाई प्रश्रय दिनै पर्छ। स्तनपानको परिणामले नवजात शिशुलाई त फाइदा हुन्छ नै। बुवा–आमा र परिवारलाई समेत शारीरिक तथा मानसिक रुपमा स्वस्थ सन्तति हुँदा खुसी प्राप्त हुन्छ।

कतिपय समाजमा स्तनपान र यौनका विषयमा नकारात्मक भ्रम छन्। त्यसो त कतिपय व्यक्तिमा पनि स्तनपानका विषयमा नकारात्मक भ्रम नभएका हैनन्। भ्रमलाई भने चिर्नै पर्छ। आमाले शिशुलाई लामो समयसम्म स्तनपान गराउँदा आमाको यौनमा असर गर्छ भन्ने भ्रम चिर्न आवश्यक छ। स्तनपान गराउने महिलाको यौन सम्पर्क नकारात्मक हैन सकारात्मकै हुन्छ। आन्नददायी हुन्छ।

विशेषगरी स्तनपानको समयमा यौन सम्पर्क गर्ने कि नगर्ने भन्ने अन्योल पहिलोपटक बुवा–आमा भएको यौन जोडीमा हुन्छ। दोस्रो वा तेस्रो सन्तान जन्माइसकेका बुवा–आमामा पनि यो समस्या दोहोरिन्छ। पुरानो कुरा भुल्नाले समस्या दोहोरिएको देखिन्छ। त्यसैले सन्तान जन्माउने र त्यसको स्याहार सुसार गर्ने विषय हरेक पटक बुवा–आमालाई स्वाभाविक रुपमै हुन्छ। त्यसैले स्तनपान र यौनको विषयमा बुवा–आमा (यौन जोडी) विद्यार्थी नै भएको पाइन्छ।

स्तनपान नगराउँदा चाँडै गर्भ
शरीर विज्ञान र स्तनपानको भूमिका बुझ्न आवश्यक छ। आमाले नियमित रुपमा आफ्नो शिशुलाई स्तनपान गराउँदा गर्भनिरोधको कामसमेत हुन्छ। सामान्यतः स्तनपान गराइरहेको निश्चित समयसम्म यौन सम्पर्क गर्दा पनि गर्भ रहँदैन। यस सम्बन्धमा यौन जोडीले थाहा पाउन जरुरी छ।

सामान्यतः स्तनपान नगराउने महिलाको भ्रुण जन्मेको ६ हप्तापछि नै रजश्वला  हुन्छ। शिशुको मृत्युलगायतका कारण आमा शिशुलाई स्तनपान गराउने अवसरबाट वञ्चित हुन पुग्छन्।  स्तनपान गराइरहेको महिलाको भने २६ हप्तापछि मात्र रजश्वला हुन्छ। त्यसैले स्तनपान गराउने महिलाको रजस्वला ढिलो सुरु हुन्छ। भ्रुण निष्कासन पनि ढिलै हुन्छ।

स्तनपान गराइरहने महिलाको सामान्यतः परिवार नियोजनको साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा पनि २६ हप्तासम्म गर्भ रहने सम्भावना अत्यन्तै न्यून हुन्छ। शरीरक्रिया विज्ञान अनुसार स्तनपान गराइरहेको महिलाको पाठेघर र योनि सामान्य (गर्भवती हुनु पूर्वको) अवस्थामा चाँडो फर्कन्छ। यसको अर्थ स्तनपान गराइरहने महिलाको पाठेघर खुम्चने र योनिको मांशपेशी चाँडो कसिला हुन्छन्।

स्तनपान नगराउने महिलाको पाठेघर र योनि सामान्य अवस्थामा फर्कन तुलनात्मक रुपमा केही महिना बढी समय लाग्छ। योनि तथा मांशपेशी सामान्य र कसिला हुन स्तनपान गराउने महिलाको तुलनामा बढी समय लाग्छ।

त्यसैले स्तनपान गराइरहने महिलाको यौन सम्पर्क जति सहज र आनन्ददायी हुन्छ, त्यति स्तनपान नगराउने महिलाको आनन्ददायी हुन्न। यसको अर्थ स्तनपान नगराउने महिलामा यौन सम्पर्क केही महिना नगर्नु नै उचित हुन्छ। एक त पाठेघर सामान्य अवस्थामा खुम्चन्न भने अर्कोतर्फ योनिका मांशपेशी कसिला हुन्नन्।

शिशु जन्मिएपछि महिला सामान्य अवस्थामा फर्कन ६ महिना लाग्छ। यसरी हेर्दा स्तनपान गराउने महिलाले ६ महिनापछि र स्तनपान नगराउने महिलाले एक वर्ष पछि यौन सम्पर्क गर्नु शारीरिक दृष्टिकोणले उचित हुन्छ।

सामान्यतः महिलाको पाठेघर, योनि र ‘पेल्भिक फ्लोर मांशपेशी’ कसिला हुन्छन्। यौन सम्पर्क भन्ने विषय शारीरिक भन्दा मानसिक र व्यवहारको बाहुल्यताले गरिने कार्य भएकाले व्यक्ति मानसिक रुपमा तयार भएपछि शारीरिक रुपमा यौनका लागि तयार हुन्छ।

फोहोर निष्कासन
स्तनपान गराइरहने महिलाको मस्तिष्कबाट अक्सिटोसिन नामक हर्मोन निष्कासन भई पाठेघर र योनिका मांशपेशी र स्तनको ‘मायाइपिफेलियल’ कोषमा काम गर्छ। अक्सिटोसिनको कारण स्तनको ‘मायोइपिफेलियल’ कोषको दुवै कोषभित्रको कोषिका खुम्चिएर दूध निष्कासन हुन्छ। योनि पनि स्तनपान गराउने क्रममै खुम्चन्छ। पाठेघरमा भएको अनावश्यक फोहोर रगत पनि यसरी योनि खुम्चने प्रक्रियाका क्रममा बाहिर निष्कासन हुन्छ।

मस्तिस्कबाट अक्सिटोसिन निस्कने र योनि, पाठेघर र स्तनका ‘मायाइपिफेलियल’ कोषको केसिकामा कार्य सम्पादन गरेरै यौन उत्तेजना आउन सक्छ। कोषिकासम्म हर्मन पुग्नाले यस्तो हुन्छ। त्यसैगरी पुरुषमा पनि अक्सिटोसिन हर्मनले यौन आकर्षण र यौन सम्पर्कको समयमा पुरुषको जनेन्द्रियमा काम गर्छ।

यदि यौनजन्य क्रियाकलापले उत्तेजित भएकी महिला छिन् भने स्तनपान गराइरहेको समयमा योनिजन्य चिप्लो पदार्थ थोरै निस्कन सक्छ। निस्काषनै नहुन पनि सक्छ।  स्तनपान गराइरहेको अवस्थामा यौन सम्पर्ककालागि यौन रसादि ननिस्कन सक्छ।

महिलाले स्तनपान गराइरहेको समयमा कामोत्तेजना आउँदा ‘दुधको फोहोरा रिफ्लेक्स’ विकसित हुन्छ। यस्ता क्रियाकलाप आमाको अनुभव र स्तपान गर्ने बच्चाको उमेरमा पनि भर पर्छ। चिकित्सकीय अध्ययनअनुसार महिलाले स्तनपान गराउने क्रममा यौनानन्द लिन सक्छन्।

छैन घाटा
महिलाको स्तनको मुन्टो छुँदा, यौन जोडीले चलाउँदा, समाउँदा दूधको मुन्टो अत्यन्तै संवेदनशील हुन्छ। स्तनपान गराउँदाको समयमा स्तनपान प्रमुख हो। यौनजन्य गतिविधि प्रमुख भने हैन। स्तनपान गराउँदा होस् वा स्तन चलाउँदा नै किन नहोस् महिलामा कामोत्तेजना भने आउन सक्छ।

स्तनपान नगराउने महिलाको शारीरिक बनावट र कार्य भविष्यमा सामान्य रुपमै हुन्छन्। तसर्थ बुद्धिमान महिलाले जति लामो समयसम्म शिशुलाई स्तनपान गरायो उति धेरै शिशु र आमाका लागि शारीरिक तथा मानसिक रुपमा स्वस्थ भई जीवन फलदाई हुन्छ। सानो शिशुलाई बच्चा बेलामा स्तनपान नगराउँदा बच्चामा शारीरिक तथा मानसिक असर पुग्छ। पर्याप्त स्तनपान नगराएको बच्चा सुस्त मनस्थितिको हुने जोखिम त्यतिकै हुन्छ। त्यसैले यौन सम्पर्ककै लागि स्तनपान गराउन छोड्नु गलत हो। स्तनपानले आमा र बच्चा तथा यौन जोडीबीचमा बेफाइदा हैन फाइदै गर्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

 

Leave A Comment