यसरी हुन्छ बलियो मुटु

मङ्गलबार, ०३ भदौ २०७६, ०१ : २२ शुक्रवार
यसरी हुन्छ बलियो मुटु

डा. डीबी सुनुवार, अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

छातिको देब्रे पाटोमा अवस्थित मुटु शरीरको सबभन्दा महत्वपूर्ण अंग हो।  मुटुको धड्कन चल्न बन्द भएपछि जीवनै अन्त्य हुन्छ।

मुटु शरीरको रक्तसञ्चार प्रणालीसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ। विशेषगरी शरीरका अंग–प्रत्यङ्गमा रक्तसञ्चारको माध्यमबाट पोषण तत्व पु-याउन मुटुको ठूलो भूमिका हुन्छ । त्यसैले मुटु सधैँ स्वस्थ र मजबुत हुन आवश्यक छ।

पुरुष–महिलाको फरक तौल
कतिपय कुरा हामीलाई थाहा नहुन सक्छ। पुरुष र महिलामा मुटुको तौल फरक–फरक हुन्छ। सामान्यतः बयस्क पुरुषको २५० ग्राम तौलको मुटु हुन्छ भने महिलाको २०० ग्रामको हुन्छ। अपवाद वाहेक पुरुषको काम गर्ने प्रकृति तुलनात्मक रुपमा बढी हुनु र महिलाको कम हुनुको कारण मुटुको तौल पनि हो। मुटुको क्षमताकै कारण महिलाको तुलनामा पुरुष मजबुत तथा बलियो हुनु स्वाभाविकै हो।

हाम्रो समाजमानै हेर्ने हो भने पनि सामान्यतः शारीरिक परिश्रम वा शारीरिक रुपमा बढी क्षमताको काम गर्नका लागि पुरुषलाई नै मुख्य रुपमा अघि सारेको देखिन्छ। जुन प्राकृृतिक नै हो। सामान्यतः मुटुकै क्षमताका कारण महिला अंग भन्दा पुरुष अंग बढी सक्रिय हुन्छन्। यसको अर्थ मुटुको तौल सानो–ठूलो भएकै कारण पुरुष–महिलाको आयुमा भने असर गर्दैन। यसरी हेर्दा मुटु व्यक्तिको स्वास्थ्यका लागि महत्वपूर्ण अंग अवस्य हो। त्यसो भए मुटुले के काम गर्छ त भन्ने जिज्ञासा मेटौँन त।

मुटुले गर्ने काम
मुटुले पम्प गरेर शरीरको रक्तसञ्चारमार्फत सम्पूर्ण अंगमा पोषण तत्व पु-याउँछ। अनावश्यक विकार तत्वलाई फोक्सोका माध्यमबाट शरीर बाहिर फाल्छ।  रगतलाई शुद्धीकरण गर्छ। रगत शुद्धीकरण भए व्यक्ति स्वतः स्वस्थ हुन्छ।

कागती, सुन्तला, भोगटे, ज्यामिर, आँपजस्ता फलफूल खाँदा क्षारीय तत्व पाइन्छ। यस्ता फलफूल क्षारीय तत्वअन्तर्गत पर्ने भएकाले सन्तुलित रुपमा खाँदा मुटुलाई फाइदा हुन्छ। फलफूलले रगत सफाइको काम गर्छ। यस्ता फलफूलमा केही मात्रामा अम्लीय तत्व हुने भए पनि क्षारीय तत्वकै बाहुल्यता हुन्छ। जसले शरीरलाई फाइदा गर्छ।

सामान्यत : एक मिनेटमा ७२ पटक मुटुको धड्कन चल्छ भने करिब ४० पटक पम्प गर्छ। व्यक्तिले व्यायाम नगरेको अवस्थामा भने मुटु अस्वस्थ भई निरन्तर पम्प गर्ने प्रक्रियामै गडबढ भएर कमजोर हुने जोखिम हुन्छ। यस्तो अवस्थामा मुटुका रक्त नलीमा फोहोर जमी मुटुका धमनी बिस्तारै बन्द भई रक्तसञ्चारमा अवरोध हुँदा हृदयाघातको जोखिम हुन्छ। त्यसैले मुटु स्वस्थ र मजबुत बनाउन मुटुको व्यायाम आवश्यक छ।

मजबुत बनाउने विधि
मुटु मजबुत बनाउने विभिन्न विधि तथा उपाय छन्। सबैभन्दा राम्रो व्यायाम त हिँडडुल गर्नु नै हो। वयस्क व्यक्तिले स्वस्थ र मजबुत मुटुका लागि दैनिक एक घण्टा हिँड्नु उपयुक्त हुन्छ। यसरी व्यायाम गर्दा प्रतिघण्टा १० किलोमिटर हिँड्नु उपयुक्त हुन्छ। हिँड्न सुरु गर्दा भने बिस्तारै हिँड्दै वामअप गर्नुपर्छ। जसले शरीर तात्दै जान्छ। शरीर तात्दै गएपछि बिस्तारै दौड्न सकिन्छ। यसरी दौडँदा मुटुको धड्कन बढेर फुल्ने र खुम्चने प्रक्रिया तीब्र गतिमा हुने भएकाले रक्तनलीमा बोसोलगायत फोहोर तत्व जम्न पाउँदैन। व्यायाम गर्दा सहज रुपमा रक्तसञ्चार भई पोषण तत्व शरीरका आवश्यक अंगमा पुग्ने हुँदा मुटु स्वस्थ मात्रै हैन व्यक्तिमा रोग लाग्ने सम्भावना अत्यन्तै न्यून हुन्छ।

यसरी गर्ने व्यायाम
सामान्यतः बिहानको स्वच्छ वातावरणमै व्यायाम गर्नु उपयुक्त हुन्छ। बगैँचा, चौर, बाटो आदिमा प्राकृतिक वातावरणमा मात्रै हैन मेसिनको सहायताले घरमै पनि व्यायाम गर्न सकिन्छ। तर सकभर प्राकृतिक स्वच्छ वातावरणमा व्यायाम गर्नु नै उचित हुन्छ।

व्यायाम गर्ने व्यक्तिले व्यायामका केही विधि भने अपनाउनु पर्छ। व्यायामका विधि नअपनाउँदा व्यक्तिमा नकारात्मक असर पुग्न सक्छ।

व्यायाम गरिसक्ने बित्तिकै तुरुन्तै कहिल्यै पनि अर्को कपडा फेर्ने, पानी पिइहाल्ने, तत्कालै नुहाउने गर्नु हुन्न। व्यायाम गरेपछि ५/७ मिनेट आराम गरेर मात्रै लुगा फेर्ने, पानी पिउने र नुहाउने गर्नुपर्छ।

व्यायाम गर्दा लगाएको कपडा र बाहिरको कपडाको वातावरण नमिल्ने भएकाले व्यायाम सक्नेबिक्तिकै कपडा परिवर्तन गर्नु हुन्न। व्यायाम गर्दा लगाएको कपडाले शरीरको तापक्रम पसिनाको कारण सन्तुलनमा राखेको हुन्छ। व्यायाम सक्नेबित्तिकै एक्कासि कपडा फेर्दा चिसो हुन्छ। यसरी तापक्रम नमिल्दा मुटु तथा शरीरको नियमित कार्यमा असर पुग्न सक्छ। शरीरको रक्त सञ्चारमा अवरोध हुन सक्छ। जसले व्यक्ति बेहोस हुने जस्तो जोखिम हुन्छ। जसरी एक्कासि कपडा फेर्दा असर पुग्छ, त्यसैगरी एक्कासि पानी पिउँदा र नुहाउँदा पनि मुटु र शरीरमा असर पुग्छ। आराम नगरी पानी पिउँदा फुकेको मांशपेशी एक्कासि खुम्चन्छ। व्यायामले शरीर तातेको समयमा रक्तनलीमा असर पुग्छ। जसको कारण दीर्घकालीन असरसमेत हुन्छ। त्यसैले आराम गरेर मात्रै पानी पिउने तथा नुहाउने गर्नु पर्छ।

व्यक्तिले हिँड्ने, दौड्ने, शारीरिक काम गर्नेलगायतका जति व्यायाम हुन्छन्, त्यसले मुटुलाई फाइदै गर्छ। प्राणायाम, श्वासप्रश्वासको माध्यम, ध्यानको माध्यमबाट गरिने व्यायाम मुटुका व्यायामको चरणमा पर्छन्। पाको उमेरका व्यक्तिले पनि व्यायाम गरेर मुटु मजबुत बनाउन सकिन्छ।

मुटुलाई व्यायाम मात्रै हैन आरामको पनि आवश्यकता हुन्छ। शारीरिक तथा मानसिक रुपमा धपेडी किसिमले व्यायाम गर्दा मुटुमा तनाव सृजना भई रक्तसञ्चार प्रक्रियामै असर पुग्ने जोखिम हुन्छ। जसले उच्चरक्तचाप, न्युनरक्तचापको समस्या निम्त्याउँछ। तनावपूर्ण कार्यले निरन्तर सताउँदा मानसिक तनाव उत्पन्न भई मुटुमा असर गर्छ।

सामान्यतः व्यक्तिमा १२० उच्चरक्तचाप हुनुपर्छ। जसलाई चिकित्सकिय भाषामा ‘सिस्टोलिक’ भनिन्छ। न्युन रक्तचाप भने ८० ‘डायस्टोलिक’ हुनुपर्छ। रक्तचाप सामान्यभन्दा कम भए न्यूनरक्तचाप र बढी भए उच्च रक्तचापको जोखिम हुन्छ। त्यसैले सन्तुलनमा राख्नका लागि व्यायामको आवश्यक हुन्छ।

तर रक्तचापको समस्या भएका व्यक्तिले भने सन्तुलित रुपमा व्यायाम गर्नु पर्छ। रक्तचाप वा कुनै पनि किसिमको रोगको समस्या भएको अवस्थामा चिकित्सकको सल्लाह बमोजिम व्यायाम गर्नु उचित हुन्छ।

मुटु जोगाउने खानपान
मुटु स्वस्थ र मजबुत बनाउन व्यायाम मात्रै हैन खानपानमा पनि विशेष ध्यान दिन जरुरी छ। प्रशस्त पानी त पिउनै प-यो। विशेषगरी क्षारीय तत्व पाइने किसिमका खाद्यपदार्थ मुटुका लागि राम्रो मानिन्छ। आँटाबाट बनेका परिकार, ब्राउन राइस (खैरो चामल), रेसादार सागसब्जी तथा फलफूल क्षारीय तत्व हुनेमा पर्छन्। यस्ता तत्व भएका खानपानले मुटु स्वस्थ तथा मजबुद राखिरहन सहयोग गर्छन्।

केही यस्ता खाद्य पदार्थ हुन्छन्, जसमा अम्लियपन बढी मात्रामा हुन्छ। असन्तुलित रुपमा अम्लियपन बढी भएका खाद्यपदार्थ खाँदा मुटुमा नकारात्मक असर पु-याउँछ।

व्यक्तिको स्वास्थ्यका लागि ८० प्रतिशत क्षारीय तत्व भएका खाद्यपदार्थ आवश्यक हुन्छ भने २० प्रतिशत अम्लीय तत्व भएका खाद्यपदार्थ। यसको सन्तुलन बिग्रँदा मुटुमा समस्या उत्पन्न हुन्छ। माछा, मासु, चिल्लो पदार्थ, तेलमा चिल्लोका कारण बढी मात्रामा अम्लियपन हुन्छ। कतिपय अवस्थामा प्रोटिन तत्वमा पनि अम्लियपन हुन्छ। त्यसैले माछा, मासु खाँदा उसिनेर बढी मात्रामा भएको चिल्लो पदार्थ फ्याँकेर खानाले मुटु स्वस्थ र मजबुत राख्न सकिन्छ। मुटु रोगको समस्या भएका व्यक्तिले भने माछा, मासु खानु उचित हुन्न।

कागती, सुन्तला, भोगटे, ज्यामिर, आँपजस्ता फलफूल खाँदा क्षारीय तत्व पाइन्छ। यस्ता फलफूल क्षारीय तत्वअन्तर्गत पर्ने भएकाले सन्तुलित रुपमा खाँदा मुटुलाई फाइदा हुन्छ। फलफूलले रगत सफाइको काम गर्छ। यस्ता फलफूलमा केही मात्रामा अम्लीय तत्व हुने भए पनि क्षारीय तत्वकै बाहुल्यता हुन्छ। जसले शरीरलाई फाइदा गर्छ।

यसरी व्यायाम तथा सन्तुलित खानपान र जीवनशैलीले मुटु स्वस्थ तथा मजबुत बनाउन सकिन्छ। गाउँघरमा उकालो आरालो गर्दा होस् वा काम गर्दा राम्रो व्यायाम भैरहेको हुन्छ। विशेषगरी सहरी क्षेत्रमा व्यायामको कमी हुँदा मुटुमा समस्या उत्पन्न हुने जोखिम भएकाले व्यायाम र खानपानमा विशेष ध्यान दिन आवश्यक छ।
प्रस्तुतिः उपेन्द्र खड्का
 

 

Leave A Comment