महिला गर्भवती भएपछि त गर्भ जाँच गर्नु पर्छ भन्ने जनचेतनाको विकास हुँदै गएको छ। तर नेपालमा गर्भवती हुनुपूर्व स्वास्थ्य जाँच गराउनु पर्छ भन्ने चेतनाको कमी छ। महिला गर्भवती हुनका लागि शारीरिक तथा मानसिक रुपमा योग्य छिन् वा छैनन् भन्ने विषयमा गर्भवती हुनुपूर्व जाँच गर्न स्वास्थ्य संस्थामा पुग्नेको संख्या न्यून हुन्छ।
महिला मात्र हैन गर्भवती हुनुपूर्व श्रीमान्–श्रीमतीले नै स्वास्थ्य जाँच गराउनु पर्ने हुन्छ। स्वस्थ शिशु जन्माउनका लागि यौन जोडी (श्रीमान्–श्रीमती) नै शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनुपर्ने प्रसूति गृहका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. गेहनाथ बरालले बताए। ‘स्वस्थ शिशु जन्माउनका लागि आमा त स्वस्थ हुनै प-यो’, डा. बरालले भने, ‘बुवा पनि स्वस्थ हुन आवश्यक छ।’ गर्भवती हुनुपूर्व चिकित्सकको सल्लाह लिए बुवा–आमामा शारीरिक तथा मानसिक समस्या भएको खण्डमा उपचार गरिन्छ। जसले स्वस्थ शिशु जन्माउन मद्दत गर्छ।
विशेषगरी महिला गर्भवती हुनुभन्दा तीन महिना अघिबाटै शारीरिक तथा मानसिक रुपमा तयारी हुनुपर्ने चिकित्सक बताउँछन्।
त्यसो त ईशान हस्पिटलकी स्त्रिरोग विशेषज्ञ डा. माला श्रेष्ठ पनि गर्भवती हुनुभन्दा तीन महिनाअघिबाटै सन्तान चाहने जोडीलाई स्वास्थ्य जाँच गराउन सुझाउँछिन्। एक त गर्भ नरहेको अवस्थामा औषधिको प्रयोग गर्नुपर्ने हुन सक्छ। अर्कोतर्फ स्वस्थ भ्रुणका लागि पनि तीन महिना अगावै औषधिको प्रयोग गर्नुपर्ने भएकाले गर्भवती हुनुपूर्व स्वास्थ्य जाँच गराउन डा. श्रेष्ठको सुझाव छ।
पछिल्लो समय केही शिक्षित परिवाका यौन जोडि (श्रीमान्–श्रीमती) महिला गर्भवती हुनुपूर्व स्वास्थ्य जाँच गर्न चिकित्सककहाँ पुग्ने गरेको डा. बरालले अनुभव सुनाए।
कतिपय अवस्थामा गर्भमा रहेको भ्रुणको विकास हुनेक्रममा स्नायु प्रणालीको विकास हुन्न। जसलाई चिकित्सकीय भाषामा ‘न्यूरल ट्युब डिफेक्ट’ भनिन्छ। यसरी ‘न्यूरल ट्युब डिफेक्ट’ भई भु्रणको राम्रो विकास नहुँदा शिशु जन्मँदा शिशुको टाउकाकै राम्रो विकास नहुने, टाउकै नहुने, मेरुदण्डबाट पानीको फोकाजस्तो आउने, हड्डी फाट्ने, मेरुदण्ड चिरिने जस्तो समस्या हुने डा. बराल बताउँछन्। त्यसैले भ्रुणको विकासका क्रममा हुन सक्ने यस्तो समस्याबाट बच्नका लागि महिलाले गर्भवती हुनुभन्दा तीन महिना अगावै स्वास्थ्य जाँच गराउनु पर्छ।
गर्भवती हुनुपूर्व आमाले ‘फोलिक एसिड’ नामक औषधिको प्रयोग गरे टाउकै नभएको, मेरुदण्डको समस्या हुनेलगायतको समस्या भएको शिशु जन्मने जोखिम कम हुन्छ। चिकित्सकका अनुसार ‘फोलिक एसिड’ भिटामिन–‘डि’ हो। ‘भु्रणमा न्युरल ट्युब डिफेक्ट नहोस् भनेर आमाले गर्भवती हुनुभन्दा तीन महिना अगावैबाट चिकित्सकको सल्लाहमा फोलिक एसिड औषधि खानु पर्छ,’ डा.श्रेष्ठ भन्छिन्, ‘गर्भ रहेपछि पनि तीन महिनासम्म खानु उपयुक्त हुन्छ।’
बेलैमा यसरी औषधिको प्रयोग गर्नाले भ्रुणमा करिब ६० प्रतिशतसम्म ‘न्युरल ट्युब डिफेक्ट’ हुने जोखिमबाट बच्न सकिन्छ। ‘फोलिक एसिड’ औषधि प्रायः सरकारी स्वास्थ्य संस्थामा निःशुल्क रुपमा पाइने भए पनि केन्द्रका ठूला सरकारी अस्पतालमा भने गर्भवतीको चाप धेरै हुने भएकाले वितरण गर्न नसकिएको डा. बराल बताउँछन्। स्त्रिरोग विशेषज्ञ डा. बरालले भने, ‘यो औषधि सस्तो समेत छ।’
के–के जाँच गर्ने ?
आमामा भएको थाइरोइडको समस्याका कारण गर्भमा रहेको भु्रण र आमालाई असर गर्ने भएकाले गर्भवती हुनुपूर्व थाइरोइडको जाँच गराउनु पर्ने हुन्छ। शरीरमा आयोडिनको कमी हुँदा थाइरोइडको समस्या हुन्छ। थाइरोइडको समस्या भएका महिलाबाट जन्मिएका शिशुको सुस्थ मनस्थिति हुन सक्छ। त्यसैले थाइरोइडको समस्या भएका महिलाले उपचारपश्चात् मात्र गर्भधारण गर्न चिकित्सकको सल्लाह छ। महिलामा थाइरोइडको समस्या भएको अवस्थामा गर्भ नरहनेसमेत समस्या हुने डा.श्रेष्ठ बताउँछिन्।
गर्भवती हुनुपूर्व आवश्यकताअनुसार महिलाको हेमोग्लोबिन, सुगर, एचआइभी, हेपाटाइटिस–बी, पिसाबको इन्फेक्सन, शरीरमा प्लेटिलेटको क्षमताको जाँच गरिन्छ। रिनल फंंशन टेस्ट, पिसाबको इन्फेक्सनलगायत विभिन्न सरुवा रोगको जाँच गरेपछि मात्रै गर्भधारण गर्नु उपयुक्त हुने चिकित्सकको सुझाव छ। भेनेरल डिजिज रिसर्च ल्याबोरेटोरी (भिडिआरएल) को जाँच गर्दा सरुवा रोगको बारेमा थाहा पाउन सकिने विशेषज्ञ डा. श्रेष्ठले बताइन्। भाइरल इन्फेक्सनको जाँच त गर्नै प-यो। बाँझोपनको समस्या भए त्यसको जाँच गर्नु पर्छ। महिलामा मात्रै हैन पुरुषमा पनि यस्ता रोगको बारेमा जाँच गर्नु पर्ने हुन्छ।
आमामा सिफिलिस रोग भएको अवस्थामा भ्रुणमा सर्ने भएकाले यस्तो समस्या भएको अवस्थामा औषधि उपचार गर्नुपर्छ। विशेषज्ञ डा.बरालका अनुसार आमालाई एचआईभी भएको अवस्थामा गर्भवती हुनुपूर्व औषधोपचार गर्दा भ्रुणमा एचआईभी सर्ने सम्भावना करिब दुई प्रतिशत हुने भए पनि औषधोपचार नगरी गर्भधारण गर्दा १५ देखि ४० प्रतिशत सर्ने सम्भावना हुन्छ। यस्तो अवस्थामा बुवा–आमा दुवैको उपचार गर्नुपर्छ।
आमामा क्यान्सर भए भ्रुणमा पनि सर्ने जोखिम हुनाले उपचारपछि मात्रै गर्भधारण गर्नुपर्छ। आमा कुपोषित भएको अवस्थामा गर्भधारण गर्नु हुन्न। गर्भवती भएको समयमा उच्च रक्तचापको जोखिम हुन्छ। गर्भवतीको समयमा हुने रक्तचापलाई ‘प्रि–इक्लाम्प्सीया’ भनिन्छ। डा. बरालका अनुसार विशेषगरी महिला गर्भवती भएको पाँच महिनापछि उच्च रक्तचाप बढ्दै जान्छ। त्यसैले रक्तचापको समस्या भए उपचारपश्चात् मात्र गर्भधारण गर्नु उचित हुन्छ। छारेरोग भएका महिलाले गर्भवती हुनुपूर्व स्वास्थ्य जाँच गराएर उपचार नगरे जोखिम हुन्छ।
त्यसैगरी चिनिरोग भए यसको उपचार गर्नुपर्छ। नत्र भ्रुणलाई असर गर्छ। रगतको सन्तुलनका लागि आइरन, क्याल्सियम खानु पर्छ।
त्यसैगरी थालासेमिया, सिक्कल सेल एनिमियाको परीक्षण गर्नु उचित हुन्छ। यो वंशाणुगत रोग हो। हेमोग्लोविनको गुणस्तरमा समस्या हुँदा यस्तो रोग भ्रुणमा सर्ने जोखिम हुने डा. गेहनाथ बताउँछन्। आमामा यस्तो रोगको समस्या भए शिशुमा सर्न सक्ने भएकाले स्वास्थ्य परीक्षण गराएर मात्रै गर्भधारण गर्नु उपयुक्त हुने डा. बरालको सुझाव छ।
सामान्य अवस्थामा रातो रक्त कोषिका गोलो आकारको हुन्छ। सिक्कल सेल एनिमियाको समस्या भएमा रक्तकोष हँसिया आकारमा परिणत हुन्छ। रक्त कोषिका हँसिया आकारमा परिणत हुँदा रक्तसञ्चारमा अवरोध भई शरीरमा अक्सिजन कम हुनाले व्यक्तिको ज्यान समेत जान सक्ने चिकित्सक बताउँछन्।
पुरुषको भने त्यति धेरै महिला जोडीको जस्तो स्वास्थ्य जाँच नगरिने चिकित्सक बताउँछन्। भ्रुण नबसेको अवस्थामा पुरुषका शुक्रकिटको जाँच गरिन्छ। पुरुष–महिलामा सुस्थ मनस्थितिजस्ता वंशाणुगत समस्या, बारम्बार गर्भपतन भएको अवस्थामा भने ‘क्यारोटाइपिङ’ जस्तो जाँच गरिने डा. श्रेष्ठले बताइन्। यस्तो समस्या भएको अवस्थामा जिनको जाँच गरिन्छ। नेपालमा भने महँगो पर्ने भएकाले यस्तो जाँच अभ्यासमा नभएको चिकित्सक बताउँछन्।
मानसिक जाँच
शारीरिक मात्रै नभई महिला गर्भवती हुनुपूर्व यौन जोडि दुवैले मानसिक स्वास्थ्य जाँच गराउनु पर्ने मनोविद् गोपाल ढकालको तर्क छ। मानसिक रुपमा पनि शिशु जन्माउन बुवा–आमा तयारी हुनु पर्छ। गर्भधारणका लागि जोडीको सहमति आवश्यक हुन्छ। जोडी मध्ये एकजनाको मात्रै इच्छाले गर्भधारण गर्दा आमामा तनाव उत्पन्न हुने हुँदा त्यस्ता आमाबाट जन्मने बच्चामा पनि मानसिक समस्या उत्पन्न हुनेतर्फ मनोचिकित्सक सजग गराउँछन्।
मानसिक रुपमा तयारी नभई गर्भवती हुँदा महिलामा मानसिक तनाव उत्पन्न भई शिशु जन्मिएपछि डिप्रेसन देखा पर्न सक्छ। जसलाई ‘पोष्ट नेटल डिप्रेसन’ भनिन्छ। आमालाई यस्तो किसिमको डिप्रेसन हुँदा आमाले आत्महत्या गर्ने, शिशुलाई मार्ने जस्ता व्यवहार गर्ने जोखिम हुर्नेतर्फ मनोविद् ढकाल सजग गराउँछन्। बुवा–आमामा मानसिक समस्या हुँदा भविष्यमा शिशुमा सिजोफेनिया, बाइपोलर डिसअर्डर, डाउनसिन्ड्रोमजस्ता कडा किसिमका मानसिक रोगको सम्भावना हुन्छ।
स्वस्थ राख्ने विधि
महिलाले गर्भवती हुनुपूर्व नै धूमपान तथा मद्यपान गर्न नहुनेतर्फ चिकित्सक सजग गराउँछन्। धूमपान तथा मद्यपान गर्नाले भ्रुणमा नकारात्मक असर गर्छ। आमाले पिएको अल्कोहलले शिशुमा फितल अल्कोहल सिन्ड्रोम हुनुका साथै शिशुको तौल कम हुनेलगायतका समस्या आउन सक्छ। आमाले विभिन्न किसिमका रोगको औषधि खाएको अवस्थामा त्यस्ता औषधिले गर्भमा रहेको भ्रुणलाई असर गर्ने जोखिम हुनाले औषधि खानुपर्ने भए चिकित्सकको सुझावमा औषधि खानु पर्छ।
चिकित्सकका अनुसार महिलाले १८ देखि ३५ वर्षको उमेरसम्म गर्भधारण गर्नु उपयुक्त हुन्छ। १८ वर्ष भन्दा कम र ३५ वर्ष नाघेका महिलाले गर्भधारण गरे आमाको स्वास्थ्यमा नकारात्मक असर पर्ने जोखिम हुन्छ। डा. श्रष्ठले भनिन्, ‘महिलाले ३५ वर्षभन्दा बढी उमेरमा गर्भधारण गरे सुगर, प्रेसर, डाउनसिन्ड्रोम’को जोखिम हुन्छ।
त्यसैगरी गर्भवती भएपछि पनि चिकित्सकको सल्लाहमा नियमित स्वास्थ्य जाँच गराउनु पर्छ। गर्भवती भएको थाहा पाउनासाथ गर्भवतीले भिडियो एक्स–रे गर्न चिकित्सकको सुझाव छ। यसरी भिडियो एक्स–रे गर्नाले गर्भमा रहेको भ्रुण पाठेघरमा भए वा नभएको थाहा पाउन सकिन्छ। गर्भवती भएको ३० हप्तासम्म प्रत्येक महिना महिलाले स्वास्थ्य जाँच गराउनु पर्ने हुन्छ। ३० हप्तापछि भने प्रत्येक तीन हप्तामा स्वास्थ्य जाँच गराउनु पर्छ। गर्भवती भएको ३७ हप्तापछि प्रत्येक हप्ता गर्भ जाँच गराउनु पर्छ। गर्भवती भएको अवस्थामा कुनै पनि समस्या भएको खण्डमा भने तुरुन्तै चिकित्सकको सल्लाहमा स्वास्थ्य जाँच गराउनु पर्छ।
१८ देखि २२ हप्तासम्म भ्रुणको अंग बने नबनेको जाँच गरिन्छ। ३६ देखि ३८ हप्तामा भ्रुणको तौल कस्तो छ, भ्रुण कस्तो अवस्थामा छ, भ्रुण खेल्नका लागि पर्याप्त पानी छ वा छैन भन्ने जाँच गरिने डा.श्रेष्ठले बताइन्।
Leave A Comment