समर्थकको आडमा रवि लीला

बिहिबार, ०५ भदौ २०७६, ०५ : ०२ -केपी ढुंगाना र राजेन्द्र आचार्य
समर्थकको आडमा रवि लीला

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा जोडिएका तीन व्यक्तिलाई साउन ३० मा काठमाडौँमा पक्राउ गरेर चितवन लगेलगत्तै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरपरको माहोल नै बिग्रियो ।
सबै दलका जिल्ला तहका नेताहरुले प्रदर्शन नगर्न अपिल जारी गरे पनि प्रदर्शन उस्तै छ । जिल्ला प्रशासन कार्यालय चितवनले चौबीसकोठीदेखि बाइपास रोडको मालपोत चोकसम्मको क्षेत्रमा निषेधाज्ञा नै जारी गरे पनि माहोल सुधार भएको छैन ।

कारण, शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा पक्राउ पर्ने तीन जनामध्ये एक टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेका समर्थक । चितवनमा वितण्डा मच्चाउने उनै लामिछानेका समर्थक हुन्, जो दिनभर ‘रविलाई रिहा गर’ नारा लगाएर बसेका छन् । 

सोही आरोपमा पत्रकार युवराज कँडेल र नर्स रुकु (अस्मिता) कार्कीसमेत पक्राउ परेका छन् । तीनै जना पक्राउको कारण र प्रमाण एउटै हो तर उनीहरुबारे कोही बोलेका छैनन् । माग छ त, केवल रविको रिहाईको ।

न्युज २४ मा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका रविको पक्राउलाई उनका समर्थक षड्यन्त्र भन्छन् । रवि भ्रष्टाचारविरुद्ध लागेकाले सबै मिलेर उनीविरुद्ध षड्यन्त्र गरेको उनीहरुको मत देखिन्छ तर पक्राउको कारणले उनीहरुको तर्कमा त्यत्ति दम देखिन्न ।

रविकै पूर्व सहकर्मी शालिकरामले आत्महत्या गर्नुअगाडि खिचेको भिडियो पक्राउको कारण हो । जसमा उनले रविसहित तीन जनाको नाम लिएर भनेका छन्, ‘मलाई मर्ने बाध्य पार्ने तिमी हौ । तिमीलाई नेपालको कानुनअनुसार कार्बाही होस् । हत्यारा तिमी हौ ।’

शालिकरामको भिडियोअनुसार न्युज २४ टेलिभिजन छाडेर माउन्टेन गएपछि उनलाई रवि समूहले थर्काउने गरेका थिए । उनीहरुले गरेका खराब कामबारे उनीसँग प्रमाण थियो । पछि एक युवतीलाई बलात्कार गरेको भन्दै कार्यक्रम प्रशारणको तयारी गरियो । उनी डिप्रेसनमा समेत पुगे र आत्महत्याको बाटो रोजे । 

नेपालमा आएको मुलुकी अपराध संहितामा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्नु वा गराउनु’ अपराध हो भन्ने व्यवस्था छ । 

नेपालमा क्रियाशील रहेको प्रमाण ऐन २०३१ को दफा ११ ले कुनै मरेको व्यक्तिले आफैँ मर्न लागेको अवस्थामा होश छँदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुने’ उल्लेख छ । 

यही आधारमा प्रहरीले शालिकरामले आत्महत्या गर्नुअगाडि खिचेको भिडियोलाई आत्महत्या दुरुत्साहनको प्रमाणको रुपमा लिएर रविसहित तीन जनालाई पक्राउ गरेको देखिन्छ । सो प्रमाणलाई अदालतले समेत स्विकार गरी अनुसन्धानका लागि प्रहरीलाई म्याद दिइसकेको छ ।

दुई महिनाअगाडि काठमाडौंमा यस्तै आत्महत्या दुरुत्साहनको मुद्दा चलेको थियो समता स्कुलका सञ्चालक र दुई कर्मचारीविरुद्ध । त्यसको मुख्य प्रमाण आत्महत्या गरेकी कर्मचारीको सानो नोट नै थियो, जसमा तीन जनाको नाम लेखेर पक्राउ गर्नु मात्र लेखिएको थियो, कारण उल्लेख थिएन । त्यसैको आधारमा प्रहरीले पक्राउ ग¥यो र काठमाडौं जिल्ला अदालतमा मुद्दा चल्यो । तीनै जना धरौटीमा छुटेका छन् । 

यो तथ्य हुँदाहुँदै पनि रविका समर्थक शालिकरामको आत्महत्या र भिडियोको आधारमा रवि पक्राउ परेको स्वीकार्न तयार देखिएका छैनन् ।

चितवनमा प्रदर्शन निरन्तर छ । उनका समर्थकले सामाजिक सञ्जाललाई कुतर्कले भरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला अदालत परिसर अझै सुरक्षाकर्मीको सुरक्षा घेरामा छ । 

पक्राउ परेकालाई अदालतमा लैजानै सकस भएपछि प्रहरीले चोरबाटो प्रयोग गरिरहेको छ । मंगलबार दोस्रो पटक म्याद थप्न बिहान साढे ८ बजे चितवन प्रहरीले चोरबाटो नै प्रयोग गरेको थियो । 

मृत्युको कारण आत्महत्या, बयान बाँकी रहेको, अटोप्सी रिपोर्ट लगायत आउन बाँकी रहेको लगायतको सरकारी पक्षको दाबीपछि अदालतले रविसहित तीन जनालाई थप पाँच दिन म्याद थपेपछि बेलुका साढे ५ बजे चोरबाटोबाटै प्रहरी कार्यालय ल्यायो ।

मंगलबार अदालत लैजाँदा पनि उनका समर्थक भरतपुरको चौबिसकोठीमा प्रदर्शनमै थिए । र, माहोल हेर्दा प्रदर्शन अझ केही दिन जारी नै रहने देखिन्छ ।

पक्राउको कारण प्रस्ट हुँदाहुँदै पनि किन उनका समर्थकले स्वीकार गर्न सकेका छैनन् ? 
मानवशास्त्री मीना उप्रेतीको विश्लेषण यस्तो छः

‘रविले भ्रष्टाचार, ठगीजस्ता विषयमा आवाज उठाए । यी जनताको चासो र प्रत्यक्ष सरोकार राख्ने विषय हुन् । उनको कार्यक्रम हेरेर नै उनी प्रतिको सहानुभूति एवं फलोअर बढेको देखिन्छ । कार्यक्रमका अलावा उनको अरु व्यवहार के हो ? त्यो कार्यक्रम कसरी चलेको छ ? त्यो समाजका सबैलाई चासो हुँदैन ।’

मनोविद् गोपाल ढकालका अनुसार कतिपय व्यक्ति त भीडको मनोविज्ञानका कारण भीडप्रति आकर्षित हुन्छन् । भीड देख्दा भीडतिरै जान खोज्छन् । भीड देख्दा मस्तिस्कै उत्तेजित हुन्छ । भीडभाडमा जाउँजाउँ लाग्छ । मानसिक समस्याका कारणसमेत व्यक्तिमा यस्तो अवस्था सृजित हुन्छ । 

व्यक्तिमा निराशा तथा कुण्ठा भएको अवस्थामा उसले आफ्नो कुण्ठा पोख्ने माध्यम भीडलाई बनाउँछ,’ उनले भने‘ भीडमा कराउँदा, चिच्याउँदा मनको कुण्ठा बाहिर निस्किएर तनाव कम हुन्छ । यस्तो अवस्था व्यक्तिमा स्वतःस्फूर्त रुपमा आउन सक्छ ।’ 

माहोल बिगार्दै प्रभावशाली 
रविको पक्राउसँगै पक्षविपक्षमा सामाजिक भरिन थाल्यो, त्यो अझै जारी नै छ । प्रहरी अनुसन्धानमै थियो र छ । अदालतमा प्रमाणको परिक्षण बाँकी नै छ । रवि दोषी हुन् या हैनन्, निक्र्योल भइसकेको थिएन तर सञ्जालमा अनुसन्धानको निष्कर्ष र अदालतको फैसलाझैँ भटाभट निष्कर्षहरु आइरहे । यसमा समाजमा प्रभाव पार्नेहरु पनि सहभागी भए ।

निर्मला बलात्कार र हत्या केसलाई मिसलिड गराउने र शंकास्पद बनाउनुमा राजनीतिक दलका नेता र समाजका आगुवाबाट अनुसन्धान टुंगोमा पुग्नु अगाडि नै आ–आफ्नो तर्क राखेर गिजोल्नु समेत प्रमुख देखिएको थियो । 
शालिकराम आत्महत्या र त्यसप्रति आएको प्रतिक्रियाले समाजमा प्रभाव पार्ने छवि भएकाहरु अझै चेतेको देखिएन ।
सर्वसाधारण त भिडिरहेकै थिए र भिडिरहेका छन् आ–आफ्ना तर्कसहित, त्यसमाथि राजनीतिज्ञ, कलाकार, पत्रकार मिसिए सञ्जालमा तर्कको भारी बोकेर । 

भिडियो अर्कैले खिचेको, आत्महत्या गरेको नभई हत्या गरेको, रविलाई फँसाएको, मृतकको आँखामा अर्काको मुहार देखिएको जस्ता तर्कहरु आइरहेका छन् अझै ।  

रविलाई फँसाएको हैन भन्नेहरुको तर्क प्रायः समान देखिन्छ, ‘भिडियोको आधारमा पक्राउ गरिएको हो । पक्राउ गर्नु नै दोषी ठहर हैन । अनुसन्धान हुन दिऊँ ।’

तर समाजले अनुशरण गर्ने कलाकार, नेता, पत्रकार नै न्यायाधीशको भूमिकामा आउँदै रवि दोषी हुन् कि निर्दोष, भिडियो ठीक कि बेठीक भनेर फैसलाझैँ धारणा राखिरहेका छन् । उनीहरुको धारणाले सर्वसाधारण पनि प्रभावित भइरहेका छन् ।

गुल्मी पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भिडियो विरोधभाषपूर्ण रहेको र एकअर्कासँग बाझिएको बताए । यसले सिरानी हराएको, अर्काको कुइनो देखिएकोजस्ता तर्क गर्नेहरुले आधार पाए । जबकि प्रहरीले भिडियो एकै पटक नखिची पटक–पटक खिचेको सार्वजनिक गरिसकेको थियो । 

नयाँ धारको राजनीति गरेको दाबी गर्ने साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले त रविको केससँगै अदालतमा विचाराधीन रहेको समता अस्पताल आत्महत्या केससमेत ल्याएर जोडिदिए ।  

यी दुवै घटनामा जोडिएका निर्दोष हुन् भन्ने कामना गर्दै लेखे, ‘समता स्कुलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिनदुःखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेले लगभग एउटै प्रकृतिको आरोप खेपिरहेका छन् । हृदयदेखिको कामना यत्ति छ कि रवि लामिछाने र अन्य दुईजना तथा कला सञ्जेल र अन्य दुईजना सबै निर्दोष साबित हुन् ।’

सञ्जालमा राम्रै प्रभाव रहेको मिश्रको कामनाले कुतर्क गर्नेहरुले बल पाए । 

वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीले त रविको पक्राउलाई षड्यन्त्रको गन्ध नै ठहर्याइदिए । रविकै पूर्व सहकर्मीको आत्महत्या अगाडिको भिडियोको आधारमा रवि पक्राउ पर्नु ‘माथिल्लो तहमा आपराधिक पृष्ठभूमिका मानिस बहुसंख्यक हुनुको परिणाम’ भन्दै उनले ‘रविलाई स–सम्मान आफ्नो काममा निर्वाध क्रियाशील हुने अवस्था बन्नुपर्छ । होइन भने सरकार र अपराधी बीचको भिन्नता छुट्ट्याउन नसकिने भैयो’ लेखे । 

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ त पत्रकार त्रिपाठीभन्दा बढी भावुक भए । उनले प्रहरीको अनुसन्धान प्रारम्भ हुनुअगाडि नै रविलाई निर्दोष ठहर गर्दै फेसबुकमा लेखे, ‘रवि लामिछाने पक्राउ परेको समाचार सुनेर एउटा कुरा प्रमाणित हुन्छ कि नेपालको जेलमा अरु पनि हजारौँ हजार निर्दोषहरु बिना कुनै गल्ती फँसिरहेका छन् र फँसाइएको छ ।’

सामाजिक अभियन्ता दाबी गर्नेहरु उही शैलीमा सञ्जालमा पोखिए, कोही चितवनै पुगेर विरोध प्रर्दशनको मोर्चा सम्हालिरहेका छन् ।

समाजका अगुवा मानिएकाहरु नै भटाभट निष्कर्षमा पुगेपछि रविलाई अनुसन्धान टुंगोमा पुर्याउनुअगाडि नै निर्दोष करार गर्न चाहनेहरु उत्साहित हुने नै भए । भइरहेका छन् । 

यसबीच युट्युबे विश्लेषकको बाढी नै आयो भने ट्युबे–अनुमानको खेती मौलायो ।  रविबारे सामाजिक सञ्जालमा आइरहेका अफवाहलाई च्यानलमार्फत घर–घरमा पुर्याउन न्युज २४ पनि सक्रिय देखियो । अधिकांश कार्यक्रम रविबारे नै बन्यो जहाँ युट्युबमा फैलाइएको अफवाहले समेत राम्रै स्थान पाएको देखियो । 

शव माथिको राजनीति
शालिकरामको मृत्यु र रवि पक्राउको आपराधिक घटना राजनीतिक स्वार्थबाट अछुतो रहेन । रवि पक्राउबारे सत्ताधारी दल नेकपामा एक मत देखिन्न । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताले सामाजिक सञ्जालमा सन्तुलित धारणा सार्वजनिक गरे पनि कांग्रेसका अन्य नेताको भूमिका भने शंकास्पद देखिन्छ ।
कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडु रविलाई भेट्न हिरासत कक्षमा पुगे । त्यस्तै अर्का कांग्रेस नेता अर्जुननरसिंह केसी लगायत पनि रविलाई भेट्न चितवन पुगे । 

रविका ससुरा उद्धव पौडेल संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आधिकारिक रुपमा बोलेको छैन तर विरोध प्रदर्शनमा सो पार्टीका समर्थकको उल्लेख्य सहभागिता देखिन्छ । विरोध प्रदर्शनमा स्थानीय भन्दा पनि अन्य जिल्लाबाट आएकाहरुको संख्या बढी छ । प्रदर्शनमा कांग्रेसका जिल्ला तहका नेता, कार्यकर्तासमेत देखिन्छन् ।

प्रारम्भमा रविको रिहाईको माग गर्ने प्रदर्शनकारीले पछिल्लो समय भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, सो क्षेत्रका सांसद तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा बादलविरुद्ध नाराबाजी गरेपछि राजनीतिक धु्रवीकरण शुरु भएको संकेत देखिएको छ । मंगलबार संसद्मा सम्बोधन गर्ने नेकपाका सांसद विरोध प्रदर्शनको विपक्षमा उभिनुले यही संकेत गर्यो ।

नेकपा चितवनले विज्ञप्ति नै जारी गरेर प्रदर्शनको विपक्षमा आफ्नो मत जाहेर गरिसकेको छ । विवाद बढ्दा रवि बचाऊ संघर्ष समितिका अध्यक्षले समेत राजीनामा दिइसके । प्रदर्शनमा सहभागी ज्ञानेन्द्र शाहीको व्यवहार उत्तेजक देखिन्छ । उनको भूमिका माहोल भड्काउने रहेको प्रहरीको निष्कर्ष छ । 

एक सुरक्षा अधिकारीका अनुसार प्रदर्शनमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको समर्थकको संलग्नताको आशंकामा सुरक्षा निकायले सादा पोशाकका प्रहरीको संख्या बढाएको छ ।

भिडबाट न्याय खोज्ने प्रयास

रविको पक्षमा सामाजिक सञ्जालमा सक्रियहरुले उनलाई निर्दोष ठहर गरिदिइसके । उनको परिवार र उनको दावी गर्दै रविकी श्रीमती निकिता पौडेलले सञ्जालमा राखेको सामाग्रिले रवि आफैं पनि न्याय प्रकृयाबाट भन्दा भिडबाटै न्याय खोज्न सक्रिय देखियो ।

मंगलबार दोस्रो पटक म्याद थप भएपछि निकिताको फेसबुकमा पोस्ट भएको रविको धारणामा उनले आफू रिहा भएको पाँच मिनेटमै निर्दोष रहेको पुष्टी गर्ने हास्यास्पद तर्क गरिएको मात्रै छैन, प्रहरी सुरक्षा घेरामा हिरासतमा रहेका उनले प्रहरीबाटै असुरक्षा रहेको, आफूलाई पाँच वर्ष थुन्ने शड्यन्त्र गरेको जस्ता दावी गरे ।

जवकी म‌ंगलबार उनका कानुन व्यवसायीले प्रेसब्रिफमा अदालतमा न्यायधिषले तपाइलाइ हिरासतमा केही अप्ठ्याराे छ भनेर साेध्दा हिरासतमा बस्दाकाे परिस्थिती बाहेक प्रहरीबाट त्यस्ताे केही अप्ठ्याराे नभएकाे बताएकाे जानकारी दिएका थिए ।

अहिले भइरहेको प्रारम्भिक अनुसन्धान हो । अनुसन्धान सकिएपछि मुद्धा दर्तासँगै थुनछेक बहस हुने हो जसमा साधारण तारेख, धरौटी या र्पूपक्षका लागी थुनामा राखेर सुनुवाई अगाडि बढाउने भन्नेमा बहस हुन्छ । 

बहसबाट आउने आदेश अनुसार उनी धरौटी या तारेखमा बाहिरै बसेर कानुनी लडाइमा सहभागी हुन पनि सक्छन् ।  पूर्पक्षका लागी थुनामा पठाए उनले कारागारमा बसेर आफ्नो पक्षमा वकालत गर्नुपर्ने छ । अन्तिम फैसलापछि मात्र उनी दोषी हुन् या निर्दोश पुष्टी हुनसक्छ । त्यसका लागि समय प्रशस्तै छ । तर निकिताको फेसबुकमा रहेको धारणा अनुसार उनलाई अहिले नै जेल हाल्ने तयारी गरेको, प्रहरी र अदालत दुबै प्रभावित बनिसकेको शन्देस दिने प्रयास गरेको देखिन्छ । 

भिडियो क्लिपसँगै बबन्डर
साउन २० मा माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनी नारायणगढको कंगारु होटलको कोठामा पासो लागेको अवस्थामा फेला परेपछि यो घटना शुरु भएको थियो । 

उनी दुई महिना अगाडिसम्म न्युज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’को टिमकै सदस्य थिए । कार्यक्रमको कोर टिमका सदस्य उनी एकाएक माउन्टेन पुगेर मिसन न्युज कार्यक्रम चलाउन थाले । 

माउन्टेन टिभीमा पुगेका उनी समाचार संकलनका लागि भन्दै चितवन गए तर एकाएक आत्महत्या गरे । उनी सो दिन दिउँसो साढे तीन बजे होटल पुगेको देखिन्छ । बेलुका होटल फर्किएर भेज खाना बनाउन अर्डर गरेर कोठामा गएका उनी राति ८ बजे खाना खान बोलाउन जाँदा नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेर कोठा खोलेर हेर्दा डोरीको पासोमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । 

आत्महत्याको समाचारसँगै पुडासैनीको मोबाइलमा अडियो क्लिप फेला परेको र त्यसमा रविसहित दुई जनाका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख भएको दाबी आयो । एकाएक आत्महत्या गर्न बाध्य बनाएकोमा रविको नाम आउँदा तरङ्ग आउनु स्वभाविकै थियो । तरङ्ग आयो । 

रविले भोलिपल्ट फेसबुकबाट आफ्ना पूर्व सहकर्मीको आत्महत्या, त्यसमा आफ्नो नाम आएको लगायतका विषयमा प्रष्टीकरण दिए । उनको आत्महत्यामा आफ्नो कुनै भूमिका नभएको दाबी गर्दै अनुसन्धानमा सघाउन तयार भएको बताए । एक साता शान्तै भयो ।

एकाएक साउन २९ मा जनआस्था साप्ताहिकमा भिडियोको विस्तृत समाचार प्रकाशित भएपछि पुडासैनी आत्महत्या घटना पुनः बहसमा आयो । भिडियोलाई उद्धृत गर्दै समाचारमा रविसँगै उनको समूह सदस्य युवराज र प्रेमिका दाबी गरिएकी रुकुको नाम पनि आयो । 

हो, हैन बहसकै बीचमा नेपालआज अनलाइनबाट भिडियो सार्वजनिक भएपछि माहोल रविको विपक्षमा पुग्यो । भिडियोमा रुँदै शालिकरामले आफू किन आत्महत्या गर्ने अवस्थामा पुगेँ भन्ने खुलाउँदै यसको मुख्य कारण रुकु, रवि र युवराजको नाम लिए । भिडियो सार्वजनिक भएसँगै पक्ष–विपक्षमा बहस चर्कियो । प्रहरी दबाबमा आयो । 

सरप्राइज पक्राउ
भिडियो सार्वजनिक भएसँगै निष्क्रियझैँ देखिएको चितवन प्रहरी दबाबमा आयो । मौन रहने चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले भिडियोको फरेन्सिक रिपोर्ट आएको र भिडियो शालिकरामकै भएको पुष्टि भएकाले अब पक्राउ गर्ने दाबी गरे तर पक्राउको तयारी भने थिएन । 

एकाएक नाटकीय रुपमा बिहीबार बेलुका रवि र उनका सहयोगी कार्यालयबाटै पक्राउ परे । रुकु दिउँसै प्रहरी नियन्त्रणमा परिसकेकी थिइन् ।

पक्राउ गर्दा अदालतबाट पक्राउ पुर्जी नल्याई आकस्मिक पक्राउ पुर्जी दिइएको थियो । यसले पूर्व तयारीअनुसार पक्राउ परेको देखिएन । आखिर किन सरप्राइज पक्राउ ?

प्रहरी स्रोतका अनुसार पोस्टमार्टमको अटोप्सी रिपोर्ट, परिवारका सदस्यबाट भिडियो क्लिपमा नाम पोलिएकाहरुविरुद्ध किटानी सहितको पूरक उजुरीपछि अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउको तयारी थियो । यी सबै प्रक्रियामा जाँदा आइतबारसम्म पुग्न सक्थ्यो । तर प्रहरीले रविको समूहको गतिविधि भने निगरानीमै राखेको थियो । 

साउन ३० रविको कार्यक्रम प्रशारण हुने नियमित दिन थियो । प्रहरी स्रोतका अनुसार त्यो दिनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सोही आत्महत्याबारे आफूलाई लागेको आरोप र शालिकरामको भिडियोमा केन्द्रित भएर रविले कार्यक्रम प्रशारणको तयारी गरेको सूचना प्रहरीमा पुग्यो । कार्यक्रममा रुकुलाई प्रस्तुत गर्ने तयारी भएको सूचना चुहिएपछि प्रहरीले दिउँसै नियन्त्रणमा लिएको थियो । 

रुकु प्रहरीको नियन्त्रणमा परेलगत्तै माहोल अर्कै बन्यो । रवि र युवराज कार्यालयमै रहेको बेला सादा पोशाकका प्रहरी ‘रवि सरलाई भेट्न आएको’ भन्दै कार्यालय परिसरमा पुगे । बिहीबार पक्राउको तयारी नभएकाले अदालतबाट पक्राउ आदेश जारी भएको थिएन । सादा पोशाकका प्रहरीले बेलुका साढे ७ बजे रवि र युवराजलाई न्युज रुममै आकस्मिक पक्राउ पुर्जी दिएर चितवन लग्यो ।

रुकुसहित कार्यक्रम प्रशारण हुँदा पक्राउमा समस्या हुनसक्ने भएपछि अकस्मात पक्राउको निर्णय भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

‘रुकुको प्रारम्भिक बयानले समेत रवि र उनका सहयोगी संलग्न देखाएपछि पक्राउ गरिएको हो,’ ती अधिकारीले भने, ‘कार्यक्रममार्फत आफ्नो पक्षमा माहोल बनाउन सक्थे, त्यसले पक्राउमा समस्या आउन पनि सक्थ्यो । त्यो जोखिम लिनु ठीक थिएन ।’ 

रवि विवादमा तानिएको यो पहिलो पटक थिएन । जति पटक विवादमा तानिए प्रतिवादका लागि आफ्नै कार्यक्रमको मञ्चलाई आफ्नो पक्षमा जनमत बनाउन उपयोग गर्दै आएका थिए पनि । यसले समेत प्रहरीलाई झस्काएको देखियो । 
यसअगाडि अमेरिकी नागरिकको रुपमा नेपालमा बसेर श्रम स्वीकृति नै नलिई काम गरेको आरोपमा अनुसन्धान हुँदा होस् या वैवाहिक जीवनमा उनीबाट भएको धोखाधडीको पोल खुल्दा, उनले उही शैलीमा आफ्नो बचाउ गरेका थिए । उनका फलोअर उनले गरेको दाबीलाई सत्यझैँ स्वीकार गर्थे र विपक्षीमाथि खनिन्थे ।

आफ्ना पूर्व सहकर्मी शालिकरामले आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाउँदासमेत उनले उही शैली अपनाएका थिए फेसबुक लाइभमार्फत आफ्ना धारणा राखेर । उनले भनेका थिएः

‘एउटा भिडियो अथवा अडियो रेकर्डिङ छ भन्ने आएको छ, जसमा मैले र मेरो साथी दीपक बोहराका कारण आत्महत्या गरेको भन्ने आएको छ । त्यस्तो छ भने मलाई बोलाउनु होला, कुनै कमजोरी छ भने कार्बाहीको दायरामा आउनुपर्छ ।
‘राम्रो अफर आयो भनेर माउन्टेन गएको हो । हुन्छ प्रगति गर्नुस् भनेर पठाएको हो । त्यसभन्दा पछाडि उहाँसँग एक पटक पनि कुराकानी भएको छैन । एसएमएस गरेको छैन । टिमका साथीहरुसँग बुझ्दा पनि कसैले केही नगरेको बुझियो । प्रहरीलाई आवश्यक छ भने जहाँ जानुपर्छ म टिमसहित जान पनि तयार छु ।’

रवि शालिकरामको व्यक्तिगत आनीबानीमा समेत प्रवेश गरे ।  

‘कसैसँग उनको संगत छ । उनको व्यक्तिगत जीवनमा भएको कमजोरीलाई लिएर सिधाकुरामा देखाउन तयार हुनुभएको छ । तिमीमाथि बलात्कारको मुद्दा लगाउँछौँ भनेर कसैले भनेको रहेछ । कसले भनेको हो, थाहा भएन । ती व्यक्ति सम्पर्कमा आएका छैनन् । शालिकजीले भनेको हो हैन, थाहा भएन । उनलाई भन्न बाध्य बनाएको हुनसक्छ । उहाँलाई लागेको हुनसक्छ, म अर्को टेलिभिजनमा गएँ भनेर मेरो विरुद्धमा कार्यक्रम बजाउन लागेको हो कि भन्ने लागेको हुनसक्छ,’ उनले दाबी गरे । 

उनको यो फेसबुक लाइभसँगै माहोल अर्कै बन्दै गयो । 
तर, भिडियो सार्वजनिक भएपछि आफूमाथि लागेको आरोपको आफैँले बहस पैरवी गर्ने रविको योजना सफल भएन । 

लिक गर्ने प्रतिस्पर्धा
भिडियो लिक भएसँगै शालिकरामसँग जोडिएका अन्य सामग्री लिक गर्ने प्रतिस्पर्धा नै शुरु भयो । म्यासेजको स्क्रिनसट सार्वजनिक गर्नुको उद्देश्य शालिकरामको आत्महत्याको कारण रवि हैनन्, उनको व्यवहार हो भन्ने देखाउनु थियो । त्यसैले शालिकरामको आत्महत्याको समाचार बाहिरिएलगत्तै घटनामा संलग्नको खोजीको माग गर्नेहरु एकाएक उनैविरुद्ध देखिए । 

रविसँग निकट देखिएका र रविको समूहमा रहेर काम गर्नेहरु शालिकरामले उनको प्रेमिका दाबी गरिएकी रुकु र अन्यलाई पठाएको सन्देशको स्क्रिनसट सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै रविको पक्षमा उभिनुले माहोल बिगार्दै लग्यो । 

साउन ३० मा ‘सिधा कुरा जनतासँग’का प्रोड्युसर दीपक बोहराले फेसबुकमा शालिकरामका सन्देशको स्क्रिनसटहरु राखेका थिए, जसमा लेखिएको थियो, ‘अब मर्नुभन्दा अर्को विकल्प छैन । खुसीसँग बाँच्नू । बाई । मेरो लाश हेरेर अति खुसी हुनु है !’ दीपकले राखेको दोस्रो स्क्रिनसटमा औषधीको तस्बिरसहित डिप्रेसन भएको भन्दै औषधी डाक्टरले दिएको उल्लेख थियो । 

रविको समर्थनमा आफ्ना धारणा राख्दै आएकी र रविले बनाउने घोषणा गरेको रासकोटा सामुदायिक अस्पतालको भोलेन्टिएर दाबी गर्ने ज्वाला संग्रौलाले पनि शालिकरामको सन्देशको स्क्रिनसटहरु फेसबुकमा राखिन् ।

उनले राखेको स्क्रिनसटमा हातमा विषको बोतल लिएर आत्महत्या गर्ने उल्लेख गरेको तस्बिरसमेत देखिन्छ । अन्य स्क्रिनसटमा प्रेमिका र उनको टाढाको परिवारका सदस्यले तनाव दिएको, आफू अब नेपालमा नबस्ने, त्यसको अंकलले फँसाउला जस्तै छ, मलाई केही मान्छेहरुले फँसाउन सक्छन् । मैले जे नगर्नुपर्ने थियो गरेँ, रिलेसन हुँदा सेक्स भएको थियो तर रेप भनेर फँसायो भने म सकिन्छु’ जस्ता म्यासेज थिए ।

रुकुले स्क्रिनसट सार्वजनिक गरेर चरित्रहत्या गरेकाले साइबर क्राइमको उजुरी हाल्ने भनेपछि ज्वालाले स्क्रिनसट हटाइसकेकी छन् । दीपकको फेसबुकमा यो समाचार लेखेको समयसम्म स्क्रिनसट राखिएकै छ । 

आ–आफ्नै व्याख्या
भिडियो सार्वजनिक भएसँगै अनेक व्याख्या शुरु भएका छन् । रविका समर्थकको तर्क उनलाई फँसाउन खोजेकैमा केन्द्रित छ । कुनै भिडियोमा तकिया देखिनु, कुनैमा नदेखिनु जस्ता दृश्यले कसैले जबर्जस्ती रेकर्ड गर्न लगाएर पछि हत्या गरी झुण्ड्याएको तर्क गर्नेहरु प्रशस्तै छन् । 

अधिकांशको प्रयास घटनालाई आत्महत्या नभई रहस्यमय हत्यातिर मोड्ने नै देखिएको छ । भ्रम फैलाउन फोटोसप गरिएका सामग्रीलाई समेत सत्य हो झैँ गरी सामाजिक सञ्जालमा फैलाउने काम भयो । अफवाह फैलाउन बनाइएका सामग्रीलाई रवि कार्यरत न्युज २४ ले प्राथमिकताका साथ प्रशारण गर्यो ।

रवि समूहका सदस्यबाट सार्वजनिक भएको शालिकरामको सन्देशबाट उनी डिप्रेसनमा पुगेको र शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरिरहेको देखिएपछि आत्महत्याको कारण डिप्रेसन हो, रवि हैन भन्ने तर्क आएको थियो । पोस्टमार्टम रिपोर्ट नआउनु, शालिकरामको शरीरमा घाउ देखिनुजस्ता कोणबाट समेत बहस भए ।

यसमा शंका बढाउन प्रहरीको भूमिकाले समेत काम ग¥यो । प्रहरी अफवाह चिर्न बेलैमा सक्रिय भएन । अनुसन्धानका प्रक्रिया र सूचना गोप्य राख्नमै केन्द्रित भयो प्रहरी ।

अनुसन्धानको पक्षमा पनि माहोल नभएको भने होइन । सामाजिक सञ्जालमा अनुसन्धान र अदालती प्रक्रिया कुर्नुपर्ने मत देखिएको थियो । वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौला लगायतका अनुसन्धानको पक्षमा उभिए सामाजिक सञ्जालमा । तर प्रहरीको आधिकारिक धारणा नआएकाले अनुसन्धानको पक्षमा रहेकाहरुको तर्क रविका समर्थकका अगाडि फिक्का बन्यो ।

आत्महत्या हो भन्ने थप तथ्य सार्वजनिक हुँदै आए । प्रहरीले आत्महत्या गर्नुअघि शालिकरामले चितवनको एक पसलमा डोरी किन्दै गरेको क्लोज सर्किट टेलिभिजनको फुटेज फेला पार्यो । फुटेजमा साउन २० गते उनी नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलमा गएर पाँच मिटरको डोरी किनेको देखियो, जुन डोरीमै उनी पासो लागेको प्रहरीको दाबी छ । 

यसले आत्महत्या हैन भन्ने तर्क केही फितलो बनायो । 

मंगलबार आएर बल्ल पोस्टमार्टम रिपोर्टमा पुडासैनीको मृत्युको कारण गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख दानबहादुर मल्लले जानकारी दिए । पोस्टमार्टममा उल्लेख मृत्युको कारणले आत्महत्या नै देखायो ।

रविकाे पक्षबाट बहस गरिरहेका कानुनी सहयाेगीहरुले बयान सकिएकाले म्याद थप्न आवश्यक नरहेको दावी गरेका थिए । तर अझै भिसेरा रिपोर्ट आइसकेको छैन । अन्य भिडियोको वैज्ञानिक अनुसन्धानको पाटोसमेत बाँकी छ । त्यसै आधारमा रवि लगायतका सदस्यहरुलाई अनुसन्धानका लागि म्याद थपिएको देखियो ।

के हुन्छ केस ?
रविसहित तीन जना पक्राउको प्रमुख आधार पुडासैनीको आत्महत्या अगाडिको भिडियो नै हो । जसमा रविमाथि तलब राम्रो नदिएको, तनाव दिएको, न्युज २४ टेलिभिजन छाडेर गएपछि बलात्कारको झुटो कार्यक्रम बनाएर प्रसारणको धम्की दिएको उल्लेख छ । रुकु र युवराजमाथि लागेको आरोप पनि उस्तैउस्तै हो । 

भिडियोमा आरोप त छ तर त्यसलाई अनुसन्धानको कोणबाट सम्बन्ध जोड्न आवश्यक छ । रुकु र पक्राउ परेका युवराजको बयान यसमा महत्वपूर्ण हुन्छ । शालिकरामलाई कसले बलात्कारबारे कार्यक्रम बन्न लागेको सूचना दिएको थियो, सो पहिल्याउनुसमेत महत्वपूर्ण देखिन्छ ।

यसको आधारमा रवि, युवराज र रुकु मिलेर नक्कली बलात्कारबारे समाचार तयार पार्ने भनेर उनलाई धम्क्याएको पुष्टि भए मात्र शालिकरामलाई आत्महत्या गर्न दुरुत्साहन गरेको पुष्टि हुनसक्छ । रविका कानुनी सहयाेगीले शालिकरामलाइ बलात्कारकाे केस लगाएर कार्यक्रम बनाउने धम्की आएको तर सो धम्की रवि या उनको समूहबाट भन्दा पनि अस्मिताको दाईले धम्क्याएको दावी गरेका छन् ।

रविले बयानमा शालिकराम आत्महत्यामा आफूले दुरुत्साहन नगरेको बयान दिइसकेका छन् । सोमबार र मंगलबार उनीसँग बयान लिइएको थियो । स्रोतका अनुसार उनले शालिकरामलाई कुनै प्रकार तनाव नदिएको समेत दाबी गरेका छन् । उनको दाबीलाई प्रमाण र अन्यको बयानबाट खण्डन गर्ने चुनौती प्रहरी र सरकारी वकिलको हो । 

शालिकरामको मोबाइलमा रहेको भिडियो र अडियो क्लिप, यस बीचमा उनीसँग भएको फोन सम्पर्कको विवरण र बयानबाट दुरुत्साहन हो हैन थप पुष्टि हुनसक्छ । यसमा सबैभन्दा महत्वपूर्ण बयान रुकुको हुने देखिन्छ । रविका कानुनी सहयाेगीकाे दावी अनुसार अस्मिताले रवि र युवराजलाइ हिरासतमा आएर मात्र चिनेको बयान दिएको दावी गरेका छन् । 

रविका सहयोगी दीपक बोहरालाई सरकारी साक्षी बनाउने तयारी छ । उनको बयानसमेत यो केसमा महत्वपूर्ण हुने देखिन्छ । मुलुकी अपराध संहितामा आत्महत्या दुरुत्साहनको विस्तृत व्याख्या छैन, केवल दुई वाक्यमा टुंग्याइएको छ । यसले समेत अन्योल बढाएको देखिन्छ नै ।

‘ऐनको यही दफालाई मात्रै आधार मान्ने हो भने कसैले कुनै व्यक्तिगत रिसिइबीका कारण अरुलाई फँसाउन सक्ने जोखिम हुन्छ,’ अधिवक्ता स्वीकृति बराल भन्छिन्, ‘व्यक्ति बिना गल्ती पनि फँस्न सक्छ । व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गर्न यो दफा काफी भए पनि कसैलाई सजाय नै दिलाउन व्याख्या हुन जरुरी छ । सायद यसको फैसला आउँदा पूर्ण व्याख्या आउनसक्छ ।’ 

हिरासतमा के गर्छन् रवि ?

( चितवनमा निकिता पौडेल । तस्बिर : राजेन्द्र)

रवि पक्राउ परेदेखि उनकी श्रीमती निकिता पौडेल चितवनमै छिन् । उनी केही सहयोगीसहित ग्लोबल होटलमा बसेकी छन् । उनी बिहान र बेलुका होटलबाटै खान बोकेर जिल्ला प्रहरी कार्यालय पुग्छिन् । प्रतीक्षा कक्षमा प्रहरीसामू आफूले ल्याएको खाना चाख्छिन् । खानामा केही मिसाएको त छैन भनेर प्रहरीले बाहिरबाट ल्याएको खाना आफन्तलाई चखाउँछ । 

हिरासतमा रवि शान्त छन् । हिरासतमा रहेका अन्यसँग उनी घुलमिल हुन सकेका छैनन् । प्रायः उनी किताब पढेर बस्छन् । बेलुका त्यत्ति सुत्न सकेका छैनन् रवि । उनलाई निकिताले नै पुस्तक पु¥याउने गर्छिन् । बाहिर भएका विरोध प्रदर्शन लगायतका घटनाबारे उनैले अपडेट गराउँछिन् ।

उनलाई भेट्न नेता, कलाकार र मानवअधिकारकर्मी पुगिरहन्छन् । उनीहरुसँग कुराकानी गर्छन् । कांग्रेसका केही नेता, कलाकार रामकृष्ण ढकाल लगायत उनलाई हिरासतमा भेट्न पुगेका थिए । 

* अमेरिकादेखि चितवन हिरासतसम्म

( तस्बिर : नेपालखवरडटकम)

नेपाली टेलिभिजनमा ‘यहाँको चलन’ लगायत मनोरञ्जन कार्यक्रम चलाउँदा चलाउँदै रवि लामिछाने अमेरिका हान्निए । उतै काम गरेर बसेका उनी छ वर्ष अगाडि नेपाल फर्किए । उनले न्युज २४ टेलिभिजनमा बुद्ध वाज वर्न इन नेपाल विषयमा ६२ घण्टा १२ मिनेटसम्म कार्यक्रम चलाएर विश्वमा सबैभन्दा लामो समयसम्म टक शो होस्ट गरेको विश्व कीर्तिमान बनाए ।  

सो कार्यक्रमसँगै रवि स्वदेश फर्किएको शन्देस पनि गयो । 

उनी ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ बाट नेपाल टेलिभिजनको पर्दामा देखिए । पटक पटक प्रधानमन्त्री बदलिइरहने समस्याले उनको यात्रा ब्रेक लाग्यो । पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि उनले राखेकै नाममा अर्कैलाई सञ्चालक राखेर कार्यक्रम चलाएपछि उनी रूष्टहुँदै ‘सिधा कुरा जनतासँग’ नाममा नीजि टेलिजिन च्यानल न्युज२४ मा फर्किए। 

प्रारम्भमा उनको कार्यक्रमले दर्शकको ध्यान तान्न सकेको थिएन । यूट्युवबाट समेत प्रत्यक्ष प्रशारण गर्ने, फेसबुकमा लाइभ आइरहने गर्दै उनले दर्शको ध्यान आफ्नो कार्यक्रतिर तान्न ताले । रोजगारीकोक्रममा विदेशिएर अलपत्र परेकाहरुको अवस्थाबारे रिर्पोटिङ बजाउन थालेपछि उनको कार्यक्रम लोकप्रिय हुन थाल्यो ।

होटलको कोठामै गएर छापा मार्ने, भक्तपुरमा भुत देखियो भन्दै रिर्पोटिङ गर्दा उनी विवादमा पनि आए । ‘घुमाएर, टुडिखेलमा नाँकको डाँडी भाँचिने गरी हान्ने’ जस्ता शब्द प्रयोग गर्दा उनको प्रस्तुती शैली विवादमा आउन थाल्याे । विवादमा आए पनि उनको कार्यक्रम लोकप्रियहुँदै गयो । 

प्राय वैदेशिक रोजगारी र क्रसर उद्योगको बदमासीसँगै समसामयीक विकृती केन्द्रित कार्यक्रम र उनको आक्रामक शैलीले उनी लोकप्रियहुँदै गए । श्रम अनुमती नलिइ नेपालमा गैर कानुनी रुपमा काम गरेको आरोपमा डिर्पोटको तयारीहुँदा उनको पक्षमा सामाजिक सञ्जालमा समर्थकको ओइरो लागेको थियो । यसले उनकाे बढ्दाे लाेकप्रियता देखाएकाे थियाे । अहिले आत्महत्या दुरुत्साहनको आरोपमा चितवन प्रहरीको हिरासतमा रहँदा चितवनमा दैनिक प्रर्दशन नै भइरहेको छ । 

===================================================================

अष्टमी गुरुङको त्यो केस...
रविले आफ्नो कार्यक्रममार्फत विदेशमा रहेका नेपालीहरु केन्द्रित रहेर विभिन्न कार्यक्रम बनाए । कतिपय केसको फलोअप गर्न उनी आफैं सम्बन्धित देशमा पुगेका थिए । यस्तै एउटा केसलाई उनले जोडतोडका साथ उठाए र फलोअप गर्न उनी युएई नै पुगेका थिए । 

त्यो केस थियो, युएई पुगेकी गोरखाकी अष्टमी गुरुङको केस । अष्टमीको शव उनको कोठामा फेला परेको थियो । उनको मृत्युपछि शव नेपाल ल्याउँदा ब्यागमा मोबाइल भेटियो । मोवाइलमा एउटा भिडियो क्लिपसमेत भेटियो जसमा उनले रुँदै आफ्ना आमाबाबुसँग माफी माग्दै ‘आफू काम गर्ने कम्पनीका सुपरभाइजर साइमन काजीले इज्जत लिलाम गरिदिएकोे’ उल्लेख थियो ।

त्यसैको आधारमा रविले अष्टमीलाई बंगलादेशी नागरिक साइमनले आत्महत्या गर्न बाध्य बनाएको र यो आत्महत्या नभई हत्या भन्न सजिलै सकिन्छ भनेर दाबी गरे । आरोपीलाई राक्षस भन्दै पैरवी गरिरहे । त्यसको आधार उही मोबाइलमा फेला परेको भिडियो क्लिपै थियो । कार्यक्रमको फलोअप गर्न अबुधाबीमै पुगे । साइमनविरुद्ध मुद्दा चल्यो तर अदालतले उनले आत्महत्या गरेको र आरोपी निर्दोष रहेको ठहर गर्यो । 

संयोग, अहिले रविविरुद्ध उस्तै प्रकृतिको अपराधको आरोपमा मुद्दा चलिरहेको छ तर उनी पूर्व सहकर्मीको आत्महत्या अगाडि भिडियो क्लिपलाई प्रमाण स्वीकार गरिरहेका छैनन् । हिजो क्लिपको आधारमा साइमनलाई दोषी दाबी गर्ने उनी अहिले आफूमाथि उस्तै प्रकृतिको केस पर्दा आफू निर्दोष भएको दाबी गरिरहेका छन् ।
 

अवैध रुपमा नेपालमा काम
आफ्नो दाजुको सम्बन्धको आधारमा नेपालमा भिसा लिएर बसेको र गैरकानुनी रुपमा पत्रकारिता गरिरहेको उजुरी पर्दा चार वर्ष कटिसकेको थियो । नेपाल प्रेस काउन्सिलमा अमेरिकी नागरिकता बोकेर श्रम स्वीकृति नलिई लामिछानेले नेपालमा काम गरिरहेको उजुरी पर्यो । 

प्रेस काउन्सिलले उजुरीको आधारमा अध्यागमन, श्रम विभाग र गृह मन्त्रालयसँग जानकारी माग्यो । सबै सरकारी निकायबाट लामिछाने अमेरिकी नागरिकको हैसियतमा नेपालमा बसेको र श्रम स्वीकृति नलिएको खुलेपछि काउन्सिलले अध्यागमन कानुन, प्रेस कानुन र श्रम कानुन उल्लंघन गरेको भन्दै कार्बाही प्रक्रिया अगाडि बढाएको थियो । 
उनको कार्यक्रमबारे उजुरी परेपछि काउन्सिलले २०७४ चैत २३ मा स्पष्टीकरण सोध्यो । लामिछानेले २०७५ वैशाख ६ मा आफू विदेशी नागरिक नरहेको, श्रम स्वीकृति लिएको र पत्रकार नरहेको जवाफ पठाए । 

काउन्सिलले सरकारी निकायसँग बुझ्दा उनी अमेरिकी नागरिकको हैसियतमा नेपालमा रहेको आफन्तको आधारमा नेपालमा बसेको र श्रम स्वीकृति पनि नलिएको जानकारी आएपछि काउन्सिलले कार्बाहीको प्रक्रिया शुरु गर्दा आफूले भ्रष्टाचारविरुद्ध चलाएको अभियानविरुद्ध लागेकाहरुले षड्यन्त्र गरेको भन्दै कार्यक्रममार्फत निरन्तर आफ्नो वकालत गरिरहे । समर्थकलाई उग्र बन्ने वातावरण बनाए ।

प्रेस पास लिन्नँ, बरु जुत्ता पालिस गर्छु भन्दै काउन्सिलविरुद्ध खुला रुपमा उत्रिए । लामिछाने प्रतिवादमा उत्रिएपछि उनका समर्थक सामाजिक सञ्जालमा सक्रिय भए । काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठविरुद्ध सञ्जालमा निरन्तर आक्रमण भयो । उनले अमेरिकी नागरिकता त्याग्न निवेदन दिइसकेको दाबी गरेका थिए । 

उनी अमेरिकी नागरिक रहेको खुल्दा उनी नेपालमा बसेको चार वर्ष बितिसकेको थियो । गैर कानुनी रुपमा काम गरिरहेको खुल्दा उनले अमेरिकी नागरिकता त्याग्न निवेदन दिएको स्वीकार गरे । उनकै भनाइबाट पनि उनी चार वर्षसम्म गैरकानुनी रुपमा नेपालमा काम गरेर बसेको पुष्टि भयो ।

तर उनका समर्थकको उग्र विरोधका कारण उनीमाथिको कार्बाहीको प्रक्रिया बीचैमा रोकियो । ०७५ असार ६ मा नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकता त्याग्न निवेदन दिएको खुलेपछि काउन्सिलले कानुन पालना गर्न ध्यानाकर्षण गराउन कार्बाही प्रक्रिया स्थगित ग¥यो । 

विवाहेत्तर सम्बन्ध

( श्रीमति निकिताकाे साथ रवि लामिछाने । तस्विर स्राेत : निकिताकाे फेसबुक पेज  )

गैरकानुनी रुपमा नेपालमा टेलिभिजन कार्यक्रम चलाएर बसेको विवाद साम्य भएको सात महिनामै रवि अर्को विवादमा आए । दोस्रो विवाद उनको व्यक्तिगत जीवनसँग जोडिएको थियो । 

श्रीमती र छोरी अमेरिकामै छाडेर नेपाल आएका उनको यतै तत्कालीन चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग प्रेम सम्बन्ध गाँसिएपछि श्रीमतीलाई नेपाल बोलाएर डिभोर्स दिएको खुल्यो । डिभोर्सको घटना गुपचुपै थियो । 
एकाएक यसलाई सार्वजनिक गर्ने काम रविले नै गरेका थिए, फेसबुक लाइभमार्फत । जेठी श्रीमतीले उनको व्यक्तिगत चरित्रबारे मिडियासँग बोल्ने तयारी गरेको सूचनाको आधारमा सो समाचार सार्वजनिक हुनुअगाडि नै आफ्नो बचाउ गर्न उनी फेसबुक लाइभमा आएका थिए । 

उनले लाइभमा जेठी श्रीमतीसँग डिभोर्स हुनुका अनेक कारण दिँदा अमेरिका बसाईकै क्रममा जेठी श्रीमतीसँग डिभोर्स हुनुअगाडि नै एक विदेशी महिलासँग सम्बन्धमा रहेको र एक सन्तानसमेत रहेको स्वीकारेका थिए । उनले डिभोर्स दिए पनि अमेरिकामा रहेको अर्पाटमेन्ट श्रीमतीलाई दिएको र २ छोरीको खर्च आफैँले बेहोर्ने दाबी गरेका थिए । 

आफूबाट गल्ती भएको स्वीकारेका उनले निकितासँगको सम्बन्धबारे भने खुलाएनन् । त्यसको खुलासा उनकी जेठी श्रीमतीले गरिदिइन् । निकितासँग विवाह गर्नकै लागि दबाबमा डिभोर्स दिन लगाएको उनको दाबी आयो । जेठी श्रीमती मिडियामा आएपछि उनले आफ्नी पूर्व श्रीमतीको प्रेमीसमेत रहेको भन्दै म्यासेजको स्क्रिनसट फेसबुकमार्फत सार्वजनिक गरेका थिए । आलोचना भएपछि हटाए । 

उनले निकिता राम्रो साथी हो प्रेमिका हैनन् भनेर दाबी गरे पनि शुक्रवारको खोजमा यी दुवै डिभोर्स हुनु अगाडिदेखि नै मित्रपार्कको एक अर्पाटमेन्टमा सँगै बस्ने गरेको खुल्यो । वैशाखमा विवाह पनि गरे ।

विवाहित हुँदाहुँदै अर्की युवतीसँग सम्बन्धमा रहने र सन्तान समेत जन्माएको, अमेरिकामा श्रीमती हुँदाहुँदै नेपालमा अर्की प्रेमिका बनाएको जस्ता विवरण सार्वजनिक भएपछि पक्षविपक्षमा चर्का बहस भए । सञ्जाल रविमय भयो । 
यो पालि पनि उनले समर्थकको साथ पाए । उल्टो जेठी श्रीमतीलाई दोषी देखाइयो ।

त्रुटि त जोबाट पनि हुनसक्छ भन्दै उनका समर्थक रक्षा कवच बनिदिए । नैतिक पतनका घटना सार्वजनिक भए पनि समर्थनको शैली उस्तै देखियो । 

विवाद श्रृंखलाकै क्रममा उनी अहिले आफ्ना पूर्व सहकर्मीलाई आत्महत्या गर्न बाध्य पारेको अरोपमा चितवन प्रहरीको हिरासतमा छन् । र, उनका समर्थकहरु उस्तै शैलीमा रविलाई फँसाइएको दाबी गर्र्दै उनको रिहाइको माग गर्दै उग्र प्रदर्शनमा छन् । सामाजिक सञ्जाल रविकै बहसले भरिएको छ । आपराधिक घटनाको छिनोफानो गर्ने अदालतबाटै यो मुद्दा टुंगियोस् भन्ने तर्क राख्नेहरुमाथि सामाजिक सञ्जालमा आक्रमणको क्रम जारी छ । 

लिलाम हुँदै अमेरिकी घर
जेठी श्रीमतीसँग डिभोर्सपछि आफ्ना फ्यानको सहानुभूति पाउन रवि लामिछानेले अमेरिकामा दुःखले जोडेको घरसमेत श्रीमतीलाई सुम्पेको र किस्ता आफैँले तिर्ने दाबी गरेका थिए । तर यो दाबी गरेको एक वर्ष नपुग्दै रविले किस्ता तिरिदिने भनेको घर लिलाम हुने चरणमा पुगेको छ । 

अमेरिकाको मेरिल्याण्डको पार्कभिलमा रविको नाममा घर छ । तर त्यसको पूरै किस्ता तिरिसकेका छैनन् । मेरिल्याण्डको पार्कहिल क्यालिफोर्निया एभेन्युमा रहेको घर नम्बर ३०४२ मा उनका दुई छोरी र पूर्व पत्नी बस्दै आएका छन् । रविले घरसमेत पूर्व श्रीमतीको नाममा गरिदिने बताएका थिए ।

तर उनले सो घर पूर्व श्रीमतीको नाममा पास गरिदिएका छैनन् नै नियमित किस्ता नतिरिदिँदा कुपर नामक रियलस्टेट कम्पनीले किस्ता चाँडै तिर्न पत्राचार गर्दै बाँकी किस्ता नतिरे ४५ दिनभित्र घर लिलामीको प्रक्रियामा लैजाने जनाएको छ । ‘शुक्रवार’ले प्राप्त गरेको पत्रमा रियलस्टेटले ऋणीको नाम रवि नै उल्लेख गरेको छ । 

रकम असुलीको दावीमाथि अनुसन्धान होला ?
रवि र उनका सहकर्मी युवराज आत्महत्या दुरुत्साहनको अभियोगमा प्रहरी हिरासतमा छन् । शालिकराम पुडासैनीको सुसाइड भिडियोमा आत्महत्या गर्न बाध्य बनाएको सँगै अर्को गम्भीर आरोप पनि छ, असुलीको ।
उनले भिडियोमा कार्यक्रमको आवरणमा रविले करोडौं पैसा असुलेको दाबी गरेका छन् । ‘दुनियाँलाई थर्काएका छौ, लुटेका छौ । कतिसँग करोड लुटेका छौ । मलाई भनिस् भने मारिदिन्छु  भनेका थियौँ,’ भिडियोमा पुडासैनीको दाबी छ । 
उनको दाबीअनुसार वेलकम एडभरटाइजिङको नाममा पैसा उठाउने गरिन्थ्यो । उनले पैसा कसरी उठ्छ, त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन् । चितवन प्रहरीको दाबी अनुसार उनको मोबाइलबाट सुसाइड भिडियोबाहेक अन्य रेकर्डहरु पनि फेला परेका छन् ।  ती असुलीसँग जोडिएका हुन् या अन्य खुलेको भने छैन । 
भिडियोमा बालुवा तस्कर, ठूला ठू्ला व्यापारीहरुसँग करोडौँ असुलेको दाबीसमेत छ । 
यसबारे अनुसन्धान हुनसक्छ ?

पत्रकारको व्यवहारबारे अनुसन्धान गर्ने प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ कसैले उजुरी दिए छानबिन हुने बताउँछन् । रविबारे अन्य दुई वटा उजुरीसमेत रहेको र सोबारे छानबिन भइरहेको जानकारी दिँदै उनले भने, ‘भिडियोमा भनिएकै आधारमा अनुसन्धान हुन्न, कसैले उजुरी दिए अनुसन्धान गर्छौं ।’ 

यसैबीच चितवनका तिलक गैरेले आफ्नो बाबुबारे गलत समाचार प्रशारण गरेको र सो सच्याउन आग्रह गर्दा १० लाख मागेर साढे ३ लाख लिएको दाबी गरेका छन् । 

‘सिधा कुरा’को कार्यालयमा १० लाख मागे : तिलक गैरे

( पैसा लिएकाे अरोप लगाउने तिलक गैरे रवि लामिछानेसँग )

मेरो बुबामाथि २०७५ पुस १९ गते बलात्कारको उजुरी पर्यो । बुबालाई चितवन प्रहरीले पक्राउ ग¥यो । अहिले मुद्दा विचाराधीन छ । जसले मेरो बुबालाई बलात्कारको आरोप लगाएकी हुन्, उनले दाङमा पनि अन्यलाई यस्तै आरोप लगाएको सुनेपछि मिसिल खोज्न दाङ गएँ ।

चैतको मध्यतिर हुनुपर्छ । एकाएक ‘सिधा कुरा जनतासँग’ मा बलात्कारको पीडित भनिने युवतीलाई बयान फेर्न प्रभावमा पार्न उनको ब्यागमा पाँच लाख राखिदिएको भनेर समाचार प्रशारण भएछ । उनीहरु अदालतमै आएर भिडियो खिचेर गएका रहेछन् । रवि लामिछाने, दीपक बोहरा र युवराज कँडेल आएका रहेछन् । कार्यक्रम प्रशारण भयो । 
म दाङमा थिएँ । चितवनमा हाम्रो परिवार पनि थियो ।

कसैसँग घटनाबारे सोध्दै नसोधी, हुँदै नभएको, गर्दै नगरेको समाचार आएपछि म चितवन फर्किएँ । रविको सहयोगी कँडेलको नम्बर फेला पर्यो । मैले उनलाई फोन गरेर अदालतमा विचाराधीन मुद्दामा झूटो कुरो किन बोल्नुभयो ? यो झूटो हो, पीडित भनिएकी युवतीले अरुलाई पनि फँसाएकी छन् भनेँ । 

कँडेलले अहिले हामी नुवाकोटमा छौँ, यतै आउनु भने । म आउन सक्दिनँ भनेँ । अफिस कहाँ हो म आउँछु भनेपछि काठमाडौं पानीपोखरीमा मिसिल लिएर आउनु भने । म चितवनबाट काठमाडौं आएर पानीपोखरीमा रहेको न्युज २४ को कार्यालयमा गएँ ।

हामी तीन जना गएका थियौँ । रविलाई दाइ भनेर चितवन जिल्ला अदालतमा जे समाचार प्रशारण गर्नुभयो त्यो झूटो हो, पैसा दिएको छैन, लेनदेन गरेको छैन । मिसिल हेर्नुस्, प्रमाण केही भए मेरो बुबालाई सजाय हुनुपर्छ । नत्र ५९ वर्षको निर्दोषलाई फँसाउनु पाप हो । योबारे बोल्दिनुपर्यो भनेँ । 

रवि सरले यसरी बोल्न यो रेडियो एफएम हैन भने । केही समय विवाद भयो । यो घटनाको बारेका अनुसन्धान गरेर कार्यक्रम बनाउनुस् र देखाउनुस्, बुबाको कार्यक्रमको भिडियो युट्युबबाट हटाउनुस् भन्दा त्यत्तिकै कार्यक्रम बनाउन लाग्ने खर्च १० लाख जति दिनु युट्युुबबाट पनि हटाउँला भने । 

म त झसंग भए । म त उहाँको फ्यान थिएँ । अन्यायविरुद्ध आवाज उठाउने व्यक्ति भन्ने लागेको थियो । उल्टो पैसा मागेपछि के भन्ने के भन्ने भयो । 

दाइ म त तपाईंको फ्यान पनि हो । अन्यायमा पनि परेको हुँ । भिडियो भए पनि हटाइदिनुस् न त भन्दा हामीबाट केही हुन्न, अदालत गए हुन्छ भने ।

पैसा नदिए केही हुन्न भनेपछि मैले १० लाख त छैन, मसँग भएको साढे ३ लाख रुपैयाँ छ, हुन्छ भने लिनुस् भनेँ । उहाँले ल यो भित्र गएर युवराज कँडेललाई दिनु म हटाइदिन्छु भन्नुभयो । 

म चितवन फर्किएँ । चितवन गएर हेर्दा हटेको रहेनछ । मैले रवि दाइलाई फोन गरेर भिडियो त हटेको रहेनछ भनेँ । उहाँले युवराजसँग कुरा गर्नु भने । युवराजलाई फोन गर्दा साढे ३ लाखले भिडियो हट्दैन, नाम चैँ हटाइदिएका छौँ भने । बाँकी पैसा दिन सकिनँ । उल्टो अन्यायमा परेँ । 

रवि लामिछाने बिना स्वार्थ हिँडेको रहेनछ । राम्रो मान्छे रहेनछ भन्ने देखियो । मैले अहिले जे बोलेको छु, त्यसबारे अनुसन्धान होस् । म जहाँ जान पनि तयार छु । 
(शुक्रवारसँगको कुराकानीमा आधारित )

 

काेही किन अन्धभक्त बन्छ

- गोपाल ढकाल, मनोविद्
नेपालीको चाँडै रिसाउने र चाँडै खुसी हुने स्वभाव छ । यस्तो स्वभावका कारण कसैसँग चाँडै मिल्ने र चाँडै रिसाउने व्यवहार हुन्छ । चाँडै आवेशमा आउनाले व्यक्ति सही वा गलत कुरा नछुट्याई अन्धभक्त भएर कसैको पक्ष वा विपक्षमा लाग्छ । 
एक मात्रै कारणले व्यक्तिले कसैको पक्ष वा विपक्षमा अन्धभक्त भएर लाग्दैन । बौद्धिक क्षमतामा कमी हुँदा सही वा गलत छुट्याउने क्षमतामा कमी हुन्छ । 
चेतनाको अभावमा गहन अध्ययन नहुँदा व्यक्ति कसैप्रति वा कुनै कुराप्रति अन्धभक्त हुन पुग्छ । चेतनाकै अभावका कारण मनले खाएको व्यक्तिप्रति कतिपय व्यक्ति ज्यानै दिन तयार हुन्छ । मनले खाएको व्यक्तिले जतिसुकै गल्ती गरे पनि पक्षमा लागिरहन्छ । 
कतिपय व्यक्ति त भीडको मनोविज्ञानका कारण भीडप्रति आकर्षित हुन्छन् । भीड देख्दा भीडतिरै जान खोज्छन् । भीड देख्दा मस्तिस्कै उत्तेजित हुन्छ । भीडभाडमा जाउँजाउँ लाग्छ । मानसिक समस्याका कारणसमेत व्यक्तिमा यस्तो अवस्था सृजित हुन्छ । 
व्यक्तिमा निराशा तथा कुण्ठा भएको अवस्थामा उसले आफ्नो कुण्ठा पोख्ने माध्यम भीडलाई बनाउँछ । भीडमा कराउँदा, चिच्याउँदा मनको कुण्ठा बाहिर निस्किएर तनाव कम हुन्छ । यस्तो अवस्था व्यक्तिमा स्वतःस्फूर्त रुपमा आउन सक्छ । 
भीडमा गएर वा सामाजिक सञ्जाल लगायतको माध्यममा हुने उत्तेजना तथा आवेशले मस्तिष्क उत्तेजित हुन्छ । त्यसैले व्यक्ति लिखित वा मौखिक जुनसुकै माध्यमको प्रयोग गरी गालीगलौज गर्नतिर लाग्छ । कुण्ठा व्यक्त गर्नकै लािग सडकमा समेत उत्रिन्छन् । 

‘एन्टी सोसियल पर्सनालिटी डिसअर्डर’ जस्तो मानसिक समस्या भएको अवस्थामा व्यक्ति तोडफोड, ढंगामुढाजस्ता अराजक गतिविधिमा उत्रन सक्छ । कसैलाई यस्तो डिसअर्डर हुर्काई तथा अभिभावकत्वको कारण  हुन्छ । कसैलाई भने जन्मजातै यो समस्या हुन्छ । 

अराजक गतिविधि गर्दा व्यक्तिको मन क्षणिक रुपमा शान्त भए पनि दीर्घकालीन रुपमा भने स्वयं व्यक्ति र समाजमा पनि नकारात्मक असर पर्छ । जसले व्यक्तिलाई थप समस्या निम्त्याउन सक्छ । 

( कुराकानीमा आधारित )
 

'न्यायाधीश बन्ने काम पत्रकारिता हैन'

पी. खरेल, प्राध्यापक, पत्रकार 
पत्रकारको काम समाचार प्रस्तुत गर्ने हो । के भएको छ, पक्ष विपक्षले के भने, प्रत्यक्षदर्शी वा प्रमाणले के भन्छ, त्योअनुसार आफ्नो धारणा नराखी प्रस्तुत गर्नुपर्छ । पत्रकारको काम सत्यतथ्यमा आधारित सूचना दिनु हो । कुनै पनि घटनामा पक्षविपक्षमा लागेर न्यायाधीश बन्नु हैन । 
सही–गलत छुट्ट्याउने राज्यका अरु नै निकाय छन् । पत्रकारले आफूलाई लागेको विचार लेख्न पाउँछ तर विचारको रुपमा समाचार लेख्न पाउँदैन । जब समाचारमा विचार मिसिन्छ, त्यहाँ पत्रकारिताको मूल मर्म मर्छ । 
पहिले राजनीतिक दलको नाउँमा मिसन पत्रकारिता चल्ने गरेको थियो । आफूसम्बद्ध राजनीतिक दलको गुणगान गाएर लेख्ने, अरु पार्टीले राम्रै भने पनि विरोध गर्ने गरेको देखिन्छ । एकताका त सरकारको विरोध मात्रै गर्ने पत्रकारिता पनि थियो । 
कार्यक्रम प्रस्तोता रवि लामिछानेको कार्यक्रम पनि त्यस्तै मिसन पत्रकारिता जस्तो देखिन्छ । सरसर्ती हेर्दा प्रस्तुति गर्ने शैली र घटनाको पक्षविपक्ष लिएको बुझिन्छ । जुन पत्रकारिता हैन । 
हाम्रो प्रेस काउन्सीलले टिभीमा कार्यक्रम प्रस्तोतालाई पनि पत्रकार भनेर नै व्याख्या गरेको छ । अहिलेको कानुनअनुसार लामिछाने पत्रकारै हुन् तर अन्तर्राष्ट्रिय प्रचलनअनुसार कार्यक्रम प्रस्तोतालाई पत्रकार भन्न मिल्दैन ।
मूलधारको मिडियाले घटनाबारे समाचार लेख्दा कहिलेकाहीँ चिप्लेको पाइन्छ । आरोप लगाउनुभन्दा अघि बलियो स्रोत र प्रमाण हुन जरुरी छ । कुरा प्रस्ट के हो भने जतिसुकै राम्रो मुद्दा भए पनि सही वा गलत छुट्ट्याउने आफैँ न्यायाधीश बन्ने काम पत्रकारको हैन । 

( कुराकानीमा आधारित )

 
समाज अतिवादतिर

मीना उप्रेती,समाजशास्त्री 
समाजमा दुई÷तीनथरिको स्वभाव भएका व्यक्ति हुन्छन् । कोही कुनै पनि घटनाको सत्य तथ्य के हो भनेर बुझेपछि मात्र त्यसप्रति धारणा बनाउने हुन्छन् । कोही हौवामा लाग्ने हुन्छन् । सत्य तथ्य के हो भन्दा पनि भीडले हो भने हो, हैन भने हैनतर्फ लागेको देखिन्छ । कसैलाई कुनै घटना घट्नु र नघट्नुको अर्थ हुँदैन । पहिलो प्रकारको स्वभाव भएका व्यक्तिहरु कमै हुन्छन् भने दोस्रो प्रकारको स्वभावका बढी देखिन्छन् हाम्रो समाजमा । 

रवि लामिछानेको पक्राउ र विरोधको प्रसंगलाई दुई तरिकाले हेर्न सकिन्छ । पहिलो, समाजलाई राज्यका निकायमा विश्वास नभएर हो हल्ला गरेपछि काम हुन्छ भन्ने लागेको देखिन्छ भने अर्काे तर्फबाट हेर्दा निष्पक्ष छानविन भएन भने समाजले छोड्दैन है ! हामी जागरुक छौँ भन्ने पनि हुन्छ । 

लामिछानेको केस त एउटा उदाहरण मात्र हो । समाजलाई जब राज्यका संयन्त्रहरुमा अविश्वास पैदा हुन्छ, अन्धाधुन्ध रुपमा जे सुकै घटना घटे पनि विरोध गर्न तत्पर भइहाल्छ । एकदमै ठूलो आशाको साथ दुई तिहाइको सरकार बनेको थियो तर निर्मला हत्याकाण्डमा दोषी पत्ता लगाउन नसकेपछि राज्यका संयन्त्रमा जनताको विश्वास भएको देखिन्न । अहिले भएको त्यही हो । 

समाजको स्वभाव शान्तै रहने हुन्छ तर जब आशा निराशामा बद्लिन्छ, समाजले सत्ता नै आफ्नो हातमा लिन खोज्छ । लामिछानेले भ्रष्टचार, ठगीजस्ता विषयमा आवाज उठाए । यस्ता विषय जनताको चासो र प्रत्यक्ष सरोकार राख्ने विषय हुन् । उनको कार्यक्रम हेरेर नै उनी प्रतिको सहानुभूति एवं फ्यान फलोअर बढेको देखिन्छ । कार्यक्रम अलावा अरु व्यवहार के हो ? त्यो कार्यक्रम कसरी चलेको छ ? समाजमा सबैलाई त्यसबारे चासो हुँदैन । 

जब व्यक्तिमा चरम निराशा छाउँछ, आक्रोशपूर्ण प्रस्तुतिलाई पनि सहर्ष स्वीकार्छ । मेरो विश्लेषणमा, कोही कसैको पनि सरकारप्रतिको निराशा हो । समाज निराश हुँदै छ । सानो घटना पनि सबै आगो भएर जान्छन् । यो अवस्था भनेको खतरा परिस्थिति हो । 

अन्धभक्त हुने, आफ्नो कुरा मात्रै सही भन्ने राजनीतिक दलबाट सिकेको हो कि जस्तो देखिन्छ । अलि विद्वान वर्ग पनि घटनालाई अतिरञ्जित बनाउन खोजेको हो कि जस्तो पनि देखिन्छ । 

कुनै पनि कुराको अति प्रशंसा गर्नु र अति विरोध गर्नु समाज अतिवादतर्फ जाँदैछ भन्ने बुझिन्छ । दुवै अतिले खति निम्त्याउँछ । समाजमा चरम निराशा नहट्ने हो भने यही परिस्थिति रहिरहन सक्छ । 

( कुराकानीमा आधारित )

कानुनको थप व्याख्या जरुरी

स्वीकृति बराल,अधिवक्ता
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने व्यवस्था छ । ऐनको दफा १८५ अनुसार कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थित खडा गर्न वा गराउन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचार हजारसम्म जरिवाना हुन्छ । 
के–के गरेमा दुरुत्साहन मान्ने र के–के गरेमा दुरुत्साहन नमान्ने यो अदालतले फैसला गर्ने विषय हो । आत्महत्या गर्ने व्यक्तिले कसैको नाम लिँदैमा नाम लिएको व्यक्तिले आत्महत्याका लागि दुरुत्साहन गरेको हो वा हैन भन्ने कुरा कसरी प्रमाणित हुन्छ ? 

कसैको नाम लिएकै भरमा व्यक्ति पाँच वर्षसम्म कैद भोग्नु पर्ने अवस्था आउनु न्याय हुँदै हैन । कानुनले प्रमाणको आधारमा न्याय गर्ने हो । कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाउँछ भने दुरुत्साहन गरेका प्रमाणहरु पनि भेटिनु आवश्यक हुन्छ । बोलेकै आधारमा मात्र दोषी मानिनु अन्याय हुन सक्छ । 

अर्को कुरा, व्यक्तिले कुन मनसायले कुन कुरा बोलेको हो भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । व्यक्तिले साँच्चै आत्महत्याका लागि दुरुत्साहन गरेको हो वा हैन भन्ने विषयको गम्भीर अनुसन्धान हुन आवश्यक हुन्छ । 

सजाय गर्दा दुरुत्साहन कस्तो किसिमको हो भन्ने हेरेर मात्र कति सजाय दिने भन्ने निक्र्यौल गरिन्छ । सजायको विषयमा पनि वर्तमान ऐनको आत्महत्यासम्बन्धी दफामा प्रस्ट व्याख्या छैन । जुन व्याख्या गर्न आवश्यक देखिन्छ । 
ऐनले अपराध मानेको प्रावधानअनुसार आत्महत्या गर्ने व्यक्तिले आत्महत्याका लागि कसैले दुरुत्साहन गरेको भनिएको छ भने नाम लिइएको व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नुलाई कानुनी प्रक्रियाको रुपमा लिनुपर्छ । 

ऐनको यही दफालाई मात्रै आधार मान्ने हो भने कसैले कुनै व्यक्तिगत रिसिइवीका कारण अरुलाई फँसाउन सक्ने जोखिम हुन्छ । व्यक्ति बिना गल्ती पनि फँस्न सक्छ । व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गर्न यो दफा काफी भए पनि कसैलाई सजाय नै दिलाउन भने दफा १८५ को प्रस्ट व्याख्या हुन जरुरी छ । 

चितवनमा भएको आत्महत्यासम्बन्धी रवि लामिछानेको मुद्दा सम्भवतः नयाँ ऐन आएपछि सार्वजनिक भएको पहिलो मुद्दा हो । यसको फैसलापछि नै आत्महत्या दुरुत्साहनसम्बन्धी व्याख्या प्रस्ट हुन सक्छ  । 
( कुराकानीमा आधारित )

..............

* २०७६ भदाैं ६ गते थप गरिएकाे सामाग्री

Leave A Comment