के भएको छ प्रधानमन्त्रीलाई ?

शुक्रबार, ०६ भदौ २०७६, १० : ५० शुक्रवार
के भएको छ प्रधानमन्त्रीलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वस्थ रहेको र अझै २५ वर्ष बाँच्ने दावी गरे। उनको आयु त्यो भन्दा लामो होस्। तर संसदमा प्रधानमन्त्रीको सम्बोधनको क्रममा देखिएको दृष्य उनको दावीसँग मेल खाने देखिएन। सम्बोधनको क्रममा उनको सास बढिरहेको थियो, जिउ पनि कामी रहेको थियो। बालुवाटारको कडा घेरा कटेर उनको स्वास्थ्यबारे आउने सूचनाले पनि प्रधानमन्त्रीको स्वास्थ्यमा तलमाथी भइरहेको जनाउथ्यो नै।

प्रधानमन्त्रीको स्वास्थ्य परिवार वा कुनै पार्टी विशेष वा कुनै समूहको मात्र चासोको विषय पक्कै हैन। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था आम नागरिकको चासोको विषय हो। किड्नी फेरेको १२ वर्ष पुगिसकेका प्रधानमन्त्री ओलीको दिर्घरोगी हुन् भन्ने त उनी आफैले स्विकार गरेको विषय हो।

पटक–पटक स्वास्थ्य उपचारका लागि विदेश गइरहनुले पनि उनको स्वास्थ्य अवस्थाबारे नागरिकमा चासो बढ्छ नै। तर नागरिकले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ भन्ने प्रष्ट जानकारी पाउने गरेका छैनन्।

स्वास्थ्य उपचारका लागि विदेश गएर फर्कदा समेत किन गएको र के उपचार गरेर फर्किएको जस्ता महत्वपूर्ण जानकारी गोप्य राखिन्छ। विदेशमा उपचार गरेर फर्किएको एक साता कटे लगत्तै फेरी उपचारका लागि विदेश जाने तयारी गरिन्छ। तर किन भन्ने नागरिकको चासो सम्बोधन हुन्न।

प्रधानमन्त्रीको स्वास्थ्य हेर्न सरकरी तलवमा चिकित्सकको टोली नै छ प्रधानमन्त्री निवासमा। उनीहरुको दायित्व प्रधानमन्त्रीको स्वास्थ्यको ख्याल गर्ने हो नै। साथसाथै नागरिकलाई उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिनु पनि उनीहरुकै जिम्मेवारी हो। चिकित्सक आफैं वा प्रधानमन्त्रीको सचिवालयका जिम्मेवार अधिकारी मार्फत जनचासोको विषय सम्बोधन गर्न सकिन्छ। र गर्नुपर्छ।

तर, स्वास्थ्य अवस्था सार्वजनिक गरेर समाजमा फैलिरहेको अफवाह चिर्नभन्दा सामान्य सूचना पनि गोप्य राख्ने कसरत गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई रहस्मय बनाउन सक्रिय देखिए सरकारी चिकित्सक र प्रधानमन्त्री कार्यालयका जिम्मेवार अधिकारी।

यस विषयमा उनीहरु केही बोल्न नचाहनुको अर्थ प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जे जस्ता सरकारी दावी आइरहेका छन् त्यसमा सत्यता छैन भन्ने देखिन्छ। सिंगापुरमा उपचार गरेर आएको एक साता कटे लगत्तै प्रधानमन्त्री पून सिंगापुर जाने तय हुनुले पनि यही देखाउँछ।
त्यसैले सबैको सरोकार रहेको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लुकाएर रहस्यमय बनाउनुभन्दा अहिलेको अवस्था के हो सो सार्वजनिक गर्नु बुद्धिमतापूर्ण कदम हुनेछ। यसले बढ्दो अफवाह त चिर्ने नै छ आम नागरिक समेत आश्वस्त हुनेछन्। अफवाह चिर्ने र आम नागरिकलाई आश्वस्त बनाउने जिम्मेवारी सरकारी अधिकारीकै हो।

हाम्रा प्रधानमन्त्री सधै स्वस्थ रहुन् दिर्घायु रहुन्।

Leave A Comment