जीवन परियोजनाको प्रिमोर्टम

शुक्रबार, ०६ भदौ २०७६, ११ : ५८ प्रकाश जंग थापा
जीवन परियोजनाको प्रिमोर्टम

कुनै व्यवसाय गर्दा होस्, कुनै परियोजनामा संलग्न हुँदा होस् अथवा कुनै विकास उन्मुख कार्य गर्दा होस् पोस्ट–मोर्टम विधि प्राथमिकतामा राखिन्छ। यहाँ परियोजना भन्नाले जीवनमा हासिल गर्न खोजिएको सबै कुरा जुन व्यक्तिगत साथै संस्थागत पनि हुन सक्छ भन्ने अर्थ लाग्छ। परियोजनाको समाप्तिपश्चात्, कुनै संस्थाले आफ्नो सेवा र सुविधा बजारमा प्रवद्र्धन गरेपछि त्यस परियोजना तथा संस्थामा आबद्ध, सेवा सुविधा निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने हरेक व्यक्तिलाई बैठकमा बोलाइन्छ। यस बैठकमा उपस्थित सबैले दुई प्रश्नबारे मन्थन गर्छन्। एक, हामीले के सही ग-यौँ ? दुई, हामीले के गलत ग-यौँ ? यसबाट के प्रस्ट हुन्छ भने बैठकको मुख्य उद्देश्य भनेकै परियोजना समीक्षा गर्नु हो। परियोजना अथवा कुनै कार्यसम्पादन दौरान हुन गएका कमी कमजोरी केलाउनु हो ताकि यसै कमजोरीबाट प्राप्त शिक्षा निकट भविष्यमा गरिने परियोजनामा प्रयोग गर्न सकियोस्। परियोजनाको सम्पन्नतापछि गरिने यही प्रक्रिया, कार्य पद्धतिलाई नै पोस्टमोर्टम भनिन्छ। र, परियोजना सुरुवात गर्नुअगावै गरिने यही प्रकृतिको कार्यपद्धतिलाई प्रिमोर्टम भनिन्छ। जब जीवनमा अघि बढ्दै गइन्छ, नयाँ सम्बन्ध जोड्न, व्यवसाय सुचारु गर्न, स्वास्थ्य निर्माण, आध्यात्मिक एवं व्यक्तित्व विकासमा कार्यमा संलग्न भइन्छ भने रणनीतिक सोच राख्नु अत्यन्त जरुरी हुन आउँछ। उसो भए रणनीतिक सोच कसरी अपनाउने ? यसका लागि प्रिमोर्टम विधि प्रयोग गर्न सकिन्छ। अर्थात्, परियोजनाको पूर्व समीक्षा।

प्रिमोर्टमको कार्यविधि

प्रिमोर्टमका लागि केही निश्चित कार्यविधि छन्। र, त्यो चरणबद्ध रुपमा गरिन्छ। पहिलो चरणमा एउटा परियोजना छनोट गर्नोस्। त्यो जे पनि हुन सक्छ। नयाँ बिजनेसमा लगानी गर्ने हो कि सफल वैवाहिक जीवन जिउने ? जीवनको उद्देश्य पहिल्याउने हो कि शरीरको तौल घटाउने ? प्रबुद्ध बन्ने हो कि अरु केही ? कुनै एक परियोजना रोज्नुहोस्, धेरै होइन।

दोस्रो चरणमा आफ्नो परियोजना पूर्ण रुपमा असफल भएको कल्पना गर्नोस्। मानौँ तपाईंको प्रमुख परियोजना व्यवसाय थियो। अब आफ्नो लगानी डुबेको अनुमान गर्नोस्। बैंकको लोन भुक्तानी गर्न नसक्दाको छटपटी अनुभूत गर्नोस्। तपाईंलाई विश्वास गरेरै सेयर किन्ने लगानीकर्ताको अनुहार मानसपटलमा उतार्नोस्। आर्थिक रुपमा धराशयी भएको परिस्थितिमा आफूलाई उभ्याउने कोसिस गर्नोस्। त्यसैगरी मानौँ तपाईंको प्रमुख परियोजना प्रबुद्ध बन्नु थियो। अब जति ध्यान तपस्या गरे पनि कुनै उल्लेख्य नतिजा प्राप्त नभएको कल्पना गर्नोस्। अनगिन्ती आध्यात्मिक कार्य निरर्थक साबित भएको र सत्य प्राप्त गर्न नसक्दाको पीडा अनुभूत गर्नोस्।
त्यसैगरी मानौँ तपाईंको प्रमुख परियोजना तौल घटाउनु थियो। अब जिम खानामा भर्ती भएर हरेक किसिमको व्यायाम गरे पनि, खानामा सचेत भए पनि तौल घट्नुको साटो झन् दश किलो बढेको कल्पना गर्नोस्। त्यसैगरी मानौँ तपाईंको प्रमुख परियोजना बिहे थियो। अब तपाईंको वैवाहिक जीवनमा विभिन्न बाधा अड्चन आएको कल्पना गर्नोस्। श्रीमान्–श्रीमतीबीच भावनात्मक सम्बन्ध हुन नसकेको अनि अन्ततः सम्बन्ध डिभोर्समा परिणत भएको कल्पना गर्नोस्। यस चरणमा परियोजना जे होस् असफल भएको कल्पना गर्नोस् तर कल्पना यथार्थ नजिक हुनुपर्छ।

प्रिमोर्टम अरु क्षेत्रमा पनि उत्तिकै प्रभावकारी साथ प्रयोग गर्न सकिन्छ। जस्तैः जागिरबाट राजिनामा दिनुअगाडि, नयाँ करिअर निर्माण, आध्यात्म, कलेज जीवन, नयाँ बानी विकास कार्य, विश्व भ्रमण, सम्बन्ध र विवाह, नयाँ वर्ष आदिमा प्रिमोर्टम विधि अपनाउन सकिन्छ।

तेस्रो चरणमा परियोजना असफल हुनुको कारणहरू सूचीकृत गर्नोस्। किन व्यवसाय डुब्न गयो ? किन प्रबुद्ध हुन सकिएन ? किन शरीरको तौल सन्तुलित भएन ? वैवाहिक जीवन के कारणले अन्त्य भयो ? प्रत्येक असफलताको कारण पत्ता लगाउन सक्रिय हुनोस्। वाह्य मात्र नभएर सूक्ष्म मनोवैज्ञानिक कारणहरू पनि टिपोटमा उल्लेख गर्नोस्। यति मात्र होइन, संकलित तमाम कारणहरू प्राथमिकताको आधारमा व्यवस्थापन गर्नोस्। परियोजना असफल बनाउन सक्ने अत्यधिक सम्भावना बोकेको कारण अग्रस्थानमा र न्यूनतम सम्भावना बोकेको कारण अन्तिममा राख्नोस्। यस चरणमा दूरदर्शी सँगसँगै यथार्थवादी सोच कायम राख्नु अत्यन्त जरुरी छ।

चौथो चरणमा सूचीकृत हरेक कारणको उचित समाधान खोजी गर्नोस्। मुख्यतः परियोजना असफल बनाउने प्रमुख तीन कारणमाथि मन्थन गर्नोस्। विशिष्ट तर वास्तविक समाधान पहिल्याउन प्रयासरत हुनोस्।

यी सम्पूर्ण चरणहरु परियोजना सुरुवात गर्नु भन्दा पहिले गरिन्छ। यही नै प्रिमोर्टमको कार्यविधि हो। यो कार्यपश्चात् परियोजना सफल बनाउन के गर्नुपर्छ ? कति समय, ऊर्जा, स्रोत र साधन आवश्यक पर्छ ? त्यसका लागि स्पष्ट खाका तयार बनाउन सकिन्छ।

अनुप्रयोगको क्षेत्र
प्रिमोर्टम विधिको उपयोगिता फराकिलो छ। भन्नुको अर्थ, अनुप्रयोगको क्षेत्र विशाल छ। उदाहरणका रुपमा नयाँ व्यवसायमा प्रिमोर्टम कसरी गर्न सकिन्छ त्यसबारे व्याख्या गरौँ। मानौँ, तपाईंले नयाँ व्यवसाय आफ्नो प्रमुख परियोजनाको रुपमा छनोट गर्नु भयो। अब त्यो व्यवसाय असफल भएको कल्पना गर्नोस्। सम्भावित कारणहरू के हुन सक्छन् ? त्यसमाथि गहन अध्ययन र अनुसन्धान गर्नोस्। सम्भावित कारणहरू परिकल्पना गरेर कापीमा सूचीकृत गर्नोस्। सूची लामो हुन सक्छ। त्यस सूचीमा समाविष्ट कारणहरू यस प्रकारका हुन सक्छन्ः

व्यापारिक मन्दी

अतिरिक्त बजेट नहुनु

प्रतिस्पर्धी संस्थाले सर्वप्रथम सेवा र सुविधा प्रवद्र्धन गर्नु

अनावश्यक विश्लेषण

पैसा र सफलताको पछाडि लाग्नु

काम कम गफ बढी

ग्राहकको आवश्यकता प्राथमिकतामा नराख्नु

हरेक दिन व्यवसाय गर्न उत्साहित हुन नसक्नु

उदासीनता

आर्थिक सुरक्षालाई महŒव दिनु

विषाक्त महिला वा पुरुषको प्रेममा पर्नु

प्राविधिक कौशल नहुनु

दूरदर्शिताको अभाव

नयाँ बिजनेस आइडियाप्रति ज्यादै आकर्षित हुनु

सर्भर क्र्यास हुनु

सहयोगी संस्थाले सहकार्य टुटाउनु आदि।

यो सूचीमा व्यवसाय असफल बनाउने एकमात्र कारण के हुन सक्छ ? त्यो पहिचान गर्नोस्। महत्वपूर्ण कुरा त्यो सूचीमा समावेश गरिएका कारणहरूमध्ये मनोवैज्ञानिक पनि कारणहरू छुट्याउनुपर्ने हुन्छ। त्यसपछि हरेक कारणको उपयुक्त समाधान खोज्न तल्लिन रहनुहोस्। प्राविधिक कौशल नहुनु नै तपाईंको व्यवसाय असफल हुनुको प्रमुख कारण हो भने त्यसलाई कसरी विकास गर्न सकिन्छ त्यसप्रति गम्भीर रहनुहोस्। उदासीनता नै तपाईं असफल व्यवसायी हुनुको प्रमुख कारण हो भने उदासीनता हटाउनेतिर लाग्नोस्। व्यवसायप्रति कसरी उत्साहित रहन सकिन्छ त्यसमा अध्ययन गर्नोस्। ध्यान गरेर हुन्छ कि ? प्राकृतिक ठाउँ भ्रमण गरेर हुन्छ कि व्यवसायमा सफलतम व्यक्तिसँग घनिष्ठता बढाएर हुन्छ ? त्यसबारे निक्र्योल गर्नोस्। त्यसैगरी अरू असफलताको प्रमुख कारण मेटाउन यही खाले अध्ययन र अभ्यास गर्नोस्।

प्रिमोर्टम अरु क्षेत्रमा पनि उत्तिकै प्रभावकारी साथ प्रयोग गर्न सकिन्छ। जस्तैः जागिरबाट राजिनामा दिनुअगाडि, नयाँ करिअर निर्माण, आध्यात्म, कलेज जीवन, नयाँ बानी विकास कार्य, विश्व भ्रमण, सम्बन्ध र विवाह, नयाँ वर्ष आदिमा प्रिमोर्टम विधि अपनाउन सकिन्छ।

तत्काल चाल्नुपर्ने कदम
परियोजनाको प्रिमोर्टमबारे जानकारी लिएर मात्रै उपलब्धि हात लाग्दैन। ठोस परिणाम ल्याउन निम्न कार्य योजना निर्माण गर्नुपर्छ। केही कदम तत्काल अगाडि बढाउनुपर्ने हुन्छः

कुनै एउटा परियोजना छनोट गर्नोस्। जीवनमा के गर्न चाहनु हुन्छ ? कस्तो उपलब्धि प्राप्त गर्न इच्छुक हुनुहुन्छ, त्यसमा स्पष्ट हुनोस्।

छनोट गरिएको परियोजना सञ्चालनमा लानुपूर्व ३० देखि ६० मिनेट त्यस परियोजनाको प्रिमोर्टम गर्नोस्।

रणनीतिक व्यक्ति बन्दा संचार हुने अनुभूति बोध गर्नोस्।

अधिकांश मानिस परियोजनाको थालनी गर्नु अगाडि प्रिमोर्टम गर्दैनन्। कतिपयले त्यसको आवश्यकता महसुस गर्दैनन्। जसकारण असफलताको बाटो हिँड्न बाध्य हुन्छन्। तपाईं बुद्धिमानी हुनुहुन्छ। त्यसैले अधिकांश मध्येको एक बन्ने प्रयत्न नगर्नोस्। परियोजना ठूलो–सानो जे भए पनि त्यसको प्रिमोर्टम गरेरै अघि बढ्नुहोस्। यसो गर्दा तपाईंले सञ्चालन गर्ने जुनसुकै परियोजना परिणाममुखी हुनुको साथै उच्च ग्रेडको बन्न पुग्छ।

Leave A Comment