प्रतिष्ठान ‘दासढुङ्गा २’को निर्माणमा सकारात्मक

शनिबार, ०७ भदौ २०७६, १२ : ३२ शुक्रवार
प्रतिष्ठान ‘दासढुङ्गा २’को निर्माणमा सकारात्मक

फिल्म ‘दासढुङ्गा २’को निर्माण अनुमति दिन विकास बोर्ड अझै आनाकानी गरिरहेको छ। यही आनाकानीका कारण फिल्म निर्माण रोकिएको झण्डै तीन महिना भइसक्यो। भदौमा छायाँकनमा जाने भनिएको फिल्मको अहिलेसम्म झुलिरहेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले टक्टकिँदै ‘मबाट हुँदै हुँदैन’ भन्ने जवाफ दिएर निर्माण पक्षलाई चकित पारिदिएका छन्।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जिवराज आश्रितको दुर्घटनामा केन्द्रित राजनीतिक पृष्ठभूमिको कथा फिल्ममा समेटिएकाले बोर्डले नै प्रतिष्ठानलाई चिठी लेखेको थियो।

बोर्ड अध्यक्ष भट्टराई प्रतिष्ठानको जवाफ कुरिरहेका छन्। यसपछि निर्माण समूह पनि प्रतिष्ठानको कुर्न बाध्य भयो।
फिल्म निर्माणको अनुमति बोर्डले दिन्छ तर विकास बोर्डले नै प्रतिष्ठानको मुख ताक्न थालेपछि यस फिल्मका लेखक तथा निर्देशक कुमार भट्टराई आफैँ प्रतिष्ठान धाउन थालेका छन्।

अहिले उनी पार्टीतिरबाट नै दबाब दिइरहेका छन्। फिल्म निर्माणलाई लिएर अहिले प्रतिष्ठान पनि केही सकारात्मक देखिएको कुमार बताउँछन्।

उनले भने, ‘यो हप्तामा निष्कर्ष आउने कुरा छ। प्रतिष्ठानका सदस्यहरु अहिले पोजिटिभ हुनुहुन्छ। केही कुरा फेरबदल गर्नका लागि छलफल गर्न बोलाउनु भएको छ। यो शुक्रबारसम्म आर कि त पार हुन्छ।’

Leave A Comment