हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), लोकगायिका पूर्णकला बिसी, जय देवकोटा, लोकेन्द्र शाही, मोडल रिना थापामगरको टोली कार्यक्रम गर्न मलेसिया उड्यो। मलेसियामा रहेका नेपालीमाझ सांस्कृतिक कार्यक्रम गर्न टोली २०७३ को तिहारमा मलेसिया उडेको थियो। आयोजक मलेसियाको विमानस्थलबाहिर उनीहरुको पर्खाइमा थिए। तर, मलेसियाको इमिग्रेसनमा रहेका प्रहरीले उनीहरुको पासपोर्ट हेरेर उनीहरुलाई विमानस्थलको अर्कै कोठातिर लग्यो। जुत्ता खोल्न लगाएपछि बल्ल उनीहरुले चाल पाए प्रहरी नियन्त्रणमा परेको। ‘फलो मी’ भन्दै मलेसियन प्रहरीले पछि लगाएर हिरासत कक्षमा पु-यायो।
दर्शक हँसाउने मरिचमानको आँखाबाट बरर आँशु झरे। लोकगायिका पूर्णकला अनि मोडल रिना पनि घुँक्कघुँक्क गर्न थालिसकेका थिए। कलाकारको रुपमा कार्यक्रममा जान भिजिट भिसा प्रयोग गरेको अभियोगमा उनीहरु तीन दिन थुनामा परे।
अधिकांश देशको भिसा नीतिअनुसार जुन प्रयोजनका लागि गएको हो, सोही प्रयोजनको भिसा आवेदन गर्नु अनिवार्य छ। ढाँटेर गए यस्तै कार्बाहीमा पर्नुपर्छ। कोही त महिनौँसम्म जेलसमेत पर्छन्।
तर विभिन्न देशमा हुने कार्यक्रममा सहभागी हुन जाने नेपाली कलाकार प्रायः जे कामका लागि जाने हो, सो खुलाउँदैनन्। आर्टिस्ट–पर्फमेन्स भिसामा जानुपर्ने हो उनीहरु तर भिजिट भिसामा गइदिन्छन्। कोही उम्किन्छन्, केही बल्छी ध्रुबे समूहझैँ फस्छन्।
भिजिट भिसाको तुलनामा आर्टिस्ट भिसा पाउन गाह्रो हुन्छ। शुल्क पनि बढी लाग्छ। त्यसमा आयोजक जो हो, ऊसमेत सम्बन्धित देशमा कानुनी मान्यता प्राप्त हुनुपर्छ। कार्यक्रमको पूर्व स्वीकृति, टिकट बेच्ने स्वीकृति लिनुपर्छ।
मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)
अधिकांश आयोजकले घरेलु कार्यक्रमझैँ गरेर नेपालबाट कलाकार बोलाउँछन्। कानुनी हैसियत पनि हुँदैन। पूर्व स्वीकृति पनि हुँदैन। विदेश जान पाइने भनेपछि नेपालका कलाकारले पनि केही सोधखोज नगरी पुग्छन् र फस्छन्।
अर्को घटना।
हालै, नेपाली कलाकारको एउटा टोली २१ दिन मलेसियाको जेलमा थुनियो। गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’बाट चर्चामा आएकी श्रेया राईसहित ३१ जना हिरासतमा पुग्नुको कारण ढाँटेर जानु नै थियो। उनीहरु कार्यक्रममा सहभागी हुन भिजिट भिसामा गएका थिए, पर्फमेन्स भिसामा हैन।
मलेसियामा कार्यक्रम गरिरहेकै बेला उनीहरुलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा पु-याएको थियो। एसएसओजी नामक आयोजक कम्पनीले त्यहाँ साङ्गीतिक कार्यक्रम गरेको थियो। कार्यक्रम भएको करिब दुई घण्टापछि स्थानीय प्रहरी आएर सबैलाई पक्राउ गरेको श्रेयाले बताइन्।
पक्राउ पर्नेमा श्रेयासँगै गायिका सुनिता थेगिम र सृजना आङदेम्बे लगायत कार्यक्रम हेर्न बसेका दर्शक र आयोजक पनि थिए। श्रेया यो सब हुनुको कारण आर्टिस्ट भिसाको साटो भिजिट भिसामा जानु रहेको स्वीकार गर्छिन्।
‘मेरो पहिलाको टुरहरु भ्वाइसले नै हेरिदिन्थ्यो,’ उनले भनिन्, ‘यसपालि व्यक्तिगत रुपले गा’को थिएँ। हामी धेरैजना थियौँ। आर्टिस्ट भिसा नभएर नै थुनिएको रहेछ। मलाई यो आर्टिस्ट भिसाबारे खासै थाहै थिएन।’
श्रेया राई
युट्युब हेरेर कलाकार रहेको सुनिश्चित गरेपछि मात्र उनीहरुलाई घरमा फोन गर्न दिइएको थियो। श्रेया आमासँग गरेको त्यो संवाद सम्झन्छिन्, ‘आमाले त, नानी तँ त जेलमा गइछस् रे भनेर फोनमा भन्नु भयो। फेसबुकबाट उहाँले हामी थुनामा परेको कुरा थाहा पाउनु भएछ। मैले हामीलाई अनुसन्धानमा राखेको छ। अनुसन्धानपछि थुनामा राखिन्छ। अनि अदालत लगेपछि हामी नेपाल आउँछाँै भनेर आश्वस्त बनाएँ।’
अस्ट्रेलियाको टुर क्यान्सिल गरेर मलेसियाका लागि भिसा अप्लाई गरेकी श्रेया उल्टै थुनामा परेको खबरले परिवार यता चिन्तित थिए। त्यसपछि अन्य देशमा भएका आयोजकले कागजतपत्र बुझाएपछि उनीहरु २१ दिनपछि नेपाल फर्के।
केही दिनअघि मात्रै जीतु नेपाल (मुन्द्रे)को टोली जापान उड्यो। टिममा अहिले चर्चामा रहेकी फुलन्देकी आमा (उमेश राई) जापानबाट फर्किए। तर उमेश आफूहरु जापानमा कुनै कार्यक्रम गर्न नभई भेटघाटका लागि गएको बताए। यद्यपि उनी आर्टिस्ट भिसाका कारण नभई अन्य कारण नै जापानबाट फर्केको दाबी गर्छन्।
‘हामी भिजिट भिसामा गएका थियौँ,’ उनले स्पष्टीकरण दिँदै भने, ‘उता एयरपोर्टमा मेरो पासपोर्ट हेरेर, कता कता घुम्ने हो भनेर सोध्या थियो। स्पोन्सर गर्ने छँदै थियो। उहाँले केही भन्नु होला भनेर मैले केही भनिनँ। त्यसपछि मलाई फर्काइयो।’
भिखारी जसरी खाना खाइयो
हाँस्यकलाकार मरिचमान भिजिट भिसाका कारण विदेशमा थुनिएका कलाकारबारे सुन्नासाथ झस्किहाल्छन्। तीन रात मलेसियाको हिरासतमा थुनिएको अनुभवी उनी ती तीन दिन निकै पीडादायी रहेको बताउँछन्।
‘यहाँबाट जाँदा सहज नै थियो,’ उनले भने, ‘उताको एयरपोर्टमा हाम्रो पासपोर्ट हेर्दै थियो पुलिसले। अचानक ‘फलो मी’ भन्यो। हामी पछि लागेर गयौं। अनि धेरै टाढा पु-याएपछि एकछिन हामीलाई त्यहीँ राखियो।’
मरिचमानका अनुसार त्यसपछि प्रहरीले नाम बोलायो। पासपोर्ट फोटोकपी ग-यो। फेरि १० मिनेट हिँडाएपछि पर लगेर फोन स्वीच अफ गर्न लगायो। फोन र पासपोर्ट लियो।
त्यसपछि प्रत्येकसँग सय डलर माग्यो। त्यो पैसाले पानी, मञ्जन, ब्रस अनि ओरियो बिस्कुट किनेर दियो। त्यहाँबाट अर्को कोठामा लगेर जुत्ता खोल्न लगायो। महिलालाई अर्कै कोठामा लग्यो, पुरुषलाई अर्कै। उनीहरु भुइँमै सुते हिरासतमा। खान खानेबेलामा भिखारी जसरी खाएको मरिचले अहिले पनि बिर्सन सकेका छैनन्।
‘खाना खाने बेलामा कुखुरा, माछा, खसी देखाउँथ्यो। अनि त्यसअनुसार खाना लेराउँथ्यो। सबैभन्दा दुःखको क्षण के थियो भने उसले खाना ल्याएर ढोकामा राख्थ्यो। अनि देश अनुसार सबैलाई लाइनमा राख्थ्यो। इजिप्ट भन्दा इजिप्टका लाइनमा गएर बस्थे, पाकिस्तान भन्दा पाकिस्तानका लाइनमा बस्थे। अनि नेपाल भन्दा हामी तीन जना भिखारी जसरी लाइन बस्थ्यौँ,’ उनले ती दिन सम्झँदै भने।
थुनामा परेको भोलिपल्ट उनीहरुलाई बाहिर बोलायो। उनीहरुसँग गएका एक जनालाई राम्रो मले(मलेसियन) भाषा बोल्न आउँथ्यो। उनले मले भाषामा बल्छी धुर्बे लगायतका अन्य कलाकार रहेको जानकारी दियो। प्रहरीले युट्युब खोलेर हेरे। त्यसपछि मात्र अलिकति राम्रो व्यवहार गर्न थालेको मरिच सुनाउँछन्।
‘कलाकार भनेपछि भित्र कोठामा पनि हल्ला भयो। त्यसपछिका दिनमा भने हेल्लो आर्टिस्ट भनेर बोलाउँथ्यो। नत्र भए हे हे भनेर बोल्थ्यो,’ उनले हिरासतको अनुभव सुनाए।
अहिले पनि धेरै कलाकार भिजिट भिसामा कार्यक्रममा जाने गरेको मरिचमानले बताए। भिजिट भिसाले कार्यक्रम गर्न जाने कलाकारहरुलाई समस्या पारेको उनी बताउँछन्।
कलाकार आफैँले सोच्नुपर्छ
गायिका ज्योति मगरको दाबीअनुसार उनी विदेशमा कार्यक्रम गर्न जाँदा आर्टिस्ट भिसामा मात्र जान्छिन्। भिजिट भिसामा पनि कार्यक्रम गरेर फर्केको उनीसँग धेरै अनुभव छ। तर, अहिलेसम्म यस्तो भिसा लफडामा आफू नपरेको उनले शुक्रवारलाई बताइन्। उनको अनुभवमा भिजिट भिसा भन्दा आर्टिस्ट भिसामा सहज हुन्छ।
‘आयोजक नै सस्तो खोज्छन्,’ उनले भनिन्, ‘त्यसैले लटरपटर गरिदिन्छन्। नत्र त आर्टिस्ट भिसा कलाकारका लागि सजिलो हुन्छ। पाउन गाह्रो पनि हुने होइन तर मनोरञ्जन कर, हलको कर आदिले कार्यक्रम महँगो परिदिन्छ। त्यस्तो भिसा आउन पनि समय लाग्छ। त्यसैले आयोजक रिस्क लिन चाहन्नन्।’
भिसिट भिसामा जाने कलाकार गैरकानुनी हुने र त्यस्ता व्यक्तिले कलाकारिता प्रस्तुत गर्नु नहुने उनको तर्क छ। त्यता आयोजकले पारिश्रमिक दिएन भने लड्ने कारण समेत नहुने भएकाले आर्टिस्ट भिसामै जान उनले सुझाव दिइन्।
Leave A Comment