डिग्री–होल्डर केकी

शुक्रबार, २१ साउन २०७३, १२ : ४५ शुक्रवार , Kathmandu
डिग्री–होल्डर केकी

पढन्ते सेलिब्रिटीको सूचीमा अब अभिनेत्री केकी अधिकारीको नाम थपिएको छ । केकीले मास्टर्स डिग्री हासिल गरेकी छिन् । शनिवार आयोजित दीक्षान्त समारोहमा उनले उपराष्ट्रपति नन्दकिशोर पुनको हातबाट एमबीएको सर्टिफिकेट थापेकी थिइन् । उनको सात मिनेटको भाषणले धेरैलाई भावुक बनाएको थियो । ‘कोसिस करने वाले की कभी हार नही होती’– उनले हिन्दी कवि हरिवंशराय बच्चनको कविताका पंक्ति वाचन गर्दै आफूले पनि सधैँ कोसिस गरेको र जीवनका अप्ठ्यारा दिनहरू सामना गरेर अगाडि बढेको स्मरण गरेकी थिइन् । ‘नेपाली फिल्मकी अभिनेत्री भएको नाताले मैले जीवनमा धेरै कुरा पाएकी छु र गुमाएकी पनि छु,’ उनले भनेकी थिइन्, ‘तर, मैले शून्यबाट सुरु गरेर अनन्तसम्म पुग्ने साहस गुमाएकी छैन ।’ केकीले डिग्री हासिल गरेको खुशी फेसबुकमा पनि साटेकी छिन् । फिल्मकर्मी र प्रशंसकहरूको बधाइ थाप्न उनलाई भ्याइ–नभ्याइ छ । केकीले यो सफलतालाई फिल्मको सुटिङका कारण आफूले राति अनिदो बसीबसी गरेको अध्ययनको प्रतिफल पनि भनेकी छिन् । ‘यो मास्टर्स डिग्रीले भविष्यमा ममा केही परिवर्तन ल्याउँछ÷ल्याउँदैन, मलाई थाहा छैन । तर, मैले हासिल गरेको सफलताप्रति म गौरवान्वित छु,’ उनले भनेकी छिन् । उनले काठमाडौँ, बिजुलीबजारस्थित प्रेसिडेन्सियल कलेजबाट ‘ह्युमन रिसोर्स म्यानेजमेन्ट’ मा एमबीए गरेकी हुन् ।

 

Leave A Comment