महिला बढी बाँच्ने तीन कारण

बुधबार, ११ भदौ २०७६, ०१ : ३७ उपेन्द्र खड्का
महिला बढी बाँच्ने तीन कारण

पुरुषको तुलनामा महिलाको औसत आयु लामो हुन्छ। नेपालमा मात्रै हैन सामान्यतः संसारभरै पुरुषको तुलनामा महिलाको औसत आयु लामो हुने चिकित्सक बताउँछन्।  अमेरिका, जापान, अस्ट्रेलिया, भारत, चीनजस्ता मुलुकमा पुरुषको तुलनामा महिलाको औसत आयु लामो हुने देशलाई उदाहरणको रुपमा लिन सकिन्छ। अध्ययनअनुसार महिलाको सय वर्षभन्दा बढी आयु हुने सम्भावना हुन्छ। पुरुषको कम।

नेपालीकै आयु हेर्ने हो भने नेपालीको औसत आयु ७१ वर्ष छ। जसमध्ये महिलाको औसत आयु ७२ वर्ष र पुरुषको ६९ वर्ष छ।
पुरुषको तुलनामा महिलाको आयु किन लामो हुन्छ ?

पुरुषको तुलनामा महिलाको आयु लामो हुने केही आधार देखिएका छन्। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सभाना प्रधान शर्माका अनुसार आणुवंशिक, जैविक र वातावरणीय कारणले पुरुषको तुलनामा महिलाको आयु लामो हुन्छ।

आणुवंशिक कारण
बुवा–आमाको जिन अर्को वंशमा सर्छ। सामान्यतः राम्रो जिन वंशमा जान्छ। रिचार्ड डर्किनको पुस्तक ‘द सेल्फिस जिन’ लाई नै आधार मान्ने हो भने पनि वंशमा राम्रो जिन ट्रान्सफर हुन्छ।

संसारमा कतिपय जीव लोप भएर गए पनि मानवको वंशमा भने राम्रो जिन जाने (ट्रान्सफर हुने) भएकाले आजसम्म मानिसको अस्तित्व रहेको चिकित्सकको तर्क छ। महिलामा पनि राम्रो जिन आउने भएकाले उनीहरुको आयु लामो हुने चिकित्सक बताउँछन्।

डा. अरुणा उप्रेतीले पनि वंशाणुगत रुपमै महिलाको शरीर मजबुत हुने बताइन्। पुरुषको शरीर मजबुत हुने ठानिए पनि वास्तवमा महिलाको शरीर मजबुत हुने चिकित्सकको मत छ। ‘बच्चा जन्माउनका लागि पनि जन्मजातै महिलाको शरीर मजबुत हुन्छ’, डा. उप्रेतीले भनिन्, ‘महिलाको शरीर मजबुत नहुने भए बच्चा जन्माउनै सक्दैनथे।’

जैविक कारण
आणुवंशिक मात्रै हैन जैविक रुपमा पनि पुरुषको तुलनामा महिला मजबुत हुन्छन्। महिला र पुरुषको क्रोमोजोम फरक हुन्छ। महिलामा एक्स–एक्स र पुरुषमा एक्स–वाई क्रोमोजोम हुन्छ।

पुरुषमा एक्स–वाई क्रोमोजोम हुने भएकाले एक्स वा वाई क्रोमोजोममध्ये कुनै एकमा खराबी भए एउटा मात्रै एक्स वा वाईले काम नगर्ने स्त्रीरोग विशेषज्ञ डा. शर्मा बताउँछिन्। महिलाको भने दुवै एक्स–एक्स क्रोमोजोम हुने भएकाले एउटा एक्स क्रोमोजोमको खराबी भैहाले पनि अर्को एक्सले काम गर्न सक्छ। जसले महिलाको आयु लामो हुन मद्दत गर्छ। एक्स क्रोमोजोमले आयु लम्ब्याउन सहयोग गर्छ। जैविक कारणमा हार्मोनको पनि भूमिका नहुने कुरै भएन।

हार्मोनका कारण महिलाको जैविक रुपमै रोग प्रतिरोधात्मक क्षमता बढी हुने चिकित्सक बताउँछन्। महिलाको रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकैले सामान्य किसिमका रोगमा महिला शिथिल भैनहाल्ने डा. उप्रेतीको तर्क छ। महिलामा सहनशीलता बढी हुन्छ। पुरुष भने सामान्य रोग लागेको अवस्थामा पनि छिटो शिथिल हुन्छन्। जैविक कारण नै शिशु अवस्थामा समेत पुरुष शिशुको तुलनामा महिला शिशु बढी मजबुत हुन्छन्। महिला शिशुको तुलनामा पुरुष शिशुको  रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पुरुष शिशुको मृत्यु हुने सम्भावना बढी हुने डा. शर्मा बताउँछिन्। रिपोर्टअनुसार महिला भु्रणको तुलनामा पुरुष भ्रुण गर्भावस्थामै मृत्यु हुने सम्भावनासमेत करिब ३० प्रतिशत हुन्छ। यसरी हेर्दा जन्मैदेखि महिला मजबुत हुन्छन्।

त्यति मात्रै हैन जोखिमपूर्ण काम गर्नमा पनि हार्मोनको भूमिका छ। चिकित्सकका अनुसार पुरुषमा टेस्टेस्टेरोन हार्मोन बढी हुने भएकाले बढी जोखिमपूर्ण काम गर्न मन पराउँछन्। ‘पुरुषलाई टेस्टेस्टेरोन हार्मोनले उत्तेजित गर्ने भएकाले लडाइँँ, झगाडा गर्न उत्तेजित हुन सक्छन्,’ डा. शर्माले भनिन्, ‘पुरुषको यो हार्मोन कम गर्दा भने पुरुष बढी बाँचेको पाइयो।’ किशोरावस्था पार गर्दैै गर्दा पुरुषमा टेस्टेस्टेरोन हार्मोन ह्वात्तै बढ्ने भएकाले पुरुषको मृत्युदर पनि बढ्ने जोखिम हुन्छ।

लडाइँ झगडामा महिलाको तुलनामा पुरुषको बढी मृत्यु हुने भएकाले पनि महिला लामो समय बाँच्न सक्छन्। डा. उप्रेती पनि डा. शर्माको तर्कमा सहमत देखिन्छिन्। उप्रेतीका अनुसार हार्मोन मात्रै हैन पुरुषलाई सानैदेखि परिवार र समाजले साहसी र बहादुर बन्ने उत्प्रेरणा दिएकाले पुरुष जोखिम काम गर्न तम्सिन्छन्। आपराधिक क्रियाकलापमा संलग्न हुन्छन्। जसले पुरुषको ज्यान जाने जोखिम बढी हुन्छ। तीब्र गतिमा सवारी चलाएर दुर्घटनामा मृत्यु हुने जोखिम हुन्छ।

चिकित्सकका अनुसार विशेषगरी स्ट्रोजेन हार्मोनको कारण महिलामा छालाभित्र बोसो जम्छ। यसरी महिलाको छाला भित्र बोसो जम्मा हुने भएकाले महिलाको गाला पुक्क देखिने, हिप ठूलो देखिने हुन्छ। यसरी महिलाको छालाभित्र बोसो रहने भएकाले महिला मुटुलगायत कतिपय रोगको जोखिमबाट बच्न सक्छन्।

पुरुषको भने नसामा बोसो जम्मा हुने भएकाले मुटुरोग छिटो लाग्ने जोखिम हुने डा. शर्मा बताउँछिन्। स्ट्रोजेन हार्मोनका कारण महिलाको रजश्वला हुञ्जेल महिलामा कतिपय रोगको जोखिम कम हुन्छ। रजश्वला रोकिएपछि भने स्ट्रोजेन हार्मोन कम हुने भएकाले महिलालाई पनि पुरुषलाई जत्तिकै रोगको जोखिम हुन्छ।

रजश्वलाले पनि महिलाको आयु बढाउँछ। जगिङै नगरे पनि रजश्वला साइकलको प्रक्रियामा प्राकृतिक रुपमै जगिङ गरेको जत्तिकै महिलाको मुटुको धड्कन बढिरहेको हुन्छ। यसरी महिलाको मुटुको धड्कन बढ्नुलाई ‘जगिङ फिमेल हार्ट हाइपोथेसिस’ भनिन्छ। पुरुषको भने जगिङ गर्दा वा व्यायाम गर्दा धड्कन बढ्छ।
यी त भए महिलाको आयु लम्ब्याउने आणुवंशिक र जैविक कारण।

वातावरणीय कारण
आणुवंशिक र जैविक कारण मात्रै हैन वातावरणीय कारणले पनि आयु छोट्याउन ठूलो भूमिका खेलेको हुन्छ। आणुवंशिक र जैविक कारणमा महिलाकै आयु लामो हुने भए पनि आयु छोट्याउने वातावरणीय कारणलाई भने सन्तुलित बनाएर पुरुषले पनि आयु लम्ब्याउन सकिने स्त्रीरोग विशेषज्ञ डा. शर्माले बताइन्। आयुको मामलामा वातावरणीय कारणमा भने महिला पुरुष समान जोखिममा रहेको चिकित्सक बताउँछन्।

महिलाको तुलनामा पुरुषले बढी मात्रामा चुरोट, रक्सीजस्ता धूमपान तथा मद्यपानको सेवन गर्ने चिकित्सक बताउँछन्। जसले पुरुषको आयु छोट्याउँछ।

गलत खानपान तथा जीजनशैलीलगायतका कारण महिलाको तुलनामा पुरुषको फोक्सोको क्यान्सर, मुटु रोग, कलेजोको समस्या, मृगौलाको समस्याजस्ता रोगको बढी जोखिम हुने डा. उप्रेतीले बताइन्।
व्यायाम गरेर खानपानमा सुधार गरेर महिलाले मात्रै हैन पुरुषले पनि आयु लम्ब्याउन सकिन्छ।

महिलाको तुलनामा पुरुष बढी बाहिर डिँडडुल गर्नाले पनि पुरुषको आयु कम हुने जोखिम हुन्छ। त्यसो त महिलाको तुलनामा पुरुष बढी हिँडडुल गर्ने भएकाले सरुवा रोगको जोखिम पनि पुरुषलाई बढी हुन्छ। हिँडडुल गर्दा असुरक्षित यौन सम्पर्क गर्नाले एचआइभीजस्ता यौन रोगको जोखिम हुन्छ।

वीर अस्पतालकी वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट (चर्म तथा छालारोग विशेषज्ञ) डा. अनुपमा कार्की (कुँवर) महिलाको तुलनामा यौनसम्बन्धी रोगको जाँच गर्न पुरुष नै बढी अस्पतालमा पुग्ने गरेको अनुभव सुनाउँछिन्। पुरुष बढी अस्पतालमा पुगे भन्दैमा पुरुषलाई नै बढी सरुवा रोग लाग्छ भन्ने एकिन गरेर भन्न भने नमिल्ने उनी बताउँछिन्। पछिल्लो समय महिला पनि हिँडडुल गर्ने भएकाले महिलालाई पनि त्यतिकै यौन रोगको जोखिम हुने डा. कार्कीको तर्क छ।

रोगले मात्रै हैन पुरुषले आफैँ बाँच्न नजान्ने भएका कारण समेत पुरुषको तुलनामा महिलाको आयु लामो भएको चिकित्सक बताउँछन्। सामान्यतः पुरुषले आफ्नो स्याहार–सुसार आफैँ गर्न नजान्दासमेत महिलाको तुलनामा पुरुषको आयु छोटो भएको डा. उप्रेतीको तर्क छ। ‘श्रीमतीको मृत्यु भएपछि पुरुष सहज रुपमा जिउन जान्दैनन्,’ डा. उप्रेतीले भनिन्, ‘महिलाले भने श्रीमानको मृत्युभएपछि पनि बाँच्न जानेका हुन्छन्।’

मनोविद् गोपाल ढकालका अनुसार महिलाको तुलनामा पुरुषको आत्महत्या गर्ने दर पनि बढी हुन्छ। मनोचिकित्सकका अनुसार आत्महत्याको प्रयास भने महिलाले बढी गर्छन्। तर आत्महत्यामा सफल भने पुरुष बढी हुन्छन्। यो पनि पुरुषको आयु घटाउने एक कारक हो।

धेरैजसो पुरुष झुण्डिने, हामफाल्नेजस्ता माध्यम अपनाउने र महिलाले विष सेवनजस्ता माध्यम अपनाउने मनोचिकित्सक बताउँछन्। मानसिक रोग विशेषज्ञ डा. विश्बन्धु शर्मा भने मानसिक हिसाबले पुरुषको तुलनामा महिलाकै आयु लामो हुन्छ भनी ठ्याक्कै एकिन गरेर भन्न नसकिने बताउँछन्।

महिलाले कुनै पनि तनाव तथा पीडा सहेर सजिलै व्यक्त गर्न सक्छन्। जसले मानवजन्य रोग बढ्न पाउँदैन। महिला रोएर, कापेर आफ्ना भावना व्यक्त गर्न सक्ने ढकाल बताउँछन्।

महिलाले जोखिम मोल्ने पेशासमेत कम अँगाल्ने मनोचिकित्सक बताउँछन्। महिलाले तुलनात्मक रुपमा सुरक्षित पेशा अपनाउँछन्। नर्सिङ, एयर होस्टेजजस्ता पेशा अपनाउँछन्। पुरुषको तुलनामा महिला बढी सुन्दरतामा ध्यान दिने र खानपानमा पनि विशेष सचेत हुने भएकाले महिलाको आयु लम्बिनमा सहयोग पुग्ने ढकालको तर्क छ।

त्यति मात्रै हैन धार्मिक, पारिवारिक, सामाजिकजस्ता बन्धनका कारण मनि महिला अनुशासित हुने भएकाले जथाभावी धूमपान तथा मद्यपान गर्दैनन्। जसले महिलाको आयु लम्ब्याउन सहयोग गर्छ।

महिलामा धन आर्जनको चिन्ता कम हुन्छ। धर्मकर्म  तथा आस्था र आराधना सँगसँगै महिला नाचगान, भजन कीर्तन गरी मनोरञ्जन पनि लिन सक्ने भएकाले महिलाको आयु लम्बिन सहयोग पुग्ने वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा.वासुदेव खनालको तर्क छ। तर सामान्यतः पुरुष भने यस्तो अवसरबाट वञ्चित हुन्छन्।

Leave A Comment