रिहाइ लगत्तै रवि टिम र अस्मिता एकै हाेटलमा

बिहिबार, १२ भदौ २०७६, ०२ : ३१ राजेन्द्र आचार्य
रिहाइ लगत्तै रवि टिम र अस्मिता एकै हाेटलमा

सोमबार बेलुका ८ बजे दुई वटा गाडी चितवनको होटल ग्लोबलभित्र छि-यो। अगाडि प्रहरीको गाडी थियो, पछाडि निजी। निजी गाडीमा थिए– रवि लामिछाने, युवराज कँडेल लगायत। प्रहरीको गाडीमा चालक पछाडिको सिटमा अस्मिता कार्की थिइन्। पछाडिको खुला भागमा थिए ‘सिधा कुरा जनतासँग’का निर्माता दीपक बोहरा। गाडी रोकिएपछि दीपक झरेर अगाडि बढ्दा अस्मितालाई देखे।
‘कहाँ छ बसाई ?’ बोहराले सोधे।
अस्मिता अक्मकिइन्।
‘म यहीँ रुम भनौँ ?’
अस्मिताले ‘हुन्छ’ भनेपछि दीपक होटलभित्र गए। अस्मिता एक महिलासँगै प्रहरीको गाडीबाट उत्रिइन् र होटलभित्र छिरिन्।

यो केसमा रवि र युवराजमाथि दुरुत्साहनको आरोप लाग्नुुुमा शालिकरामको भिडियोसँगै अस्मिताको बयान समेेेत कारक थियो ।

....

शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा साउन ३० मा रवि, युवराज र अस्मितालाई पक्राउ गरेर भरतपुर लगेदेखि माहोल बिग्रियो।

पहिलो पटक पाँच दिनको म्याद आयो। दोस्रो पटक थपिएको पाँच दिने म्याद आइतबार सकिँदै थियो। त्यसैले त भरतपुरको चोक र गल्लीको गफको विषय थियो ‘रवि, आज छुट्लान् कि फेरि थुन्लान् ?’
विश्लेशण आ–आफ्नै थियो। कोही सरकार डराइसकेकाले छाड्छ भन्ने विश्लेषण गर्थे, कोही अझै थुन्छ भन्थे।

२४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था भए पनि दोस्रो पटक म्याद थप्दा नै लफडा शुरु भइहाल्यो। म्याद थपेर हिरासतमा लगेलगत्तै कार्यक्रम प्रस्तोता रविले ‘म प्रहरी हिरासतमै असुरक्षित छु’ भनेपछि उनलाई फकाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैँ चितवन पुगे। रविलाई भेटेर अनुसन्धानमा सघाउन आग्रह गर्दै ‘आइतबार मुद्दा बुझाउँछौँ’ भन्ने आश्वासन दिएर फर्किए पनि मुद्दा बुझाउने संकेत देखिएन।

मिसिल अध्ययन गरी अभियोगपत्र तयार गर्न सामान्यतः मुद्दा दर्ताको दुई दिन अगाडि जिल्ला न्यायाधिवक्ताको कार्यालयमा प्रहरीले मिसिल र प्रस्तावित राय सुझाव दिने गथ्र्यो। तर, शुक्रबारसम्म प्रहरी अनुसन्धानको प्रस्तावित राय सुझाव जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पुगेकै थिएन।

म्याद या थुनछेकबारे जिल्ला प्रहरी कार्यालय चितवनका अधिकारी भन्थे, ‘अनुसन्धानको कामै सकिएको छैन, कसरी  बुझाउनु ? तीन दिन म्याद थपिएला कि !’

शनिबार बिदाको दिन सरकारी कर्मचारीले के काम गर्थे ! आइतबार म्याद थपको आग्रहबाहेक दोस्रो सम्भावना देखिएको थिएन।

धराैटीमा रिहाइपछि हाेटल जादैँ

आइतबार बिहान रविसहित तीन अभियुक्त राखेको चितवन प्रहरी गाडी प्रहरी कार्यालयबाट एक किलोमिटरको दुरीमा रहेको जिल्ला अदालततिर लाग्यो। केहीबेरमै जिल्ला न्यायाधिवक्ताको कार्यालयमा प्रहरीले प्रस्तावित राय सुझाव बुझाएको सूचना आयो। सत्य रहेछ। केही समयमै अभियोग पत्र दर्ता गरिने सूचना आयो। अभियोग पत्र दर्ताको अर्थ अदालती प्रक्रियाको प्रारम्भ थियो। यसपछि म्याद थप गर्ने चक्कर समाप्त भयो।
शुक्रबारसम्म म्याद थप्ने तयारी एकाएक कसरी रायसुझाव बुझाउनेतिर मोडियो ?

स्रोतका अनुसार आइजिपी खनालले चितवन प्रहरीलाई आइतबारै मुद्दा बुझाउन निर्देशन दिएका थिए। निर्देशनअनुसार प्रहरीले शनिबारै प्रस्तावित राय सुझाव तयार पा-यो। सरकारी बिदा भए पनि जिल्ला न्यायाधिवक्ताको कार्यालय पनि खुल्लै थियो। अभियोग पत्र शनिबारै तयार भयो।

तयारीअनुसारै आइतबार दिउँसो अभियोग पत्र दर्ता भयो– जसमा रवि, युवराज र अस्मितालाई शालिकराम आत्महत्यामा दुरुत्साहन गरेको मागदाबीसहित पाँच वर्ष कैदको माग थियो। अभियोगपत्र दर्तासँगै भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको चितवन जिल्ला अदालतको तीन तले भवनको तेस्रो तलाको इजलास नम्बर १ मा अस्मिताको बयान शुरु भयो। न्यायाधीश थिए, हेमन्त रावल।

उनले बयानमा शालिकरामसँग सामाजिक सञ्जाल फेसबुकमार्फत भएको सम्पर्क, चिनजान र भेटघाट भएपछि साथीको सम्बन्ध रहेको बताइन्। शालिकरामले विवाहको प्रस्ताव राखेपछि आफूहरु केही समय प्रेम सम्बन्धमा रहे पनि उनी विवाहित भएको कुरा थाहा पाएपछि उनकी श्रीमतीसँग समेत कुरा भएको र शालिकरामसँग टाढिन थालेको बयान दिइन्।

उनले विवाहका लागि दबाब दिने गरे पनि आफूले कुनै धाकधम्की नदिएको, उनीसँगको सम्बन्धको दुरुपयोग गरेर फँसाउने षड्यन्त्र नगरेको बयान दिँदै रवि र युवराजलाई हिरासतमै आएर चिनेको भन्दै आत्महत्या दुरुत्साहनको अभियोग अस्वीकार गरिन्।

आइतबार अस्मिताको मात्र बयान सकियो। रवि र युवराजको बाँकी रह्यो। अदालतले बयान प्रक्रिया बाँकी रहेको भन्दै उनीहरुलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै साथ लगाएर पठायो।

रविलाई पुनः प्रहरी हिरासत लैजान लागेको खबर बाहिरिएलगत्तै बबाल शुरु भयो। प्रहरीले अश्रुग्यासै हान्नुप-यो। केही प्रहरी, केही प्रदर्शनकारी घाइते भए। स्थानीय प्रशासनले चितवनको भरतपुर क्षेत्रमा पाँच जनाभन्दा बढी भेलै हुन नपाउने आदेश जारी गर्नुप-यो।

सोमबार बिहान १० बजे उसैगरी प्रहरीको गाडी निस्कियो, तीन अभियुक्त लिएर। १२ बजेतिर रविको बयान शुरु भयो।

केही समयसँगै काम गरे पनि दुई महिनाअघि उनी अर्कै टेलिभिजनमा गएको, सँगै काम गर्दा होस् या अलग हुँदा होस्, उनलाई धाक, धम्की नदिएको र उनले आत्महत्या गरेको विषयमा आफ्नो संलग्नता नभएको भन्दै अभियोग अस्वीकार गरे।

चितवनमा आयोजित धन्यवाद सभामा सम्बाेधन गर्दै रवि

युवराजको बयानको शैली पनि उस्तै थियो। बयानको प्रक्रिया सकिँदा खाजा खाने समय भइसकेको थियो। इजलास केही समयका लागि स्थगित भयो।

बयान सकिएपछि अब यी प्रतिवादीलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म कारागार पठाउने हो या धरौटी या साधारण तारेखमा छाड्ने बहस हुन बाँकी थियो। बहसका लागि सरकारी पक्ष र अभियुक्तका कानुनी सहयोगीले आ–आफ्नो नाम लेखाइसकेका थिए।

अदालतमा बहसको तयारी हुँदा भरतपुरको चौबीसकोठी, मातपोत चोक, हाकिमचोक, रिजालचोक, एयरपोर्ट, चितवन मेडिकल अगाडि, वीरेन्द्र क्याम्पस चोक, त्रिचोकमा प्रहरी र समर्थकबीच लखेटालखेट जारी थियो। पाँच जना भन्दा बढी भेला हुन नपाउने आदेश कसले मान्ने ? सडकमा टायर बलिरहेका थिए।

साढे २ बजेबाट बल्ल थुनछेकको बहस शुरु भयो। बहस शुरु हुनुअगाडि नै इजलास पूरै भरिइसकेको थियो। इजलासमा अधिकांश भर्खरै वकालत शुरु गरेका कानुन व्यवसायीहरुको उपस्थिति धेरै थियो। इजलास भरिएपछि बाहिर उभिएर इजलासको बहस सुन्न कान थाप्नुको विकल्प थिएन।

बहसको प्रारम्भ गरे सरकारी पक्षका जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले। उनले भनेः ‘श्रीमान्, शालिकरामको आत्महत्या गरी मर्नु भन्दा पहिलो निजले व्यक्त गरेको भिडियोमा यी प्रतिवादीहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको काम व्यवहारका कारण आफूले बाध्य भई आत्महत्या गर्नु परेको भनी व्यक्ति गरेका छन्। ल्याब परीक्षणबाट समेत भिडियोको तथ्य प्रमाणित भएको अवस्था भएकाले प्रतिवादीहरुलाई अभियोग पत्रको दाबीबमोजिम कसुर अपराधमा हदैसम्मको कैद सजाय हुने भएकाले हाल मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम थुनामा राखिनु पर्छ श्रीमान्।’

शालिकरामका दाइ बद्रीप्रसाद पुडासैनी र श्रीमती सम्झना घिमिरेका तर्फबाट राजकुमार श्रेष्ठ, दीपक भट्टराई र स्वागत नेपालले समेत बहस गरे। उनीहरुको तर्क पनि थुनामा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउने नै थियो।

अधिवक्ता नेपालले भिडियोबारे भइरहेको आशंकामाथि प्रकाश पार्दै आफैँले सेल्फी खिच्न सकिने र आवश्यक परे इजलासमा आफूले सेल्फी खिचेर देखाउन सक्ने भन्दै त्यसलाई प्रमुख प्रमाण मान्न आग्रह गर्दै भने, ‘श्रीमान् भिडलाई नहेरी मिसिल हेरेर आदेश आओस्।’

उनले मिसिल हेरेर आदेश गर्न भनेको शब्दले विवाद ल्यायो इजलासमा। केही समय चर्काचर्की नै भयो। विवादसँगै वादी र जाहेरीकर्ताका तर्फको बहस सकियो।

रवि र युवराजको पक्षमा बहसका लागि १४ जनाले नाम लेखाएका थिए। सोमबार बहस नसकिए रविको हिरासतको दिन लम्बिने पक्का थियो। उनी ११ दिन हिरासतमा बसिसकेका थिए। एक दिन नलम्ब्याउन उनका पक्षका वकिलले फटाफट बहस शुरु गरे।

वरिष्ठ अधिवक्ता सुशील पन्त, सुनिल पोखरेल, राजु थापा, नारायण गिरी, तीर्थप्रसाद पौडेल लगायतले रविको पक्षमा बहस गर्दै शालिकरामको भिडियो अनधिकृत व्यक्तिको पहुँचमा गएर सम्पादन भएको, सोही भिडियोमा दाबी गरिएकोबाहेक अन्य ठोस प्रमाण नभएको, रवि, युवराज र शालिकराम अलग–अलग संस्थामा काम गरिरहेकाले धम्की दिनुपर्ने र त्यसैको आधारमा आत्महत्या गर्नुपर्ने कारण नदेखिएको तर्क गरे।

आफ्नो पक्षका वकिलहरुले बहस गर्दा रविको मुहार केही उज्यालो देखिन्थ्यो। न्यायाधीश रावलले पनि यस अगाडिको बहसको तुलनामा यसमा अलि बढी चासो राखेको देखिन्थ्यो। सवाल जवाफ पनि भइरहे।
अन्त्यमा रवि र युवराजको तर्फबाट बहसमा सहभागी वकिलले दुवैलाई तारेखमा छाड्न माग गरे।

पालो आयो अस्मिताको पक्षको बहस।
उनको तर्फबाट बहसमा सहभागी रामगोपाल श्रेष्ठ, कल्पना उप्रेती, निमा गिरी लगायतकाले पनि अस्मितालाई शालिकराम आफैँले मानसिक तनाव दिएको, विवाहित भए पनि अविवाहित हुँ भनेर ढाँटेको, विवाह गर्न दबाब दिएको लगायतको तर्क गर्दै तारेखमा रिहा गर्न माग गरे।
साढे पाँच बजे सबै पक्षको बहस सकियो।


रिहाइपछि रवि र युवराज

भित्र आदेशपत्र तयार भइरहेको थियो, बाहिर विश्लेषणहरु भइरहेका थिए। सबै पक्षको बहस सुनेकाहरु आदेशको आँकलन गरिरहेका थिए। रवि र युवराजका पक्षमा रहेकाहरु दमदार बहस भएको, सरकारी वकिलले पेश गरेको प्रमाण र बहस फितलो भएको भन्दै यी दुवै साधारण तारेखमा रिहा हुने ठोकुवा गरिरहेका थिए। रवि र युवराजको मुहारमा भने हल्का तनाव बढेको देखिन्थ्यो।

६ः१० मा न्यायाधीशको च्याम्बरबाट आदेशपत्र इजलास फाँटमा आइपुग्यो। सबै पक्षका वकिलहरुले फाँटमा पुगेर आदेश फोटोकपी गरेर लिए।

सरकारी वकिलको अनुहारको रङ बदलिएको थियो। रवि र युवराजका वकिल पनि खुसी देखिएनन्। अस्मिताका वकिल भने खुसी देखिए।

आदेशपत्रमा थियो, ‘रविसँग ५ लाख धरौटी लिनु, युवराजसँग ३ लाख अनि अस्मिताको हकमा पछि प्रमाणले ठहरिएअनुसार हुनेगरी साधारण तारेखमा रिहा गर्नु।’

रवि र युवराजको पक्षबाट बहस गर्नेहरुले असन्तुष्टि जनाउँदै अब उच्च अदालत जानुपर्छ भन्दै थिए। केही समयमै रविकी पत्नी निकिता पौडेल ब्याग बोकेर आइन्। ब्यागबाट पैसा निकालेर फाँटमा धरौटी रकम बुझाइन्। ७ बजेतिर अदालत परिसरबाट बाहिर निजी गाडी पार्क गरिएको थियो, सोही गाडीमा रवि, उनका दाजु हरिशरण लगायतका व्यक्ति चढे।  अस्मिता प्रहरीको गाडीमा चढिन्।

आदेश एकातिर, मिसिल अर्कोतिर
४ बजे भिडियो रेकर्ड, ४ः३८ पछाडि आत्महत्या

अदालतको आदेशमा अनुसन्धानको प्राविधिक पाटोबारे आशंका गर्दै थप पुष्टिका लागि परिक्षणमा संलग्न विशेषज्ञलाई अदालतमा झिकाउन आदेश दिएको छ। आदेशमा भिडियो खिचेको समय उल्लेख नभएको, आत्महत्याको समय उल्लेख नभएको उल्लेख छ तर ‘शुक्रवार’ले फेला पारेको प्राविधिक रिपोर्टमा भने ती सबै कुरा उल्लेख भएको देखिन्छ।

अडियो रेकर्डको हकमा शालिकरामको मोबाइलमा अस्मिता कार्की, प्रमिला शर्मा र सम्झना पुडासैनीसँग शालिकराम पुडासैनीबीच भएको कुराकानीको अडियो फाइल रहेको देखिएको उल्लेख छ।

शालिकरामले प्रयोग गर्ने फेसबुक आइडी र अस्मिताले प्रयोग गर्ने फेसबुक आइडीबीच भएको कुराकानीमा प्रतिवादी कार्कीले न्युज २४ कार्यालय समेत आउने गरी खिचिएको फोटो शालिकरामलाई फेसबुक म्यासेन्जरमार्फत पठाएको देखिएको उल्लेख छ।

शालिकरामको मोबाइलको प्राविधिक परिक्षणमा खुट्टामा घाउ तथा घाउमा ब्यान्डेजसमेत गरेको फोटो फेला परेको प्राविधिक रिपोर्टमा उल्लेख छ। यसले उनी चितवन जानुअगाडि नै घाउ भएको देखाउँछ।

उनको मोबाइलमा ४ मिनेट ५८ सेकेन्ड र ८ मिनेट २८ सेकेन्डको २ वटा भिडियो फाइल फेला परेको थियो। अदालतको आदेशमा भिडियो खिचेको समय उल्लेख नभएको उल्लेख छ। प्राविधिक विश्लेषण प्रतिवेदनमा ४ मिनेट ५८ सेकेन्डको भिडियो ३ बजेर ५४ मिनेटमा खिचेको र दोस्रो ८ मिनेट २७ सेकेन्डको भिडियो ४ बजेर १ मिनेटमा खिचेको उल्लेख छ।

आत्महत्याको दिनभर कहाँ कति बजे पुगे भन्ने प्राविधिक प्रतिवेदनमा उल्लेख छ। शुक्रवारसँग सुरक्षित प्राविधिक प्रतिवेदनअनुसार बिहान ६ः४५ मा उनी गोंगबु पुगेका थिए। ८ः १५ सम्म उनी त्यहीँ देखिन्छन्। त्यसको तीन घण्टापछि उनी कलंकी पुगेका छन्।

दिउँसो १ बजे मलेखु पुगेका उनी चितवनको होटल लम्जुङमा ३ः१० मा पुगेको देखियो। यो होटलमा पङ्खा नभएको भन्दै उनी होटल कंगारु पुग्दा ३ः१५ बजेको थियो। होटलबाट निस्किएर डोरी किन्न पसल पुगेको समय ३ः३२ देखि ३ः४० सम्म देखाउँछ।

डोरी किनेर आएपछि उनले श्रीमतीलाई ४ः२२ मा फोन गरेका थिए। उनी बसेको होटलमा उनी ४ः३६ मा देखिएका छन्। त्यो नै उनको मोबाइलको जिपिआरएस सक्रिय भएको अन्तिम समय हो।

४ः३८ बजे उनलाई एक महिलाले फोन गरे पनि उनको फोन उठ्दैन। यसैका आधारमा प्राविधिक रिपोेर्टमा शालिकरामले आत्महत्या गरेको सम्भावित समय ४ः३८ बजे भन्दा पछाडि रहेको उल्लेख गरिएको छ। अदालतको सोमबारको आदेशमा भने आत्महत्याको समय उल्लेख नभएको उल्लेख छ।

कहाँ चुक्यो प्रहरी अनुसन्धान ?
रविसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढेदेखि नै आलोचनाको तारोमा परेको प्रहरी भदौ ९ गते आदेश आउँदासम्म प्रश्नैप्रश्नले घेरिएको थियो। थुनछेकको बहसमा आदेश आउँदासमेत प्रहरी प्रश्नको घेराबाट बाहिर रहन सकेन।

कलाकारसंग सेल्फीलिँदै चितवनका प्रहरी

पहिला पक्राउ, अनि अनुसन्धान
अनुसन्धानको विश्वसनीयताका लागि प्रारम्भमा अनुसन्धान, प्रमाण संकलन अनि प्रमाणले संलग्न देखाएकाहरुको पक्राउ र अभियोजनको अभ्यास गरिन्छ। मुलुकी संहिताले पनि यसको परिकल्पना नगरेको हैन। तर अझै पनि प्रहरी अनुसन्धानबाट प्रमाण संकलन गरेर आरोपी पक्राउतिर भन्दा पहिला आरोपी पक्राउ गरेर प्रमाण खोज्नतिर लाग्ने प्रवृत्तिबाट मुक्त हुन सकेको छैन।
शालिकराम प्रकरणमा पनि यही दोहोरियो र आलोचित भयो।

शालिकरामले आत्महत्या गरेको १० दिनपछि आरोपीहरु पक्राउ पर्दासम्म पनि घटनास्थलमा फेला परेको भिडियोबाहेक थप प्रमाण जुटाएको देखिएन।

अस्ट्रेलियामा डिपेन्डेन्ट भिसामा पठाउन शालिकराम र अस्मिताको भेट रवि समूहले गराएको हो हैन ? उनी न्युज २४ मा काम गर्दा सहकर्मीले शारीरिक यातना दिएको हो हैन ? उनी माउन्टेन टेलिभिजनमा गएपछि रवि समूहले बलात्कार गरेको भन्दै कार्यक्रम बनाउने भनेर शालिकरामलाई धम्क्याएको हो हैन ? कार्यक्रम प्रसारणको तयारी गरेको हो हैन ? अस्मिताले उनलाई ब्ल्याकमेल गरेको हो या हैन ? शालिकरामको भिडियोले प्रश्न छाडेर गएको थियो र त्यसको जवाफ खोज्नु प्रहरीका लागि आवश्यक थियो।

रविकाे पक्राउविरूद्ध चितवनमा भएकाे प्रर्दशन

यही प्रश्नको उत्तर खोज्दा नै आरोपी आत्महत्या दुरुत्साहनमा संलग्न हुन् या हैनन् भन्ने यकिन हुन सक्थ्यो र मुद्दा अदालतसम्म पुग्दा बलियो हुनसक्थ्यो। तर जिल्ला अदालत चितवनमा पेश गरिएको मुद्दाको सम्पूर्ण विवरण रहेको मिसिल फाइल हेर्दा प्रहरी यो केसमा पनि प्रमाणभन्दा बयानमा नै बढी भर परेको देखियो।

बजारभर अफवाह, तर चर्को मौनता
भिडियो उनले खिचेको हो कि अरु कसैले ? हत्या हो कि आत्महत्या ? कोठामा उनी एक्लै थिए कि अरु पनि कोही थियो ? भिडियो सार्वजनिक भएसँगै आशंकै आशंका सार्वजनिक भए। सामाजिक सञ्जाल आ–आफ्नै तालका विश्लेषणले भरिए।

एटेन्सन सिकर र द्रव्यमोहीहरु एकपछि अर्को अफवाह फैलाउन सक्रिय भए। निर्मला बलात्कार र हत्या घटनाबाट शंकामा परेको प्रहरीमाथि यो केसमा पनि शंका शुरु भयो तर प्रहरीले ती शंका चिर्नेतर्फ कुनै पनि तरिकाले सक्रिय भएन र मौन बस्यो।

शालिकरामको शव फेला परेको दिन औपचारिक पत्रकार सम्मेलन गर्न सक्थ्यो, जिल्ला प्रहरीले तर गरेन। रवि सहितलाई पक्राउ गरेर लगेपछि पक्राउको आधार खुलाउन सक्थ्यो तर खुलाइएन। शालिकरामको आँखामा अर्को व्यक्तिको अनुहार देखिएको आफवाहले समाज दिग्भ्रमित भइसक्दासमेत प्रहरीले त्यो दिग्भ्रम तोड्ने जिम्मेवारी पूरा गरेन।

हत्या कि आत्महत्या ? पोस्टमार्टम रिर्पोट आएपछि सार्वजनिक गर्नसक्थ्यो प्रहरीले, जसबाट अफवाह कम हुनसक्थ्यो तर गरेन। भिडियोको फरेन्सिक रिपोर्ट आउँदा लुकाएर राख्यो, शालिकरामकै मोबाइलमा रहेको र उनैले रेकर्ड गरेको देखिएको सार्वजनिक गरेन। प्रहरी मौन बस्दा आशंकाले सत्यताको आकार लिँदै गयो।

प्रहरी हिरासतभित्र रहेका थुनुवाले भित्रै असुरक्षित भएँ भन्ने दाबी गर्दासमेत उनको दाबी खण्डन गर्न प्रहरीले चासो देखाएन। जिल्लाले यस घटनाबारे एक पटक पनि औपचारिक पत्रकार सम्मेलन गरेन। प्रदेशको नेतृत्व गर्ने प्रदेश प्रहरी चुपचाप बस्यो। केन्द्रले समेत अफवाह चिर्ने प्रयत्न नगर्दा शालिकराम आत्महत्याको अनुसन्धानको निष्कर्षमा राज्य संयन्त्र भन्दा युट्युबमा च्यानल सञ्चालक हावी भए।

प्रमाणमा हेलचेक्र्याइँ
भिडियो छेडखानी भएको हो या दुरुस्त हो ? कुन समयमा भिडियो रेकर्ड भएको हो अनि कुन समयमा आत्महत्या गरेको हो भन्ने समेत मिसिलका प्रमाण विश्वसनीय देखिएनन्। अदालतले समेत सरकारी दाबीलाई पत्याएन र शंका ग-यो।

पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण झुण्डिनु र आत्महत्या नै उल्लेख हुँदा पनि उनको खुट्टामा देखिएको घाउको कारण के हो भन्ने नखुलाउँदा अदालतले नै हत्या कि आत्महत्या भनेर प्रश्न ग-यो।

कतिसम्म भने मोबाइल कहाँ बरामद भएको हो, सोबारे प्रस्ट खुलाउन नसक्दा आत्महत्या अगाडिको शालिकरामको भिडियो उनले नै खिचेको हो कि अरु कसैले भन्नेमा आशंका गर्दै अदालतले प्रहरीको अनुसन्धानको आधारमा सरकारी वकिलले गरेको दाबी विपरीत भिडियो अर्कैले खिचेको हुनसक्ने, आत्महत्या अगाडि कोठामा उनी एक्लै नभएको आदेशमै उल्लेख गरिदियो।

शालिकराम र यो मुद्दाका अभियुक्त रवि, युवराज र अस्मिताबीच फोन सम्पर्क भएको कल रेकर्ड डिटेल प्रस्तुत गरे पनि सम्पर्कको मनशाय नखुलाउँदा मुख्य प्रमाण हुनुपर्ने पक्ष सामान्य प्रमाण बनेको देखियो।

अस्मिताको बयानमा शालिकरामको आत्महत्या अगाडि उनले न्युज २४ को क्यामेराम्यान भेटेर शालिकराम र आफू बीचको गोप्य संवाद पठाएको, न्युज २४ को भवन देखिने गरी सेल्फी खिचेर तस्बिर शालिकरामलाई पठाएको खुल्यो। क्यामराम्यान अनिल ढुंगेलले मुख छापेर भिडियो रेकर्ड गरौँ न भन्नेसम्म खुल्दासमेत शालिकरामबारे न्युज २४ मा कार्यक्रम बनाउने तयारी भएको हो या हैन विश्वसनीय ढंगले प्रहरीले खुलाउन सकेको देखिएन। जसले धम्क्याएको कारण तर्सिएर शालिकरामले आत्महत्या गरेको हो भन्ने सरकार पक्षीय दाबीमाथि अदालतले उल्टै प्रश्न ग-यो।

शालिकराम प्रकरणमा अदालतको आदेश
‘वैमनश्य हुनसक्छ’
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोग लागेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीको थुनछेकको बहस टुंग्यायो। बहसपछि आएको १३ पन्ने आदेशमा प्रमाणको विस्तृत व्याख्यासहित रवि र युवराजलाई धरौटी र अस्मितालाई तारेखमा रिहाको आदेश दियो। प्रहरीको अनुसन्धानमा प्रश्नैप्रश्न उठाइएको आदेशका महत्वपूर्ण बुँदा प्रश्नोत्तर शैलीमा प्रस्तुत गरिएको छ।

आत्महत्या अगाडिको भिडियो मृत्यु अगाडिको घोषणा हो ?
आदेशः हैन, किनकि भिडियोको विश्लेषण गर्दा घटनास्थलको कोठामा भिडियो रेकर्ड गर्दाको क्षण हाल मृतक रहेका शालिकराम पुडासैनी भित्री वस्त्रमा देखिएका छन् भने निजको झुण्डिएको अवस्थामा रहेको मिसिल संलग्न लासको फोटोमा निजले पाइन्ट सर्ट लगाएको अवस्था देखिन्छ। सो अवस्थाले मृत्युकालीन घोषणा गर्दाको अवस्था र आत्महत्या गर्दाको अवस्था एउटै नभई फरक अवस्था रहेको भन्ने देखिन्छ। यो फरक देखिने अवस्थाले भिडियोमा व्यक्त गरेको भनाइ नै मृत्यु अगाडिको घोषणा थियो या थिएन भनी यकिन गर्न भिडियो रेकर्ड गरेको समय र निजले आत्महत्या गरी देहत्याग गरेको समयको अन्तर छुट्ट्याउन सबुतको रुपमा रहेको भिडियो र मृतकको शव परीक्षण प्रतिवेदनमा मृत्युको समय उल्लेख हुन आवश्यक छ। जुन अनुसन्धानको क्रममा गरिएको शव परीक्षणको प्रतिवेदनमा देखिएन।

भिडियो आफैंले खिचेको हो ?
आदेशः हैन, किनकि भिडियो रेकर्डको अन्त्यमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुवै हात जोडेर आफ्ना वृद्ध बुबा, आमा र पत्नीलाई आफूले आत्महत्या गर्नुको कारण र दुःखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुवै हात जोडेर प्रणाम दण्डवत गरेको देखिने अवस्थाले सो भिडियो एक्लैले खिचेको भन्ने देखिएन। उनले कोठामा उचाइमा राखेर खिचेको हो भने घटनास्थलमा मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थाको भेटिएको भन्ने व्यहोरा उल्लेख भएको देखिएन। अतः यो भिडियो रेकर्ड हुँदा शालिकरामले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिन्छ।

फोन सम्पर्क देखिनु शंकास्पद हो ?
आदेशः
हैन। किनकि प्रतिवादी रवि, युवराज र शालिकराम एकै टेलिभिजनमा काम गरेको र पूर्व सहकर्मी रहेको तथा अस्मितासँग प्रेम सम्बन्ध रहेकाले फोनमा पटक–पटक सम्पर्क हुनु कुनै अस्वाभाविक हैन। फोन हुँदाको भ्वाइस रेकर्ड नभएकाले के कुरा भए भन्ने यकिन हुन नसक्दा उनीहरूबीच अवाञ्छित संवाद भएको थियो र त्यही कारण आत्महत्या भयो भन्न मिल्ने अवस्था देखिएन।

कम तलब दिएर आत्महत्या गरेको हो कि ?
आदेशः
हैन। किनकि, अहिले पुडासैनी दुई महिनादेखि अर्कै टेलिभिजनमा काम गर्न गएको र रवि लगायतले उनलाई पारिश्रमिक दिनुपर्ने अवस्था नरहेकाले आर्थिक निर्भरता र तनावको सम्बन्ध रविसहितसँग सम्बन्धित देखिएन।

शारीरिक र मानसिक तनावले हो त ?
आदेशः
यो पनि हैन। किनकि दुई महिना पहिले सँगै काम गर्ने क्रममा दिइएको भनिएको शारीरिक एवं मानसिक तनावले अहिले यतिबेला आत्महत्या गर्नु परेको भन्ने भनाइ समय सान्दर्भिक दृष्टिले विश्वासयोग्य मान्न सकिने अवस्था भएन।

आत्महत्याको कारण अस्मिता हो ?
आदेशः
हैन। किनकि, आफ्नै विवाहेत्तर सम्बन्ध र त्यसबाट सृजित तनावलाई सही रुपले व्यवस्थापन गर्न नसक्दा उद्वेलित मनोदशा जिम्मेवार थियो या अस्मिताको कार्य व्यवहार भन्ने अनुसन्धानमा नखुलेको। भिडियोमा धम्की दिएको भनेर गरिएको दाबी हो हैन भन्नेतर्फ अनुसन्धान केन्द्रित भएको देखिएन।

यी सबै देखिएन भने धरौटी किन ?
आदेशः
प्रतिवादीमध्येका रवि, युवराज र शालिकराम एउटै टेलिभिजन कार्यक्रममा केही समय सँगै काम गरी कार्यक्रम उत्पादन, प्रसारण गर्ने कला, कौशल, सीप र स्रोत सामग्रीको पर्याप्त जानकारी भएका शालिकराम छुट्टिएर अलग्गै टेलिभिजनमा काम गर्न सुरु गरेको अवस्थामा शालिकरामसँग रवि र युवराजको कुनै आग्रह, पूर्वाग्रह, वैमनस्यता, प्रतिशोध वा अस्वस्थ प्रतिस्पर्धा थिएन भन्न सकिने अवस्था रहेन। सहकर्मी भएको नाताले अस्मितासँगको विवाहेत्तर सम्बन्धका बारेमा जानकारी नै थिएन र शालिकराम सहकर्मीको अवस्थाबाट अलग भइसकेको अवस्थामा रवि र युवराजले सो सम्बन्धको विषयलाई लिएर कार्यक्रम सार्वजनिक गर्ने धम्की वा त्रास देखाएनन् होला र सो धम्की र त्रास शालिकरामलाई आत्महत्या गर्न दुष्प्रेरित गर्ने तहसम्मको कारण थिएन होला भनी अहिले नै भन्न सकिने अवस्था नदेखिएकाले पछि ठहरे बमोजिम गर्ने गरी रविबाट ५ लाख अनि युवराजबाट ३ लाख धरौटी लिएर तारेखमा राख्नु।

अनि अस्मितालाई नि ?
आदेशः
अस्मितासँग शालिकरामले आफू विवाहित भएको कुरा सुरुमा लुकाई, ढाँटी, छलि प्रेमसम्बन्ध राखी विवाहका लागि दबाब दिँदै आएको र उनले विवाहको प्रस्ताव इन्कार गरेपछि सम्बन्धमा खटपट आई अस्मिता स्वेच्छाले टाढा हुन खोजेको अवस्थामा उनलाई विवाहका लागि दबाब दिई विवाह गर्न नमाने आफूले विष सेवन गरी मर्छु भन्ने सम्मको धम्की सहितको म्यासेज शालिकरामले अस्मितालाई दिएको म्यासेज बहसका क्रममा पेश भएको देखिने अवस्थाले सो अवस्थामा पनि निजले अन्य प्रतिवादीहरु रवि र युवराजलाई घटना मिति भन्दा पहिला चिनेको नभई मुद्दामा सँगै हिरासतमा रहेको अवस्थामा मात्र चिनेको भनी बयान गरेको। अस्मिताले शालिकरामलाई आत्महत्या गर्न दुरुत्साहन हुने के कस्तो कार्य वा षड्यन्त्र गरेकी थिइन् भन्ने मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट स्पष्ट खुलेको अवस्था नदेखिँदा अस्मिताको हकमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी साधारण तारेखमा राख्नु।

- कानुनी कुरा

धरौटी भनेको के हो ? पुर्पक्ष भनेको के हो ?
फैसला नहुँदासम्मको मुद्दाको अवस्थालाई पुर्पक्ष भनिन्छ।

थुनछेक भनेको के हो ?
अभियुक्तलाई थुनामा राख्ने वा नराख्ने भनेर अदालतले गर्ने आदेश थुनछेक हो।

थुनछेक बहस भनेको के हो ?
अभियोग लागेको व्यक्तिलाई थुनामै राखेर कार्बाही अगाडि बढाउने वा थुनामा नराखी कार्बाही अगाडि बढाउने वा धरौटी लिएर छोड्ने हो वा साधारण तारेखमा छोड्ने भन्ने विषयलाई लिएर गरिने बहस थुनछेक बहस हो।

थुनछेक बहसमा पुर्पक्ष भनेको के हो ?
कानुनको अधिनमा रही आरोपित व्यक्तिको सम्बन्धमा गरिने परीक्षणलाई पुर्पक्ष भनिन्छ। संलग्न कागजातहरुलाई प्रमाणमा लिएर अभियुक्तलाई थुनामा राखेर कार्बाही गर्ने हो वा केही रकम धरौटी लिएर छोड्ने हो वा सामान्य तारेखमा छोड्ने हो भनी अपराधको गाम्भीर्यका आधारलाई विश्लेषण गरेर गरिने बहस नै थुनछेक बहसको पुर्पक्ष हो ।

जमानत र धरौटी भनेको के हो ? धरौटीको मात्रा तोक्ने आधार के हो ?
धरौटीको अर्थ सामान्य शब्दकोषअनुसार बन्दीको उपस्थितिका लागि प्रत्याभूति भन्ने हुन्छ। तोकिएको  स्थानमा तथा समयमा उपस्थित हुने र अदालतको अधिकार क्षेत्र तथा फैसलाप्रति आफूलाई समर्पित  गर्नेछु भनी जिम्मा लिई कुनै व्यक्तिलाई कानुनी नजरबन्दी वा गिरफ्तारीबाट छुटाउनु वा छुटाउने कार्यलाई जमानत भनिन्छ र न्याय शुल्क बुझाउने दायित्व भएका व्यक्ति कसलाई कति बुझाउने भन्ने कुराको निर्धारण भई नसक्दा मुद्दा हेर्ने अधिकारी अदालत वा बैँकमा हक वा म्याद कानुनी रुपमा सुरक्षित राख्न जम्मा गरिएको सम्पत्ति, तल्लो अदालतबाट कैद वा जरिवाना गरी गरिएको फैसलामा पुनरावेदन गर्नका लागि जरिवाना वा कैद बापतको बुझाउने रकमलाई धरौटी भनिन्छ। सामान्य अर्थमा भन्दा पक्राउ परेको व्यक्तिलाई कुनै निश्चित स्थान समयमा उपस्थित गराउने प्रत्याभूति नै जमानत हो । अपराधको गम्भीरता र सजायको कठोरता, मिसिल संलग्न कागजातहरु दृष्टिगत गरी कस्तो कसुरदारलाई थुनामा राख्ने, कस्तोलाई धरौट वा जमानी मानिने  भन्ने थुनछेकको बहसको क्रममा निक्र्योल गरिन्छ।

धरौटी कसरी तोकिन्छ ?
अपराधको प्रकृति, अभियुक्त वा कसुरदारको आर्थिक अवस्था एवं पारिवारिक स्थिति, उसको उमेर र पहिले गरेको अपराधको कसुर वा सजायजस्ता कुरालाई ध्यान दिएर धरौटी तोकिन्छ। कसुरदारको हैसियत अर्थात् उसको पारिवारिक स्थिति र आर्थिक अवस्थाले नभ्याउने प्रकृतिको धरौट अंक तोक्नु धरौट वा जमानत माग गर्न इन्कार गरेसरह हुन जान्छ।

साधारण तारेख भनेको के हो ?
अदालतले निश्चित समय तोकेर अदालतमा हाजीर हुन दिइएको आदेशलाई साधारण तारेख भनिन्छ। अदालतबाट कुनै कामका लागि उपस्थित हुन तारिख तोकिएकोमा तोकिएको तारेखको दिन अभियुक्त वा प्रतिवादी अदालतमा उपस्थित हुनैपर्छ।

-वकिलका कुरा

‘रवि खुल्ला कारागारमा आएका हुन्’
–स्वागत नेपाल

युरोप अमेरिकामा यस्तो आदेशलाई खुला कारागारको अवधारणाको रुपमा हेरिन्छ। चिप्स राखेर ट्र्याक गर्ने गरिन्छ। यहाँ चिप्स मात्र राखिएन तर के गर्न पाउने, नपाउने खुलाइयो। रवि लामिछाने सहितको प्रतिवादीलाई धरौटीमा छाड्ने अदालतको आदेश यही खुला कारागारको अवधारणाबाट प्रभावित देखियो।

धरौटीको रकम तोक्दा दोष भागिताको अनुपातको आधारमा तोकिने हो। सबैभन्दा बढी धरौटी रविलाई धेरै धरौटी तोकेकाले अदालतले यो प्रकरणमा रवि सबैभन्दा बढी दोष भागिदार रहेको स्वीकार गरेको पाइयो।

आत्महत्या दुरुत्साहनको मानासिब आधार रहेको अदालतको आदेशमा स्वीकार गरिएको छ। फेरि हत्या हो भन्ने आशंका पनि अदालतको आदेशमा देखिन्छ। अर्को व्यक्ति छ भन्ने हो भने आत्महत्या दुरुत्साहन कसरी स्वीकार गरियो ? खुट्टामा घाउ छ। त्यो त्यही कोठामा भएको घाउ भए रगत किन देखिएन ?

शालिकरामले खिचेको भिडियोमा उनले समग्र विषय राख्दा अनुहार मात्र देखिन्छ, तर अन्त्यमा उनले नमस्कार गर्दा मोबाइल टाढा अड्याएका छन्। त्यस बीचमा मोबाइल हल्लिएको छ । ६० डिग्री फरक पर्नेगरी मोबाइल तल झरेको छ। मोबाइल हातमा नराखी सेल्फी खिच्नु अनौठो होइन ।

अदालतको आदेशको सम्मान गर्छु तर देखिएको सोझो प्रमाण अस्वीकार गरी भावनामा बगेर आदेश आयो। जाहेरवालाको तर्फबाट उच्च अदालत जानुपर्छ।
(शालिकरामका तर्फबाट बहस गरेका अधिवक्ता नेपालसँगको ‘शुक्रवार’ले गरेको कुराकानी )

‘उच्च अदालत जान्छौँ’
‘जिल्ला अदालत चितवनको आदेशलाई सम्मान गर्छौँ, मृतकले नाम लिएकै भरमा हाम्रो पक्षलाई धरौटीमा छाडेर मुद्दा चलाउन मिल्दैन तर न्यायको माग गर्दै उच्च अदालत जान्छौँ।’
– वरिष्ठ अधिवक्ता सुशील पन्त
(धरौटी माग्ने आदेशपछि सञ्चार माध्यममा प्रतिक्रिया दिँदै)

‘म खुसी छु’
–अस्मिता कार्की
साधारण तारेखमा छाड्ने अदालतको आदेशको सम्मान गर्न चाहन्छु। फैसला हुन बाँकी नै छ। त्यसै आधारमा हामी अगाडि बढ्ने छौं। अहिले आएको आदेशबाट म खुसी छु।
(रिहाईपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै )

‘फैसलापछि नै जेल बस्ने, नबस्ने फाइनल हुन्छ’
निमा गिरी, अधिवक्ता
अहिले नै जित भयो भन्ने अवस्था छैन। फाइनल बहस बाँकी छ। फैसलापछि नै जेल बस्ने, नबस्ने फाइनल हुन्छ। अस्मितालाई पक्राउ गर्नुको कारण शालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियो मात्रै कारण देखिएको छ। त्यो भिडियोलाई पुष्टि गर्ने प्रमाणहरु अहिलेसम्म भेट्टाएको छैन। मिसिल अध्ययन गर्दा यो प्रमाण छैन भन्ने देखिन्छ।

भोलि प्रमाण भेटिन्छ भन्ने आधारमा अहिले अभियुक्तहरुलाई थुनामा राख्नु हुन्न भन्नेमा हाम्रो जोड थियो। जिल्ला अदालतले जे आदेश दिएको छ त्यसको हामीले सम्मान गर्नुपर्छ। अदालतले गरेको निर्णयअनुसार हामी अगाडि बढ्नुपर्छ।
(अस्मिताको कानुनी सहयोगी अधिवक्ता गिरीले सञ्चारकर्मीसँग गरेको कुराकानी)

-रविको तर्क

‘स्टुडियो जान पाएको भए धेरै देखाउँथ्यौं’
अब सिधा कुरा के हुन्छ ?
कार्यक्रम अझ बढी जिम्मेवार भएर आउँछौँ। टिमलाई फराकिलो बनाउनुपर्ने अवस्थामा देखेका छौँ। टिमसँग छलफल गर्न बाँकी छ।

अब राजनीतिमा आउने हो ?
राजनीति ठीक नभएसम्म केही पनि ठीक हुन्न भन्नेमा म सचेत छु तर जो जहाँ छ, त्यहीँबाट योगदान दिनुपर्छ। मैले जानेको राजनीति हैन। अहिले इमान्दार नेतृत्व भए पुग्छ। त्यही इमान्दार नेतृत्वका लागि पहल गर्ने छौं। हेरौं समयले कुन मोड लिन्छ। सम्भावनाको ढोकामा चुकुल मात्र लागेको छ, ताल्चा लागेको छैन।

तिलक गैरेसँग रेप केसमा पैसा लिएको आएको छ के हो ?
मेरो स्टुडियोमा आउनुस्, म लाइभ बहसका लागि तयार छु।

बाहिर निस्केको ३ मिनेटमा निर्दोष छु भन्नुभएको थियो। बाहिर आएको १२ घण्टा भयो नि ? कहिले प्रमाणित गर्ने ?
त्यो दिन म स्टुडियो जान पाइनँ। म स्टुडियो जान पाएको भए त्यो घटनाबारे धेरै कुरा देखाउन पाउँथ्यौँ। सम्मानित अदालतको आदेश छ। मैले यो घटनाको टुंगो नलागेसम्म टीकाटिप्पणी गर्न पाउन्नँ। अदालतले यो केस अन्तिम किनारा लगाउँदासम्म अन्य ठाउँबाट आइसकेछ भने मैले बोल्नै परेन। अन्तिम किनारा लाग्दासम्म आएनछ भने मैले गरेको तीन मिनेटको वाचा बिर्सन्नँ।
(चितवनमा मंगलबार बिहान भएको पत्रकार सम्मेलनको प्रश्नोत्तरमा आधारित)

असुलीको आरोपमा कसले गर्ने छानबिन ?
आत्महत्या पूर्व शालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले दिएको दुःख मात्र बताएनन्, कार्यक्रममार्फत रकम असुल्ने गरेको गम्भीर आरोपसमेत लगाए।

तर प्रहरीमा जाहेरी पर्दा शालिकरामका दाजु र श्रीमतीले हत्या र आत्महत्या दुरुत्साहनमा अनुसन्धानको माग गर्दा यी दुवै पाटोबारे मात्र अनुसन्धान भयो र जिल्ला अदालत चितवनमा पनि यही विषयले मात्र प्रवेश पायो।

सोही भिडियोमा पत्रकारितामाथि गम्भीर प्रश्न उठ्ने गरी उनले कार्यक्रमको आडमा असुली गर्ने गरेको गम्भीर आरोपसमेत लगाएका थिए।

प्रमाणका रुपमा अदालतले समेत स्वीकार गरेको भिडियोमा उनले रविलाई इङ्गित गर्दै भनेका छन्, ‘वेलकम एडभरटाइजिङको विज्ञापन आएको छ। पैसा कसरी उठ्छ, त्यसको प्रमाण अहिलेसम्म मसँग छ। बालुवा तस्करहरु ठूलाठू्ला व्यापारीहरुसँग लिन्थ्यौ। करोडौँ असुलेका छौ। तिमीलाई पोल्छ।’

उनको दाबीसँगै सो कार्यक्रममा प्रसारण भएको एक कार्यक्रमसँग जोडिएका व्यक्ति तिलक गैरेले ‘शुक्रवार’ र एक युट्युबमा अपलोड भएको भिडियोमा उनका बाबु जोडिएको बलात्कारसम्बन्धी रिपोर्टिङपछि कार्यक्रमको समूहले १० लाख मागेको र आफूले साढे ३ लाख दिएको दाबी गरेका थिए।

विभिन्न अनलाइन पोर्टलमा भिन्नभिन्न व्यक्तिले कार्यक्रमको नाममा दिएको दुःख र शंकास्पद व्यवहार दाबी गर्दै समाचार प्रकाशित गरिरहेका छन्। सर्लाहीका शम्भुकृष्ण शाहलाई उद्धृत गर्दै बलात्कारको गलत आरोप लागेको दाबी आइरहेको छ। सिजी मोबाइलका कर्मचारीले पाएको दुःखबारे भिडियो रेकर्ड गरेर पछि प्रशारण नगरेको, लाली गुराँस सहकारीको बदमासीबारे पीडितको भिडियो रेकर्ड गरे पनि प्रशारण नगरेको जस्ता आरोपसमेत लागेको छ।

शालिकराम प्रकरणमा धरौटीमा रिहा भएपछि रवि लामिछानेले पत्रकार सम्मेलनमा आफूमाथि आरोप लगाउनेहरुसँग आफ्नै कार्यक्रममा लाइभ कुराकानी गर्न तयार रहेको बताएका छन्। आरोपीले कार्यक्रम चलाउने आरोपकर्ताले प्रस्टीकरण दिने पद्धति सायद अभ्यासमा आइसकेको छैन होला। आरोप सत्य या दुराग्रह प्रेरित हो, त्यसको छिनोफानो स्वतन्त्र छानबिनबाट मात्र सम्भव हुन्छ।

चितवन जिल्ला अदालतमा पेश भएको मिसिलअनुसार रविको वित्तीय विवरणबारे छानबिन गर्न प्रहरीले नेपाल राष्ट्र बैंकमा पत्र पठाएको उल्लेख छ। मिसिलमा राष्ट्र बैंकलाई पठाएको पत्र समावेश छ तर पत्रअनुसार जवाफ भने आइसकेको छैन।

तीन सर्तको साङ्लो
शालिकराम आत्महत्या दुरुत्साहनको मुद्दाका दुई अभियुक्त रवि लामिछाने र युवराज कँडेलको हकमा भने अदालतले थुनछेक आदेशमै तीन कडा सर्तसहित धरौटी तोक्यो।

अदालतले धरौटीमा कारागारबाहिर बसेर मुद्दा प्रक्रियामा सहभागी हुने अनुमति दिँदादिँदै रवि र युवराजलाई तीन सर्तको साङ्लोले बाँधिदियो।

पहिलो सर्तमा मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म मुद्दाको विषयवस्तुलाई लिएर अनुसन्धानमा संलग्न प्रहरी, अभियोजनकर्ता सरकारी वकिल, पीडित परिवार, मुद्दाका साक्षी, मौकामा बुझिएका अन्य व्यक्ति, प्रमाणको परीक्षणमा संलग्न विशेषज्ञ, चिकित्सक, अदालत र समग्र न्यायिक प्रक्रियाका बारेमा कुनै पनि विषयवस्तु समावेश गरी संकलित प्रमाणको विश्वसनीयतामा अन्यथा असर पु-याउने उद्देश्यले अदालतबाहिर बोल्न नपाउने।

यो सर्तअनुसार सयभन्दा बढी व्यक्तिसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रविले संवाद गर्न पाउने छैनन्। अनुसन्धानको क्रममा पक्राउ गर्ने, मुचुल्का उठाउने, हिरासतमा राख्ने, घटनाको छानबिन गर्ने जिल्ला तह र केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली, डाक्टर, होटल सञ्चालक कसैविरुद्ध पनि बोले सर्तको उल्लंघन मानिने जोखिम छ।

दोस्रोमा मुद्दाका यी सबै पक्षबारे सार्वजनिक कार्यक्रम गर्न, टेलिभिजन कार्यक्रम प्रशारण गर्न, फेसबुक लाइभ, ट्वीटर, युट्युब लगायतका सामाजिक सञ्जाल वा अन्य सार्वजनिक सञ्चार माध्यमबाट विचार वा प्रतिक्रिया राख्नसमेत रोक लगाएको छ।

तेस्रो सर्तमा औषधी उपचारका लागि विदेश जानु परेको अवस्थामा चितवन जिल्ला अदालतको लिखित पूर्व अनुमति लिएर मात्रै विदेश जान पाउने सर्तमा मात्र रिहा गरेको छ।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित हुने गरी मुद्दाका वादी–प्रतिवादी र अन्यले समेत गतिविधि गर्नुहुन्न र त्यसो गरे त्यो दण्डनीय हुने कानुन सक्रिय नै छ। त्यसैले प्रायः धरौटीमा रिहा हुने अभियुक्तलाई आदेशमै अदालतले सर्त तोकेको देखिन्न।

यसअघि उनीमाथि गैरकानुनी रुपमा नेपालमा बसेर काम गरेको आरोपमा अनुसन्धान हुँदा आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मार्फत आफ्नो बहस पैरवी आफैंले गरेर आफैँलाई निर्दोष दाबी गरेका थिए। विवाहसम्बन्धी निजी प्रसंग सार्वजनिक हुँदा होस् या शालिकरामको भिडियोमा उनको नाम रहेको खुल्दा समेत उनले फेसबुक लाइभमार्फत धारणा राख्ने र पक्राउ अगाडि सोही विषयमा कार्यक्रम नै बनाउने तयारी गरेको खुलेको थियो।
कानुन हुँदाहुँदै यसरी सर्त तोक्न अभियुक्तको विगतको गतिविधिले प्रभाव पारेको हुनसक्छ।

-दुई अभियुक्तको बयान

‘सेल्फी खिचेर पठाइदेउ डराउँछ भने’
–अनिल ढुंगेल
दुई वर्षदेखि म न्युज २४ टेलिभिजनमा क्यामेरामेनको रुपमा कार्यरत छु। यहीँ रवि लामीछाने, युवराज कँडेल तथा शालिकराम पुडासैनीसँग चिनजान भएको हो। उनीहरु कसैसँग पनि मेरो कुनै रिसइबी थिएन, छैन। शालिकरामको घरपरिवारको अवस्था, कार्यालयबाट उनले पाउने सेवा सुविधा थाहा थिएन। उनी विवाहित रहेको र सन्तान जन्मेको छैन भन्ने कुरा भने उनले मलाई बताएका थिए।

रुकु(अस्मिता) कार्कीसँग प्रायः च्याटमा व्यस्त हुन्थे। को भनेर सोध्दा श्रीमती भनेका थिए। उनी न्युज २४ मा काम गर्दासम्म दीपक बोहरा र रविसँग राम्रै सम्बन्ध थियो। दुवै जनाले उसलाई माया गर्नुहुन्थ्यो। युवराज र शालिक दुवै रिपोर्टर थिए तर सिनियर र जुनियरको अदब थियो। शालिकको रिपोर्टिङ शैली अलि आक्रामक हुन्थ्यो, त्यो भने मलाई चित्त बुझ्दैनथ्यो तर मैले केही भनिनँ। उनी न्युज २४ छाडेर माउन्टेन टिभी गएपछि आफ्नो नयाँ कार्यक्रमको भिडियो फेसबुक म्यासेन्जरमा मलाई पठाएका थिए।

शालिकरामकी प्रेमिकालाई पहिले १/२ पटक देखेको तर उनी पत्नी होलिन् भन्ने ठानेको थिएँ। आत्महत्या गर्नु पाँच दिन पहिले उनले अर्कै फेसबुक आइडीबाट आफू शालिकरामको साथी भएको र घरमा श्रीमती हुँदाहुँदै झूट बोली विवाह गर्छु भनेर फँसाएको र अहिले दुःख दिएर सताइरहेको बताएकी थिइन्। उनले केही स्क्रिन सट पठाएर सहयोग गरिदिनुप-यो भनेकीले न्युज २४ को कार्यालयमा आएर दीपक र रवि दाइहरुसँग कुराकानी गर्न सुझाएँ।

२०७६ साउन १८ दिउँसो  २ बजे उनी आइन्। १५ मिनेट जति कुराकानी भयो। उनले शालिकरामले विभिन्न धम्की दिने, बाटो छेक्ने गरेकाले सम्झाइदिनुप¥यो भनेकीले पहिल्यै दाइहरुसँग कुराकानी गरिसकेको थिएँ। दीपक दाइले केही गर्न मिल्दैन, यो तपाईंहरुको निजी मामिला हो, प्रहरीकोमा जानु भन्नुभयो। पछि मैले उनलाई न्युज २४ को कार्यालय देखिने गरी एउटा सेल्फी खिचेर पठाइदेऊ, फलो गर्न छाड्ला भनेँ।

रुकुसँगको भेटघाट र उनीहरुको सम्बन्धबारे जानकारी भएपछि शालिकरामसँग कुराकानी भएन। घटना हुनुपूर्व अस्मिताले पठाएका स्क्रिनसटहरु युवराजलाई पनि पठाएँ। रविे र दीपकलाई भने घटनाको भोलिपल्ट मात्र पठाएँ।

घटनाको दिन राति २ बजे युवराजले शालिकरामले त आत्महत्या गरेछ भनेपछि मात्र थाहा पाएँ। मैले अस्मितालाई कुराकानी डिलिट नगर्नु भनेर फोन गरेँ। उनीसँग मेरो सम्पर्क छ भन्ने थाहा भएपछि दीपक र रविले घटनाबारे के रहेछ बुझ भन्नुभएको थियो।

त्यसपछि मैले रुकुलाई एक पटक कल गरेको हुँ। दीपक र रविदाइले अस्मितालाई भेट्ने भनेपछि ग्रिनसिटी अस्पतालमा गयौँ। अस्पताल पुगेर पटक पटक कल गर्दा पनि कल रिसिभ नभएपछि कुराकानी हुन पाएन।

पुडासैनीले मर्नुअघि खिचेको भिडियोमा रुकु, रवि दाइ र युवराज कँडेलले मर्न बाध्य पारेको दाबी गरेका रहेछन्। के कारणले उनले त्यसो भने थाहा मलाई छैन। सायद रुकुले रविसँग मिलेर आफूलाई बेइज्जत गर्ने भइ भन्ने सोची भिडियो बनाएको हुनुपर्छ भन्ने लाग्छ।
(२०७६ भदौं ५ मा ढुंगेलले प्रहरीसमक्ष गरेको घटनाविवरण कागजको सम्पादित अंश)

‘भिडियो खिच भनेका थिए, मानिनँ’
रुकु कार्की
शालिकरामसँग फेसबुकमार्फत चिनजान भयो। हामीबीच गहिरो प्रेम थियो। उसले आफू अविवाहित भएको, बिहे गर्छु भनेकाले लामो समयसम्म सम्बन्धमा बसेँ। ऊ अलि शंकालु स्वभावको भएकाले झगडा पथ्र्यो। उसले आत्महत्या गर्नु ५–६ दिनअघि उनकी पत्नी रहिछन् भन्ने थाहा भयो र पत्नी सम्झनासँग फेसबुकमा कुराकानी हुन थाल्यो। उनीहरुको ८ वर्ष पहिले विवाह भएको रहेछ।

उनी काठमाडौँमा नै सम्झनासँग बस्ने गर्छन् भन्ने थाहा पाएपछि किन फँसाएको भनेर रिसाएँ। यस विषयमा धेरै झगडा प-यो। अहिलेसम्म जे–जे भयो–भयो अब आइन्दा फोन नगर भनेर फोन राखेँ।

उसले भने मलाई पटकपटक फोन गरिरहेको थियो। अति भएपछि रवि लामिछानेलाई भनिदिन्छु, तिम्रा म्यासेज उहाँलाई पठाइदिन्छु भनेर डर देखाएँ। त्यसपछि पनि उसले मलाई बारम्बार फोन गरिरहेको थियो तर मैले उठाइनँ।

फेसबुकबाट भेट
२०७५ सालको गाई तिहारको अघिल्लो दिन मेरो फेसबुकमा शालिकराम पुडासैनीको फ्रेन्ड रिक्वेस्ट आयो। मलाई चिन्ने कोही होला भनेर एसेप्ट गरेँ। लगत्तै कुराकानी हुन थाल्यो। नम्बर आदानप्रदान भयो। उसले मलाई कल गर्न थाल्यो। काठमाडौँको शिक्षण अस्पताल अगाडि पहिलो पटक हाम्रो भेट भएको थियो।

उसले धेरै मन पराएको र मबिना एक पल पनि बाँच्न नसक्ने भनी विश्वास दिलायो। उसले मलाई तिमी मेरो पहिले दुर्घटनामा परी मरेकी केटी साथी जस्तै लागेर रिक्वेस्ट पठाएको भन्यो। उसले झूट बोलेको थाहा पाउँदा सामान्य विवाद भयो। तिमीलाई धेरै मन पराउने भएकाले पाउनका लागि झूट बोलेको भनी माफी माग्यो। यसपछि फेरि हाम्रो सम्बन्ध रामै्रसँग चलिरहेको थियो।

सम्झना भनेर बोलाउँदा शंका
उसले फोन गर्दा मेरो मोबाइल बिजी भन्यो भने अनावश्यक शंका गर्ने, अर्कै केटासँग छस् भनेर झगडा गर्ने क्रम पछिल्लो समय हुन थालेको थियो। मेरो मोबाइलमा कसकसलाई कल गयो भनेर चेक गथ्र्यो। आत्महत्या भन्दा एक महिना पहिले उसले मलाई सम्झना नामले बोलायो। मलाई किन सम्झना भन्यो भनेर मलाई शंका लाग्यो। सोध्दा उसले अफिसमा सम्झना नाम गरेकी केटी भएको र झुक्किएको बतायो।

मलाई भने शंका लागिरह्यो। पछि फेसबुकमा खोजी गर्दा सम्झना घिमिरेको नाम आयो। उनीसित मेसेन्जरमा कुराकानी गर्न थालेँ। सम्झनाले बिहे गरेको ८ वर्ष भयो, काठमाडौैँमा श्रीमान् शालिकरामसँग बस्छु भनिन् र शालिकरामसँगको फोटोसमेत पठाइन्।

यसपछि म छ्याङ्ग भएँ, उसले त मसँग नाटक गरेको रहेछ भन्ने लाग्यो। घरमा श्रीमती भइभई मलाई नराम्रोसँग फँसायौ, जे भयो भयो अब आइन्दा मलाई फोन नगर्नु भनेँ।

त्यसपछि उसले पटक पटक फोन गर्ने गरे पनि धेरै जसो उठाउँदैनथेँ। उठाए पनि गाली गरेर राख्थेँ। साउन १९ गते साढे १ बजे मेरो ड्युटी सकेर फर्कने क्रममा मैले काम गर्ने अस्पताल बिपी स्मृतिमा कुरेर बसेको देखेँ। उसले मेरो बाटो छेकेर कुरा बुझ भनेको थियो।

रवि लामिछानेसँगै काम गर्ने अनिल ढुँगेललाई फोन गरेर शालिकले दुःख दिएको बताएकी थिएँ। शालिकले रवि, दीपक, युवराज र अनिल ढुंगेलले राम्रो व्यवहार गरेनन् भन्थे तर व्यवहारका बारेमा सोध्दा पछि भन्छु भन्थे। अनिल मसँग फेसबुकमा जोडिएका थिए।

२०७५ सालको पुसमा शालिकरामले तिमी सायद अरु कसैसँग छौँ भनी रिसाएर विष खाइदिन्छु भन्दै विषको बट्टाको फोटो पठायो। त्यसपछि मैले रेनी योङ भन्ने आइडीबाट ढुँगेललाई शालिकराम कता छन् सम्पर्कमा ल्याइदेऊ भनेकी थिएँ।

केहीबेरमा पुडासैनीले मलाई फोन गरेर तिमीले मेरो अफिसमा फोन गरेकी रहिछौँ। मलाई फेसबुकमा म्यासेज गरेर रवि दाइले सम्झाउनुभयो अनि म मरिनँ भन्यो। मैले यस्तो कुरा गर्नुहुन्न भनेँ।

माघमा रवि लामिछानेको बिहे पार्टीमा रक्सी खाएछौ, अनिलले फोटो पठाएको छ भनेर जिस्काउँदा शालिकराम रिसाएर विवाद गरेपछि अनिलले मलाई ब्लक गरेछन् ।

भिडियो खिचौँ भनेका थिए
शालिकरामले मलाई गोप्य म्यासेज सार्वजनिक गरिदिन्छु पनि भनेकाले मेरो भविष्य बर्बाद हुन्छ भनेर अनिललाई भनेँ। अनिलले के प्रमाण छ भनेकाले केही फोटा र म्यासेज छन् भनी पठाएँ।

मैले यो कुरा रवि, युवराज र दीपकलाई भनिदिनुप-यो र केही सामाधान निकाली मेरो भविष्य जोगाइदिनु प-यो भनेँ। अनिलले मलाई शालिकरामले तिमीलाई दिएको पीडाको बारेमा एउटा लाइभ भिडियो बनाएर जाऊ, अनुहार नदेखिने बनाऊ भनेका थिए।  अनिलले उसको जागिर पनि जान्छ, तिम्रो टेन्सन पनि सकिन्छ भनेर सुझाएका थिए।

मैले भिडियो नबनाउने बताएपछि उसले न्युज २४ मा गएको थिएँ भनेर सेल्फी पठाऊ भने। मैले सोहीअनुसार पठाएँ। मैले शालिकरामलाई अनिलसँग भेट भयो, तिमीले मलाई सताउन छाडेनौँ भने रवि दाइलाई समेत गएर भेट्छु भनेर धम्काएँ। उसले मेरो कुरालाई विश्वास गरेन। मैले न्युज २४ अगाडिको फोटो पठाएँ।

यसपछि अनिलले रातको साढे १२ बजे फोन गरेर शालिकसँग भएको कुराकानी डिलिट नगर्नु है भनी फोन राखे। यसलगत्तै मेरो अस्पतालको मेट्रोन मेडमा मीना राईले मलाई बोलाएर शालिकराम पुडासैनी भन्ने पत्रकार चितवनमा झुण्डिएर मरेछन् भनेपछि घटनाको बारेमा जानकारी पाएकी हुँ।

अन्तिम म्यासेज बाई
ड्युटीमा पूरा गरेर डेरामा आएँ। भोलिपल्ट बिहान ६ बजे उमेश पुडासैनीले मलाई शालिकरामजी सम्पर्कमा हुनुहुन्न भनेर कल गरे। त्यसपछि मैले अनिललाई फोन गरेर उमेशले भनेको कुरा सुनाएँ। शालिकरामको अन्तिम म्यासेज बाई भनेर आएको रहेछ। अनिलले मागेपछि त्यो पनि सेन्ड गरिदिएँ।

अनिलले मलाई पटक पटक फोन गरी हामी तपाईंलाई भेट्न आएका थियौँ, ५ मिनेटको भए पनि भिडियो बनाइदेऊ भन्नुभएको थियो। के कुन विषयमा भिडियो बनाउने यकिन नभएपछि मैले भेटिनँ।

शालिकरामले प्रेम सम्बन्धकै कारण आत्महत्या गरेको भए मेरो मात्रै नाम लिनुपर्ने थियो। उसले भिडियोमा नाम लिएको मबाहेक अन्य तीन जनाले जालझेल र परिपञ्च मिलाई सिर्जना गरेको कारणबाट मैले आत्महत्या गर्नु परेको भनी स्पष्ट रुपले पटक–पटक दोहो-याएको देखिनु, मृतकले मसँग रहँदा अफिसमा तनाव दिन्छन् भन्नु, युवराजले हेप्छन् भन्नु, पछि अनिलसँग कुरा बुझ्दा उनले शालिक मलाई मन पर्दैन त्यो मान्छे ठीक लाग्दैन, रवि दाइ र दिपक दाइ पनि रिसाएका छन् भनेका थिए।

मृतकसँग सम्बन्ध बिग्रिएपछि अनिललाई शालिकराम र मेरो सम्बन्धबारे भनेकी थिएँ। त्यसपछि अनिल, युवराज, रवि मिलेर ब्ल्याकमेल गरी केही कुरा भनेको हुनुपर्छ वा केही कार्य गरेको हुनुपर्छ। सोही कारणबाट शालिकरामले आत्महत्या गर्नु परेको हुनुपर्छ।
(रुकु भनिने अस्मिताले २०७६ भदौ २ गते अनुसन्धान अधिकृतसमक्ष दिएको बयानको सम्पादित अंश।)

 

Leave A Comment