गुमनाम गलबन्दी

शुक्रबार, १३ भदौ २०७६, ०१ : ५० शुक्रवार
गुमनाम गलबन्दी

आँखाको चञ्चलताले अभिनय गर्ने क्षमता भएकी केकी अधिकारीको फिल्म ‘रातो गलबन्दी’ केही साताअघि रिलिज भयो तर त्यो फिल्म यसरी राडारबाट आउट भयो कि, कसैले पनि कहिले लाग्यो र उत्रियो भन्ने भेउसमेत पाउन सकेन।

समयमै बुद्धि फिरेर ‘कोहलपुर एक्सप्रेस’बाट आफैँ फिल्म निर्माण गर्न थाले पनि पहिलो फिल्मले नै उनलाई निर्माणबाट आउट गरिदिएको हो कि भन्ने भान यतिबेला भइरहेको छ। न त उनले नयाँ फिल्म घोषणा गर्न सकेकी छन्, न त व्यस्त बनाउने कुनै फिल्म हात पारेकी छन्।

एक त राम्रो फिल्म हात नपर्नु, फिल्म हात परे पनि रत्ति चर्चा नहुनु एउटा क्षमतावान् कलाकारका लागि कति पीडाको कुरा हुन्छ भन्ने कुरा तपाईं दर्शकले बुझ्न सक्नु हुन्न।

त्यही पीडामा मल्हम लगाउने एउटै मात्र उपाय भनेको एक्टिभिज्म छ। नारीवाद, मीटू र यस्तै केही विषय खोजखाज पारेर उनले फेसबुकमा पोस्ट गर्न थालिन् भने उनको बौद्धिकताको कदर होला, नत्र त उनको बौद्धिकता र अभिनय क्षमता त्यत्तिकै खेर जान थालेको छ।

फिल्म ‘रातो गलबन्दी’ले निर्माता–निर्देशक मात्र होइन, स्वयं केकीको अनुहार पनि यतिबेला रातोपीरो बनाइदिएको होला। यस्तो अवस्थामा उनलाई सान्त्वनाबाहेक के पो दिन सकिएला र ?

Leave A Comment