रियालिटी चेक

शनिबार, १४ भदौ २०७६, ०२ : ०८ शुक्रवार
रियालिटी चेक

कोच नै नयाँ जस्तो
अघिल्लो वर्ष कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको लोकप्रिय रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ यस पटक भने हिमालय टेलिभिजनमा सरेको छ। दोस्रो सिजनमा दुई जना निर्णायकहरु परिवर्तन भएका छन्। अभया सुब्बा र सनुप पौडेलको ठाउँमा यस पटक आस्था राउत र राजु लामा पदस्थापित भएका छन्।

यस पटक थपिएका दुई जनै कोचले दर्शक तथा प्रतियोगी दुवैको मन जित्न सकेका छैनन्। उनीहरु फर्ममा आउन अझै नसकेका कारण पहिलेकै कोच ठीक भनेर दर्शकले प्रतिक्रिया दिन थालेका छन्। यद्यपि आस्थाले भने कार्यक्रमलाई चटपटे बनाउने प्रयास गरिरहेकी छन्। यता कोच राजुको बोल्ने शैली ठिकै देखिन्छ। पुराना कोच दीप श्रेष्ठ र प्रमोद खरेल भने अनुभवी भएकाले पनि फर्ममा देखिन्छन्।

क–कसको प्रस्तुति
यतिञ्जेलसम्म ‘द भ्वाइस’ सिजन २ को चार एपिसोड प्रसारण भइसकेको छ। जसमा सात जनाले प्रस्तुति दिइसकेका छन्। चौथो एपिसोडमा पहिलो प्रस्तुति दिन स्टेजमा चढेका चितवनका मधु लामालाई प्रमोद खरेलले रोजेपछि मख्ख परेका थिए। 

यस्तै सिक्किमका सन्तोष गन्धर्वले ‘सारङ्गीको तालले मेरो मनको गीत गाउँछ’ स्वर सुन्नेबित्तिकै चारै जना कोच प्रभावित भए। यो देखेर खुसी भएका सन्तोषको असन्तोष त्यतिबेला प्रकट भयो जब उनलाई कुनै पनि कोचले अर्को राउण्डका लागि छानेनन्।

उनले स्वर दबाएर गाएको र आफू उनीप्रति विश्वस्त नभएको भन्दै कोच प्रमोद खरेलले पुनः सारङ्गी नबजाई गाउन लगाएका थिए। फेरि पनि उनले स्वर दबाएर गाएपछि छनोटमा पर्न सकेनन्।

बिर्तामोड झापाबाट आएका अर्का प्रतियोगी राम लिम्बुले ‘म संसार जित्ने आँट गर्दैछु’ गाउँदै गर्दा गायकी सुनेर कोच आस्था र कोच दीपको कुर्सी घुम्यो। कोच दीपले उनको स्वर सुन्दै गर्दा ‘म्युजिक सिकेको भए त तिमीले गायनमा फाँड्ने हुनेरहेछ’ भनी टिप्पणी गरे। त्यसपछि हौसिएका रामलाई चारै जना कोचले आँखा लगाए।

चारै जना कोचको मन जित्ने प्रस्तुति उनको निकै मनोहर पनि थियो। अन्त्यमा राम लिम्बुले आफ्नो कोचका रुपमा दीप श्रेष्ठलाई छाने।

यसपछि प्रस्तुतिका लागि मिरोज काजी तुलाधर स्टेज चढे। उनले ‘डडेलो लाग्यो त्यो पारि डाँडामा’ बोलको गीत गाए पनि कुनै कोचलाई पनि आकर्षित गर्न सकेनन्। कोच प्रमोदले त ‘मैले खोजे जस्तो पाइनँ’ भन्दै फिर्ता पठाइदिए।

भारतको सिलगुडीबाट आएकी वैशाली लामाले ‘लहनाले जुरायो कि !’ बोलको गीत गाएर चारै जना कोचलाई मुग्ध पार्न सफल भइन्। उनलाई आफ्नो टिममा आउन चारै कोचले आग्रह गरे। खारिएको आवाज लिएर आएकी वैशाली कोचहरुको तानातानमा नै परिन्। पछि उनले राजु लामालाई आफ्नो कोचका रुपमा चयन गरिन्।

झापा, काँकरभित्ताका साइकिरण लम्सालले ‘प्रेयसीका यादहरुमा’ गाएर चारै जना कोचलाई आफूतिर आकर्षित गर्न सफल भए। उनको प्रस्तुति राम्रै भएकाले कोच प्रमोदले आफूसँग आउन आग्रह गरे। सबै कोचले उनलाई लोभ्याउन खोजे पनि उनले भने दीप श्रेष्ठलाई रोजे।

सबैभन्दा भावुक र रोचक क्षण भने सुदूरपश्चिमकी झुप्री भण्डारीको प्रस्तुतिको बेला भयो। दृष्टिविहीन झुप्रीको प्रस्तुति र उनले आफ्ना पीडाका कथा सुनाउँदा कोच राजु लामाको आँखाबाट आँशु नै आयो। जीवन र जगत सम्झाउँदै कोच राजु लामा आफँै आँशु पुछ्दै उनलाई आश्वस्त पार्दा सारा दर्शक स्तब्ध बन्न पुगेका थिए।

झुप्रीले जब गीत सकिएपछि आफू दृष्टिविहीन र अपाङ्गताका कारण हेला सहन बाध्य भएको कथा सुनाइन्, चारै जना कोच मात्र होइन, दर्शक नै स्तब्ध भएका थिए। ‘मैले गाउँमा खुलेर गाउन सकिरहेकी थिइनँ, यहाँ गाउन पाएँ,’ उनले भनिन्।

स्तब्धतालाई चिर्दै गायिका तथा कोच आस्था राउतले स्टेजमा नै गएर उनलाई अँगालो मारेर अवस्थालाई सहजीकरण गरेकी थिइन्। झुप्रीको गायन यति बेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

Leave A Comment