पर्दामा जो जस्ता कलाकार, जस्तो देखिन्छन् वास्तविक जीवनमा त्यस्तै नहुन सक्छन्। तिनलाई चिटिक्कको देखिने बनाउने काम मेकअप आर्टिस्टले गर्ने गर्छन्।
अरुलाई रम्राउने मेकअप आर्टिस्ट स्वयंको जिन्दगी कति श्रृङ्गारिएका हुन्छन् त ? सायद यसतर्फ कमैको ध्यान जान्छ। हिजो सार्वजनिक बस चढेर सुटिङ पुग्ने कलाकार चिल्लो गाडी चढ्ने भइसक्दा मेकअप आर्टिस्टका जीवनस्तरमा के कस्ता सुधार आए त ?
मेकअप आर्टिस्टको पनि आफ्नै कथा अनि व्यथा छन्। तिनै मेकअप आर्टिस्टका कहानीसँग पछिल्लो साता ठोक्किँदा सुरुमै भेट भयो पुराना मेकअप आर्टिस्ट सन्तु लामासँग।
उनी फिल्म क्षेत्रका पुराना मेकअप आर्टिस्टमध्येका हुन्। उनीसँग कलाकार रम्राएको ४० वर्षको अनुभव छ। २०३८ तिर उनी शाही नेपाल चलचित्र संस्थान कार्यलयमा सहयोगीको काम गर्थे। त्यो बेला वर्षको एउटा फिल्म बन्ने गथ्र्यो।
फिल्मका कलाकारलाई मेकअप गरिदिन आर्टिस्ट भारतदेखि नेपाल आउँथे। त्योबेला नेपालमा मेकअप आर्टिस्ट नै थिएनन्। संस्थानले मेकअप आर्टिस्टको अभाव अनुभव ग-यो। त्यसैले सन्तुलाई मेकअपमा भविष्य देखाउँदै मेकअप आर्टिस्ट बन्न प्रोत्साहन ग-यो ।
त्यो बेला सन्तु १५ वर्षका थिए। उनले मेकअप आर्टिस्टका लागि संस्थानमा निवेदन दिएर पास पनि भए। त्यसपछि उनले श्रीनिवास राई, प्रकाश गटवाली अनि बाबुराओ काम्लेसँग मेकअप सिके। ४/५ वर्ष सहयोगी भई काम पनि गरे। त्यो बेला फिल्म बन्न ६÷७ महिना लाग्थ्यो। मेकअप आर्टिस्ट बीचमै भारत फर्कनु पर्ने भयो भने मेकअपको जिम्मा सन्तुको काँधमा आउँथ्यो। गुरुहरु भन्ने गर्थे– ‘सन्तुले नै गर्न सक्छ अब मेकअप। उसले राम्रो सिकिसकेको छ।’
सन्तुले ‘जीवनरेखा’ फिल्मको आधा सुटिङ सकिइसकेपछि पूरा मेकअपको जिम्मा पाए। त्यो नै उनको मेकअप आर्टिस्टका रुपमा पहिलो काम थियो। त्यसपछि उनले ‘बदलिँदो आकाश’मा भने सुरुदेखि नै मेकअपको जिम्मा पाए। अहिले सन्तुले २०० भन्दा बढी फिल्ममा मेकअप आर्टिस्टको काम गरिसके।
म्युजिक भिडियो, विज्ञापन, फोटोसुट त कति हो कति ! उनले गन्नै छाडिसके। आफूले जुन क्षेत्रबाट कमाइन्छ, त्यो क्षेत्रमा पनि योगदान दिनुपर्छ भन्ने मान्यताका साथ यस क्षेत्रमा उनले कयौँ नयाँ प्रतिभा जन्माए पनि। अशोक रोक्का, निमा लामा, सरोज पाण्डे यतिबेला फिल्मी बजारमा जमिसकेका छन्। अहिले त यो क्षेत्रमा महिला मेकअप आर्टिस्ट पनि भित्रिएका छन्। एक समय, मेकअप आर्टिस्ट भन्नासाथ पुरुष नै हुने गर्थे।
सन्तुसँग एनालग जमानाको फिल्ममेकिङका बेला गरेको मेकअपदेखि डिजिटल जमानाको मेकअपसम्मको अनुभव छ। एनालग जमानामा फिल्म खिचिसकेपछि भारत तथा सिंगापुर लगेर प्रोसेसिङ गरिन्थ्यो र प्रिन्ट आउँथ्यो। अनि मात्र फिल्म हेर्न पाइन्थ्यो। अहिले भने मेकअप ग-यो, डिजिटल डिस्प्लेमा हे¥यो, चित्त नबुझे पुनः मेकअप ग-यो ! हेर्दाहेर्दै जमाना परिवर्तन भएको देखेर उनी चकित छन्।
त्यो बेलाका चलेका स्टार शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल, नीर शाह, भुवन चन्द, कृष्टि मैनाली, मौसमी मल्लदेखि लगभग पुराना सबै कलाकारसँग कामको अनुभव बटुलिसकेका छन्। उनले नयाँ पुस्ताका कलाकारसँग पनि काम गरे।
पछिल्लो समय मोबाइलका कारण पनि संवाद र सञ्चारमा ठूलो परिवर्तन देखेका उनी भन्छन्, ‘त्यो बेला मुक्तिनाथमा बसेको छ भने जोमसोम आएपछि मात्र परिवारसँग सम्पर्क हुन्थ्यो। अहिले त सबै कुरामा सुविधा छ।’
सन्तुले धेरै कलाकारको पहिलो फिल्ममा मेकअप गरिदिएका छन्। त्यो बेला त कति अभिनेत्री मेकअपबारे त्यति जानकार पनि थिएनन्। करिश्मा मानन्धरलाई आफैँ मेकअप कसरी गर्ने भनेर उनैले सिकाएका हुन्।
मेकअपको महत्व
फिल्ममा मेकअपको ठूलो महत्व रहेको सन्तु बताउँछन्। बाहिरबाट सामान्य सुनिए पनि मेकअप गम्भीर विषय रहेको उनको अनुभव छ। ‘मेकअप भनेको हल्का पाउडर लगाउने मात्र होइन,’ उनी भन्छन्, ‘कलाकारको रुप नै परिवर्तन गर्ने शक्ति हुन्छ। कलाकारलाई उसको भूमिकामा भिजाउने शक्ति मेकअपमा हुन्छ। यसले मानिसलाई वास्तविक बनाउनुपर्छ।’
यतिबेला उनी भारतीय कलाकार अनुष्का शर्माले अनुहार बिग्रेकी युवतीको भूमिकाका लागि गरेको मेकअप र दीपिका पादुकोणले एसिड प्रहारमा ध्वस्त भएको अनुहार भएको फिल्मको स्मरण गरे। मेकअपले मान्छेलाई वास्तविक रुपमै उही हो जस्तो भान पारिदिन्छ, चाहे एसिड हानिएकी युवतीको भूमिका होस् या अपूर्व सुन्दरी रानीको !
फिल्ममा जति मेकअपको भूमिका बढिरहेको छ, उति नै यसको पारिश्रमिक घटिरहेकोमा उनी चिन्ता व्यक्त गर्छन्। ‘त्यो बेला कम फिल्म बन्थे, सोचेको पारिश्रमिक पाइन्थ्यो,’ उनले भने, ‘अहिले मेकअप आर्टिस्ट पनि धेरै छन्, फिल्म पनि धेरै छन् तर यो क्षेत्रमा चित्तबुझ्दो पारिश्रमिक भने छैन।’
मेकअप आर्टिस्टका दुःख
सन्तु मेकअप आर्टिस्टका पेशालाई आकाशे खेती भन्छन्। सुनाए, ‘कुन बेला बोलाउलान् अनि गएर गरौंला, पेमेन्ट आउला र घरबार चलाउँला भन्ने हुन्छ। यसमा स्थायी भन्ने नै हुँदैन। पेमेन्ट पनि ढिला गरिदिन्छन्।’
२०५६ सालतिर प्राविधिक संघमा निर्माण नियन्त्रकलाई गाभ्न सन्तुले पहल गरेका थिए तर आज तिनै निर्माण नियन्त्रकले प्राविधिकको पक्षमा नबोलेर उल्टै बार्गेनिङ गरेको देख्दा सन्तुको मन दुख्छ। ‘प्राविधिकको हकहितको लागि हामी काम गर्ने तर उहाँहरुले नै हाम्रो हलाल गर्ने काम भइरहेको छ,’ उनी भन्छन्, ‘उहाँहरु निर्माताको मान्छे हो तर प्राविधिकको हकहितमा पनि उत्तिकै ध्यान दिन जरुरी छ।’
पारिश्रमिक लिन निकै कठिन हुन थालेकामा उनी दुःखी छन्। फिल्म निर्माण टिमले जसरी फिल्मका विभिन्न विषयमा बजेट छुट्याउँछन्, मेकअप आर्टिस्टलाई बजेट सुरुमै छुट्याउँदैनन्। बरु बार्गेनिङ गरेरै मिलाउन खोज्छन्। यस्तो देख्दा उनलाई घरिघरि यो पेशा नै त्यागौँजस्तो पनि लाग्छ।
तर पनि ४० वर्ष कसरी बिताएँ भन्ने उनलाई लागिरहन्छ।
सन्तुका चेलाका रुपमा फिल्म उद्योगमा छिरेका अशोक रोक्काले पनि मेकअप गर्न थालेको ३५ वर्ष पूरा भयो। यस क्षेत्रमा मेकअप आर्टिस्टको सम्मान नभएको देख्दा उनलाई उदेक लाग्छ। खासगरी नयाँ मेकअप आर्टिस्टले पुरानालाई सम्मान नगर्ने परिपाटी देख्दा उनलाई चित्त दुख्ने गरेको छ। ‘ज्वाला’ फिल्मबाट आफ्नो करियर सुरु गरेका अशोकले पनि धेरै मेकअप आर्टिस्ट जन्माएका छन्।
मेकअप आर्टिस्ट सधैँ कलाकारसँगै स्ट्याण्डबाईको अवस्थामा रहनुपर्ने हुन्छ। बरु कलाकार आफ्नो भूमिका सकाएर अर्को ठाउँ जालान् तर मेकअप आर्टिस्ट अर्को कलाकारलाई मेकअप गर्न बसिहाल्नु पर्छ।
क्यामेरालाई आफ्नो सर्वश्व ठान्ने अशोकले ३ रात ३ दिन रात एउटै फिल्मको छायांकनका लागि मेकअप गरिदिएका छन्। भन्छन्, ‘म क्यामेराभित्रै समर्पित छु। मान्छे हिरो हिरोइनलाई हेर्न खोज्छन्, फोटो खिच्न खोज्छन्, म उहाँहरुलाई नै मेकअप गर्थें। अथाह खुशी छु। म कति भाग्यमानी !’
पहिलो पटक उनले राजेश हमाललाई मेकअप गरिदिएको क्षण उनका लागि अविष्मरणीय छ। ‘आदिकवि भानुभक्त’ फिल्ममा दिलिप रायमाझीलाई २०० वर्ष पुरानो बनाउने उनै हुन्।
हालै बजारमा भुवन केसीको बुढ्यौली अवतार बाहिरियो। भुवनलाई ७० वर्षको बूढो देखाउने मेकअप उनले नै गरिदिएका हुन्। फिल्म ‘मिस्टर नेपाली’मा उनले भुवनलाई जवान पनि देखाएका छन्।
उनले मेकअपको जिम्मा पाएको फिल्म ‘ठूल्दाइ’ १३० दिन चल्यो काठमाडौँमा। अहिले त कति नेपाली फिल्म तीन दिन पनि चल्दैनन्। उनले सफल मानिएका फिल्महरु ‘चाँदनी’, ‘अल्लारे’, ‘आफ्नो मान्छे’, ‘अर्जुन’ जस्ता धेरै सफल फिल्ममा मेकअप आर्टिस्टका रुपमा काम गरे।
उनी यो आफ्नो पेशामा निकै रमाइरहेका छन्। ‘सधैँ सुख नै सुख,’ उनले भने, ‘म त दुःखलाई पनि सुखकै रुपमा लिन्छु। घुमघाम गर्दै काम गर्न पाइन्छ। व्यस्तताको कारण ३५ वर्ष पनि ३५ दिनजस्तो लाग्छ।’
श्याम बरालले करियर सुरुमा स्टिल फोटोग्राफरका रुपमा फिल्म उद्योगमा छिरेका थिए। पछि स्टिल फोटोग्राफर हुँदै मेकअप आर्टिस्ट बने। पहिला त स्टुडियो चालएरै बस्थे श्याम। सिनेमेटोग्राफर बन्ने रहरले फिल्म क्षेत्रमा डो¥याएको थियो। फिल्म कम बन्न थालेपछि दैनिकी चलाउन नसक्ने सोचेर आफूलाई मेकअप आर्टिस्टको पेशामा ढाले। उनले मेकअप गर्न थालेको पनि ३० वर्ष पुगिसकेको छ।
सुरुवाती संघर्ष सम्झदै उनी भन्छन्, ‘झोला बोकेर हिँड्नु पथ्र्यो। गुरुको पछिपछि लागेर हिँड्नु पथ्र्यो। सिनेमा कम बन्थ्यो। काम कुरेर बस्नुपर्ने हुन्थ्यो। काम थोरै भएपछि प्रतिष्पर्धा धेरै हुन्थ्यो।’
अहिले त मेकअपमा पनि धेरै परिवर्तन आइसकेको उनी बताउँछन्, ‘त्यो बेला मेकअपका सामग्री हातले प्रयोग गथ्र्यौं, टुल्स हुन्थेन। अहिले मेकअप गर्ने तरिकामा पनि फरक आएको छ।’
उनले त कतिपय मेकअप विदेशी पत्रपत्रिका र म्यागाजिनमा छापिएका तस्बिरबाट पनि सिके। अहिले भने कलाकार आफैँ पनि मेकअपबारे जानकार हुन थालेको देख्दा उनी खुसी छन्।
सबैभन्दा उदेक चाहिँ उनलाई केही कलाकारको व्यवहार देखेर हुन्छन्। भन्छन्, ‘हामी एउटा क्यारेक्टरमा आधारित भएर मेकअप गरिदिन्छौँ। कतिपय कलाकार भने चरित्रअनुसारको मेकअपभन्दा कसरी आफू राम्री देखिने भन्ने चक्करमा हुन्छन्।’
जल शाह, निरुता सिंह, विपना थापाजस्ता कलाकारहरु मेकअप फ्रेन्डली रहेको उनको बुझाइ छ। १८ वर्षको उमेरबाट मेकअप थालेका श्याम अहिले मेकअप स्टुडियोको अभाव पूरा गर्न स्टुडियो खोल्ने तयारीमा छन्। भन्छन्, ‘हामीले जे सिक्यौँ, त्यो अब उद्योगको उन्नतिका लागि सिकाउन ढिला भइसक्यो !’
Leave A Comment