‘बलिउडमा पुगेपछि नेपाल चिनेँ’

सोमबार, १६ भदौ २०७६, ११ : ४३ शुक्रवार
‘बलिउडमा पुगेपछि नेपाल चिनेँ’

६ वर्ष बलिउडमा फिल्म लेखकको अनुभव बटुलेकी सम्पदा मल्ल एक वर्षदेखि नेपालमा छिन्। भारतमा रहँदा चर्चित टिभी सिरियल, ‘यह रिस्ता क्या कहलाता है’, ‘इस्क का रङ सफेद’मा पटकथा लेखकका रुपमा काम गरिन्। उनले फिल्म ‘क्यारी अन कुत्तों’ पनि बनाइन्। उनले लेखेको नेपाली हरर फिल्म ‘कठपुतली’ प्रदर्शनको तयारीमा छ भने ‘आइएम ट्वान्टी वान’को लेखनमा व्यस्त छिन्। बलिउडमा काम गर्दाको अनुभव, फिल्म लेखन प्रतिको झुकाव, नेपाली फिल्म लेखनको अवस्थाबारे सम्पदासँग शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंगः

अहिले केमा व्यस्त हो ?
‘कठपुतली’ भन्ने नेपाली फिचर फिल्म प्रदर्शनको तयारीमा छ, त्यसैमा व्यस्त छु। यो गत वर्ष नै लेखेकी हुँ। म त्यो फिल्मको कार्यकारी निर्माता पनि हुँ। रेनशा वान्तवा राईको फिल्म ‘आइएम ट्वान्टी वान’ पनि लेखिरहेकी छु।

पछिल्लो समय हरर विधाका फिल्मले बक्स अफिसमा राम्रो ग्राफ बनाएको छैन। प्रायःले दर्शकलाई निरास बनायो नि ? नेपाली हरर फिल्म त्यति नरुचाइएजसे छ।
‘कठपुतली’ मेरो पहिलो नेपाली फिचर फिल्म हो। फिल्म भनेको जहिले पनि जुवाजस्तै हुन्छ। ग्यारेन्टी भन्न सकिन्न तर यो फिल्ममा हामीले एउटा राम्रो कथा भन्न सक्यौं भन्ने लाग्छ। फिल्म राणा शासनको समयमा महिलामाथि गरिएको दमनमा आधारित हो। ‘कठपुतली’मा विदेशमै फिल्म पढेर आएकाहरुको र राम्रो प्राविधिकको टिम छ। त्यसैले राम्रै अपेक्षा छ फिल्मबाट।  

हरर विधाबाट नै डेब्यु किन ?
निर्देशक भीमसेन लामाले नै हरर कथा लेख्न प्रस्ताव राख्नु भयो। मैले पहिलेदेखि नै बोक्सी देखेकी छु। बोक्सी आएको व्यक्तिहरु देखेकी छु। आफन्तलाई नै आत्मा चढेको देखेकी छु। विदेशी हरर फिल्म हेर्दा लाग्थ्यो, हाम्रो आफ्नो हरर कथा विश्वलाई कहिले भन्ने ? त्यसैले नेपाली दर्शकसँगै विश्वका अन्य दर्शकले पनि हाम्रो हरर कथा मन पराउँछ कि भनेर यो फिल्म लेखें।

नेपालमा बसेर लेख्न थालेको त धेरै भएको छैन है ?
अँ, बम्बईबाट फर्केको एक वर्ष भयो। पहिलेदेखि नै नेपाली फिल्म क्षेत्रलाई लिएर गलत धारणा थियो हाम्रो। कलाकार अनि प्राविधिक विदेशिनु पर्ने समय थियो। जब म नेपाल फर्केर काम गर्छु भनेँ, यो एक वर्षमा म लगातार लेखिरहेकी छु। मैले के देखेँ भने हाम्रो नेपाली फिल्म उद्योग यस्तो राम्रो अवस्थामा पुगेको छ। अहिले प्राविधिकदेखि लिएर सबैजनाले जीवनयापन गर्न सक्ने अवस्था बन्यो। राम्रा लेखकहरुले राम्रो पारिश्रमिक पनि पाइरहेका छन्। यति हुँदाहुँदै पनि ९५ प्रतिशत फिल्म फ्लप पनि भइरहेका छन्। निर्माता डुबिरहेको अवस्था छ। तर, हामी सानो हुँदा देउसी भैलोमा हिन्दी गीत बज्थ्यो। तर, अहिले त नेपाली गीत बज्न थालेको छ। अहिले मल्टिप्लेक्समा नेपाली फिल्ममा दर्शकको लामो लाइन देखिन्छ। एउटा उद्योगले यति धेरै व्यक्तिलाई बचाइरहेको छ।

९५ प्रतिशत फिल्म नचल्नुमा स्क्रिप्ट कमजोर भएर नै हो त ?
हामी नेपाली सधैँ नकारात्मक पक्षबाट मात्रै हेर्छौं। सकारात्मक पक्षतिर हेर्दै हेर्दौनौँ। बलिउडमा पनि कति धेरै फिल्म बन्छ तर हातमा गन्ने फिल्म मात्र हिट भइरहेका हुन्छन्। १०० वटा फिल्म बनेको छ र ५ वटा फिल्म चलेको छ भनेको त राम्रो हो नि त ! त्यो अर्थमा ५ वटा फिल्म हेर्ने दर्शक त रहेछ त ! नराम्रो फिल्म त जहाँ पनि बन्छ, त्यस्तो फिल्म जहाँ पनि फ्लप हुन्छ।  एउटा पनि फिल्म हिट नभएर दर्शक नै नभएको भए हामी आत्तिनु पथ्र्यो। राम्रो फिल्म भयो भने दर्शक पनि हुनुहुन्छ। राम्रो फिल्मलाई त दर्शकले स्वीकारेका पनि छन्। हरेक फिल्म हिट हुनैपर्छ भन्ने अपेक्षा राख्नु मुर्खता नै हो।

कति निर्देशक नेपालमा राम्रो स्क्रिप्ट लेखक नै छैन भन्छन् नि ?
अहिले धेरै लेखक पढेर आएका छन्। दक्ष लेखक नभएका होइनन्। ती निर्देशकले नयाँ लेखक भेट्नु नै भएको छैन कि ! (हाँस्दै)

तपाईँ नेपालको अग्र्यानिक कथा भन्न नेपाल आउनु भयो ?
हो। किनभने मैले इण्डियामा टिभी सिरियल लेखेँ। फिल्म लेखेँ। एउटा हिन्दी फिल्म ‘हिमाल’ त अर्को वर्षसम्म बन्ने कुरा छ। मलाई सधैँ उता बसेर लेख्दा छटपटी हुन्थ्यो। मलाई बम्बईले अवसर दियो होला, मैले लेख्न पाएँ होला तर लेख्दा त्यहाँको संस्कृति नै बुझ्न सकिनँ। ‘कर्वाचौथ’ भन्ने एउटा पर्व छ, मलाई त त्यहाँको संस्कृति बुझ्न एकदमै गाह्रो भयो। तर, नेपाल त मैले बुझेकी छु नि ! एउटा लेखकले आफ्नो देशको, आफ्नो परिवेशको कथा उत्कृष्ट तवरले भन्न सक्छ। हामी त यहीँ बाँच्छौँ। एउटा अमेरिकी लेखकले नेपालको कथा राम्ररी भन्न सक्दैन फिल्ममार्फत्। त्यसैले नेपाल फर्कें। म त कति धेरै अवसर देख्छु लेखकका लागि नेपालमा।

बलिउडसम्मको यात्रा कसरी भयो त ?
मलाई रंगमञ्च होइन तर ठूलो क्यानभासमा काम गर्न मन थियो। मास्टर्समा फिल्म पढ्छु भनेर जब मैले बाबा (अशेष मल्ल)लाई भनेँ, उहाँले फिल्म नपढ भन्नुभयो। किनभने उहाँ नेपाली फिल्म इन्डस्ट्री राम्रो छैन भन्नुहुन्थ्यो। किनकि त्यतिबेला उहाँहरुको समयमा बलिउडको कपी गरेर नेपाली फिल्म बनाउने काम हुन्थ्यो। बलिउडको डिभिडी ल्याएर कपी गरिन्थ्यो। उहाँलाई पनि तीन वटा डिभिडी ल्याएर ल लेख भनेर निर्माताले दिन्थे।
तर अहिले त अर्गानिक सोच पलाएको छ। अहिले व्यावसायिक फिल्म लेखकमा पनि संवेदनशीलता आएको छ। त्यसको परिमाण फिल्ममा पनि देखिएको। त्यसैले नराम्रो फिल्म फ्लप हुने क्रममा कति राम्रा फिल्मले नै हाम्रो इन्डस्ट्री सही गतिमा अघि बढाइरहेको छ। अब फिल्म क्षेत्रमा कलाकारदेखि हामीजस्तो पढेलेखेका निर्देशक लेखक आउन थालेका छन्। यो काल नेपाली फिल्म उद्योगको स्वर्ण युग नै हो।  

बलिउडमा कसरी ब्रेक पाउनु भयो ?
सन् २०१२ मा ‘एसियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन’मा स्नातकोत्तर गरेँ। त्यहाँ म मात्र नेपाली थिएँ। त्यहाँबाट पनि ५–७ जना मात्र बम्बई जान्छन् किनकि बम्बई आफैँमा महासागर हो। त्यहाँ जाने मैले त आँट नै गरिनँ। त्यसपछि म नेपाल फर्कें। तर, मलाई ‘एनडिटिभी इम्याजिन’ भन्ने टिभीमा ‘नक्सलाइट’ भन्ने सिरिज हुँदै गरेको थाहा भयो। त्यसका लेखक निर्माताले मलाई असिस्ट गर्न बोलायो। अनि म त्यसरी बम्बई गएँ। बम्बई संघर्ष गर्न गएको भन्दा पनि मलाई नियतिले नै त्यहाँ पु-याइदियो। त्यहाँ जानेबित्तिकै त्यो च्यानल नै बन्द भयो। त्यसपछि त्यो महासागरमा म आत्तिएँ। अनि बिस्तारै सम्बन्ध विस्तार गर्दै जाँदा ‘एक्सेल इन्टरटेन्टमेन्ट’को ‘तलास’ भन्ने फिल्म बनिरहेको थाहा पाएँ। प्रयास गर्दा प्रोडक्सन असिस्टेन्टको काम पाएँ। त्यो बेला ‘एक्सल इन्टरटेन्टमेन्ट’ पुग्नु नै ठूलो थियो। काम पाएँ। म निकै खुशी थिएँ। तर, पारिश्रमिक जम्मा ५ हजार। त्यही बेला मलाई भारतकै सबन मुम्ताज भन्ने भारतको टप टिभी लेखक, निर्माताले ‘यह रिस्ता क्या कहलाता है’ मा असिस्टेन्ट बनाउनु भयो। मलाई महिनाको ३० हजार दिने कुरा भएको थियो। त्यसैले मैले टिभीमा नै लेख्न थालेँ। यसरी मैले ‘यह रिस्ता क्या कहलाता है’मा सहायक पटकथा लेखक भएर काम गर्न थालेँ। उहाँकै अन्डरमा बसेर धेरै सो गरेँ। मैले पहिलो ब्रेक पाएको चाहीँ कलर्सको ‘इश्क का रंग सफेद’मा नै हो। त्यसमा मैले इन्डिपेन्डेन्ट लेखकको रुपमा काम थालेँ। त्यसपछि ‘गुमराह’, जिटिभीको ‘फियर फाइल्स’ गरेँ। ‘कन्नाडा’, ‘उडिसा’को सोका लागि पनि लेखेँ, लेख्दै गएँ। बीचमा ‘यशराज फिल्म्स’मा पनि दुई महिना ‘शुद्ध देशी रोमान्स’को लागि काम गरेँ। त्यो फिल्म साहिद कपुरले छोडेपछि रोकियो। त्यसै बीचमा साथीहरुसँग मिलेर ‘क्यारी अन कुत्तों’ भन्ने फिल्म बनायौँ। भारतभर चल्यो। त्यसको म सहायक निर्माता पनि थिएँ। अहिले भने मेरो स्क्रिप्टमा सोही फिल्मको निर्देशकले नयाँ फिल्म बनाउँदै हुनुहुन्छ।

‘बलिउडमा पुगेपछि नेपाल चिनेँ’
त्यस्तो संघर्ष नै त भएन। ६ वर्षमा मैले धेरै सिक्न पाएँ भन्नु पर्ला।

चलेकै टिभी सिरियलमा काम पाइरहँदा नेपाल किन फर्कनु भयो ?
म बम्बईको नै सपना लिएर गएको भए बम्बईले मलाई आकर्षित गथ्र्यो होला तर मलाई त नियतिले बोलाएको थियो। म नेपाल आइरहँदा यता पनि लेख्थेँ। यहाँ आएर ‘दृश्यांश’ भन्ने सुरु गरेँ। मोबाइलबाट पनि फिल्म बनाउन सकिन्छ भनेर ‘दृश्यांश’ गरेका थियौँ। यही बीचमा ‘सिंहदरबार’ भन्ने टिभी सिरिज पनि लेखेँ। बम्बई भन्दा नेपाल नै प्राथमिकतामा रह्यो। मलाई सबैले सोध्छन् किन नेपाल फर्केको। आज म बम्बई गएँ र त नेपालमा भारतका चर्चित फिल्म लेखक ‘रविन भट्ट’लाई ल्याउन सकेँ। हाम्रो कर्तव्य त हाम्रो देशप्रति छ नि ! त्यसैले मलाई कुनै पछुतो छैन नेपाल फर्किनु पर्दा। बम्बई गएर मैले एउटा कुरा बुझेँ– मैले त मेरो देश नै बुझेको छैन रहेछु। किनकि उनीहरुको आँखाबाट जब मैले नेपाल देखेँ अनि नेपाल प्रतिको प्रेम देखेँ, नेपाल आउन लालायित भएँ। बल्ल मलाई अनुभव भयो, म त नेपाल बसेर विश्व बोलाउन सक्छु। मेरो देशमै बसेर किन नगर्ने ? उता बसेर मैले टिभीको पटकथा त जे पायो त्यही नै लेखेँ (हाँस्दै)।

बम्बईको सपना बोकेका नेपालीहरुसँग उता भेट पनि भयो होला नि ?
हामी त भारतमा मनिषा कोइराला र उदित नारायण झा मात्र देख्छौँ तर मैले त्यहाँ यति धेरै नेपाली देखेँ, जो एकदमै राम्रो पदमा छन्। कोही टिभीको निर्देशक, लेखक। अब एउटा टिभी सोमा ५/६ जना नेपाली नभेट्ने भन्ने नै हुन्न। कोही स्पट ब्वाई हुँदै त्यस्तो स्थानमा पुगेको देखेँ। हामी नेपाली सधैँ हीनताबोध गर्छौ तर भारतीयहरु भने नेपाललाई असाध्य सुन्दर देश मान्छन्। कतिपय त नेपाली हुँ भन्न डराउने पनि देखेँ। आफ्नै हीनताबोधले त्यस्तो भएको होला। नत्र त त्यहाँ पनि नेपालीहरु राम्रो स्थानमा छन्। कलाकारमा भने चर्को संघर्ष छ। पर्दापछाडि भने काम पाइन्छ तर कलाकारमा त भाषाको समस्या हुन्छ, इन्डियन अनुहार भएको नेपाली कलाकारले पनि टिभीमा काम पाएका छन्। तर प्राविधिक क्षेत्रमा नेपालीले धेरै राम्रो काम गरेका छन्।

बुबा (अशेष मल्ल)को लेखनबाट प्रभावित भएर लेख्न थाल्नु भयो ?
मैले त सानैदेखि लेख्न थालेँ। पारिवारिक वातारवरण नै कलात्मक थियो। कक्षा ७/८मा हुँदा नै पत्रपत्रिकामा मेरो कथा छापिन्थ्यो। १८ वर्षको उमेरमा मैले ‘अनायस एकदिन’ भन्ने किताब निकालेँ। भारतमा पनि लेख्न पाएँ। अब मेरो जिनमा नै लेखन भयो भनौं न ! मैले यहीबेला थाहा पाएँ, म त लेख्नकै लागि जन्मेकी हुँ। कहिले किताब, कहिले टिभी सिरिज लेखेँ। यसमा पारिवारिक वातावरण र उत्प्रेरणाले लेख्न थालियो नै भन्नुपर्छ।

टिभी सिरिजको लागि पटकथा लेखन गर्दाको सुरुवात कसरी सम्झनुहुन्छ ?
म सकायक लेखक थिएँ। चलेको लेखकसँग सिक्न पाउँछु होला भनेको त त्यहाँ त फोनमा लेख भनिदोरहेछ। तीन घण्टामा पटकथा लेख भनेर फोन आउँथ्यो। अब के लेख्ने ? मैले त्यो सिरियल पनि खासै हेरेकी थिइनँ। फोनमा डिक्टेट गरेर निर्देशन दिइन्थ्यो। के लेख्ने, कहाँबाट लेख्ने भएर पहिलो पटक जे पायो त्यही लेखेर पठाइदिएँ। मैले नराम्रो गाली खाएँ, म्यामको। त्यसपछि दिक्क लाग्यो। अनि मैले अर्को मौका मागेर रातभर मिहिनेत गरेर लेखेँ। एपिसोड हेरेँ। अनि बल्ल पटकथा लेखेँ। अनि उहाँले चित्त बुझाउनु भयो। मेसिन जसरी काम गर्नुपर्ने रहेछ टिभीको कार्यक्रममा त !

कति निर्देशक र निर्माताले नै स्क्रिप्ट तोडमोड गरिदिन्छन् भन्ने गुनासो छ नि लेखकको ?
त्यो त हुन्छ। यदि निर्माता, निर्देशक अनि लेखकको मत मिलेन भने त्यहाँ इगो आउँछ। किनकि फिल्म भनेको निर्देशकको माध्यम हो। फिल्म लेखकको संघर्ष नेपालमा मात्र होइन, बलिउडमा पनि उस्तै छ। भारतमा त अहिले कम पनि भइसकेको छ। ‘स्क्रिप्ट राइटर एसोसिएसन अफ इन्डिया’ले अहिले फिल्म लेखकहरुको अधिकार जोगाइरहेको छ। त्यहाँको कानुन यति बलियो भएको छ कि तपाईँको एउटा आइडिया चोरी हुँदा पनि तपाईँले केस लड्न सक्नुहुन्छ। इम्तियाज अली जस्ता ठूला निर्देशकलाई आइडिया चोरेको भनेर एक लेखकले केस जितेको छ।
नेपालमा कथा चोरी हुने सुनेकी छु तर मैले अहिलेसम् मभोगेकी छैन। नेपालमा ‘स्क्रिप्ट राइटर एसोसिएसन’ आवश्यक देख्छु। एउटा फिल्ममा हाम्रो ७/८ महिना लाग्छ। अब तोडमोड हुँदा त चित्त दुख्छ नि !

फिल्म राम्रो बन्ने राम्रो स्क्रिप्टले नै हो त ?
राम्रो स्क्रिप्टले मात्र होइन (टाउको दायाँ बायाँ हल्लाउँदै )। लेखकलाई चिनाउनु छ भने उसले किताब लेख्नुपर्छ। तर, फिल्म भनेको निर्देशककै अन्तिम भिजन हो। राम्रो स्क्रिप्टलाई पनि नराम्रो निर्देशक प¥यो भने त्यो फिल्म त गयो। एउटा लेखकलाई दर्शकले फिल्मबाट नै हो जाँच्ने तर उसले राम्रो स्क्रिप्ट लेखेको हुन पनि सक्छ नि ! कतिपय मध्यम स्क्रिप्टलाई निर्देशकले राम्रो फिल्म पनि त बनाएकै छ नि ! राम्रो निर्देशकले राम्रो फिल्म लेखक नै त खोजिरहेको हुन्छ। एउटा लेखकका हिसाबले हामीले पनि राम्रो निर्देशक छान्न सक्नुपर्छ।

नाटक पनि लेख्नु भएको छ नि होइन ?
हो। मैले लेखेको नाटक ‘कुरुक्षेत्र’ मञ्चन भइरहेको छ। त्यो नाटकलाई बुबाले निर्देशन गर्नु भएको छ।

पछिल्ला कुन फिल्मको स्क्रिप्ट तपाईँलाई राम्रो लेखिएको जस्तो लाग्यो ?
व्यावसायिक हिसाबले हेर्ने हो भने ‘जात्रैजात्रा’, ‘साइँली’। ‘बुलबुल’, ‘सेतो सूर्य’ राम्रो पटकथा लेखियो जस्तो लाग्छ।

कस्तो फिल्म लेख्नको लागि अफर आइरहेको छ ?
अफरहरु त धेरै नै आइरहेको छ। कति त रिजेक्ट नै गरेकी छु। कुनै निर्माताहरु व्यावसायिक फिल्म लेख भन्दै आउनुहुन्छ। मैले उहाँहरुसँग भेटेँ पनि तर ती फिल्महरु गरिनँ। मेरो मतसँग त्यो निर्देशकको कुरा मिल्दैन भने म कहिल्यै त्यस्तो निर्देशकसँग काम गर्दै गर्दिनँ। किनकि सबैभन्दा रुवाउने पेशा नै फिल्म लेखन हो। तपाईँले नौ महिना लगाएर फिल्म लेखेको हुन्छ अनि पर्दामा अर्कै बनेर आइदियो भने ?

आंशिक लेखक (१०–५ बजेको काम गर्नेहरु)का कारण पनि स्क्रिप्ट कमजोर हुने गरेको कुरा पनि बाहिरिए नि ?
यो क्षेत्रमा आज काम छ भोलि छैन। रिस्की काम नै हो यो। आंशिक लेखकले १०० प्रतिशत पनि दिन सक्दैन। एउटा फिचर फिल्मका लागि १२० पेजको होइन, तपाईं अफिसबाट थाकेर आएर फेरि लेख्न बस्नुहुँदा त्यसमा राम्रो गर्न नै सकिदैन नि ! त्यसैले लेखकले रिस्क लिएर नै फुलटाइम जब नै बनाउनुपर्छ।

Leave A Comment