व्यक्ति स्वस्थ रहने विभिन्न प्राकृतिक उपचार पद्धतिमध्ये उपबास एक उपचार पद्धति हो। चिकित्सकका अनुसार उपबास बस्नाले व्यक्तिमा ऊर्जा थपिन्छ। उपबासलाई अंगे्रजीमा फास्टिङ भनिन्छ। अन्न नखाई पानी पिएर बसिने चिकित्सकीय उपचार पद्धति नै उपबास हो।
यस्ता छन् फाइदा
उपबास बस्नाले शरीरका अंगले आराम पाउँछन्। पूर्वीय दर्शन मात्रै हैन आधुनिक मेडिकल साइन्समा पनि उपबासले व्यक्तिको स्वास्थ्यमा पु-याउने फाइदाका बारेमा अध्ययन भएको चिकित्सक बताउँछन्। शरीरका अंगका प्रणालीमध्ये पाचन प्रणालीलाई मुख्य मानिन्छ। पाचन प्रक्रियामै गडबढी भएको अवस्थामा शरीरमा रोग उत्पन्न हुन्छ।
खाएको खाद्यपदार्थ पेटको आमाशयमा गएर जम्मा हुन्छ। खाएको खाद्यपदार्थको समुचित रुपमा पाचन नहुँदा त्यस्तो खानाबाट विष उत्पन्न हुने सिंहदरबार वैद्यखाना विकास समितिका उत्पादन अधिकृत डा. विनोद साहले बताए। जुन विषलाई आयुर्वेदको भाषामा ‘आमरस’ भनिन्छ। डा. साहले भने, ‘राम्रो पाचन भए रस धातु र पाचन नभए आमरस बन्छ।’ आमरसले शरीरमा रोगको उत्पत्ति गराउँछ।
खाद्यपदार्थ नपच्दा पेट ढाडिने, शरीर भारी हुने, शरीर आलस्य हुनेजस्ता सामान्य किसिमका रोग मात्रै हैन हाडजोर्नी दुख्ने, आम बाथ रोगको उत्पत्ति हुनेजस्ता रोगको जोखिम हुन्छ। त्यसैले रोगको जोखिमबाट बच्न तथा रोगको व्यवस्थापन गर्न उपबास बस्नुपर्ने डा. साहको सुझाव छ। उपबास बस्नाले पाचन प्रणालीले खाएको खाद्यपदार्थ पचाउन सहयोग पु-याउँछ। उपबास बस्नाले नपचेको रसहरुको पाचन भई शरीरको शुद्धीकरण हुने चिकित्सक बताउँछन्।
डा. अरुणा उप्रेती स्वास्थ्य सामान्य अवस्थामा रहेको व्यक्तिले हप्तामा एकपटक उपबास बस्नु उपयुक्त हुने सुझाउँछिन्। साप्ताहिक रुपमा उपबास बस्नाले पेट र आन्द्राको भार कम हुन्छ। त्यसैले खालिपेट बस्नाले पेट र आन्द्राको ऊर्जा शरीरका अन्य अंगमा पुगेर काम गर्न सक्छन्।
खाद्यपदार्थ पचाउने शरीरको प्रणालीलाई ‘ग्यास्टोइन्टेश्टिनल सिस्टम’ (प्रणाली) भनिन्छ। उपबास बसेर पेट खाली राख्नाले ‘ग्यास्टोइन्टेश्टिनल सिस्टम’ले आराम गर्न पाउँछ। यसरी पेट खाली भएर आराम गरिरहेको अवस्थामा ‘ग्यास्टोइन्टेश्टिनल सिस्टम’ले पेटका बिग्रिएका संरचना सक्रिय बनाउनाले खाद्यपदार्थ पचाउने संरचना मजबुत हुन्छन्। पाचन प्रक्रियाले आराम पाउँदा आरामसँग उत्पन्न रसहरुले नपचेका खाद्यपदार्थ समेत पचाउने काम गर्ने डा. साहले बताइन्।
चिकित्सकका अनुसार खाद्यपदार्थ पचाउनका लागि ऊर्जा आवश्यक पर्छ। खाली पेट भएको अवस्थामा खाना पचाउने शक्तिको आवश्यकता पर्दैन। जसले उपबास बसेको अवस्थामा खाएको खाद्यपदार्थ पचाउने शक्ति शरीरको स्वासप्रश्वास प्रणाली, स्नायु, मुटुजस्ता शारीरिक अंगको मजबुतिका लागि सक्रिय हुन पाउँछन्।
डा.उप्रेतीले व्यक्ति स्वस्थ रहनका लागि हरेक दिन एक छाक मात्रै खान सुझाउँछिन्। उपबास बस्नाले हृदयाघातको जोखिम कम हुने चिकित्सक बताउँछन्।
बोसोको कटौती
उपबास बस्नाले मोटोपन घट्न सहयोग पुग्ने चिकित्सक बताउँछन्। उपबास बस्नाले शरीरमा भण्डारण भएर रहेको बोसो प्रयोग हुने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सभाना प्रधान शर्मा बताउँछिन्। ‘शरीरमा ग्लोकोज ग्लाइकोडिनमा परिणत भएर बसेको हुन्छ’, डा. शर्माले भनिन्, ‘पेट भोको भएको अवस्थामा पुनः ग्लुकोजमा परिणत हुन्छ।’ शरीरमा ‘ग्लाइकोडिन’को मात्रा बढी भए कलेजोको भण्डारण क्षमता कमजोर भएर रक्तनलीमा असर गर्ने उनी बताउँछिन्। यस्तो अवस्थामा मुटु रोग, पक्षघातजस्ता रोगको जोखिम हुन्छ।
यसको अर्थ मोटो व्यक्तिले मात्रै उपबास बस्नुपर्छ भन्ने छैन। पातलो व्यक्तिले पनि उपबास बसेर स्वस्थ रहन सकिन्छ। पातलो व्यक्तिको पनि बोसो भण्डारण भएको हुन्छ। कुपोषित व्यक्तिले भने उपबास नबस्नु नै उचित हुने चिकित्सकको सुझाव छ। सुगर, मुटु रोग, दीर्घरोगलगायतको समस्या भएका व्यक्तिले भने चिकित्सकको सल्लाहमा मात्रै उपबास बस्नु उचित हुन्छ।
त्यसैगरी गर्भवती महिलाले उपबास बस्नु उचित नहुने चिकित्सक बताउँछन्। यस्तो अवस्थामा निराहार उपबास बस्दा भ्रुणलाईसमेत असर पर्न सक्ने भएकाले गर्र्भवती भएको अवस्थामा उपबास नबस्न स्त्रीरोग विशेषज्ञ डा. शर्माको सुझाव छ। केरा, दूध, जुस, पानीलगायतका फलफूल तथा पेयपदार्थ सन्तुलित रुपमा खाएर भने बस्न सकिने उनी बताउँछिन्। प्रोटिन, क्याल्सियमयुक्त खाद्यपदार्थ, आईरनयुक्त सागसब्जी नखाने हो भने गर्भवती महिलामा ग्लुकोजलगायतको कमी हुँदा महिला बेहोस हुने जोखिम हुन्छ। मुख्य रुपमा हामीले खाने खाद्यपदार्थमा कार्बोहाइड्रेड, फ्याट र प्रोटिन खाइन्छ।
शान्त मन
शारीरिक मात्रै हैन मानसिक रुपमा पनि उपबासको फाइदा रहेको मनोविद् गोपाल ढकालले बताए। उपबास बसेर व्यक्तिले भोक त्याग्दा मनमा सन्तुष्टि र आनन्द हुने भएकाले मस्तिष्कले समेत आराम पाउँछ। व्रतका नाममा बारम्बार उपबास बस्दा भने मानसिक रुपमा असर पुग्न सक्नेतर्फ ढकाल सजग गराउँछन्। ढकालले भने, ‘बारम्बार पेट खाली राख्नाले मस्तिष्कका कोषिकाको मृत्यु हुने भएकाले मानसिक रुपमा असर गर्न सक्छ।’ तर सन्तुलित रुपमा उपबास बस्दा भने मानसिक रुपमा पनि फाइदा पुग्ने मनोचिकित्सक बताउँछन्।
उपबासमा द्रव्य
स्वास्थ्यका दृष्टिले साप्ताहिक रुपमा बसिने उपबास फाइदाजनक हुन्छ। तर उपबासका नाममा धेरै दिनसम्म भोकै बस्दा भने स्वास्थ्यमा नकारात्मक असर पुग्नेतर्फ चिकित्सक सजग गराउँछन्। व्यक्तिले उमेर, शारीरिक अवस्था, रोग अनुसार उपबास बस्न उपयुक्त हुन्छ। सामान्यतः उमेर समूहको हिसाबले बालबालिकाबाहेक सबै उमेर समूहका व्यक्तिले उपबास बस्न सकिने चिकित्सक बताउँछन्। कतिपय अवस्थामा पानीसम्म नपिई पनि उपबास बस्ने चलन छ। कसैले भने फलफूल खाएर बस्ने, एक छाक खानेजस्ता उपबास बस्ने चलन छन्।
खानपिनका आधारमा उपबास विभिन्न तरिकाले बस्न सकिन्छ। निराहार, जलाहार र पलाहार उपबास बस्न सकिन्छ।
रोगलाई नास गर्ने एकै किसिमको परिकार वा जडिबुटि मात्रै खाएर बसिने उपबासलाई ‘कल्प उपबास’ नाम दिएको पाइन्छ। त्यसैगरी समयको आधारमा पनि उपबास बसेको पाइन्छ।
एक हप्तादेखि एक महिनासम्म बसिने उपबासलाई दीर्घ उपबासका रुपमा व्याख्या गरिएको पाइन्छ। हप्तामा एक वा दुई दिन बसिने उपबास साप्ताहिक उपबास हो। साँझमा एक छाक खाना नखाएर फलफूल खाने उपबासलाई सायमकालीन उपबास भनिन्छ। बिहानको खाजा नखानुलाई प्रातकालीन उपबास भनिन्छ। व्यक्तिको शारीरिक अवस्थाअनुसार दिन बिराएर, एक हप्ता, पन्ध्र दिन, एक महिना, वर्षमा एकपटक पिरियोडिक उपबास बस्न सकिने चिकित्सको सुझाव छ।
उपबास बस्ने क्रममा केही औषधीय द्रव्यको प्रयोग गर्न सकिन्छ। डा. साहले त्रिकुट, लवण, अदुवा, ज्वानोजस्ता द्रव्य खाएर उपबास बस्न सकिने बताए। यस्ता द्रव्यले ‘आमरस’लाई पचाउन मद्दत गर्ने भएकाले अन्य खाद्यपदार्थ नखाए पनि यस्ता द्रव्य तथा मन तातो पानी पिएर उपबास बस्नु उचित हुने डा. साहको सुझाव छ। खाली पेटै उपबास बस्नुपर्छ भन्ने छैन। फलफूल खानुका साथै जुस, दूध, पानीजस्ता पेयपदार्थ पिएर पनि उपबास बस्न सकिन्छ।
उपबास बस्ने विधि
उपबास बस्ने व्यक्तिले उपबास बस्ने तरिकामा ध्यान दिन आवश्यक हुन्छ। उपबास बस्ने अघिल्लो दिन सजिलै पच्ने किसिमका फलाहार तथा फलफूल खानु उचित हुने डा. साहले बताए। सामान्य व्यक्तिले उपबास बस्ने दिन पनि पूर्ण रुपमा पेट खाली राख्नु हुन्न। उपबास बस्ने दिन फलफूल र दूध, मनतातो पानीलगायतका पेय पदार्थ खाएर उपबास बस्नु उचित हुने स्त्रीरोग विशेषज्ञ डा. शर्माले बताइन्।
उपबास बसेको भोलिपल्ट एकैचोटी कडा किसिमको खाद्यपदार्थ खानु हुन्न। उपबास बसिसकेपछि सुरुमा मनतातो पानी, दूधजस्ता पेयपदार्थ पिउनु पर्छ। यस्ता पेय पदार्थ पिइसकेपछि नरम किसिमका खाद्यपदार्थ खान सकिन्छ। नरम किसिमका खाद्यपदार्थ खाइसकेपछि सामान्य किसिमका खाद्यपदार्थ खानुपर्ने डा. साहको सुझाव छ।
उपबासपछि धेरै चिसो र धेरै तातो पेयपदार्थ पिउनु हुन्न। शरीरलाई शक्तिदिने ग्लुकोज–पानी, नुन–पानी पिउनु उचित हुन्छ। त्यसपछि बिस्तारै सामान्य किसिमका खाद्यपदार्थ खाँदै जान सकिन्छ।
सजगता अपनाऔँ
पहिले आंशिक उपबास बसेपछि पूर्ण निराहार बस्नाले शरीरले उपबास बस्ने बानी पर्ने भएकाले पूर्ण निराहार बस्नुपूर्व आंशिक बस्नु उचित हुने चिकित्सक बताउँछन्।
पूर्ण निराहार उपबास बस्दा शरीरमा द्रव्य तथा लवण पदार्थका साथै ग्लुकोजको कमी भई व्यक्ति बेहोस हुन सक्छ। यस्तो अवस्था आउन नदिन शरीर कमजोर वा असहज भएको महसुस भए फलफूल, जुस, पानी, नुन–चिनी–पानी खानुपर्ने डा. साहको सुझाव छ।
पानी पनि नपिई उपबास बस्दा शरीरमा पानीको मात्रा कम भई पिसाबसम्बन्धी समस्या तत्कालै देखिन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। उपबास बस्नेक्रममा शरीरमा ग्लोकुजको मात्रा घट्न सक्छ। शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घटेर व्यक्तिको ज्यानसमेत जान सक्छ। यसमा सजग हुनुपर्छ।
Leave A Comment