सन्नीको मन नेपालमा

मङ्गलबार, १७ भदौ २०७६, ०१ : ४५ शुक्रवार
सन्नीको मन नेपालमा

चर्चित पोर्न स्टार सन्नी लियोन बलिउडमा छिर्दा ठूलो हल्ला मच्चिएको थियो। अब यिनले बबालै मच्चालिन् भन्ने धेरैलाई लागेको थियो तर दुःखको कुरा उनको करियर माथि नउचालिँदै थचारिएको छ।

अब यस्तो अवस्थामा उनले आफूलाई बेच्ने एउटै उपाय थियो, उनको आत्मकथा। तर उनको आत्मकथाको किताबले पनि खासै चमत्कार गर्न सकेन, जति चमत्कार उनका अश्लील भिडियोले गर्ने गर्थे।

पछिल्ला दुई तीन वर्षमा उनको जीवनीमा आधारित रहेर जिटिभीको अनलाइन स्ट्रिमिङ साइट जि–फाइभले ‘करेनजीत कौरः अनटोल्ड स्टोरी अफ सन्नी लियोन’ शृंखला निर्माण गरेको थियो।

हालै अन्तिम सिजन बजारमा आएको छ तर त्यसले पनि कुनै तरङ्ग ल्याएको छैन। यस्तोमा बलिउडमै बेरोजगार भइसकेकी र कुनै चार्म नभएकी सन्नी लियोनलाई नेपाली निर्माताहरुले ‘करोडौँ’ तिरेर नेपाली फिल्म खेलाएको हल्ला गर्न भ्याए।

‘पासवर्ड’ नामकरण गरिएको यो फिल्मको ट्रेलर हालै सार्वजनिक भएको छ। उनी अब नेपालमा आएर फिल्मको प्रोमोसन गर्ने हल्लाले व्यापकता पाए पनि फिल्मका निर्माताहरुले बुझ्न जरुरी छ, फिल्म हल्लाले चल्दैन। फिल्म चल्न गुदी चाहिन्छ।

हुन त स्वदेशी ‘पोर्न स्टार’ भनेर चिनिएकी अर्चना पनेरुलाई क्यास गर्नेहरुले ‘छेस्को’ र ‘जिस्म’जस्ता फिल्म बजारमा नआएका होइनन्। दुवै फिल्मले हावा खाए।

पोर्न स्टारलाई मोबाइल र ल्यापटपमा हेर्न रुचि राख्ने दर्शकलाई ठूलो पर्दासम्म तान्न सानोतिनो प्रयासले सम्भव छैन, झन् नामैले हलसम्म तानिएलान् भन्ने त कल्पनाबाहिरको कुरा भयो।

तर सन्नी लियोनलाई नेपालसम्म तानेर ल्याउने खुबी चाहिँ फिल्म निर्माण टोलीको मान्नै पर्छ बा !

Leave A Comment