सुँगुरलाई संगिनी सुई

शनिबार, २२ साउन २०७३, ११ : ३७ मिलन खरेल , Kathmandu
सुँगुरलाई संगिनी सुई

अनौपचारिक स्रोतका अनुसार नेपालमा बढी खपत हुने कुल मासुजन्य पदार्थमा पहिलोमा राँगा त्यसपछि क्रमशः खसी, कुखुरा र सुँगुर पर्दछन् । नेपालमा वार्षिक रूपमा प्रतिव्यक्ति सरदर ११.१५ किलो मासु खपत हुने गर्छ । आजकाल आफूले पालेका पशुपन्छीको शारीरिक तौलमा अप्राकृतिक तवरले वृद्धि गराई उत्पादकत्व बढाउनका लागि पशुपन्छीहरूमा आफूखुशी अत्यधिक मात्रामा हर्मोन र एन्टिबायोटिकको प्रयोग भइरहेको छ । यस्ता असंवेदनशील क्रियाकलापले उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ ।

के  हुन् हर्मोन र एन्टिबायोटिक ?
जीवजन्तुको शारीरिक प्रणालीलाई नियन्त्रित र नियमित रूपमा सञ्चालन गरी यिनीहरूको वृद्धिविकासका लागि शरीरमा विभिन्न प्रकारका रसायनिक प्रतिक्रिया (मेटाबोलिजम) निरन्तर रूपमा भइरहेका हुन्छन् । यिनै क्रियालाई नियन्त्रित रूपमा सुचारु गर्नाका लागि शरीरका विभिन्न ग्रन्थिबाट उत्पादित जटिल रसायनिक संरचना भएको पदार्थलाई हर्मोन भनिन्छ ।
एन्टिबायोटिक अर्थात् प्रतिजैविक भन्नाले जीवजन्तुमा लाग्ने रोगका कीटाणु तथा जीवाणुलाई मार्न वा यिनीहरूको प्रजनन प्रक्रियामा अवरोध पु¥याइ यिनीहरूको वंशवृद्धि रोक्नका निम्ति प्रयोग गरिने एक प्रकारको औषधि नै हो । यस प्रकारका एन्टिबायोटिक विशेष प्रकारका ढुसी तथा जीवाणुकै प्रयोगबाट अतिआधुनिक प्रयोगशालामा उत्पादन गरिन्छ । एन्टिबायोटिककै प्रयोगबाट आज हामी हैजा, आउँ, टाइफाइड, कुष्ठ रोग, क्षयरोग, मस्तिष्क ज्वरोजस्ता अनेकौँ रोगबाट सजिलैसँग छुटकारा पाउन सक्दछौँ ।
कसरी हुन्छ दुरुपयोग ?
हाल बजारमा बढ्दो मासुको मागलाई पूर्ति गर्नका लागि कुखुरा, माछा, सँुगुर तथा खसीको तौल अप्राकृतिक रूपमा चाँडोभन्दा चाँडो वृद्धि गर्ने लहर चलेको छ । जसका लागि धेरैजसो पशुपन्छीपालकले आफूले पालेका पशुपन्छीलाई ‘प्रोजेस्टेरोन’, ‘टेस्टोस्टेरोन’, ‘इस्ट्राडिओल’, ‘अक्सिटक्सिन’ नामक प्राकृतिक हर्मोन तथा ‘ट्रेनबोलोन एसीटेट’, ‘प्रोजेस्टिन मेलेनजेस्ट्रोल एसिटेट’, ‘जेरानोल’ जस्ता प्रयोगशालामा उत्पादित कृत्रिम हर्मोन दिइने गरेको पाइएको छ । अमेरिका, क्यानाडा, डेनमार्कलगायत अन्य धेरै देशमा पशुपन्छीमा यस प्रकारका हर्मोनको प्रयोगमा प्रतिबन्ध लगाइएको भए तापनि नेपालमा भने खुला रूपमा यस्ता रसायनको प्रयोगमा दिनानुदिन वृद्धि भई रहेको छ ।  दूधको मात्रा वृद्धि गर्नका लागि गाई भैसीलाई ‘आर बीजीएच’ नामक हर्मोनको सुई दिने गरेको पाइएको छ । यस्तो दूधको सेवनले हाम्रो शरीरमा हर्मोनको गडबडीले विभिन्न प्रकारका रोग लाग्नका साथै उक्त पशुको फाँचा तथा थुनमा समेत संक्रमण हुने गर्दछ ।
यसका साथै दूध र मासुका लागि पालिने जनावर तथा पंक्षीको दानामा जीवाणु मार्न प्रयोग गरिने औषधि ‘जेन्टामाइसिन’ ‘पेनिसिलिन’ ‘टेट्रासाइक्लिन’, ‘स्ट्रेपट्रोमाइसिन’, ‘ब्याकट्रीकन’,  ‘इरिथ्रोमाइसिन’, ‘नियोमाइसिन सल्फेट’ आदि एन्टिबायोटिक तथा मानिसको लागि अनुपयुक्त ‘रेक्टोपामाइन’ नामक औषधि मिसाएर नियमित रूपमा दिने गरिन्छ । यस प्रकारका एन्टिबायोटिक तथा औषधिको प्रयोग व्यावसायिक रूपमा पालेका पशुपक्षीको तौल वृद्धि गर्नका लागि गरिन्छ । यसका साथै  पशुपन्छी पालन गर्ने खोरको अस्वस्थकर अवस्थाका कारण पशुपन्छीमा हुन सक्ने सम्भावित कीटाणुको संक्रमण रोक्न अर्थात् रोग लाग्नबाट जोगाउनका निम्ति पनि यस्ता औषधिको अत्यधिक मात्रामा प्रयोग गरिन्छ ।
‘सुपर’ ब्याक्टेरियाको त्रास
यसरी जथाभावी रूपमा पशुपन्छीमा प्रतिजैविक अर्थात् एन्टिबायोटिकको प्रयोग गर्नाले ‘एन्टिबायोटिक प्रतिरोधी जीवाणु’ अर्थात् ‘सुपर’ ब्याक्टेरियाको उत्पत्ति हुन्छ । यस प्रकारका कीटाणु तथा जीवाणुमाथि अहिलेका आधुनिक, कडा र सुरक्षित भनिएका सबैभन्दा पछिल्ला पुस्ताका कीटाणु तथा जीवाणुनाशक  औषधि  पनि निष्प्रभावी हुन पुग्छन् । जसलाई प्रचलित एन्टिबायोटिकको प्रयोग गरी नियन्त्रण गर्न समेत कठिन हुन्छ । अमेरिकाको वातावरणीय समूह द्वारा गरिएको एक अध्ययनका अनुसार बजारमा बेच्न राखिएका सुँगुर, कुखुरा, टर्की, खसी आदिको मासुको नमुनामा गरिएको परिक्षणमा करिब ८७ प्रतिशत मासुको नमुनामा प्रतिजैविक प्रतिरोधी कीटाणु (एन्टिबायोटिक रेसिस्टेन्ट ब्याक्टेरिया) पाइएको थियो । उक्त प्रकारका ब्याक्टेरिया मानिसको शरीरमा प्रवेश गरेमा सामान्य एन्टिबायोटिकले काम नगर्ने हुन्छ । जस्तो कुखुरापालन केन्द्रबाट मानिसमा सरेको ‘ईएसबीएलई कोलि’ नामक ब्याक्टेरियाले आफ्नो वंशाणु गुण (जिन) परिवर्तन गरेमा यसलाई सामान्य एन्टिबायोटिकको प्रयोग गरी नियन्त्रण गर्न सकिँदैन ।
क्यान्सरको जोखिम
कुखुराको तौल तीव्र रूपमा वृद्धि गर्न तथा परजीवीबाट बचाउनका लागि दानामा मिसाएर दिइने  ‘आसेनिक’युक्त  ‘रोक्जसोन’ नामक विषालु पदार्थका कारण खोरमा काम गर्ने व्यक्ति तथा कुखुराको मासु सेवन गर्ने व्यक्तिमा आंशिक रूपमा पक्षघात हुने, पिसाब थैली, फोक्सो, छाला एवं मिर्गाैला समेतको क्यान्सर हुने सम्भावना बढ्छ ।
कृत्रिम दाना मात्र खाएर हुर्केका पशुपन्छीमा शरीरलाई आवश्यक पोषक तŒव असन्तुलित मात्रामा पाइने गरेको छ । खोरमा थुनेर पालिएका पशुपन्छीको शरीरमा  प्रत्यक्ष सूर्यको प्रकाशको अभावमा आवश्यक मात्रामा ‘भिटामिन डी’ को निर्माण तथा सञ्चय हुन पाउँदैन । यस्ता पशुपन्छीजन्य उत्पादनको सेवनले हाम्रो शरीरले आवश्यक मात्रामा पोषक तŒवहरू प्राप्त गर्न सक्दैन ।
सुँगुरलाई संगिनी सुई  
महिलाहरूले लगाउने परिवार नियोजनको अस्थाई साधन तीनमहिने संगिनी सुई (डिपोप्रोभेरा) मा भएको ‘प्रोजेस्टेरोन’ नामक हर्मोनले महिलाको डिम्बाशयबाट डिम्ब निष्काशन हुन दिँदैन । जसको फलस्वरूप गर्भधारण हुने सम्भावना रहँदैन । तर, आजभोलि संगिनी सुईको चरम दुरुपयोग भएको देखिएको छ । उक्त सुई पशुपन्छीको औषधि बेच्ने पसल (भेटेरीनेरी)मा समेत पाइने गरेको छ । पशुपालक कृषकले उक्त सुई पसलबाट किनेर आफूले पालेको सुँगुर तथा खसीबाख्रालाई आफूखुशी लगाउने गर्दछन् । जसमा भएको हर्मोनको प्रभावले उक्त पशुको शारीरिक तौलमा तीव्र रूपमा वृद्धि हुने गर्दछ । तर, उक्त पशुबाट प्राप्त मासुजन्य वस्तुको सेवनले मानिसको शरीरमा हर्मोनको गडबडीले विभिन्न प्रकारका रोग लाग्ने, पुरुषको प्रजनन क्षमतामा ह्रास आउने तथा महिलामा महिनावारीसम्बन्धी समस्यासमेत देखापर्ने सम्भावना हुन्छ ।
ब्रोइलर कुखुरा र विकासे अन्डा
धेरैजसो पशुपालक कृषकले ब्रोइलर प्रजातिका हाइब्रिड कुखुरालाई खोरमा बन्द गरी चम्किलो कृत्रिम प्रकाशको प्रयोग गरी बढीभन्दा बढी एन्टिबायोटिक र हर्मोनयुक्त दाना खान उक्साउने गरिन्छ । जसका कारण केवल छदेखि सात हप्तामै उक्त कुखुरा मासुका निम्ति खान योग्य ठहराइन्छ । यस्तो मासुको सेवनले मानिसमा विभिन्न प्रकारका रोग लाग्ने गर्दछन् । नियमित रूपमा सरसफाई नगरिएको फोहोर खोरबाट संकलन गरिएका कुखुरा तथा  अन्डामा ‘साल्मोनेला’ तथा ‘क्यामपाइलोबेक्टर’ नाम गरेको परजीवी पाइने गर्दछन् । संक्रमित मासु तथा अन्डा छुनाले, राम्रोसँग नपाकेको मासुको सेवनले उक्त प्रकारका परजीवी मानिसमा सर्न सक्छन् । जसले मानिसलाई ‘टाइफाइड’, झाडापखाला, आउँ तथा पिसाबमा संक्रमण हुने जस्ता रोग लाग्ने गर्दछन् ।
माछा पनि त्यस्तै
माछा सबैभन्दा चाँडो बिग्रिने अथवा सड्ने खाद्य वस्तुमध्ये एक हो । तसर्थ, लामो समयसम्म माछालाई बिग्रन नदिन यसमा विभिन्न प्रकारका विषालु रसायनको प्रयोग गर्ने गरेको पाइन्छ । प्रायः छिमेकी मुलुकबाट आयातीत माछालाई ढुसी, ब्याक्टेरियाजस्ता सूक्ष्म कीटाणुद्वारा हुने असरबाट जोगाउन तिनमा ‘पोलीफस्फेट’, ‘सल्फाइट’, सोडियम बेन्जोएट, पोलीट्राइसोर्बेटजस्ता रसायन छर्कने गरिन्छ । तर, यस किसिमका रसायनको मात्रा ज्यादा भएका माछाको सेवन गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्ने हुन्छ ।

के हो फर्मालिन ?
फर्मालिन भन्नाले ‘फर्मलडिहाइड’ नामक रसायन (चालिस प्रतिशत) लाई पानीमा राखी तयार गरिएको एक प्रकारको घोल हो । विशेषतः जीवविज्ञानका प्रयोगशाला तथा मेडिकल कलेजमा जीवजन्तु वा मानिसका शरीरका अंगलाई अध्ययन–अध्यापन गराउने प्रयोजनका निम्ति संरक्षण गर्न ‘फर्मालिन’ नाम गरेको एक विशेष प्रकारको रासायनिक झोलमा डुबाएर राख्ने गरिन्छ । उक्त रसायनमा राखेपछि ती वस्तु वर्षांैसम्म जस्ताको तस्तै सुरक्षित रहन्छन् । यसका अतिरिक्त फर्मालिन कागज, धागो, रङ तथा प्लास्टिक उत्पादनका लागि कारखानामा समेत प्रयोग गरिन्छ ।  तर, उक्त ‘फर्मालिन’ मानिसको लागि भने हानिकारक हुने गर्दछ । यसको प्रत्यक्ष वा अप्रत्यक्ष सेवनले क्यान्सरसम्म लाग्न सक्छ पहिलेपहिले उक्त रसायनलाई मुर्दा घरमा लाशलाई सड्न नदिनका लागि प्रयोग गरिन्थ्यो । तर, हाल उक्त विषालु रसायनलाई गैरकानुनी रूपमा माछालाई संरक्षण गरी लामो समयसम्म सड्न नदिनका लागि प्रयोग गर्ने गरेको पाइएको छ ।
चिन्ने कसरी ?
माछा बेच्ने स्थान वरिपरि झिंगा भए तापनि ‘फर्मालिन’जस्ता विषालु रसायनयुक्त माछामा झिंगा कम लाग्छ वा लाग्दैलाग्दैन । फर्मालिनयुक्त माछाको फुल्का (गिल्स) ताजा माछाको झैँ रातो हुने, आँखा पनि चम्किला नै देखिन्छन् । तर, यस्ता माछाको कत्ला अलि कडा हुने, मासु पनि रबरझैँ तन्किने हुन्छ यस्ता माछामा ‘फर्मालिन’को मात्रा ०.०५ पीपीएम (पार्टस् पर मिलियन) मात्र भए तापनि माछाबाट आउने गन्ध प्राकृतिक खालको नभई एक प्रकारको नमीठो खाले नाक पोल्ने कृत्रिम गन्ध आउने गर्दछ । फर्मालिनको मात्रा शून्य दशमलव पाँच पीपीएम वा सोभन्दा बढी भएमा आँखा पोल्ने गर्छ । एक गिलास फर्मालिन एक बाल्टिन (बीस लिटर) पानीमा घोलेर बनाइएको घोलले करिब २ सय ५० किलो माछा लाई चार दिनसम्म संरक्षण गर्न सकिन्छ । हाल माछा संरक्षण गर्न तयार गरिने बरफ बनाउने पानीमै फर्मालिन रसायन मिसाउने गरेको समेत पाइएको छ ।
यस्ता माछाको सेवन गरेमा के हुन्छ ?
फर्मालिन हालिएको माछाबाट फर्मालिनको मात्रा सजिलै हटाउन सकिँदैन ।  पानीमा पखालेर, पकाएर वा फ्राई गर्दैमा फर्मालिन हटेर जादैन । फर्मालिनयुक्त माछाको सेवनले सामान्य रूपमा मुख तथा घाँटीमा जलन हुने, झाडापखाला, दिसापिसाबमा रगत देखिने, रिंगटा लाग्ने, रक्तक्यान्सरसमेत हुन सक्छ । फर्मालिनले पाचननली, कलेजो, मिर्गाैला, फोक्सो, मुटु तथा स्नायु प्रणालीसम्बन्धी स्वास्थ्य  समस्या निम्त्याउन सक्छ । केवल तीस मिलिलिटर फर्मालिनको सेवनले एक वयस्क मानिसको ज्यान जान सक्छ । यसैबाट फर्मालिनको विषालुपनाको अनुमान लगाउन सकिन्छ ।
समाधान  कसरी ?
#    सकेसम्म प्रांगारिक दाना खुवाएर खुला रूपमा पालेका स्थानीय पशुपन्क्षीको मासु र तिनबाट प्राप्त दूध तथा अन्डा मात्र  सेवन गर्ने ।
#    सरोकारवाला निकायद्वारा पशुपन्छीको उत्पादकत्व वृद्धि गर्ने नाममा अत्यधिक मात्रामा एन्टिबायोटिक तथा हर्मोनको प्रयोग गर्ने कार्यलाई निरुत्साहित गर्ने प्रकारका कानुन निर्माण गरी कार्यान्वयन गरिनुपर्छ ।
#    सरकारीस्तरबाट नियमित रूपमा बजार अनुगमन गरी माछा मासुजन्य खाद्य पदार्थको गुणस्तर परीक्षण गरिनुपर्छ ।
#    सम्बन्धित निकायद्वारा पशुपन्छीमा सुरक्षित रूपमा प्रयोग गर्न सकिने एन्टिबायोटिक तथा हर्मोनको मात्रा निर्धारण तथा प्रयोग गरिएको मात्रा परीक्षण गर्ने व्यवस्था गरिनुपर्छ । सम्बन्धित निकाय समक्ष भेटेरीनेरी डाक्टरको सिफारिसबाहेक जथाभावी रूपमा एन्टिबायोटिक तथा कृत्रिम हर्मोन बिक्री गर्ने औषधि पसलको अनुगमन गरी  र दोषीलाई कानुनी रूपमा कारबाही गरिनुपर्छ ।
#   पशुपन्छी पालक कृषकमा अत्यधिक रूपमा एन्टिबायोटिक तथा कृत्रिम हर्मोन प्रयोगका कारण मानिसको स्वास्थ्यमा पर्ने असरबारे पत्रपत्रिका, रेडियो, टेलिभिजन, पोस्टरजस्ता सञ्चार माध्यमको प्रयोग गरी  जनचेतना फैलाउने खालका कार्यक्रम सञ्चालन गरिनुपर्छ । 

Leave A Comment