‘टाउकेहरु एक जुट हुँदा यौन दुव्र्यवहारमा बोल्नेहरु अल्पमतमा परे’

शुक्रबार, २० भदौ २०७६, ०३ : ४३ रीना माेक्तान
‘टाउकेहरु एक जुट हुँदा यौन दुव्र्यवहारमा बोल्नेहरु अल्पमतमा परे’

सुलक्षण भारती रंगमञ्चसँग जोडिएको १० वर्ष भयो । तीन कथाको सम्मिश्रणमा नयाँ प्रयोगसहित उनीद्वारा लिखित र निर्देशित नाटक ‘तीनकुने’ले नाटक बुझ्नेहरुबाट राम्रै प्रशंसा पाएको थियो । दर्जन बढी नाटक गरिसकेका भारती प्रस्ट बोल्छन् । प्रस्ट बोलेकै आधारमा दुश्मनी पनि कमाइरहेका छन् । रंगमञ्चमा भइरहेको यौन दुव्र्यवहारविरुद्ध प्रस्ट विचार राख्दा उनलाई अग्रजबाटै किनारामा पार्ने प्रयाससमेत भयो, भइरहेको छ । उनै सुलक्षणसँग उनको रंगमञ्चको यात्रा, मीटू मुभमेन्ट र त्यसको प्रभाव, बढ्दो नाट्य संस्थाबारे शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंग संवादः

तपाईं रंगमञ्चमै व्यस्त हो ? 
व्यस्त त छुइन अहिले, व्यस्त हुने कोसिस गरिरा’छु । धेरै भयो खाली बसेको । 

अभिनयको हिसाबले दर्जन बढी नाटक गर्नुभयो । लेखेको र निर्देशन गरेका नाटक के–के भए ? 
नाटक त धेरै खेलेँ । निर्देशकीय हिसाबले ‘बिल गेट्स पण्डित’, ‘बोक्सीको घर’, ‘लाटीको छोरो’ अनि ‘तीनकुने’ । लेखनको हिसाबले अहिलेसम्म छ वटा भयो, ‘बिल गेट्स पण्डित’, ‘बोक्सीको घर’, ‘मिल्क टी’, ‘सलेदो’, ‘लाटीको छोरो’, ‘तीनकुने’। 

तपाईं मोडलिङतिर व्यस्त हुनुहुन्थ्यो । ‘मिस्टर ह्यान्डसम नेपाल’ पनि जित्नु भएको थियो हैन ? 
नाटक भन्दा अगाडि म मोडलिङ गर्थें अनि डान्स पनि गर्थें । मेरो त्यो बेलाको जागिर भनेकै केटाकेटीहरु भेला पार्ने, डान्स कम्पोज गर्ने अनि एउटा हल भाडामा लिएर टिकट बेचेर कल्चरल डान्स प्रस्तुत गर्थें । १६–१७ वर्षको उमेरदेखि यस्तै गर्न थालेँ ।
मिस्टर ह्यान्डसमको प्याजेन्ट जित्नासाथ बुबाले यहाँ काम छैन भनेर विदेश पठाउनु भयो, अस्ट्रेलिया । त्यो बेला अस्ट्रेलियाको सय भन्दा बढी कलेज ब्ल्याक लिस्टेड भएको थियो । मेरो कलेज पनि त्यसमै प¥यो । मैले डेढ वर्षको पढाइ सकिसकेको थिएँ । मसँग भिसाको अवधि त थियो तर बस्न मन लागेन । त्यसैले नेपाल फर्किएँ । फर्केलगत्तै टेलिसिरियलमा ट्राई गरेँ । कान्तिपुरमा आउने १–२ ओटा टेलिसिरियल पनि गरेँ । 

मोडलिङबाट रंगमञ्चमा कसरी प्रवेश भयो ?
मोडलिङ र डान्समा ब्यस्त भएको बेला एकदिन एकजना साथी भेटेँ । उसले नाटक गर्छु भन्यो, मैले कहाँ गर्छस् भन्दा मण्डला नाटक घर भन्यो । मैले उसलाई तँ भन्दा त म नै राम्रो नाटक गर्छु भनिदिएँ । यसरी नै घुलमिल हुँदै रंगमञ्चमा आइपुगेँ । 

पहिलो नाटक ?
बज्रको ‘मेटार्मोफोसिस’ । 

नाटकमा अभिनय, लेखन अनि निर्देशन सबै गर्नुहुन्छ । विशेष तपाईंको लेखनको चर्चा हुने गर्छ । लेखनतिर प्रवेशको प्रसंग सुनाउनुस् न ।
मण्डला थिएटर स्थापना हुनुअगावै एउटा इभेन्ट भएको थियो । त्यो बेलासम्म हाम्रो आफ्नै हल थिएन । त्यो बेला ‘घुँगरिएको कपाल’ भन्ने नाटक भा’ थियो । मण्डलाले त्यो समय ठूलो निर्णय लियो । डेनमार्कबाट २–३ जना नाटक प्रशिक्षण दिन नेपाल आउनु भएको थियो । हामीसँग मिलेर एउटा नाटक बनाउनु पर्ने थियो, देशको लोकथालाई नाटक बनाउने कुरा गर्नु भा’थ्यो । त्यो बेलामा हामीमा गर्ने भए नेपाली नाटक नै गर्ने, विदेशी नाटक नगर्ने भन्ने भयो । दया  हाङदाइले पनि स्ट्यान्ड लिनुभयो । उनीहरुले पनि माने । अनि ‘घुँगरिएको कपाल’ नाटक ग¥यौँ । त्यो नाटकमा मैले अभिनय त गरेको थिइनँ । नाटकलाई आवश्यक प्रप्स बनाएको थिएँ । त्यो बेलादेखि मलाई आफ्नै नेपाली नाटक गर्नुपर्छ भन्ने भयो । सायद त्यसैले होला, आफैँले लेख्न थालेँ ।


‘मण्डला थियटर’बाटै करिअर शुरु गर्नुभयो । तर पछि छुट्टिनु भयो । किन ?
मण्डलाको सुरुवातमा दया दाइ, राजन खतिवडा, सृजना सुब्बा, सोम, विजय, विकास, नाजिर, सुदाम, बुद्धि, सुरज यादव, दुर्गा बराइली भन्ने थियौं । दुई वर्ष भयो छुटेको । छुटिनुको कारण त्यस्तो ठूलो केही थिएन । सायद विचार नमिलेको होला ।

तपाईंका समकालीन साथीहरु त स्टार नै भइसके है ?
स्टार त नभनुम्, राम्रो काम गरिरा’छ । उनीहरुसँग नभेटेको धेरै भयो । 

नाट्यकर्मीपिच्छे नाट्य संस्था र डबली खुलिरहेका छन् । तपाईँको पनि ‘पुरानो घर’ बनाउँदै हुनुहुन्छ । किन यसरी छरिएको हो ?
म मण्डलामा हुञ्जेल काम गरिरहेको थिएँ । पछिल्लो समय मण्डला छोडेपछि मैले काम गरिनँ । मण्डलाको आफ्नै टिम छ । गुरुकूलको आफ्नै टिम छ । सबैको आ–आफ्नै टिम भएपछि आफ्नै टिमलाई प्राथमिकता दिइन्छ । यो अंशियार जस्तै भयो क्या ! देशबाट राजा हट्यो भने बाबुको सम्पत्ति छोराले पाउने । बाबुले इच्छाएर अरुलाई दिन पाउँदैन । त्यस्तैगरी अंशियार सिस्टम छ हाम्रोमा । कांग्रेस सरकार आयो भने कांग्रेसको झण्डा बोकेकैले प्राथमिकता पाउँछ । यो सिस्टम देशको हरेक ठाउँमा छ । म कुनै संस्थालाई दोष दिन्नँ । तर, यो सिस्टमले गरेको हो । 

नाटकमा अंशियार भन्नाले ? 
मण्डलाले हरेक तीन महिनामा नयाँ विद्यार्थी जन्माउँछ । उसको पहिलो प्राथमिकता त आफ्नो बच्चाहरु भयो नि त ! भनेपछि अब थिएटर भिलेजका ती भाइहरुलाई कसरी बोलाउन सक्छ उसले ? उसको पनि बाध्यता छ । 

नाट्यकर्मीपिच्छे नाट्य संस्था आवश्यक छ भन्न खोज्नु भएको हो ? 
प्लेटफर्म आवश्यक छ । नाटक गर्नलाई एउटा ब्ल्याकबक्स त चाहियो । त्यो नभई मैले मेरो काम गर्न सक्दिनँ । अब मेरो आफ्नो नहुनेबित्तिकै अरु कुनै संस्थासँग मिलेर काम गर्नुप¥यो । त्यसरी मिलेर काम गर्ने माहोल नै छैन । अहिले मण्डलामा काम गर्ने माहोल छैन । शिल्पीमा गर्न सक्छु होला तर शिल्पीका आफ्ना कुरा छन् । नाट्य संस्था बढ्नुमा यस्तै विभिन्न कारण छन् । 

यसरी व्यक्तिपिच्छे नाट्य संस्था खोल्नु भन्दा एकीकृत भएर नाटकसम्बन्धी बलियो विद्यालय खोलेको राम्रो हैन र ?
यो सही पनि हो, गलत पनि हो । अहिले जति धेरै रंगमञ्च भइरहेका छन्, त्यति नै धेरै कलाकारले मौका पाइरहेका छन् । जब प्रतिस्पर्धा हुन्छ, राम्रो कलाकार निखारिएर आउने मौका पाउँछन् । गलत पनि भा’को छैन, नराम्रो पनि भा’को छैन । विगतको इतिहास हेर्ने हो भने नेपाली रंगमञ्च नयाँ बाटोमा हिँड्दैछ । नयाँ नाटक जन्मँदैछन् । नाटककार जन्मिएका छन् । निर्देशकहरु जन्मेका छन् । यो हिसाबले त जति नाट्य संस्था खुलेका छन्, त्यसले राम्रै टेवा पुर्याइरहेका छन् जस्तो लाग्छ मलाई त । 
एउटा उदाहरण दिन्छु, न्युरोड जानु भयो भने लस्करै चुरा पसल हुन्छ । यति धेरै चुरा पसल कसरी चल्छ भन्ने पनि हुन्छ । तर, आर्थिक हिसाबले ती सबै चुरा पसल बराबार चलिरहेको हुन्छ । किनकि ग्राहक चुरा किन्न त्यो गल्ली जाने भए नि । मलाई त जति पनि थियटरहरु छन्, ती सबै एकै ठाउँमा लस्करै बसे अझै मज्जा आउँथ्यो र अझै खुलुन् भन्ने छ । 

त्यो त राम्रै हो । तर रंगमञ्च आर्थिक रुपमा बलियो हुन सकेको छैन । यसमा व्यावसायिकता नै छैन । नाट्यकर्मीले राम्रो पारिश्रमिक पनि पाउँदैनन् भन्ने छ । हैन र ?
यसबाट राम्रो आम्दानी पनि हुन्छ । तर, ठीक तरिकाले व्यवस्थित हुनुपर्यो । यो पनि एक किसिमको बिजनेस हो । मैले नाटक गरेँ, म खतरा मान्छे होइन । एउटा पसल खोल्ने व्यवसायी, टिभी चलाउने व्यवसायी, ट्याक्सी चलाउने दाइ र ममा केही फरक छैन । पेमेन्ट नहुने होइन, हुन्छ । 

‘तीनकुने’ नाटकका कलाकारको पारिश्रमिक दिनु भएन रे नि हो ?
हो, मैले दिन सकिनँ । नाटकमा मेरो आफ्नै डेढ लाख खर्च भयो । म घाटामा गएँ । म पहिला खर्च उठाउँछु अनि त्यसपछि भएको नाफा कलाकारसँग बाँड्छु । यो कुरा वज्रबाट सिकेँ । नाटक चल्यो भने पेमेन्ट गर्न सकिन्छ, नभए सकिन्न । 

नाटकका कलाकारको फिल्मतिर डिमान्ड देखिन्छ । त्यतातिर आफर आएका छैनन् ?
मैले त्यत्ति फिल्म गरेको छैन । ‘कबड्डी’मा एउटा सानो भूमिका गरेको थिएँ । त्यसपछि ‘सडन’ भन्ने फिल्ममा सानो भूमिका गरेँ । तर, दुर्भाग्य त्यो फिल्ममा मेरो पार्ट भने काटिएको रहेछ । तर पनि एकदुई ठाउँमा देखिन्छ । त्यसपछि ‘को आफ्नो भन्ने’ भन्ने फिल्म गरेँ । अहिले मलाई खासमा अफर पनि आउँदैन ।

फिल्मतिर पनि मोह त छ ? 
छ नि किन नहुनु ? (मुसुक्क मुस्कुराउँदै) । कलाकारलाई भूमिकाको मोह भइहाल्छ । फेरि त्यो भएन भने त असामान्य भइहाल्छ नि ! पहिला त म हिरो नै बन्छु भन्ने थियो । बिस्तारै अभिनयको परिभाषा बुझियो । 

बौद्धिकहरु संलग्न देखिने नेपाली रञ्गमञ्चमा यौन शोषणको डरलाग्दो पाटो सार्वजनिक भयो । त्यो बेला तपाईंले स्टाटस पनि लेख्नु भयो । कस्तो प्रतिक्रिया आयो ?
एउटा अभियान हुनु थियो, भयो । कुनै कुरा बल्ने र सेलाउने हुँदैन जस्तो लाग्छ । यौन दुव्र्यवहारको खुलासाको सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । मैले त्यो स्टाटसमा कसैलाई पनि आरोप लगाएको छैन तर कमसे कम जावफदेही हुनुपर्छ । भोलि तपाईँले मेरो नाम लिनुभयो भने जवाफ दिन सक्षम भने हुनुपर्छ । मलाई लाग्छ, रंगमञ्च एउटा यस्तो ठाउँ हो– जहाँबाट हामी धेरै कुरा सिक्न थाल्छौँ । 
हामीले नाटक गर्छौं, फिल्म गर्छौं, त्यसैमार्फत केही भनिरहेका हुन्छौं । हामी कुनै न कुनै रुपमा चाहेर वा नचाहेर समाजसँग जवाफदेही भएका व्यक्ति हौं । यदि यही आरोप हाम्रो पेशामा आउँछ भने हामी पनि त जवाफदेही हुनुप¥यो ! कसैको नाम जोडिन्छ भने बोल्नुपर्छ । हो भने हो भन, होइन भने होइन भन । सम्पूर्ण रंगमञ्चले त्यो व्यक्ति (आरोपी)सँगको सम्बन्ध नहेरी अगाडि आउनु पथ्र्यो । नेपाली रंगमञ्च त्यसमा चुक्यो । 

अहिले सेलायो है यो ?
अहिलेको परिस्थिति हेर्दा मीटू सेलाएकै हो तर यो समयको माग हो । एउटा समय फेरि आउँछ, यो कुरा दोहोर्याएर आउँछ । 

यसबारे तपाईँको धारणा के त ?
मेरो धारणा रंगमञ्चका सम्पूर्णको जवाफदेहिता हुनुपर्यो भन्ने नै थियो र छ । स्टाटसमा मैले कसैलाई केही भन्न खोजेको पनि होइन । हामी ठूलो ठूलो नाटक गर्छौं । समाजलाई बाटो देखाउने भन्छौं । जति पनि टप नाम लिनुस्, चाहे अनुप बराल, चाहे सुनील पोख्रेल, राजन खतिवडा होस् सबै नारीवादी नाटक गरेर हिँडिरहेका छन् । संसारको चलेको नाटक पनि नारीवादी हो । गर्न नै नारीवादी नाटक गरेर हिट हुने तर धारणा चैँ यो केटीहरुको मात्र विषय हो भन्ने बनाउने ? यो त मिलेन ।
मैले लेखेको स्टाटसमा मीटू केटीहरुको मात्र विषय होइन भनेको थिएँ । यौन दुव्र्यवहार समस्त लिंगको कुरा हो । चाहे त्यो पुरुष होस्, महिला होस्, बाइसेक्सुअल होस् यो हामी सबैको विषय हो । सबैले बोल्नुपर्छ । 

स्टाटस लेखेपछि धेरै रिसाए हैन ?
मैले पनि केही देखेको छु र त लेखेँ ! नदेखेको भए लेख्दिन थिएँ होला । मलाई पनि त केही कुराको आभास छ । केही बहिनीहरु म कहाँ पनि आउनु भा’छ । मीटूबारे केही त बोल बहिनी भन्दा उहाँहरु बोल्नु भएन । कतिले काम नपाउने डरले बोलेनन् । केही हदसम्म मैले काम नपाउनुको पछाडि यो पनि एउटा कारण हो । म बोलेँ, म पीडित भएँ ।
पीडित, थप पीडित भइरहेका छन् । एक समूहले बहिष्कारै गरिरहेका छन् । पीडककै हाईहाई छ । बौद्धिक जमात भनिने

नाट्य क्षेत्रका लागि यो लाजमर्दो अवस्था हैन ?
यहाँ दुई वटा कुरा महत्वपूर्ण छ । मैले मान्छे मारेँ या कुनै अपराध गरेँ भने त्यसको सजाय छ । मानौं छ महिना जेल हालियो । छ महिना जेलमा पश्चाताप गरेर समाजमा फर्कन्छु । सजाय भोगिसकेपछि मैले त्यो कुराबाट मुक्ति पाउनु पर्यो नि ! व्यक्तिले संसारमा कमाउँछ भने त्यो चरित्र नै हो । ठीक छ, आरोपित व्यक्तिको नामसहित फोटो नै राख्नु भएको छ । भोलि उहाँहरुलाई फेरि इज्जतसहित बाँच्न सक्ने माहोल पनि त हामीले नै बनाउने हो नि ! आजको आरोपित सधैँ आरोपित हुँदैन । एकपल्ट चोरेको चोर सद्दे भएर एकदिन फर्कन्छ भने उसलाई हामीले खुला दिलले स्वागत गर्नुपर्छ । 
तर आरोप लगाएपछि यो विषयमा बहस हुन जरुरी थियो । कसैले कसैलाई सजाय दिन्छ भने त्यो सजाय पाउनुपर्छ भन्ने अर्को धारणा हो । यहाँ बाहिरबाट सजाय दिइएको जस्तो देखियो तर व्यवहारमा त्यो लागू भएन । त्यो गलत हो । सजाय पाएपछि त्यो व्यहोर्नु पनि पर्छ भन्छु म । त्यो सजाय व्यहोरिसकेपछि हामीले उनीहरुलाई कसरी एसेप्ट गर्ने, कसरी फेरि उनीहरुलाई त्यही तरिकाले काम गर्ने वातारण मिलाइने भन्ने जिम्मेवारी पनि हाम्रै हो । सायद यो सबैको ब्यालेन्स नमिलेर, अथवा हाम्रो समाज नै त्यो चेतनासम्म पुग्न सकेको छैन भन्ने देखिन्छ । जुन मीटूको कुरा आयो, देशमा कानुन पनि यस किसिमको छैन । मण्डलाले राजनजी (राजन खतिवडा)लाई एक वर्षका लागि निलम्बन ग¥यो । कार्बाही गरेको डेढ महिनामा नै उहाँ विदेश जानु भयो । 
राजकुमार दाइ (राजकुमार पुडासैनी)ले पनि काम गर्नुभयो । सुनिल दाइ (सुनिल पोखरेल) ले त वास्तै गर्नु भएन । उहाँले नबोल्नु भएको भएर त मैले स्टाटस लेखेको हो । उहाँ मसँग पनि अलिकति रिसाउनु भा’छ । त्यही हो । हामी जति नै बौद्धिक भने पनि हाम्रो चेतना अहिले त्यहाँसम्म पुगेको छैन । यो हाम्रो गल्ती होइन, चेतनाको कमी हो । 

नाट्य संस्थाले हिम्मत गरेर बोलेको कुरा पछि सुधारमा त आएन हैन ?
जहाँ पनि राजनीति हुन्छ नि, होइन र ! भोलि तपाईँलाई तपाईँको अफिसको हेडले बोलाएर हामी यस विषयमा नबोलौं भनेपछि तपाईँहरु बोल्न सक्नुहुन्छ ? 
टाउकेहरु एकजुट भएपछि विचरा यी बोल्नेहरु अल्पमतमै परे नि ! जहाँ पनि शक्तिले चल्ने हो । अहिले शक्तिले जित्यो, पछि सत्यले जित्छ । त्यो शक्ति कहिलेसम्म हुन्छ ? के सबैजना सधैँ त्यही ठाउँमा शक्तिशाली भएर बस्न सकेको छन् ? अहिले शक्ति अन्धो भा’छ । एकदिन उनीहरुको आँखा खुल्छ । विचरा, त्यो दिन के गर्ने ? हामी कसैले पनि सहयोग गर्न सक्दैनौं । आज उहाँहरुले त्यो कुरालाई स्वीकारेर त्यसलाई आत्मसात गरेको भए हाम्रो समाज सही बाटोमा हिँड्थ्यो । त्यो नगर्नु भनेको अहिले शक्तिशालीको जित भइरहेको हो ।
आज जो–जो बोलेका छन् । तिनीहरु शक्तिमा नपुग्लान् ? त्यो बेला के गर्ने ? फेरि आउँछ होला नि मीटू त ! त्यही भएर अहिले सेलायो भनेर आत्तिनु पर्दैन । भोलि अवश्य फर्केर आउँछ । 


‘मीटू मुभमेन्ट’ चलिरहँदा मीटूलाई नै उडाएर नाटक पनि मञ्चन भए । किन यस्तो ?
पाइन्छ नि, किन पाइँदैन ! हामीसँग स्वतन्त्रताको अधिकार छ । कसैले त्यो कुरालाई गलत देख्छ भने उसले गलत भन्न नपाउने ? त्यो बहसको विषय हो । त्यसमा बहस गरेर के सही हो, के गलत हो भन्न नै बाँकी नै छ नि ! कसैलाई मीटू गलत लाग्छ भने उसले भन्न सक्छ । जब सबैको विचार आउँछ अनि बल्ल त निष्कर्ष निस्कन्छ । मैले त्यही त भन्न खोजेको हो ! सुनील सरलाई पनि त्यही भन्न खोजेको हो किनकि यो त वैचारिक बहसको कुरा हो । यहाँ को सही, को गलत भन्ने बहस जरुरी छ । बहस बन्द कोठाभित्र होइन सबै निकायमा होस् । अनि त्यहाँ शक्तिले केही गर्न सक्दैन । त्यो बहसमा ती दिदीबहिनी जसले आरोप लगाउनुभयो, उहाँहरुको सुरक्षा सुनिश्चित हुनु प¥यो तर बहस नै भएन यहाँ त । यौन दुव्र्यवहार सार्वजनिक भएपछि यहाँ महिला र पुरुष बीचको युद्ध जस्तो भयो । 

किन त्यस्तो भयो होला त ?
त्यो हुनुको कारण छ । रंगमञ्च भनेको सबैले निश्चित व्यक्तिलाई मात्र ठाने तर रंगमञ्च त एउटा समग्रमा हो । अर्को, हामी सबैले व्यवस्थित तरिकाले केही गर्न पनि सकेनौँं । निश्चित समूह मिलेर काम गर्यो । 

रंगमञ्चमा भइरहेको यौन दुव्र्यवहारको घटना सार्वजनिक भएपछि हुनुपर्ने चैँ के थियो ?
अब आउने दिनमा यस्ता घटना नघटून् भन्नेमा केन्द्रित हुनुपर्थ्यो । अब रंगमञ्चमा आउने दिदी बहिनीलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा बहस हुन आवश्यक थियो । अब आउने दिनमा यस्तो कुरा नहोस् भन्ने पहल हुनुपर्थ्यो ।

भयो त ?
अहँ, भएन ।

Leave A Comment