नयाँ मान्छे नआई नवीनता आउँदैन। धेरै जस्तो समय हामी अलमलमा पर्छौं। त्यो अलमल आफ्नो विवेकलाई प्रचुर मात्रामा प्रयोग गर्न नसकेका कारण भएको हो। सिनेमाको लागि स्क्रिप्ट लेख्दा सर्वाधिक विवेकलाई प्रयोग गर्नुपर्छ। लेखक विवेकविहीन हुन सक्दैन। फिल्म त श्रव्यदृश्य लेख्ने काम हो। कोठामा बसेर त्यो फिल्म आफ्नै लागि लेख्नु हुँदैन। त्यो त सार्वजनिक हुन्छ। त्यसैले लेख्दा समाजप्रति जिम्मेवार हुनुपर्छ।
नेपालीको सिनेमाको स्क्रिप्ट नेपालीले लेखेकै होइन। नेपालीले नलेखेको नेपालीको स्क्रिप्ट नेपाली कथा हुन्छ ? नेपालको पहिलो फिल्म ‘आमा’। त्यसको स्क्रिप्ट कसले लेखेको हामीलाई थाहा छैन।
जहाँसम्म मलाई लाग्छ, त्यसको निर्माताले लेख्नु भएको होला। उहाँ कलकत्ता निवासी हुनुहुन्थ्यो। एउटा निश्चित राजनीतिक व्यवस्थालाई जनतासँग साक्षात्कार गराउने उद्देश्यले निर्माण भएको थियो, नेपाली फिल्मको स्थापना गरिएको हो।
त्यो पहिलो फिल्ममा क्यामाराम्यान देउजी भाइ, निर्देशक हिरा सिंह, सम्पादक हरिश पठार सबै भारतीय नागरिक हुनुहुन्छ। उहाँहरुको योगदानअनुसार पहिलो फिल्म लेखिएको हो। हिरा सिंह देवानन्दको आंशिक लेखकका रुपमा काम गर्नु हुन्थ्यो।
त्यहाँ लभ दृश्य, अदालत दृश्य लेख्ने फरक लेखक छन्। भनेपछि मुल राइटरको अधिनमा अन्य सहायकले लेख्थे। यसरी स्क्रिप्ट तयार पारिन्थ्यो। हिरा पनि नेपालीका बारेमा त्यति जानकार होइनन्। नेपाली हो, देहरादुनमा जन्मनु भयो। भारतमै हुर्कनु भयो। उहाँहरुले वास्तविक नेपाली कथा पर्दामा ल्याउन सक्नु भएन।
नयाँ लेखकले नयाँ पुराना फिल्म लेखकले गरेको गल्ती बुझेर आफूले सच्याएर जानु पर्छ। दुर्भाग्य नेपाली इतिहासकारले यो इतिहास लेखेन।
त्यस्तै निजी क्षेत्रबाट बनेको पहिलो नेपाली फिल्म ‘माइतीघर’ हो। त्यसका लेखक निर्देशक बिएस थापा पनि सुनिल दत्तसँग काम गर्थे। उनी सुनिलको फिल्मको अदालतको दृश्य लेख्थे। त्यसैले त ‘माइतीघर’मा ४५ मिनेटको अदालती दृश्य छ। अदालतको दृश्य लेख्ने उहाँको दक्षता हो।
त्यहाँ प्रयोग गरिएका भाषा, अदालतमा देखाइएका कुरा भारतीय लाग्छन्। जे भन्छु साँचो भन्छु, साँचोबाहेक केही भन्दिनँ भनेर शपथ खाने चलन नै नेपालमा छैन तर ‘माइतीघर’मा छ।
त्यो फिल्मको कथामा पनि नेपालीपना थिएन। त्यसमा भाषागत त्रुटि पनि छन् तर त्यो अत्यधिक हिट भयो। तत्कालीन राजाले गीत पनि लेख्नु भएको थियो। त्यो फिल्मका निर्माता डा. जगदीश झा थिए। उनी भारतीय पत्रकार प्रशान्त झाका पिता पनि हुन्।
‘माइतीघर’ले पनि फिल्म लेखनमा योगदान गर्न सकेन। त्यसरी नै चलचित्र क्षेत्र अघि बढ्दै गयो। २०३२ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थान खुल्यो। त्यहाँबाट पनि पहिलो नेपाली फिल्म बनाउन प्रकाश थापालाई झिकाइयो। उनलाई किन बोलाइयो भने उनी तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका भाइ थिए।
बाहिरबाट निर्देशक झिकाउनु भन्दा यतैका निर्देशकलाई मौका दिन सकिन्थ्यो। थापाको पहिलो फिल्म ‘मनको बाँध’ बन्यो। नेपालमा अनेक राम्रा कथाहरु थिए। बालकृष्ण समका कथामा फिल्म बनाउन सकिन्थ्यो, ‘मुनामदन’माथि बनाउन सकिन्थ्यो।
अन्तगिन्ती कथाहरु थिए बनाउनका लागि। श्रीधर खनालको कथालाई संस्थानले फिल्म बनाउनका लागि छान्यो किनभने उनी सञ्चालक समिति सदस्य मध्येका एक थिए।
सञ्चालक समितिका सदस्यमा माधवप्रसाद घिमिरे, बालकृष्ण सम र श्रीधर खनाल थिए तर कथा खनालको छानियो। मेरो नजरमा सो छनोट अहिलेसम्मकै त्रुटिपूर्ण थियो। फिल्मका निर्देशक प्रकाश थापाले फिल्मको स्क्रिप्टिङका लागि कन्सल्टेन्टका रुपमा भारतीय नागरिक नै छानिए। देबु सेन र मुख्ताज।
बम्बईमा उहाँहरुका थाकका थाक स्क्रिप्ट राखिएको हुन्थ्यो। त्यसबाट छानियो। यसपछि पैसाको बार्गेनिङ चल्थ्यो। पटकथाकारले ३५ हजार भन्थ्यो। यताबाट ३५ हजारलाई ४५ हजार बनाइन्थ्यो। बीचमा १० हजार रुपैयाँ खाइन्थ्यो। यसरी पटकथाको इतिहास अघि बढ्यो।
नेपाली दर्शकलाई झुक्याउनु भयो। त्यो एपिसोड त्यहीँ सकिएन। अब जो सिनेमाका लागि गए पनि स्क्रिप्ट देबु सेन र मुख्ताजबाट आउँथ्यो। अनि त्यही स्क्रिप्ट नेपालीमा अनुवाद गरिन्थ्यो।
हामीले त देबु सेनबाट स्क्रिप्ट लिएपछि पर्दामा पनि स्क्रिप्ट देबु सेनकै भनेर लेख्न सल्लाह पनि दियौँ तर त्यसो भएन। यस्तो चलनले कसरी हुन्थ्यो स्क्रिप्ट लेखनको विकास ?
यसको प्रभाव नेपाली चलचित्र उद्योगले झण्डै ३० वर्ष परिरह्यो। म २०२७ सालदेखि २०५० सालसम्मको कुरा गर्दैछु। स्क्रिप्टमा केही प्रयोग तुलसी घिमिरे, लक्ष्मीनाथ शर्माले गर्नुभयो।
त्यसपछि त नेपाली फिल्मकर्मीले नेपाली फिल्म लेखकलाई नै लिन खोजे तर पनि ती निर्देशक भारतीय फिल्मबाट प्रभावबाट मुक्त रहन सकेनन्। तर लेख्ने हात नेपाली नै हुन्थ्यो। नेपाली पटकथाको इतिहास किन कमजोर भयो भने यो पृष्ठभूमि जान्न जरुरी छ।
अबका नयाँ लेखकले नयाँ पुराना फिल्म लेखकले गरेको गल्ती बुझेर आफूले सच्याएर जानु पर्छ। दुर्भाग्य नेपाली इतिहासकारले यो इतिहास लेखेनन्।
पस्तुतीःरीना माेक्तान
Leave A Comment