फिल्मको स्क्रिप्ट लेखिरहेका र लेख्न चाहनेहरुका लागि आयोजना गरिएको स्क्रिप्ट लेखन कार्यशालामा आएका बलिउडका चर्चित स्क्रिप्ट राइटर रविन भट्टले कार्यशालाको पहिलो कक्षामै सोधे, ‘यहाँ बलिउडको फिल्म कपी नगरी नेपाली कथाको फिल्म लेख्ने निर्देशक को हुनुहुन्छ ?’
कार्यशालामा नेपाली फिल्म र नाट्य क्षेत्रमा पटकथा लेखिरहेकाहरुको उपस्थिति बाक्लै थियो। फिल्मी पत्रकारिता र पटकथा लेखन गरिरहेका सञ्चारकर्मी पनि थिए तर हात उठ्यो अभिमन्यू निरवीको मात्र।
निरवी नेपाली पटकथा लेखनमा चलेकै नाम हो। उनले ‘वडा नम्बर ६’, ‘साइनो’ लगायतका फिल्म लेखेका छन्। उनले लेखेको फिल्ममा पनि बलिउडको प्रभाव नदेखिएको हैन तर जे होस्, उनले हात उठाएर भट्टको प्रश्न उत्तरविहीन हुनबाट जोगाए।
हलमा भएका अन्य कसैको पनि हात उठेन। अर्थात्, चल्तीका पटकथाकारले पनि स्वीकारे– बलिउडको प्रभावमा चुर्लुम्म डुबेको। रविनले ताली बजाएर अभिमन्यूलाई उत्साह दिए। उनी मक्ख परे। अन्य सहभागीको मुहारको रङ केही बद्लियो। भट्टले भने, ‘हामी जुन देशमा हुर्कियौँ, त्यही देशको कथा भन्न सक्छौँ। त्यसैले तपाईंहरु यहाँको मौलिक कथामा फिल्म बनाउनुस्। विदेशी आएर यहाँको कथामा फिल्म बनाउँदा त्यति न्याय हुँदैन।’
स्क्रिप्टलाई फिल्मको मेरुदण्ड मानिन्छ तर पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा यही मेरुदण्ड मानिने स्क्रिप्ट नाम मात्रको छ। झुर स्क्रिप्टका कारण दर्शक नेपाली फिल्म हेर्न हल जानै चाहँदैनन्।
‘वसन्ती’ जस्तो फिल्म बनाएका कलाकार नीर शाहले समेत नेपाली फिल्मको पटकथा लेखनको इतिहास हेर्दा कतै पनि नेपाली लेखक नभेटेको दुखेसो पोख्नु रमाइलो विषय पक्कै हैन।
उनको अनुभवमा नेपालमा सुरुवातदेखि नै बलिउडको कथा कपी गरेर फिल्म बन्ने संस्कार नै बसेको छ। नेपाली फिल्म क्षेत्रले सधैँ बलिउडलाई मात्र मौका दियो तर नेपाली लेखकलाई मौका नै दिन खोजेन। नतिजा, ३० वर्ष नेपाली फिल्म क्षेत्र बलिउडको कब्जामा प-यो।
चमकदमकको प्रचार र स्टारकास्ट भएको फिल्म पनि सिकारुझैँ देखिएपछि अहिले नेपाली दर्शक निराश छन्, नेपाली फिल्म निर्माता र निर्देशकहरुप्रति।
यही माहौल चिर्न नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले हलिउड र बलिउडका पटकथाका हस्ती ल्याएर गरेको कार्यशालाको दृश्य हो माथिको।
प्रशिक्षण दिन आएका रविनले सुरुवातमा आफूले पनि हलिउडबाट कपी गरेर स्क्रिप्ट तयार पारेको स्वीकारे। तर, त्यस्तो स्क्रिप्टले पटक्कै चित्त नबुझेको भन्दै बनिसकेका र बन्ने तयारीमा रहेका नेपाली पटकथाकारलाई आग्रह गरे, ‘तपाईँ आफ्नो कथा भन्नुस्, बजार आफैँ तपाईंलाई खोज्न आउँछ।’ उनले मौलिक फिल्मको बजारको उदाहरणका रुपमा नेटफ्लिक्स भनिरहेका थिए।
कार्यशालाको अन्तिम दिन पनि रविनले आग्रह गरिरहेका थिए, ‘नेपालको आफ्नै कथामाथि फिल्म बनाउनुस्।’
कार्यशालामा नेपाली फिल्म क्षेत्रका निर्माता, निर्देशक र कलाकार पनि सहभागी थिए। उनीहरु अधिकांशको गुनासो पनि एकै थियो, ‘राम्रो पटकथै पाइन्न।’
‘छक्कापञ्जा’को सिरिज बनाइरहेको टिमका कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे ‘माग्ने बुढा’ पनि कार्यशालामा आएका थिए। दीपक प्रायः आफ्नो फिल्मको स्क्रिप्ट आफैँ लेख्छन्। किन ?
‘मलाई कसैको विश्वासै लाग्दैन।’
आर्थिक रुपमा उनका फिल्महरु सफलै भए पनि कथा र पटकथामा भने सधैँ आलोचित हुने गरेको छ।
‘हाम्रो इन्डस्ट्रीको मुख्य समस्या नै स्क्रिप्ट राइटिङ हो,’ उनले भने, ‘स्क्रिप्ट नै झुर छ भने त्यो फिल्मलाई अमिताभ बच्चनले पनि पार लगाउन सक्दैन।’
३० वर्षदेखि पटकथा लेखन पढाउँदै आएका जेफ मोनाहनको दृष्टिकोणमा फिल्म लेख्ने कुनै फम्र्याट हुन्न। जति अभ्यास ग-यो, त्यत्ति नै परिस्कृत हुने उनको अनुभव रहेछ।
नेपाली कथा–पटकथा लेखकहरु बलिउडको प्रभाव भन्दा आफ्नै मौलिक कथामा फिल्म बनाउनुपर्छ भन्नेमा एकमत देखिन्छन्। तर उनीहरुले लेख्ने कथाहरु भने पुरै बलिउड पाराकै हुन्छ। किन होला ?
कार्यशालामा पालो आयो नेपाली फिल्मका कथा तथा पटकथाकारहरुको। फिल्म लेखक शिवम अधिकारी, अभिमन्यू निरवी, जया ओझा, सामीप्यराज तिमल्सेना र सम्पदा मल्ल पनि अन्तक्र्रियामा सहभागी भएका थिए।
जसरी फिल्मकर्मीले पटकथाकारलाई दोष दिए, पटकथाकारहरुले भने फिल्मकर्मीलाई दोष दिए। बहस उनीहरुले लेख्ने फिल्म किन बलिउडकै कथाको वरपर हुन्छन् भन्नेतिर जाँदै गएन। उनीहरुको गुनासो थियो, ‘लेखकलाई वास्तै गरिँदैन।’
अन्र्तक्रियामा ‘ए मेरो हजुर ३’ लेख्दाको प्रसंग उठ्यो। फिल्मको स्क्रिप्ट पहिला जयालाई लेख्न दिइएको रहेछ। जयाले लेख्न थालेको तीन महिनापछि शिवम् अधिकारीलाई लेख्न लगाइयो। अन्तिममा त्यो पनि मन नपरेपछि सामीप्यकहाँ पुग्यो। तीन जना लेखक चहारे पनि कथा–पटकथा पूरै बलिउडबाट प्रभावित थियो। फिल्मका प्लट प्लटमा बलिउडका फिल्मका सिनहरुको प्रभाव प्रस्टै देखिएको थियो।
Leave A Comment