केशव सिलवालका कविता

आइतबार, २३ साउन २०७३, १० : १५ शुक्रवार , Kathmandu
केशव सिलवालका कविता

सार्क माछा

‘सार्क माछा ! सार्क माछा !
तँ हामीलाई नखा !’

धुँवासरी हावामा त्यत्तिकै
विलीन भएका छन्
साना देशका मसिना गुहारहरू

नौनीझैँ नरम–नरम भाषामा बक्छन्
ठूला देशहरू–
‘दुख्ला तिमीहरूलाई
चपाउँदिन म आफ्ना तीखा दाँतहरूले
निलिदिन्छु बरु बिस्तारै–बिस्तारै
दुःखको कुनै अनुभूति हुने छैन’

ठूला देशहरूको इज्जतका लागि
जरुरत पर्छन् केही साना देश
जसरी केही किरा मकौडाहरू चाहिन्छन्
धर्तीलाई हिँड्न
जो राख्छन् पर्यावरण सन्तुलन

हरदम शिकार खोज्दै
छट्पटाउँछन् ठूला देशहरू
जो बनाउँछन् अहिंसाका नीति र सूत्रहरू
तर, भयंकर मांसाहारी छन् तिनीहरू
ड्रोनको आँखा जोडेर
आकाशबाट बल्छी खेल्छन्
साना देशहरू आरक्षणका हरिण हुन्
जसको शिकार गर्नुलाई मानिन्छ वैध

उत्खनन् नै गर्ने हो भने
ठूला देशहरूको भुँडीभित्र
भेटिन्छन् साना देशका रगत र मासु
निर्दोष मानिसका चित्कार र आँसु

‘सार्क माछा ! सार्क माछा !
तँ हामीलाई नखा !’
सुनेर यस्तो पुकार
सार्क माछा चढाउँछन् साना देशलाई
आफ्ना पिठ्युँमा
घुमाउँछन् फन्फन्ती रोटेपिङमा जस्तै
गराउँछन् रोमाञ्चक यात्रा
तर, थाहा हुँदैन साना देशलाई
कुन बेला झारिदिने हुन् पिठ्युँबाट ठूला देशले
र रगतपच्छे पारेर टोकिदिने हुन् ?
कुन बेला मुखको सुरुङमा कोचेर चपाउने हुन् ?

‘सार्क माछा ! सार्क माछा !
तँ हामीलाई नखा !’

धुँवासरी हावामा त्यतिकै
विलीन भएका छन्
साना देशका मसिना गुहारहरू ।

चिबेचरा
                    

म पनि हुँ यो देशको एउटा चरा
यही देशको एउटा रूखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र, हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?

के राष्ट्रिय चरा हुन
डाँफेको जस्तै रंगिन प्वाँख नै हुनुपर्छ ?
के मयुरले झैँ
रंगिन प्वाँखहरू फिँजारेर
दर्शकका लागि नाच्नैपर्छ ?
के कोइलीझैँ
मधुर आवाजमा गाउनैपर्छ ?

तिमीलाई घृणा लागे पनि
मेरो निख्खर कालो रङ
यो देशका अनेकौँ रङमध्ये
एउटा रङ हो
तिमीलाई बोझिलो लागे पनि मेरो पहिचान
म यो देशका अनेकौँ पहिचानमध्ये
एउटा पहिचान हुँ
मेरो पनि दाबी छ–
म यो देशको राष्ट्रिय चरा हुँ

सुनकै पिँजडामा थुनिए पनि
गाउँदिनँ म तिम्रो लागि–
गोपीकृष्ण कहु
म होइन तिम्रो शान्तिको प्रतीक परेवा
म होइन–
तिम्रो भ्यालेन्टाइनको प्रतीक जोडी चखेवा
म केही पनि होइन तिम्रा लागि
तर, कालो र लामो पुच्छर भएको
कुरूप नै सही
म यो देशको एउटा चरा हुँ
मेरो पनि दाबी छ–
म यो देशको राष्ट्रिय चरा हुँ

यो देशलाई हुरीले उडायो भने
खस्नेछ मेरो गुँड पनि रूखबाट
र मर्नेछन् मेरा बचेराहरू
यो देशमा सूर्य म¥यो भने
मेरो पनि अन्त्य हुनेछ त्यस दिन
म यो देशका लागि
दिन सक्छु मेरा सबै प्वाँख
बरु, तिमी जान सक्छौ बसाइँ सरेर
अर्कै टापूमा
म भने कालो र लामो पुच्छर फिरफिर हल्लाउँदै
चिरबिराइरहनेछु यही देशको गीत

यही देशको एउटा रूखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?


ङा चेपाङ


ङा नाङकाइ झाकङल
अर्थात्, म तिमीलाई मन पराउँदिनँ

कारण—
म चेपाङ हुँ
च्यापिँदा–च्यापिँदा चेप्टिएको
ओडारमा लुकी राखेको
चे–ग्वेभारा बन्न नसकेको चे
तर पनि मसँग छ
मेरो आत्मीय पाङ अर्थात् वाण
जुन तिमीतिर सोझिन सक्छ

लगाइदिउँला म आफ्ना छोराछोरीलाई
स्याउलाकै लुगा
तर, मेरो छालाको
दौरा–सुरुवाल लगाउने अधिकार
कसैलाई छैन
म खोजिरहेको छु
केही छाक गिट्ठा, भ्याकुर, तरुल र सिस्नु
तर, उस्तै–उस्तै देखिन्छन्
मेरा हातको गिट्ठा र ग्रिनेड
थाहा पाउनू –
गिट्ठा टिप्ने हातले ग्रिनेड टिप्न सक्छन्                 

के नै नयाँ छ र मसँग ?
मनाउन सक्दिनँ म छोनाम
मनाउँदिनँ संक्रान्ति पनि
न मान्छु अब यो कुलदेवता
जसले कुलको नाश मात्र गराउँछ
गर्दिनँ भूमिपूजा पनि
जुन तिमीले लुटेका छौ
बजाउँदिन यो ढ्यांग्रो
जुन ठोक्ता–ठोक्ता प्वाल परेको छ
बेचिएका नदीमा
वर्जित छ बाहाबिस मनाउन
हो, म शिकार खेल्न सक्छु
काँधमा बोकेर धनुकाँड
तर, केको शिकार खेलौँ ?


मलाई लाज लाग्छ
कि हामी एउटै देशमा छौँ
र, तिमी हाम्रो करङको भ¥याङ चढेर
अझ माथि–माथि जाँदै छौ
तिमीले कुल्चिएपछि बेस्सरी
दुखेको मेरो ढाड
अझै ठीक भएको छैन
तिमीलाई पर्ने मुक्का थापेपछि
दुखेको मेरो छाती
अझै ठीक भएको छैन

दिक्क लाग्छ
मेरो नजिक नपर
ङा नाङकाइ झाकङल
अर्थात् म तिमीलाई मन पराउँदिनँ
ङी गरिब मुना
अर्थात् हामी गरिब छौँ
यसको मतलब हामी बेचिन्छौँ भन्ने होइन ।

 जस्ताको मुटु
जस्तापाताको छातीमा फड्फडाइरहेको छ
पान आकारको
एउटा साक्षात् मुटु
चिन्नुहन्छ–
यो कसको मुटु हो ?

सायद त्यो जीवित छ
यो वर्षात्सम्म
थाहा छैन–
अर्को वर्षात्मा के हुन्छ ?

तपाईं त चाहनुहुन्छ–
त्यसले आत्महत्या गरोस्
जस्तामै ठोकिएर
त्यो रगत छादेर मरोस्

जस्तैजस्ताको समुद्रमा
जस्तैको करङ जोडेर
जस्ता–मानिसको बिगबिगी छ गाउँतिर
तपाईंको दरबारमा
सजिएको गाउँको चित्र फेरिएको छ
तर, तपाईंलाई केही थाहा छैन

तथ्यांक टिप्नेले
कुन मसीले टिपे कुन्नि
तिनीहरूको नाम ?
तिनीहरू त नामविहीन थिए
मृत टिपे कि जीवित ?
जस्ताको आवाजमा खोक्ने ती वृद्धवृद्धा
जस्ताको खोपिल्टा पढ्ने ती केटाकेटी
जस्तामा लाग्ने खियाझैँ
आफैँ खैरो–खैरो भएर गइरहेछन्

कहिलेकाहीँ आउँछ हुन्डरी
र टाढा–टाढा उडाइलान्छ
जस्तासँगै हलुको जिन्दगी
उडेको छ गाउँको सातो
फर्किने हो या होइन ?
यसमा ठूलो शंका छ

अव्यवस्थाको हाडे उन्यू मौलाएपछि
तोरीझैँ तरबर्र उम्रिएका हुन्
यी जस्ताहरू
त्यतिबेलादेखि नै
जस्ताको लुगा लगाएर हिँडेका हुन् मानिसहरूले

आफ्नो सक्कली अनुहार हेर्नुछ भने
हेर्नू यही जस्ताको ऐनामा
जहाँ देशको आकृति
कुच्चिएको छ जस्ताजस्तै ।

 

यहाँ पान थुक्न मनाही छ


पिच्च पिच्च पान थुकिरहन्छ छिमेकी
यहाँ पान थुक्न मनाही छ

हेर, शहरका हरेक कुनाकाप्चा
हेर, गाउँका चौतारी र आँटीहरू
हेर, सिंहदरबारका भित्री भरेङका कुनाहरू
यहाँ बग्रेल्ती छन् पानका छिटाहरू

राजमार्गका दायाँबायाँ होस्
या होस् सगरमाथाको अग्लो भित्ता
या होस् लुम्बिनीको हरियो फाँट
राताम्य छन् पानका छिटाले

शहीदको रगतले सिञ्चित यस भूमिलाई
पानको रसले सिञ्चन नगर, छिमेकी
यहाँ पान थुक्न मनाही छ

कोशी नदीको बहाव होस्
या महाकाली नदीको गर्जन
या हुन् कर्णाली र गण्डकीका छाल
गुलजार छन् पानका छिटाले

रसजति सबै आफूले चुसेर
हाम्रो अनुहार नै बिग्रिनेगरी
मुखभरि नथुक पानको छिटा
यहाँ पान थुक्न मनाही छ

तर, यहीँ छन् बरा
थुकदानी लिएर छिमेकीको वरिपरि नाच्नेहरू
यहीँ छन्
छिमेकीले ओकलेको जुठो पान चपाउनेहरू
यहीँ छन् पानको थुकको छिटाले
आफू पवित्र भएको अनुभूति गर्नेहरू

पानको रस भनौँ कि के भनौँ ?
त्यहाँ रगत मिसिएको छ लाहुरेको
मसला भनौँ कि के भनौँ ?
त्यहाँ हड्डीको धुलो मिसिएको छ बहादुरको
पानको पात बनाएर चपाइरहेछ छिमेकी
हाम्रो चेलीको अस्मिता
सुपारीझैँ टुक्रा–टुक्रा पारेर
टोकिरहेछ यो देशको स्वाभिमान

सन्ततिकै लागि भए पनि
राख्नु छ साफसुथरा देश
पान थुकेर फोहर नगर, छिमेकी
यहाँ पान थुक्न मनाही छ ।  

 

Leave A Comment