गोपाल ढकाल, मनोविद्
करिब छ महिनाअघि २४ वर्षीय रमिला लामा (नाम परिवर्तन) आफ्नो स्वास्थ्यप्रतिको चिन्ता लिने समस्या लिएर मनोपरामर्शका लागि आएकी थिइन्।
उनको सानैदेखि चिन्ता लिने स्वभाव थियो। १२ कक्षामा पढ्दा अनावश्यक रुपमा मनमा कुरा खेल्ने, चिन्ता लागिरहने, निद्रा नलाग्ने, समस्या देखा प-यो। एकजना साथीलाई उनले यो समस्या सुनाएपछि साथीले उनलाई मानसिक रोगको समस्या भएको हुन सक्ने बताइन्। त्यसपछि लामा आफूलाई मानसिक रोग लागेछ भन्ने चिन्ताले ग्रसित भइन्। आफूलाई लागेको मानसिक रोग निको हुन्न भन्ने चिन्ताले आक्रान्त भएर परामर्श लिन आइपुगिन्। उनलाई ‘हाइपोकोन्ड्यासिस’ को समस्या भएको थियो। उपचार गरेको छ महिनापछि उनी सामान्य अवस्थामा फर्किइन्।
त्यस्तै अर्को केस छ। एक वर्षअघि २८ वर्षीय दिनेश श्रेष्ठ (नाम परिवर्तन) यस्तै समस्याको बारेमा परामर्श लिन आइपुगे। उनी आफैँलाई मलाई मानसिक रोग लागेको छ कि भन्ने चिन्ताले सताएको थियो। एक दिन बाटोमा हिँड्दै जाँदा ज्योतिषीलाई हात हेराएछन्। ज्योतिषीले मानसिक समस्या हुने (बौलाउने) योग छ भन्दिए। ज्योतिषीको कुरा सुनेर झन् त्रसित भएका श्रेष्ठलाई ज्योतिषीले बुटी बाँधेर पठाइदिए। त्यसपछि झन् उनको समस्या एकाएक बढेर आफूलाई मानसिक रोग पो लाग्यो कि भन्ने चिन्ताले सतायो। बाटोमा हिँड्दा मानसिक सन्तुलत गुमाएका व्यक्ति देख्दासमेत आफ्नो पनि यस्तै हालत हुने हो कि भन्ने चिन्ताले त्रसित पार्न थाल्यो।
उनी सानैदेखि चिन्ता लिने स्वभावका थिए। सानोसानो कुरामा रुमलिएर विचलित हुन्थे। मनमा तनाव र अनिद्राको समस्या भैरहन्थ्यो। मनोपरामर्श उपचार पद्धति अपनाएपछि उनी एक वर्षमा सामान्य अवस्थामा आए पनि अझै उपचारकै क्रममा छन्।
यी दुईवटा केश ‘हाइपोकोन्ड्यासिस’ मानसिक समस्या भएको व्यक्तिका उदाहरण हुन्।
के हो समस्या ?
व्यक्तिमा चिन्ता हुनु स्वाभाविकै हो। सामान्य किसिमको चिन्ताले व्यक्तिको उन्नति र प्रगतिका लागि सहयोग गर्छ।
सामान्य किसिमको चिन्ता स्वाभाविकै भए पनि असामान्य रुपमा अनावश्यक चिन्ता लिनु भने मानसिक समस्या तथा रोगको लक्षण हो।
कतिपय व्यक्तिले स्वभावकै कारण कम वा बढी चिन्ता लिन्छन्। यस्तो चिन्तालाई भने रोगको रुपमा लिइन्छ। व्यक्तिको हुर्काइको क्रममा चिन्ता लिने स्वभावको विकास भएको हुन्छ।
चिन्ताका प्रकार धेरै छन्। साधरण चिन्ता (जनरल एन्जाइटी), अब्सेसिभ कम्पल्सिभ डिसअर्डर, एक्कासि डर लाग्ने प्यानिक डिसअर्डरजस्ता चिन्ता हुन्छन्। जसमध्ये एक प्रकारको चिन्ता लिने मानसिक रोग हो,
‘हाइपोकोन्ड्यासिस’।
‘हाइपोकोन्ड्यासिस’ जस्तो चिन्ता लिने रोग लागेको व्यक्तिले आफ्नो शरीरमा रोग नलागेको अवस्थामा आफूलाई ठूलै रोग पो लागेको छ कि भन्ने चिन्ता हुन्छ। पछि गएर आफूलाई लागेको रोगले जटिल रुप लिने पो हो कि भन्ने चिन्ताले बारम्बार सताउँछ। ‘हाइपोकोन्ड्यासिस’ जस्तो चिन्ता लिने मानसिक रोग लागेको व्यक्तिले आफ्नो शरीरिक तथा मानसिक स्वास्थ्यप्रति अति नै चिन्ता लिन्छ।
‘हाइपोकोन्ड्यासिस’ रोग लागेको व्यक्ति आफ्नो शरीरमा मसिना विमिरा, रुघाखोकी, टाउको दुख्नेजस्ता सामान्य किसिमका समस्या भए पनि अनावश्यक रुपमा ठूलो चिन्तामा रुमलिन पुग्छन्। यस्तो मानसिक रोग लागेको व्यक्तिको शरीरमा सामान्य किसिमका विमिरा आएको खण्डमा समेत मलाई क्यान्सर भयो कि ! पछि गएर विमिरा शरीरभरि फैलिने पो हो कि ! भन्नेजस्ता डर तथा चिन्ता हुन्छ। आफुलाई टिबि, एचआईभी पो भयो कि ! मुटुरोग लागेर हटएट्याक भएर पो मरिने हो कि ! भन्ने चिन्ताले सताउँदा आक्रान्त हुन्छन्। आफूलाई मानसिक रोग लाग्ला वा लाग्ने हो कि भन्ने आशय अरुलाई समेत व्यक्त गर्छन्।
बिचित्र लक्षण
‘हाइपोकोन्ड्यासिस’जस्तो मानसिक रोग तथा चिन्ता लागेको व्यक्तिमा विशेषगरी आफूलाई कुनै रोग लाग्यो कि भन्ने चिन्ताले सताउने नै भयो। त्यति मात्रै हैन निद्रा नलाग्ने, खाना नरुच्ने, मुटुको धड्कन सामान्यभन्दा बढ्ने, मुख सुक्ने, चिटचिट पसिना आउने लक्षण हुन्छ। टाउको दुख्ने, शरीर गल्ने तथा थकित हुने, हातखुुट्टा पोल्ने तथा झमझमाउने, व्यक्ति निरास भई दुःखी हुनेजस्ता लक्षण देखिन्छन्। ‘हाइपोकोन्ड्यासिस’जस्तो रोगसँग सम्बन्धित चिन्ताबाहेक अन्य किसिमका मानसिक चिन्तामा समेत यी लक्षण देखा पर्न सक्छन्।
‘हाइपोकोन्ड्यासिस’ हो वा अन्य चिन्ता हो भनेर छुट्याउन लक्षणको आधारमा व्यक्तिले आफ्नो स्वास्थ्यको बारेमा चिन्ता गरेको छ वा छैन भन्ने छुट्याउन सकिन्छ। सामान्यतः मानसिक समस्या भएका व्यक्तिले आफ्नो शारीरको मात्रै चिन्ता गर्नु ‘हाइपोकोन्ड्यासिस’ हो भने अन्य धेरै किसिमको चिन्ता भए अन्य किसिमका एन्जाइटीका लक्षण हुन सक्छन्।
‘हाइपोकोन्ड्यासिस’ रोग लागेको हो भन्ने एकिन गर्न व्यक्तिले आफ्नो स्वास्थ्यको रोगसम्बन्धि चिन्ताको लक्षण कम्तीमा छ महिना अघिदेखि देखाएको हुनुपर्छ।
आफ्नो स्वास्थ्यको चिन्ता लिने किसिमको ‘हाइपोकोन्ड्यासिस’ रोग लागेका करिब ८० प्रतिशत व्यक्तिमा डिप्रेसन र अन्य एन्जाइटीको समस्या देखिन्छ।
‘हाइपोकोन्ड्यासिस’को समस्या भैसकेका व्यक्तिले धूमपान गर्ने, मद्यपान गर्ने, लागूपदार्थजस्ता कुलतमा फस्ने सम्भावना बढी हुन्छ। यस्तो रोग लागेपछि व्यक्तिको दैनिकीमा समेत असामान्य रुपमा असर पुग्छ। यस्ता व्यक्ति रोग तथा चिन्ताले गर्दा एउटैमात्र चिकित्सकको विश्वास नगरी एक पछि अर्को चिकित्सकको परामर्श लिन पुग्छन्। साथै धामी–भाँक्रिकहाँ पनि पुग्ने गर्छन्।
‘हाइपोकोन्ड्यासिस’मानसिक समस्या भएका व्यक्तिलाई जति नै शारीरिक रोग छैन भनी प्रमाण देखाएर सम्झाउने तथा तर्क गरे पनि उनीहरुको भ्रम हटाउन मुस्किल पर्छ। यस्तो समस्यामा परेका व्यक्तिकोे ध्यानै आफ्नो स्वास्थ्य उपचारमा केन्द्रित गर्छन्। उपचारको नाममा भएभरको सम्पत्ति खर्च गर्न पछि पर्दैनन्। जसले व्यक्ति थप मानसिक तथा शारीरिक, आर्थिकलगायतको समस्यामा फँस्दै जान्छ। दैनिकीमा त असर पर्ने नै भयो। समस्या बढ्दै गए व्यक्तिमा डिप्रेसन हुने, एनजाइटीजस्ता मानसिक समस्या हुन्छन्।
कसलाई बढी ?
‘हाइपोकोन्ड्यासिस’ मानसिक समस्या पुरुष–महिला दुवैमा बराबर हुन्छ। जुनसुकै उमेर समूहका व्यक्तिमा यो रोग लाग्ने सम्भावना हुन्छ। विशेषगरी २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा यस्तो रोगको बढी जोखिम देखिन्छ। २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा तुलनात्मक रुपमा विभिन्न किसिमका तनाव बढी हुन्छ। त्यसैले यो उमेर समूह मानसिक रोगको जोखिमयुक्त उमेर समूह हो। त्यसै कारण यही उमेर समूहमा ‘हाइपोकोन्ड्यासिस’को बढी जोखिम हुन्छ।
यस्तोमा बढी समस्या सामान्य शारीरिक समस्या भएको अवस्थामा सशंकित भई ज्यादै संवेदनशील हुने व्यक्तिमा हाइपोकोन्ड्यासिस’को जोखिम बढी हुन्छ। शारीरिक रोगको बारेमा अति संवेदनशील हुने व्यक्तिमा, बालबालिकाको हुर्काइको क्रममा सामान्य स्वास्थ्य समस्या हुँदा अभिभावक आत्तिने, अनावश्यक रुपमा अभिभावक सजग हुनेजस्ता व्यवहारमा हुर्किएका बालबालिकामा उमेर बढ्दै जाँदा यस्तो मानसिक रोगको जोखिम हुन्छ।
अभिभावकले बालबालिकाले सुन्नेगरी उनीहरुको स्वास्थ्यलाई लिएर अनावश्यक चिन्ता व्यक्त गर्ने, सामान्य स्वास्थ्य समस्या हुँदा चिकित्सककहाँ स्वास्थ्य जाँच गराइहाल्ने बालबालिकामा ‘हाइपोकोन्ड्यासिस’को जोखिम बढी हुने भएकाले यसमा अभिभावक सजग हुन आवश्यक छ।
पटक–पटक बिरामी हुने व्यक्ति सशंकित भैरहने भएकाले त्यस्तो व्यक्तिमा यो रोगको सम्भावना बढी हुन्छ। एकै प्रकृतिको घटनामा सामान्य अवस्थाको व्यक्तिलाई सामान्य तनाव हुँदा ‘हाइपोकोन्ड्यासिस’को समस्या भएका व्यक्तिलाई भने बढी पीडा हुन्छ।
यस्तो मानसिक रोग लाग्नुको कारण सिकाइ समेत एक हो। उदाहरणको रुपमा बालबालिकाको मानसिकता आफू बिरामी परेँ भनेर अभिभावकलाई भन्दा होमवर्क गर्न नपर्ने, स्कुल जान पर्दैन, काम गर्नु पर्दैन भन्नेजस्तो मानसिकताको विकास हुँदै जान सक्छ। बालबालिकाले यस्तै सिकाइको व्यवहार बारम्बार दोहो¥याउँदा उमेर बढ्दै जाँदा ‘हाइपोकोन्ड्यासिस’ रोग लाग्ने जोखिम हुन्छ।
चिकित्सकलाई दोष
‘हाइपोकोन्ड्यासिस’ मानसिक रोगको समस्या भएका व्यक्तिले चिकित्सकप्रति नै उपचार गर्न नजानेको, रोग पत्ता लगाउन नसकेको भन्दै दोष दिन्छन्। नाम चलेको चिकित्सकले समेत रोग पत्ता लगाउन नसकेको भन्दै जिद्दी गर्दै चिकित्सकलाई आफूखुसी स्वास्थ्य परीक्षण गर्नसमेत लगाउँछन्।
उपचार सम्भव
‘हाइपोकोन्ड्यासिस’ समस्या भएका व्यक्तिलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ। समस्या समाधानका लागि साइको थेरापी, मनोपरामर्श, तनाव व्यवस्थापन गर्ने तरिका, शान्त रहने उपाय सिकाउनु पर्छ। यस्तो रोगको बारेमा बिरामीलाई आत्मनिर्भर हुने सीप सिकाउनु पर्छ।यस्तो समस्या भएका व्यक्तिमा तनाव सहन सक्ने क्षमता सामान्य व्यक्तिमा भन्दा कम हुन्छ। ‘हाइपोकोन्ड्यासिस’ समस्यामा परेका व्यक्तिले मनोचिकित्सक तथा मनोपरामर्श दाताको परामर्शमा उपचार पद्धति अपनाउनु उचित हुन्छ। यस्तो समस्यामा परेका व्यक्तिमा डिप्रेसन, एन्जाइटीजस्तो मानसिक समस्या हुन सक्ने भएकाले आवश्यकताअनुसार मनोचिकित्सकको सल्लाहमा औषधि सेवन गर्न आवश्यक छ। यो दीर्घकालीन समस्या भएकाले यसको उपचार गर्न लामो समय लाग्न सक्छ। समस्यामा परेको व्यक्ति उपचारपछि ठ्याक्कै यति नै समयपछि सामान्य अवस्थामा फर्कन्छन् भन्ने छैन। ‘हाइपोकोन्ड्यासिस’ को व्यवस्थापन गर्नु नै राम्रो उपचार पद्धति हो। समस्यामा परेका व्यक्तिलाई शारीरिक नभई मानसिक समस्या हो भन्ने कुरा मनोचिकित्सक तथा मनोपरामर्शदाताले राम्रोसँग बुझाएर त्यही अनुसार उपचार पद्धति अपनाउन सकिन्छ।
(ढकालले उपेन्द्र खड्कासँग गरेको कुराकानीमा आधारित)
Leave A Comment