साइबर सेक्सको जोखिम

मङ्गलबार, २४ भदौ २०७६, १२ : ०६ डा. दिनेश बाँस्ताेला
साइबर सेक्सको जोखिम

हिजोको परिस्थितिमा यौन सम्बन्ध असहज थियो। अहिले यौन जोडीलाई आफू अनुकूलको यौन चाहना पूरा गर्ने माध्यम सहज छ। त्यति मात्रै हैन, यौन जोडी नपाएको–नभएको अवस्थामा यौन आनन्द लिन सेक्स टोय बजारमा सहजै पाइन्छ भने यौनसम्बन्धी भिडियो, तस्बिरसमेत सहज छ।

साइबर सेक्स
सूचना प्रविधिको विकाससँगै यौन जोडी आफूसँग नहुँदा साइबर सेक्सको अभ्यास बढिरहेको देखिन्छ। सामान्यतः अनलाइनमार्फत पोर्नाेग्राफी एक्सचेन्ज, प्रत्यक्ष रुपमा यौनाङ्ग देखाएर तथा मल्टिमिडियामार्फत साइबर सेक्स हुने गरेको पाइन्छ।

अप्रत्यक्ष रुपमा यौन तृप्ति मेट्न साइबर सेक्स प्रभावकारी देखिए पनि यसका नकारात्मक पाटासमेत छन्। साइबर सेक्सको लतमा परेका व्यक्तिलाई वास्तविक यौन सम्पर्कको समयमा हीनताबोध हुने, चिटचिटाहट हुने तथा रिस उठ्नेजस्तो समस्या देखिन सक्छ। अभौतिक यौन गतिविधिमा रमाउँदा वास्तविक यौन जोडीबीच भावना नमिल्ने जोखिम हुनसक्छ। वास्तविक यौन जोडीसँग यौन सम्बन्ध राख्न मन नलाग्ने, यौन सम्पर्क गर्दा यौन आनन्द लिन नसक्ने समस्या हुनसक्छ।

सकारात्मक पक्ष
वास्तविक यौन जोडी प्रत्यक्ष उपलब्ध नहुँदा यौन जोडीको भिडियो तथा तस्बिर हेरेर यौन क्रियाकलाप गरी यौन तृप्ति मेटाउनुलाई एक हिसाबले सकारात्मक रुपमा लिन सकिन्छ। यस्तो यौन गतिविधिले क्षणिक यौन आवेगलाई शान्त पार्ने गर्छ र यो एउटा राम्रो उपायका रुपमा लिन सकिन्छ।

प्रविधिका कारण आफूसँग यौन जोडी नभएको अवस्थामा यस्तो किसिमको यौन अभ्यास गर्न सकिन्छ। यौन जोडीको तस्बिर तथा भिडियो हेरेर गरिने यौन अभ्यासले यौन अपराध कम गर्न सक्छ।

यौन जोडीका यौनाङ्ग, नग्न शरीरको भिडियो तथा फोटो हेर्दै यौन क्रियाकलाप गर्दा कतिपय यौन रोगबाट भने बच्न सकिन्छ। यो सकारात्मक पाटो हो।

नकारात्मक पक्ष
यसरी यौन जोडीको तस्बिर तथा भिडियो हेर्दै गरिने यौन क्रियाकलाप प्राकृतिक भने हैन। एक त वास्तविक तथा प्रत्यक्ष रुपमा यौन जोडीसँग रहेर यौन क्रियाकलाप गर्दा एक अर्काबीच जोडीको यौनाङ्गको स्पर्श, शरीरको स्पर्श, चुम्बन, हेराई तथा कामवासना अभिव्यक्त हुन्छ। पुरुषले महिला यौन जोडीको स्तनमा हात पु-याउनु तथा महिलाले पुरुषको टाउकामा हात राख्नु भनेको यौन जोडी बीचको माया, ममता, प्रेमको संकेत हो।

तस्बिर वा भिडियो हेर्दै यौन क्रियाकलाप गर्दा भने प्रत्यक्ष रुपमा यौन जोडीसँग गरिने यौन क्रियाकलाप जस्तो आनन्द हुन्न। निरन्तर यौन जोडीको यौनाङ्ग लगायतको तस्बिर तथा भिडियो हेर्दै यौन क्रियाकलाप गर्ने बानी परेको खण्डमा शारीरिक रुपमा प्रत्यक्ष भेटेर वास्तविक यौन जोडीसँग यौन आनन्द लिन समस्या देखिनसक्छ।
यसरी यौन जोडीको भिडियो तथा फोटो हेर्दै व्यक्तिले यौन क्रियाकलाप गर्ने बानी प-यो भने त्यस्तो व्यक्तिको यौनजन्य घटना र पारिवारिक कलह, सम्बन्ध विच्छेदजस्ता समस्या निम्तिने जोखिम हुन्छ।

व्यक्तिले यौनको खोजी गर्ने प्रवृत्ति आवश्यकता भए पनि यौनका विभिन्न उपाय तथा यौन जोडी रोज्ने प्रवृत्ति भने लत हो। यौनको विभिन्न उपाय अपनाउने लत परेका व्यक्तिको यौन सन्तुष्टि लिने विभिन्न उपाय अपनाएर यौन तृप्ति मेटाउन सक्छन्। यस्तो व्यवहार गर्दा व्यक्तिमा शारीरिक तथा मानसिक रुपमा नकारात्मक प्रभाव पर्न जान्छ। जुन दुर्भाग्यपूर्ण हुन जान्छ।

वास्तविक र काल्पनिक जीवनमा आकाश–पातालको फरक छ। यसरी यौन जोडीको तस्बिर तथा भिडियो हेरेर कल्पनामा डुबी यौन सन्तुष्टि लिने लत परेका व्यक्ति सामान्य अवस्थामा फर्कन निकै कठिन हुन्छ।

यौन सम्पर्कको समयमा मन, वचन र कर्मले यौन जोडीमा समर्पण भाव हुन आवश्यक हुन्छ तर तस्बिर तथा भिडियो हेरेर यौन गर्नाले मन, वचन र कर्मले यौन जोडी सँगै भएजस्तो हुन्न।

तस्बिर तथा भिडियो हेर्दै यौन क्रियाकलाप गर्ने बानी परेको व्यक्ति वास्तविक यौन जोडीसँग यौन सम्पर्क गर्दा कामोत्तेजनामा पुग्न मुस्किल पर्छ। यस्तो लत बसेको व्यक्तिमा भावनात्मकता पनि नहुँदा यौन जोडीमा कटुता उत्पन्न हुन सक्छ। वास्तविक जोडिसँगको यौनमा डुब्न मुस्किल पर्छ।

त्यस्ता यौन जोडीमा शारीरिक रुपमा यौन सन्तुष्टि भए पनि मानसिक रुपमा भने जोडी एकीकृत हुन नसक्दा यौन सन्तुष्टि नमिल्ने जोखिम बढी हुन्छ। त्यसैले क्षणिक यौन आवेग शान्त पार्न, यौन शिक्षा र जिज्ञासा मेटाउन साइबर यौन गतिविधिमा संलग्न भए पनि लत बसाउनु हुन्न।

दुरुपयोगको जोखिम
प्रविधि, सञ्चार माध्यम तथा तथा सामाजिक सञ्जालको दुरुपयोग गरेर यौन जोडीले आफ्ना यौनाङ्ग तथा शरीरको नग्न तस्बिर र भिडियो अर्को यौन जोडीलाई पठाउँदा एक त त्यस्तो सामग्री पाउने व्यक्तिले नै दुरुपयोग गरी अरुलाई सेयर गर्ने जोखिम हुन्छ।

आफ्नो गोप्य यौनाङ्गको तस्बिर तथा भिडियो दुरुपयोग भएर बाहिरिँदा व्यक्ति एक्कासि आश्चर्यचकित भएर त्यस्तो व्यक्तिको मनस्थिति नै सन्तुलन भन्दा बाहिर जाने जोखिम हुन्छ।

मनस्थिति असन्तुलित हुँदा आफ्नो जीवनै अन्धकार देखेपछि व्यक्ति चिन्तित र उदासिन हुन्छ। यस्तो अवस्थामा आफू असहाय भएको महसुस गरी व्यक्तिले जीवनै अन्त्यसमेत गर्ने जोखिम हुन्छ। यस्तो समस्या बेला बखत हामीले सुन्दै (देखेको हुन सक्छौँ) आएका छौँ। त्यसैले यौन जोडीलाई तस्बिर तथा भिडियो पठाएर यौनतृप्ति मेट्ने वा मेट्न सहयोग गर्ने व्यवहार गर्नु हुन्न। जीवन बर्बाद हुनबाट बचाउनु नै बुद्धिमानी हो।

माया, प्रेम, ममता, सद्भाव र यौनलाई हामीले संकुचित रुपमा लिनु हुन्न। हामीले यौनजस्तो तौरतरिका गोप्य राख्यौँ। फलस्वरुप सामाजिक सञ्जाल  दिनानुदिन यौनको मामलामा दुरुपयोग हुँदैछ। विशेषगरी सामाजिक सञ्जाल सजिलो भएकाले यसको दुरुपयोग भई व्यक्ति साइबर सेक्सको लतमा फस्ने जोखिम कम छैन।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment