हिप साइजमा ल्याउने विधि

बुधबार, २५ भदौ २०७६, ११ : १९ शुक्रवार
हिप साइजमा ल्याउने विधि

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

शारीरिक अंगमध्ये ओझेलमा पर्ने अंग हो हिप। हिपको मात्रै छुट्टै किसिमको अध्ययन कमै भएको पाइन्छ। हिप अध्ययनका लागि छायाँमा परेको अंगजस्तो देखिन्छ।

तर हिपकै कारण व्यक्तिको शारीरिक बनावट आकर्षक छ वा छैन भन्ने झल्कन्छ। हिप सानो–ठूलो, फुकेको–सुकेको सबै किसिमको हुन सक्छ। हिपलाई बटक, बेसजस्ता नामले चिनिन्छ। मेरुदण्डभन्दा तल र थाइभन्दा माथिको भाग हिप हो। विशेष गरी महिलाको अस्वाभाविक रुपमा हिप फुकेको वा सुकेको खण्डमा असुहाउँदिलो देखिन्छ। त्यसैले तुलनात्मक रुपमा महिलालाई हिपको साइज नमिलेको खण्डमा तनाव उत्पन्न हुनु स्वाभाविकै हो।

सही पोषण र व्यायामले भने हिपलाई सन्तुलित र आकर्षक बनाउन सकिन्छ। विशेषगरी पोषणको अभावमा हिप सानो हुने तथा सुक्न सक्छ।  हिपलाई पोषण र  व्यायाम गरेर सन्तुलित रुपमा राख्न सकिन्छ। व्यायाम गर्दा एक त शरीरको तौल घट्छ। अर्कोतर्फ हिप फुुक्न सहयोग पुग्छ। हिप ठूलो भएको अवस्थामा व्यायाम गरी साइजमा ल्याउन सकिन्छ।

योगका बटरफ्लाई आसन, बसेर, उठेर, हिप हल्लाएर गरिने व्यायामले नमिलेको हिप साइजमा ल्याउन सकिन्छ। डान्सका विभिन्न आसन गर्दा हिपको व्यायाम हुन्छ। जसले हिप मिलेको साइजमा आउन मद्यत पुग्छ।

महिलाको ठूलो
सामान्यतः पुरुषको तुलनामा महिलाको हिप ठूलो हुन्छ। फुकेको हुन्छ। जसले महिलाको सुन्दरतामा भूमिका खेल्छ। तर हिप अनावश्यक रुपमा ठूलो हुँदा भद्दा र असुहाउँदिलो देखिन पुग्छ। यस्तो अवस्थामा व्यायाम गरी हिप घटाउन सकिन्छ। सामान्यतः हिप (बटक) ठूलो हुने व्यक्तिको शरीर मोटो हुन्छ।

सामान्यतः विवाह गरिसकेपश्चात् महिलाको हिप फुक्छ। यौन सम्पर्क तथा बच्चा जन्माउने क्रममा महिलाको हिपको व्यायाम स्वतः भएको हुन्छ। जसले हिप फुक्न सहयोग गर्छ। यौन सम्पर्क एक किसिमको व्यायाम हो। यौन सम्पर्कपछि महिलाको हिप अझ फुक्नु सामान्य प्रक्रिया हो। कतिपय व्यक्तिको वंशाणुगत कारणले हिप सानो वा ठूलो हुन्छ। हिप सानो वा ठूलो हुनुमा हर्मनको भूमिका त्यतिकै हुन्छ। हर्मनको कारण पुरुषको तुलनामा महिलाको हिप ठूलो हुन्छ। महिलाको हिप फुकेको हुनाले शिशु जन्माउनसमेत सहज हुन्छ।

शिशु जन्मिएपछि महिलाको शरीरको मासु तथा हड्डीका जोर्नी खुकुलो हुने भएकाले सुत्केरी भएको करिब तीन महिनासम्म महिलाको शरीर कमजोर हुन्छ। तीन महिनापछि भने महिलाको शरीर सामान्य अवस्थामा फर्कँँदै जाने भएकाले महिलाले सुत्केरी भएको तीन महिनापछि मात्रै व्यायाम गर्नु उचित हुन्छ।

सानो–ठूलो हिप
हिप अस्वाभाविक रुपमा बढ्न सक्छ। यसरी अस्वाभाविक रुपमा बढेको खण्डमा व्यायाम गरी हिप साइजमा ल्याउन सकिन्छ। पुरुषको भने अस्वाभाविक रुपमा हिप ठूलो भएको त्यति सुन्दर देखिँदैन। कतिपय पुरुषको हिप सुकेको हुन्छ। यसरी सुकेको हिप बढाउन सकिन्छ। योगा तथा जिमका विभिन्न व्यायाम विधि अपनाएर हिप ठूलो बनाउन सकिन्छ।

हिप घटाउन ठ्याक्कै यही किसिमको व्यायाम गर्नु पर्छ भन्ने हैन। दौडने, उफ्रने, उठबस गर्ने, वामअप गर्नाले शारीरिक व्यायाम त हुन्छ नै शरीरको बोसो घटाइ हिप साइजमा ल्याउन सकिन्छ।

घुँडा मार्ने
घुँडामा दुई हात राखेर उभिँदै–टुक्रुक्क बस्नाले हिपको व्यायाम हुन्छ। दैनिक करिब १० मिनेट उठबस गर्नाले हिपको मांशपेशी लचिलो तथा कडा हुनगई मांशपेशी टाइट हुन्छ। यस्तो व्यायामले शरीरको बोसो कम हुन्छ। जसले गर्दा धेरै उठेको तथा फुकेको हिप सानो भई साइजमा आउँछ।  विशेषगरी महिलाले यस्तो व्यायाम गरी भद्दा किसिमले उठेको हिप मिलेको साइजमा ल्याउन सकिन्छ।

बस्ने
मुढा (टुल) मा बसेर विभिन्न प्रकारको व्यायाम गर्नाले हिप मिलेको साइजमा आउँछ। कुनै कुर्सी वा मुढामा बसेर दुवै खुट्टाले साइकल चलाएजस्तै गरी खुट्टा चाल्न सकिन्छ। यो व्यायामले हिपमा दबाब परी हिपको मांशपेशी कसिलो हुन्छ।

मुढामै बसेर दुवै खुट्टामा केही तौल राखेर दुवै खुट्टा सँगै उचाल्न सकिन्छ। यसरी खुट्टाले तौल उचाल्दा हिप सन्तुलित हुन सहयोग पुग्छ।

घुँडा खुम्च्याउने व्यायाम
उभिएर हिपकोे व्यायाम गर्न सकिन्छ। उभिएर गरिने हिपको व्यायाममा एउटा खुट्टाले केही अग्लो टेबुल (टुल)  मा टेकी अर्को खुट्टा भने होचो भुँइमा टेकिन्छ। त्यसपछि एउटा हातका पञ्जा अगाडि अग्लो टेबलमा राखिएको खुट्टाको घुँडामा राखेर घुँडा थिचिन्छ। अर्को हातको पञ्जा भने पछाडि हिपमा राखिन्छ। टेबलमाथि राखेको घुँडा हातले थिच्दै खुट्टा खुम्च्याउँदै छोड्दै, खुट्टा अगाडिपछाडि गर्न सकिन्छ। दुवै खुट्टा पालैपालो गर्दै करिब १० मिनेट खुम्च्याउँदै छोड्दै गर्नाले हिप कसिलो हुन्छ। जसका कारण अनावश्यक रुपमा भद्दा र ठूलो देखिने हिप साइजमा आउँछ। अर्कोतर्फ सानो वा सुकेको हिपसमेत यस्तो व्यायामले केही हदसम्म फुक्न सहयोग पुग्छ।

बटरफ्लाई  आसन
योगको बटरफ्लाई आसनमा बसेर व्यायाम गर्नाले हिपको साइज सन्तुलित हुन मद्दत पुग्छ। बटरफ्लाई आसनमा भुइँमा बसेर दुवै खुट्टाका पञ्जा जोडिन्छ। खुट्टाका पञ्जा जोडेपछि दुवै घुँडा फारेर बाहिरपट्टि निकालिन्छ। खुट्टाका पञ्जा भने हातका पञ्जाले च्यापेर समाइन्छ। त्यसपछि घुँडा तलमाथि गरिन्छ। यसरी पुतली आसनमा बसेर घुँडा तलमाथि गर्दा जाङसँगै हिपको हाडजोर्नी खुल्ने भएकाले मांशपेशी लचिलो भई हिप मिल्दो साइजमा आउँछ।

हिप हल्लाउने डान्स
विशेषगरी अरबियन मुलुकमा पेट हल्लाएर बेली डान्स गरिन्छ। त्यस्तै अफ्रिकन मुलुकमा हिप हल्लाएर डान्स गर्ने संस्कृति प्रख्यात छ। यसरी तलमाथि, दायाबायाँ गर्दै हिप हल्लाएर डान्स (नृत्य) गर्दा हिपको व्यायाम हुन्छ। हिप हल्लाएर गरिने डान्सले हिपको मांशपेशी कसिलो भई हिप सानो तथा मिलेको साइजमा आउन सहयोग त पुग्छ ।

दैनिक १० मिनेट हिप हल्लाउँदै डान्स गर्नाले सानो भएको हिप समेत ठूलो (फुकेको) साइजमा ल्याउन सकिन्छ। यसको अर्थ हिप हल्लाउने डान्सले हिप साइजमा आउँछ। नेपालमा नाचिने लोक नृत्य नाच्दा हिपको व्यायाम पुगी हिप साइजमा आउँछ।

यति मात्रै हैन वामअप, काँधमा रड राखेर दायाँबायाँ हातले समात्दै उठबस गरिने वेट स्क्वाट व्यायाम, खुट्टाले लेगप्रेस मेसिनमा रहेको तौल प्रेस गरेर ठेलिने व्यायामले हिप कसिलो हुन सहयोग पुग्छ। हातले तौल उचाल्दै उठबस गरिने लेग कर्ल, आधा उठबस गरिने हाप स्क्वाट, तौल उचालेर बिस्तारै लामो पाइला चालेर हिँडिने लङ्ग स्क्वाटजस्ता व्यायामले हिप सन्तुलित राख्न सकिन्छ।

पाकोमा हिप
जसरी गालामख भएको कोषिकाको ह्रास हुँदै जान्छ, त्यसैगरी व्यक्ति पाको हुँदै जाँदा हिपको कोषिका ह्रास हुँदै जान्छन्। पाको उमेर हुँदै जाँदा हिप सुक्दै जानु प्राकृतिक प्रक्रिया हो। त्यसैले पाको उमेरमा भने हिप ठूलो बनाउने व्यायाम प्रभावकारी हुन्न।

व्यक्ति होचो भए पनि हिप ठूलो हुन सक्छ। यस्तो अवस्थामा व्यायाम गरी शरीरको तौल घटाउनु पर्छ। शरीरको तौल घटाएपछि हिप सन्तुलित तथा आकर्षक बनाउन सकिन्छ।

सन्तुलित खानपान
विभिन्न किसिमका व्यायाम त छँदैछन् सन्तुलित रुपमा पोषण खाइ हिप ठूलो तथा फुकाउन (बढाउन) सकिन्छ। सानो भएको हिप ठूलो बनाउनका लागि पहिलो कुरा त पोषणमा ध्यान दिनु पर्छ। जसरी भद्दा देखिने हिपलाई घटाएर साइजमा ल्याउनका लागि व्यायामको आवश्यकता हुन्छ। त्यसैगरी सानो हिपलाई ठूलो बनाउनका लागि पोषणको आवश्यकता पर्छ। पोषणको अभावमा हिप सानो हुन सक्छ। हिप सन्तुलित रूपमा राख्नका लागि सन्तुलित खानपानको आवश्यकता पर्छ। हिप सानो वा ठूलो हुनुमा पोषणको निक्कै ठूलो भूमिका हुन्छ। सहजै पच्ने किसिमका फलफूल, सागसब्जी, गेडागुडी तथा झोलिलो  किसिमका खाद्यपदार्थ सन्तुलित रुपमा खानु पर्छ।

पोषणको अभाव मात्रै नभएर तनावका कारण पनि हिप सानो हुनाले हिप सुक्नबाट बचाउनका लागि तनावरहित जीवन जिउन आवश्यक हुन्छ। हिपलाई सन्तुलित बनाउने औषधिसमेत भए पनि अन्तत्वगत्वा पोषण र व्यायाम नै हिप सन्तुलित राख्न सुरक्षित र भरपर्दो उपाय हो।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment