भ्वाइस अफ नेपाल–२ : प्रतिस्पर्धी फकाउन हानाथाप

बिहिबार, २६ भदौ २०७६, १० : २४ शुक्रवार
भ्वाइस अफ नेपाल–२ : प्रतिस्पर्धी फकाउन हानाथाप

‘भ्वाइस अफ नेपाल’ को ब्लाइन्ड अडिसनमा कोचहरुबीच राम्रा प्रतियोगीलाई आफ्नो समूहमा ल्याउन अनेक जुक्ति रच्ने क्रम जारी छ। १२ एपिसोड चल्ने ब्लाइन्ड अडिसनबाट ६२ प्रतियोगी ब्याटल राउन्डमा पुग्नेछन्। गत शनिबारसम्म ८ एपिसोड प्रशारण भइसकेको छ। कार्यक्रम जति अगाडि बढ्दै छ, कोचहरुको आत्मविश्वास पनि उत्तिकै बढ्दै छ। आठौं एपिसोडमा रमाइला प्रतिस्पर्धीहरुसमेत आएका थिए।

प्रतियोगीहरु हेर्दा टिम प्रमोद र टिम दीप बलियो देखिन्छ। राम्रा प्रतियोगीलाई फकाउन माहिर छन्  प्रमोद । दीपको टिमले भ्वाइस अफ नेपालको पहिलो सिजनको टाइटल जितेको थियो। अहिलेे पनि गम्भीर प्रकृतिका गीत रुचाउनेहरु टिम दीपमा गइरहेका छन्। 

राजु र टिम आस्थामा आएका प्रतियोगीहरु अन्य दुई टिमका प्रतियोगीको तुलनामा अलि कमजोर देखिन्छन्। आस्थाको टिममा गायिकाको संख्या बढी छ। यो साता भने आस्थाले गज्जबको भर्सटाइल गायक पाएकी छन्।

सिजन २ को आठौं एसिसोडसम्म पुग्दा सिजन १ मा सहभागी भएर असफल भएका प्रतियोगी पनि आउने क्रम बढेको छ। पहिलो सिजनमा असफल भएका प्रतिस्पर्धी आरिफ राउत सिजन २ को ब्लाइन्ड अडिसनमा सफल भए। उनले ‘उडायो हावाले यो मन, उडायो हावाले’ बोलको गीत गाएर चारै जना कोचको कुर्सी घुमाउन सफल भए। उनले भने आस्थालाई चुने। उनी प्रतिस्पर्धीको आफन्तलाइ भेट्न स्टेजबाहिर जाँदा भित्र तीन कोचले आस्थालाई उडाइरहेका थिए।

सुष्मा विश्वकर्माले ‘झझल्को लिएर आएछ’ बोलको गीत गाइन्। तीन कोचको कुर्सी फर्कंदा आस्थाको कुर्सी भने फर्किएन। उनले यस्तो गीतमा आफूलाई खासै ज्ञान नभएकाले टर्न नगरेको बताइन्। सुष्मा भने कोच प्रमोदको टिममा गइन्।

अर्का प्रतिस्पर्धी सौगात न्यौपानेले ‘पर्खाइमा भिज्यो सिरानी’ गीत गाए। उनले गायक राजुको गीत गाएका थिए, उनी फर्किए। कोच आस्था पनि टर्न भइन्। उनले छनोट भने राजुकै टिमलाई गरे।

प्रतिस्पर्धी विजय राईले ‘गहिरो गहिरो सागरजस्तै’ बोलको गीत गाए। विजय कोच राजुको टिममा गए। रितेश बस्नेतले ‘फूलको डाली डालीमा’ गीत गाए पनि कुनै कोचको कुर्सी घुमेन र बाहिरिए।

अमेरिकादेखि कार्यक्रममा भाग लिन आएकी सम्झना पाण्डेले ‘तिम्रो मायाले मलाई डो-यायो’ बोेलको गीत गाइन्। उनको गायन साह्रै कच्चा सुनिएको थियो। तीन कोच मौन बस्दा आस्थाको कुर्सी घुम्यो। अर्की प्रतिस्पर्धी प्रेक्षाको प्रस्तुतिमा कुनै कोचको कुर्सी घुमेन।

आठौं एपिसोडमा कुमार सागरले ‘मायाको डोरीले निष्ठुरी मोरीलाई’ बोलको गीत गाए। यो गीत सुनेर कोच आस्थाले ‘के हो निकै कडा छ त’ भन्दै कुर्सी घुमाइन्। त्यति मात्रै हैन, उनी कुर्सीमै नाचिन्। उनले चारै जना कोचको मन जिते। कोच आस्थाले माइ हर्ट भन्दै अँगालो नै हाल्न पुगिन्। फकाएको फकायै गरेपछि उनले ‘जान त दीप सरकोमा जान मन थ्यो सरी’ भन्दै आस्थालाई नै छाने।

माइती नेपालमा हुर्केकी पूजा परियार असफल भइन्। उनीपछि प्रतिस्पर्धी शशिका राई आइन्। आस्था र राजुको मात्र कुर्सी घुम्यो। आस्था र राजुबीच आफ्नो टिममा ल्याउन प्रतिस्पर्धा चलेपछि कोच प्रमोदले हात समातेर कोच राजुकोमा पु-याइदिए।

भारतको असमबाट आएका प्रतिस्पर्धी राजीव सुनारले ‘खै जालमा परेर गई कि पारेर गई’ बोलको गीत गाए। कोच आस्थाको मात्र कुर्सी घुम्यो। श्रवण कुमार अधिकारीले कोच दीप र राजुको कुर्सी घुमाए। उनी राजुको टिममा गए। कविराज हुमागाई दीपकहाँ गए।

स्टेजमै रुवाबासी
एपिसोड ८ मा अन्तिम  प्रतिस्पर्धीका रुपमा रीता राई स्टेजमा आइन्। तीन वर्षको उमेरमा आँखाको ज्योति गुमाएकी उनले ‘कम्मरमाथि पटुकी’ बोलको गीत गाएकी थिइन्। उनको गायकी सुनेर कोच आस्थाको मात्र कुर्सी घुम्यो। गायनको समय सकिएपछि मात्र चारै कोच फर्किए।

उनले गीत गाइसकेपछि ‘मैले आँखा देख्न सक्दिनँ, कोचहरु फर्किनु भयो कि भएन थाहा पाइन’ भनेपछि सबै कोच भावुक भए। आस्था स्टेजमै पुगेर अँगालो मार्दै रुन थालिन्।

कोच दीपले आफू घुम्न नसकेकोमा क्षमा मागे। कोच राजुले रीतालाई मेरो चेली भन्दै आफू माइती बनेको भन्दै रोए। कार्यक्रमको अन्त्यसम्म रुवाबासी जारी थियो।

Leave A Comment