नाटक दृष्टि : निर्मला सम्झाउने ‘महाभोज’

बिहिबार, २६ भदौ २०७६, ०२ : ४० रीना माेक्तान
नाटक दृष्टि : निर्मला सम्झाउने ‘महाभोज’

चुनाव नजिक छ। सीतापुर गाउँमा एकाबिहानै गाउँका दलित नेता विशुको शव भेटिन्छ। शवछेउ विशुको परिवार शोकमग्न छ। विशुका साथी विनोद छेउमै आँशु पुछ्दै उभिएका छन्। यसपछि शुरु हुन्छ प्रहरी र पत्रकारको प्रवेश।

एकैछिनमा प्रहरी आइपुग्छन्, अनुसन्धानका लागि। मशाल पत्रिकाका दुई पत्रकार घटनास्थलमा आइपुछन्। छानविन शुरु हुन्छ। टिप्पणी पनि शुरु हुन्छ। कोही भन्दैछन् हत्या, कोही आत्महत्या।

नेपालमा पछिल्लो समय घटेका आपराधिक घटनाको अनुसन्धान निकै विवादित बनिरहेका छन्। टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा आत्महत्या गरेका सञ्चारकर्मी शालिकराम पुडासैनीको घटनासमेत निकै विवादित बन्यो। अदालतले आत्महत्या स्वीकार गरी आत्महत्या दुरुत्साहनको अभियोगमा प्रारम्भिक थुनछेक बहस सकेर आदेश दिइसक्दा पनि अझै पुडासैनीको हत्या कि आत्महत्या भन्ने बहस जारी नै छ।

माथिको दृश्यले पनि यस्तै बहसको झल्को दिन्छ। माथिको दृश्यको घटनास्थल मण्डला नाटकघर हो, जहाँ मञ्चन भइरहेको छ ‘महाभोज’। नाटक यही दृश्यसँगै अघि बढ्छ र विशुको हत्या हो या आत्महत्या– यसैको उत्तर वरिपरि घुमेको छ। 

नाटकका निर्देशक हुन्, एक्टर्स स्टुडियोका अनुप बराल। नाटकको भावानुवाद कवि विप्लप प्रतीकले गरेका हुन्। यो नाटक ४० वर्षअघि भारतमा साहित्यकार मन्नु भण्डारीले लेखेकी हुन्।

एउटा घटनामा प्रहरी, मिडिया, राजनीति कसरी जोडिन्छन् र यसलाई बिगार्न उनीहरुको कत्तिको भुमिका हुन्छ, त्यो देखाउन सफल भएका छन् निर्देशक बराल। एक आपराधिक घटनामा मिडिया र राजनीतिले आफूअनुकूल कसरी खेल्छन्, यो नाटक हेर्ने हो भने प्रस्टै भइन्छ।

४० वर्षअघि भारतीय पृष्ठभूमिमा लेखिएको नाटक भए पनि यो कताकता अहिलेकै नेपालको कथाझैँ लाग्छ। नाटकले स्वार्थी अनि अवसरवादी नेता, स्वार्थी मिडिया अनि बदमास प्रहरीलाई प्रशस्त व्यंग्य गर्छ। अफवाहको पछि दौडने समाजलाई झक्झकाउँछ।

एउटा घटनामा प्रहरी, मिडिया, राजनीति कसरी जोडिन्छन् र यसलाई बिगार्न उनीहरुको कत्तिको भुमिका हुन्छ, त्यो देखाउन सफल भएका छन् निर्देशक बराल। एक आपराधिक घटनामा मिडिया र राजनीतिले आफूअनुकूल कसरी खेल्छन्, यो नाटक हेर्ने हो भने प्रस्टै भइन्छ।

एउटा स्वभाविक घटनालाई अतिरञ्जित गराएर समाजलाई तरंगित बनाउने र विभाजित बनाउने सूत्रलाई नाटकले सफलताका साथ पहिल्याएको छ। उनले सफलताका साथ ‘थ्री पि’, प्रेस, पोलिक्टिक्स र पुलिसलाई मञ्चमा उभ्याइदिएका छन्।

भर्खरै सेलाएको रविकाण्डलाई हेरौं। आत्महत्या गर्नुअगाडि शालिकरामले खिचेको भिडियो नक्कली हो भन्नेदेखि, उनी दुर्घटनामा पर्दा लागेको चोटको आधारमा उनलाई रडले हानेर मारेको, उनको आँखामा अर्कै केटीको तस्बिर देखिएको जस्ता निकै सनसनीखेज हेडलाइनले बजार पिट्यो, युट्युबकारिताले।

युट्युबमार्फत घर–घर पुगेको भ्रमपूर्ण हेडलाइनले समाजमा शंकाको विजारोपण ग-यो। हत्या हो कि आत्महत्या भनेर समाज विभाजितझैँ देखियो। मूलधारे अधिकांश मिडिया मौन बसे भने कोही पीडितलाई नै दोषी देखाउँदै पीडकमार्फत समाजको संवेदनामा खेल्न सक्रिय भए।

‘महाभोज’ले प्रेस आफ्नो समाचार बिकाउन कुन हदसम्म जान सक्छ, सनसनीखेज हेडलाइनको पछि पत्रकार किन दगुर्छन्, अनि प्रेस कसरी बिक्न तयार हुन्छ छर्लंग पारिदिएको छ। एक प्रकारले व्यावसायिक पत्रकारिताको आवरणमा भइरहेको सनसनीखेज पत्रकारिताको वस्त्र ‘महाभोज’ले च्यातिदिएको छ।

नाटकमार्फत निर्देशक बरालले प्रेस, पोलिटिक्स अनि पुलिसले कसरी कुनै घटनालाई आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेका छन् भन्ने देखाउन सफल भएका छन्। उनले नाटकमार्फत यी तीन तत्वको गठजोड कसरी बलियो बनेको छ र त्यसलाई चिर्न असल मन भएकाहरुले कति संघर्ष गर्नु परिरहेको छ भन्ने बलियो सन्देश दिएका छन्।

तर सबै सञ्चारकर्मी र सबै सञ्चार माध्यम केवल प्रचार, चर्चा र समाचारको खेतीमा मात्र केन्द्रित पक्कै छैनन्। पेशागत मर्यादामा बसेर समाजको ऐना बन्न प्रयासरत सञ्चारकर्मी र सञ्चारकर्मी पनि छन् यहाँ।

नाटकमा पनि यस्तै सदाचार भएका पात्र छन्। गीता पात्रमार्फत समाजलाई तथ्यको अवगत गराउने एउटा असल सञ्चारकर्मी र असल सञ्चार माध्यमको प्रतिधित्व गराइएको छ।

हाम्रो समाजमा देखिने खराब प्रवृत्तिका राजनीतिक पात्रको प्रतिनिधित्व रमेशविक्रमले गरेका छन्। जो भ्रमको आडमा आफ्नो असल छवि चम्काउन सफल छन्। समाजको नजरमा देशभक्त नेता हुन् उनी तर उनका लागी राजनीति स्वार्थ भजाउने माध्यम मात्र हो।

कानुन कार्यान्वयनको जिम्मेवारी बोकेको प्रहरी संगठनका केही सदस्य कसरी अपराधमा संलग्न छन् भन्ने कुरा नाटकमा हेर्दै जाँदा नेपालमा ३३ किलो सुन काण्ड र किशोरी निर्मला बलात्कार तथा हत्याको झल्झली सम्झन्छन् दर्शकले। नाटकमा त्यस्ता पात्रको नियत आपराधिक घटना अनुसन्धानमार्फत सुल्झाउने नभई, शक्ति केन्द्रको स्वार्थमा बल्झाउनु रहेको देखाइएको छ।

तर खराब पात्रका बीच पनि असल पात्र अवश्य हुन्छन् नै। प्रहरीको बर्दीलाई कानुनको धज्जी उडाउन उपयोग गर्ने खराब पात्रका माझ सुजन सुब्बामार्फत असल प्रहरी निरीक्षकलाई पनि नाटकले प्रस्तुत गरेको छ। जसले समाजमा थोरै भए पनि असल व्यक्तिहरु पनि छन् है भन्ने आशा जगाउने काम गर्छ।

नाटकमार्फत निर्देशक बरालले प्रेस, पोलिटिक्स अनि पुलिसले कसरी कुनै घटनालाई आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेका छन् भन्ने देखाउन सफल भएका छन्। उनले नाटकमार्फत यी तीन तत्वको गठजोड कसरी बलियो बनेको छ र त्यसलाई चिर्न असल मन भएकाहरुले कति संघर्ष गर्नु परिरहेको छ भन्ने बलियो सन्देश दिएका छन्।

महाभोजलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ मञ्चमा। संगीत सान्दर्भिक र मिठासपूर्ण सुनिन्छ। कलाकारले पात्रलाई न्याय गरेका छन्।

रमेशविक्रमको भूमिकामा देखिएका कलाकार रमेश बुढाथोकी, अटल सिंहको भूमिकामा देखिएका कलाकार दयाहाङ राई, इन्सपेक्टरको भूमिकामा देखिएका कलाकार सृजना सुब्बा अनि सिजापतिको भूमिकामा देखिएका विजय बरालको अभिनयले नाटकलाई बलियो बनाएको छ। विनोदको भूमिकामा देखिएका मिलन कार्कीको अभिनयले मन छुन्छ।

नाटकमा गर्भवती महिला इन्सपेक्टर (सृजना सुब्बा) आफ्नो कर्ममा निष्ठावान छिन्। नाटकमा दया, विजय, सृजना, रमेशका अलावा विकास जोशी, सिके विष्ट, देविन चौधरी, घनश्याम जोशी, कविराज राई, मिलन कार्की, प्रदीप कुमार चौधरी, प्रमिला खनाल, विप्लव प्रतीक, सागर दहाल, सुष्मा निरौला लगायतको अभिनय रहेको छ।
नाटकका प्रप्समा अझै मिहिनेत गर्नुपर्ने ठाउँ देखिन्छ। संवाद निकै घतलाग्दा छन् ‘महाभोज’को। स्क्रिनमा आइरहने लिखित न्यारेसन नयाँ छ।

नाटक हेरिहँदा बलात्कार र हत्या गरी मारिएकी किशोरी निर्मला पन्तको उखुबारीमा लडिरहेको लाश दर्शकको मानसपलटमा पटक–पटक घुम्छ। उनको परिवारको चिच्याहटले दर्शकको संवेदना हुँडलिन्छ।

त्यस घटनामा मिडियाले निभाएको भूमिका हेर्दा घृणा बढाउँछ। प्रहरी प्रशासनको भूमिकाले आक्रोशित बनाउँछ दर्शकलाई। आजसम्म न्यायका लागि कसरी निर्मलाका परिवारहरु तडपिरहेका छन् अनि प्रेस, पोलटिक्स र पुलिसमा रहेका गलत तत्वका कारण न्यायले कसरी पीडितको आँगन भुलिरहेको छ, छर्लङ्ग बनाउन ‘महाभोज’ सफल छ।

विशुका लाचार बुबा अनि हत्याको प्रमाण बोकी हिँडेका विशुका साथी विनोदको आक्रोश, पीडा अनि तड्पनले निर्मलाको आमाको मुहार झलक्क देख्छन् दर्शकले।

जसरी किशोरी निर्मलाको बलात्कारी अझै हाम्रो समाजमा निर्धक्क हिँडिरहेका छन्, नाटकमा विशुका हत्यारा पनि उसरी नै हिँडिरहेको देखिन्छ।

‘महाभोज’मा अनुपले आफ्नो निर्देशकीय ज्ञानको भरभग्दुर उपयोग गरेका छन्। कलाकारले पात्रमा प्राण भर्न सक्दो मिहिनेत गरेका छन्।
‘महाभोज’ टिम बधाईको पात्र बनेको छ।
बधाई।

Leave A Comment