अब त काम गरौँ

शुक्रबार, २७ भदौ २०७६, ०९ : ५७ शुक्रवार
अब त काम गरौँ

धरानमा डेंगु देखिएको समाचार आएको उहिल्यै हो। प्रायः चिसै मानिने क्षेत्र धरानमा एक्कासि डेंगुको प्रकोप देखिए पनि राज्य जुन रुपमा संवेदनशील हुनुपर्ने हो, हुन सकेन। धरानबाट शुरु भएको डेंगुको संक्रमण काठमाडौंसहित मुलुकका ४८ जिल्लामा फैलिइसक्यो।

वैशाखमै धरानमा डेंगुको संक्रमण देखिएको थियो। डेंगुले धरान त्रसित हुँदा स्थानीय स्तरमा नियन्त्रणका प्रयास भए पनि केन्द्रीय तहमा यो आतंक अन्य जिल्लामा फैलन सक्छ भन्ने सामान्य आँकलन समेत नगरिएको र पूर्व तयारी समेत नभएको भदौमा फैलिएको त्रास र सरकारी लाचारीले नै देखाएको छ।

अहिले हरेक दिन डेंगु भएर अस्पतालमा भर्ना हुनेको संख्या बढिरहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगु लागेको शंका लागेर परिक्षण गर्न आउनेहरुको चाप थामिनसक्नु भइसक्यो।

अस्पताल तथ्यांकअनुसार, एकै दिन डेंगु भएको शंकामा परिक्षण गराउनेहरुको संख्या ४ सय हाराहारी छ। करिब ७० हजार यसबाट प्रभावित भएको तथ्यांक आइरहेका छन्।

नौ दिनको अवधिमा १ हजार ३ सय ५० जनामा डेंगुको संक्रमण देखिइसक्यो। जसमा कृषिमन्त्री चक्रपाणी खनाल, चिकित्सक सन्दुक रुइत, नेकपामा वरिष्ठ नेता बामदेव गौतमसमेत डेंगुको संक्रमणबाट जोगिन सकेनन्। डेंगुका कारण ज्यान गुमाउने संख्या यकिन छैन। सरकारको दाबी पत्याउने हो भने ६ जनाको ज्यान गइसकेको छ।

तर राज्यको सक्रियता हेर्दा ऊ बेखबरझैँ देखिन्छ। मुलुक डेंगुको त्रासमा हुँदा स्वास्थ्य मन्त्री विदेश शयरमा व्यस्त छन्। स्वास्थ्य मन्त्रालय बेखबरझैँ मौन छ।

सरकार डेंगु परिक्षण निःशुल्क गर्दै आएको छ तर बजारमा डेंगु परिक्षण गर्ने किटको कालोबजारी शुरु भइसक्यो। लामखुट्टेको टोकाईबाट जोगिन प्रयोग गरिने अडोमस जस्ता सामान्य प्रकृतिका स्प्रे र मल्हमसमेत बजारमा पाइन छाडेको छ।

लामखुट्टेका अन्डा, प्युपा र लार्भा खोजेर नष्ट गर्ने (सर्च एन्ड डिस्ट्रोय) विधि अपनाउँदा डेंगु नियन्त्रण प्रभावकारी हुने सुझाव विशेषज्ञहरुले दिइरहेका छन् तर सरकारी निकाय भने लामखुट्टे मार्न औषधि छर्कनमै व्यस्त छ।

जुन रुपमा डेंगुको संक्रमण आक्रामक तरिकाले बढिरहेको छ र जुन रुपमा सरकारी संयन्त्र सक्रिय छ, यसले केही समयमै महामारीकै रुप लिने जोखिम देखिएको छ। दशैंको मुखैमा आएको यो विपत् साम्य बनाउने उपाय डेंगु गराउने लामखुट्टे नष्ट गराउन राज्यका सबै संयन्त्र र समुदाय परिचालनको दोस्रो विकल्प छैन। 

राज्य गफमा हैन, अब काममै सक्रिय हुन जरुरी छ। यसका लागि टालटुले उपाय अपनाउँदै सरकारी बजेट सक्ने मात्र रणनीतिमा अल्झनुको साटो एकीकृत र प्रभावकारी रणनीति अवलम्बन गर्न जरुरी छ। यसका लागि औषधी छर्कने टालटुले रणनीतिभन्दा विशेषज्ञले सुझाउँदै आइरहेका सर्च एन्ड डिस्ट्रोय रणनीति आवलम्बन गर्ने र नागरिकलाई समेत यसमा परिचालन गर्नुको दोस्रो विकल्प देखिन्न।

Leave A Comment