डा. मदनकुमार भट्टराईको ‘परराष्ट्रका पात्र’ पुस्तकको पछाडिको कभरमा लेखिएको छ, ‘यो किताब पढ्दा नेपालको परराष्ट्रका मामिला हालसम्म कस–कसले, कसरी चलाए भन्नेबारे तथ्यपरक जानकारी मिल्छ। विभिन्न कालखण्डमा नेपालको परराष्ट्र नीति के–कसरी तय भयो ? कुन नेता वा मन्त्रीको काम गर्ने शैली कस्तो थियो ? त्यसले समग्र परराष्ट्र सम्बन्ध सञ्चालनमा कस्तो असर पा-यो भन्नेबारे यो किताबले प्रस्ट्याउँछ।’
नेपालको परराष्ट्र नीति पञ्चशीलको आधारमा चल्ने गरेको भनिए पनि प्रायः विवादमा आइनै रहन्छ। देश अनुसारको व्यवहार हुने गरेको प्रस्टै देखिन्छ। नेपालको परराष्ट्र नीति छिमेकी देश भारत प्रभावित देखिन्छ, कहिले चीन प्रभावित। प्रोटोकल सधैँ विवादमा आउँछ।
भेनेजुएलाबारे बोल्ने सरकार छिमेकी मुलुक भारतको कश्मिरबारे सकेसम्म मौन नै रहन रुचाउँछ। पाकिस्तान सार्क क्षेत्रकै मुलुक भए पनि सम्बन्ध सधैँ छायाँमा पर्छ। समग्रमा अन्योलमा देखिन्छ हाम्रो परराष्ट्र नीति र व्यवहार।
यस्तो अवस्थामा परराष्ट्रसम्बन्धी लामो अनुभव सँगालेका लेखकको पुस्तक आउनु महत्वपूर्ण पठन सामग्री हुने नै भयो। त्यसैले पुस्तक आउँदा राम्रै चर्चा भएको थियो तर परराष्ट्रबारे चासो राख्ने पाठकको अपेक्षाअनुसार पुस्तक देखिएन।
पुस्तकमै लेखिएअनुसार आशा गरेर पुस्तक किन्ने हो भने पाठक निराश हुने पक्का छ। लेखकले भित्र भूमिकामा ‘यो पुस्तक अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास होइन’ भनेका छन्। भूमिकाको अन्त्यतिर पुस्तक लेख्नुको उद्देश्य परराष्ट्र कार्यालयबारे थप अध्ययन अनुसन्धान, खोजी र संहिताकरणलाई झक्झक्याउनु उल्लेख छ। उनले लेखेका छन्, ‘यो पुस्तक एक हिसाबले नेपालको परराष्ट्र कार्यालय, यसका स्रष्टा वा प्रमुखको पात्रहरुको भूमिकाको व्याख्या हो।’
कुन देशमा गएका कुन व्यक्तिले कस्तो काम गरे ? नेपालको परराष्ट्र नीतिको बलियो र कमजोर पक्ष, राजदूत र परराष्ट्र मन्त्रीहरुले खेलेको भूमिका, भएका महथत्वपूर्ण निर्णय र त्यसको प्रभाव मात्र पनि उल्लेख गरिएको भए पुस्तक लेखकको ‘गन्थन’ मात्र नभई पठनयोग्य सामग्री हुने थियो।
पुस्तक पढ्दै गर्दा परराष्ट्रका पात्रहरुको भूमिका फेला परेनन्, परराष्ट्रका पात्रका व्याख्या मात्र फेला प-यो। पुस्तकमा परराष्ट्रका पात्रका लम्बेतान व्याख्यानले स्थान पाएको छ। उनीहरुको भूमिका खुलेको छैन।
कसले के काम गरे फेला पर्दैन। कसले कति समय काम गरे, उनीहरुको पारिवारिक पृष्ठभूमि र आनीबानीमा पुस्तक केन्द्रित छ।
११ वटा अध्यायमा समेटिएको यो पुस्तकमा पहिलो अध्याय ‘जैसीकोठा र मुन्सीखाना’ निकै रोचक लाग्छ। जसमा नेपालको पहिलो सङ्गठित आधिकारिक वैदेशिक अड्डा पृथ्वीनारायण शाह (१७४३–७५) को पालामा स्थापना भएको मुन्सीखानाबारे जानकारी छ। यो अध्याय जानकारीमूलक छ।
पहिलो अध्यायको पृष्ठ २५ मा ...‘कोतपर्वपछि सत्ता हत्याएर जङ्गबहादुर प्रधानमन्त्री भएको भोलिपल्ट १६ सेप्टेम्बर १८४६ मा उनी काठमाडौंस्थित ब्रिटिस प्रतिनिधि क्याप्टेन जर्ज ओट्लेलाई भेट्न निजको लैनचौरस्थित कार्यालयमा जाँदा उनले मुन्सीखानाका पहिलो हाकिम लक्ष्मीदाससिंह प्रधानलाई पनि साथमा लगेको देखिन्छ,’ लेखिएको छ।
विदेशी प्रतिनिधिलाई होटलमा भेट्न गएर कूटनीतिक मर्यादा उल्लंघन गरेको भन्दै अहिले नेताहरुको खुब आलोचना हुन्छ। यो प्रसंगले नेपालका पहिलेका शासकहरुले नै आफ्नो अवमूल्यन गरेको प्रस्ट पार्छ। प्रधानमन्त्रीले बेलायती प्रतिनिधिसँग भेट गर्नु, त्यो पनि उनकै निवास पुग्नु, कूटनीतिक मर्यादा अहिले मात्र हैन, उहिलेदेखि नै उल्लंघन भइरहेको देखिन्छ।
अहिले सरकार प्रमुख दूतावासै नधाए पनि कुनै पनि देशका राजदूतलाई सरकार प्रमुख तथा राष्ट्रप्रमुखको ‘किचेन’ सम्मको पहुँच देखिन्छ। विदेशी नियोगका व्यक्तिले स्वदेशका उच्च पदस्थ व्यक्तिलाई भेट्दा परराष्ट्र मन्त्रालयमार्फत् भेट्नुपर्ने नीति पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवले कार्यान्वयनमा ल्याउने प्रयास गरेका थिए।
उनीहरुको कार्यकाल सकिएपछि यो लागू भएन। यसबारे पुस्तक मौन छ।
नेपाली शासक तथा प्रतिपक्षी दलका नेताहरु किन सिस्टममा जाँदैनन् ? लामो समय परराष्ट्र मन्त्रालयमा काम गरेका भट्टराईले पुस्तकमार्फत् खुलाउन सक्थे तर मौन बसे। सोलोडोलो शैलीमा केही मन्त्रीको पालामा महत्वपूर्ण काम भएका थिए भनेका छन्।
हरेक अध्याय परराष्ट्र मन्त्रालय सम्हालेकादेखि विदेशी नियोगमा काम गरेका व्यक्तिको सविस्तार उल्लेखले भरिएको छ। फलाना व्यक्ति यो पदमा आए भन्ने उल्लेख छ तर उनले के काम गरे उल्लेख छैन। केवल ‘महत्वपूर्ण काम गरे’ भनेर झारा टारिएको छ।
त्यो महत्वपूर्ण काम के हो ? खुल्दैन कतै।
पूर्व राजा महेन्द्र वीर विक्रम शाहले अन्तर्राष्ट्रिय मामिलामा निकै चनाखो रहेर राम्रो काम गरेको भट्टराईले लेखेका छन्। तर शाहले के–के गरे र हाम्रो राष्ट्रको दौत्य सम्बन्ध कायम भयो भन्नेबारे पुस्तकमा कहीँ भेटिदैन।
राष्ट्रियताको सवालमा चर्चा भइरहन्छ, पूर्व प्रधानमन्त्री बिपी कोइरालाको। पुस्तकमा बिपीको पालामा अन्यको पालामा भन्दा उत्कृष्ट काम भए भनिएको छ। कहाँ, कसरी कोइरालाले सम्बन्ध बिस्तार गरे, उनले अन्यको पालामा भन्दा के–के उत्कृष्ट काम गरे केही भेटिदैन पुस्तकमा।
लेखकले ऋषिकेश शाहलाई छुट्टै अध्याय दिएका छन्। उनी संयुक्त राष्ट्र संघमा छँदा नेपाल विश्वमाझ चिनियो भनेर उल्लेख गरेका छन्। विश्वमाझ चिनाउन शाहले के के काम गरे भन्ने पत्ता लगाउन पाठक आफैंले अर्को अध्ययन गर्नुपर्ने हुन्छ किनभने पुस्तक त्यो बारेमा पनि मौन छ। बरु ऋषिकेश शाहको ढुलमुले प्रवृत्तिबारे पुस्तकले अनावश्यक स्थान दिएको हो कि भन्ने पुस्तक पढ्दै जाँदा पाठकलाई महसुस हुन्छ।
लेखकले परराष्ट्र सचिव भएर दुई वर्ष (२००९–११) मा काम गरे। उनको कार्यकालमा उनले के–के काम गरे, परराष्ट्र सचिवका रुपमा दुई वर्षको काम गर्दाको अनुभवले के देखायो भन्ने पनि कतै छैन।
विभिन्न देशमा नियुक्त भएका राजदूतले के गरे ? विदेशी कूटनीतिज्ञले नेपालमा कस्तो व्यवहार गरे ? कुन देशसँग नेपालको दौत्य सम्बन्ध के कस्तो कायम छ भन्नेबारे पुस्तकले बोलेकै छैन।
कुन देशमा गएका कुन व्यक्तिले कस्तो काम गरे ? नेपालको परराष्ट्र नीतिको बलियो र कमजोर पक्ष, राजदूत र परराष्ट्र मन्त्रीहरुले खेलेको भूमिका, भएका महत्वपूर्ण निर्णय र त्यसको प्रभाव मात्र पनि उल्लेख गरिएको भए पुस्तक लेखकको ‘गन्थन’ मात्र नभई पठनयोग्य सामग्री हुने थियो।
तर यस मामिलामा लेखक चुक्दा यो एउटा सामान्य ज्ञानको पुस्तकमा सीमित बन्न पुगेको छ। परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्री को को भए, कुन देशमा को राजदुत भएका थिए भन्ने जानकारीका लागि यही पुस्तक पढिरहनु पर्दैन। परराष्ट्र नीति र व्यवहारबारे जानकारीको अपेक्ष राखी पुस्तक पढ्नेका लागि निराशा मात्र हात लाग्नेछ।
Leave A Comment