क्यान्सरबाट बच्न भ्याक्सिन

शनिबार, २८ भदौ २०७६, १२ : २४ उपेन्द्र खड्का
क्यान्सरबाट बच्न भ्याक्सिन

नेपालमा प्रत्येक वर्ष २ हजार ९ सय ४२ महिलामा पाठेघरको मुखको (सर्भिकल क्यान्सर) हुने गरेको छ। विश्व स्वास्थ्य संगठन (एचपिभी इन्फरमेसन सेन्टर) का अनुसार पाठेघरको मुखको क्यान्सर लागेका मध्ये १ हजार ९ सय २८ महिलाकोे मृत्यु हुन्छ। नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा आउँछ। १५ देखि ४४ वर्ष उमेर समूहका महिलामा पाठेघरकोे क्यान्सर हुने जोखिम बढी हुन्छ।

तर पाठेघरको मुखको क्यान्सरै हुनबाट बच्ने उपाय अपनाउन सकिन्छ। पाठेघरको मुखमा हुने क्यान्सरको विरुद्ध भ्याक्सिन लगाउने हो भने  महिला पाठेघरको मुखको क्यान्सर लाग्नबाट बच्न सकिने चिकित्सकको मत छ।

पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको भ्याक्सिन प्रभावकारी देखिएको चिकित्सक बताउँछन्। महिलाको पाठेघरको मुखको क्यान्सर  ह्युमन प्यापिलोमाभाइरस (एचपिभी) का कारण हुने जोखिम हुन्छ। सिभिल अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ डा. जितेन्द्र परियार महिलाले ‘एचपिभी’ विरुद्धको भ्याक्सिनको प्रयोग गरे पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने बताउँछन्। यो भ्याक्सिन सुरक्षित छ। गम्भीर किसिमको नकारात्मक असर देखिँदैन। महिलाको पाठेघरको मुखमा क्यान्सर हुन नदिनका लागि दिइने ‘एचपिभी’ विरुद्धको भ्याक्सिनको  नकारात्मक असर (साइड इफेक्ट) नदेखिएको चिकित्सकको तर्क छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराकी स्त्रीरोग विशेषज्ञ डा. चुनमाया पुन पनि डा. परियारको तर्कमा सहमत छिन्।  ‘एचपिभी’ विरुद्ध लगाइने भ्याक्सिन सुरक्षित तथा भरपर्दो भएकाले महिलाको पाठेघरको क्यान्सर हुनबाट बच्न भ्याक्सिन लगाउनु आवश्यक रहेको स्त्री रोग विशेषज्ञ डा. पुन बताउँछिन्। भ्याक्सिन लगाएको करिब १५ मिनेट आराम गर्नुपर्छ। डा. पुन भन्छिन्,‘ भ्याक्सिन (सुई) हानेको ठाउँमा सामान्य दुखाई हुने, क्षणिक रुपमा चक्कर लाग्न सक्ने भए पनि ठूलो असर भएको देखिँदैन।

भाइरसका किसिम
विशेषगरी ‘एचपिभी–६,११,१६,१८’ गरी चार किसिमका संक्रमण हुन्छन्। ‘एचपिभी–६ र ११’ को संक्रमण भएको अवस्थामा यौनाङ्गमा बिमिरा आएजस्तो लक्षण देखिन्छ। डा. पुनका अनुसार ९० प्रतिशत ‘एचपिभी–६ र ११’ यौन सम्पर्कमार्फत सर्न सक्छन्।  भिरुङ्गीलगायतका यौन रोग सरुवा रोगमा पर्छन्। महिलाको पाठेघरको मुखको क्यान्सर गराउनुमा ७० प्रतिशत ‘एचपिभी–१६ र १८’ संक्रमणको भूमिका हुन्छ। त्यसैले भ्याक्सिनको आवश्यक छ। नेपालमा करिब दुई प्रतिशत महिलामा पाठेघरको मुखको ‘एचपिभी–१६/१८ इन्फेक्सनको समस्या रहेको अनुमान छ भने ८०.३ प्रतिशत महिला पाठेघरको मुखमा हुने क्यान्सर ‘एचपिभी–१६/१८’ को जोखिममा छन्।

यसरी हुन्छ क्यान्सर
सुरुमा ‘एचपिभी’ को संक्रमण पुरुषमा हुन्छ। यौन सम्पर्कमार्फत महिलामा सर्छ। पुरुषमा असर नहुने भए पनि महिलामा भने ‘एचपिभी’ संक्रमणको असरले पाठेघरको मुखको क्यान्सर हुने जोखिम हुन्छ। यौन सम्पर्क गर्दा ह्युमन प्यापिलोमाभाइरस (एचपिभी) ले पाठेघरको मुखमा  संक्रमण गर्छ। ‘एचपिभीको’ संक्रमण पाठेघरको मुखमा गएर बस्छ । ‘एचपिभीको’ संक्रमण भएको करिब दस वर्षमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ। इन्फेक्सनका कारण ‘एचपिभीको’ संक्रमण हुन्छ। यौन सम्पर्क गरिसकेपछि भने ‘एचपिभी’ इन्फेक्सनको जोखिम बढी हुने भएकाले ‘एचपिभी’ विरुद्धको भ्याक्सिन पहिलोपटकको यौन सम्पर्क गर्नुपूर्व नै लगाउनु प्रभावकारी हुने थापाथलीस्थित प्रसूति गृहका स्त्रीरोग विशेषज्ञ डा. नविन दर्नालले बताए।

प्रजनन् उमेर समूहमा पाठेघरको मुखको क्यान्सर बढी हुनुको कारण यो उमेर समूहमा बढी यौन सम्पर्क हुने भएकाले संक्रमणको जोखिम बढी हुन्छ। स्त्रीरोग विशेषज्ञ डा. दर्नालले भने, ‘९० प्रतिशत एचपिभी भाइरस खुल्ला यौन सम्पर्क गर्नाले भएको देखिन्छ।’ यौन सम्पर्क नगर्ने महिला यस्तो संक्रमणबाट बच्न सक्छन्। कतिपयलाई कम उमेरमा शिशु जन्माउँदा त कतिपयलाई वंशाणुलगायतका कारणसमेत यस्तो क्यान्सरको जोखिम हुन्छ।

वयस्क नहुँदै भ्याक्सिन
नौ देखि २६ वर्षको उमेर समूहमा भ्याक्सिन लगाउनु उपयुक्त हुन्छ। सामान्यतः यो उमेर समूहमा यौन सम्पर्क सुरुवात हुने भएकाले ‘एचपिभी’ को संक्रमण भैहाल्ने सम्भावना कम हुन्छ। ‘एचपिभी’को संक्रमणै भएपछि भने भ्याक्सिन प्रभावकारी नहुने चिकित्सकको मत छ। अर्कोतर्फ व्यक्ति वयस्क हुँदै जाँदा प्राकृतिक रक्षात्मक शक्ति पनि हुने भएकाले महिलामा वयस्कमा पाठेघरको मुखको क्यान्सरको जोखिम कम हुन्छ। कम उमेरमा भने पाठेघर कलिलो हुने भएकाले क्यान्सरको जोखिम बढी हुने डा. दर्नालले बताए।

स्त्रीरोग विशेषज्ञ डा. पुन पनि कम उमेरमा यौन सम्पर्क गर्दा छिटो संक्रमण हुने जोखिम भएकाले महिलाको पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढी हुने बताउँछिन्। ‘यौन सम्पर्क गर्नुपूर्व एचपिभीविरुद्धको भ्याक्सिन लगाउनु उपयुक्त हुन्छ’ डा. पुनले भनिन्, ‘यो भ्याक्सिन तीनपटक लगाइन्छ।’ ‘एचपिभी’ संक्रमण विरुद्धको भ्याक्सिन पहिलोपटक लगाएको एक महिनामा दोस्रो पटक लगाइन्छ। दोस्रो पटक लगाएको ६ महिनामा तेस्रो पटक लगाइन्छ।

चिकित्सकका अनुसार ‘एचपिभी’ भ्याक्सिन लगाएको १० वर्षसम्म महिलामा पाठेघरको मुखको क्यान्सर हुने जोखिमबाट बच्न सकिन्छ। सकभर ११/१२ वर्षकै उमेरमा यस्तो भ्याक्सिन लगाउनु उपयुक्त हुन्छ। त्यसैले यौन सम्पर्कपूर्व १२/१४ वर्षको उमेरसम्मा ‘एचपिभी’ विरुद्धको भ्याक्सिन लगाउने हो भने दस वर्ष सो भ्याक्सिनले क्यान्सर हुन नदिँदा महिलाको उमेर २५/२६ वर्षको हाराहारी पुगेको हुन्छ। त्यसपछि शरीरको रक्षात्मक शक्तिले  संक्रमणको जोखिम कम भई पाठेघरको मुखको क्यान्सरको जोखिम कम हुन्छ। यौन सम्पर्क भएपछि भने भ्याक्सिन लगाउँदा प्रभावकारी हुन्न। ‘यौन सम्पर्कपछि भ्याक्सिन लगाउँदा भाइरस संक्रमणको जोखिम हुन्छ’, स्त्री क्यान्सर रोग विशेषज्ञ डा. परियारले भने, ‘संक्रमण भएपछि भ्याक्सिन लगाउनु उपयुक्त हुन्न।’

पुरुषमा भ्याक्सिन
नौ देखि २६ वर्ष उमेर समूहका महिलालाई मात्रै हैन यो उमेर समूहका पुरुषले समेत भ्याक्सिन लगाउन सकिन्छ।  पुरुषमा समेत ‘एचपिभी’ संक्रमणका कारण कान, घाँटी, मलद्वारमा क्यान्सर हुने जोखिम भएकाले पुरुषले पनि ‘एचपिभी’ विरुद्धको भ्याक्सिन लगाउनु उपयुक्त हुने डा. परियार बताउँछन्। भ्याक्सिन लगाउँदा पुरुष आफैँ लिंगको क्यान्सर हुनबाट बच्न सकिन्छ। विशेषगरी पुरुषमा मुख मैथुन गर्नाले घाँटीको क्यान्सर, मालद्वारको क्यान्सर हुने जोखिम भएकाले पुरुषले समेत भ्याक्सिन लगाउनु उपयुक्त हुने चिकित्सक बताउँछन्। अर्कोतर्फ यस्तो क्यान्सर हुनबाट बच्न ओरल सेक्स गर्न हुन्न। पाठेघरको मुखको क्यान्सरको सवालमा महिलालाई भ्याक्सिन दिने भए पनि कतिपय देशमा पुरुषलाई समेत दिइने डा. परियारले बताए। धेरै जना महिलासँग यौन सम्पर्क गर्दा पुरुषमा ‘एचपिभी’को संक्रमण भएको खण्डमा त्यस्ता संक्रमित पुरुषले महिलामा  भाइरस सार्न सक्ने भएकाले पुरुषले समेत भ्याक्सिन लगाउनु उपयुक्त हुने डा. पुनको पनि सुझाव छ। महिला जस्तै पुरुषमा ११÷१२ वर्षको उमेरभित्रै भ्याक्सिन लागाउनु उपयुक्त हुन्छ। सामान्यतः यो उमेरमा यौन सम्पर्क सुरु नभैसक्ने हुँदा संक्रमण हुने जोखिम कम हुन्छ।

चुनौती छन्
नेपालमा भने बल्ल यो वर्षबाट क्यान्सरबाट बचाउने भ्याक्सिनको कार्यक्रम सुरु हुने भएको छ। चिकित्सकका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सर विरुद्धको भ्याक्सिन निजी स्वास्थ्यसंस्थाले फाट्टफुट्ट लगाउन थालेका छन्। धेरै मुलुकमा पाठेघरको  मुखको क्यान्सर (एचपिभी) विरुद्धको भ्याक्सिन राष्ट्रिय खोप नीतिमा पर्ने भए पनि नेपालमा भने सरकारी प्राथमिकतामा नपर्दा यस्तो भ्याक्सिनको कार्यक्रम नआएको चिकित्सकको तर्क छ। नेपाल सरकारले पछिल्लो समय यस्तो भ्याक्सिनको कार्यक्रम ल्याउनु सकारात्मक पक्ष हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ पनि महँगो हुने भए पनि भ्याक्सिन लगाउने कार्यक्रम आउनु राम्रो पक्ष भएको बताउँछन्।

नेपालमा भने सन् २०१४ मा चितवन र कास्कीमा स्वास्थ्य मन्त्रालयले ‘एचपिभी’ विरुद्धको भ्याक्सिनको ‘पाइलोटिङ’ परीक्षण गरेको छ। प्रयोग राम्रो देखिएको चिकित्सक बताउँछन्। यो भ्याक्सिन महँगो भएका कारण सबैको पहुँचमा पुग्न चुनौती भने रहेको छ। नेपालमा गार्डाशील, सर्भरिक्सजस्ता नामका ‘एचपिभी’ विरुद्धका भ्याक्सिन पाइने चिकित्सक बताउँछन्।

सरकारले महिलाको पाठेघरको मुखको क्यान्सर (सर्भाकल क्यान्सर) विरुद्धको भ्याक्सिन लगाउने योजना बनायो। सोहीअनुसार भ्याक्सिनको कार्यक्रम गर्नेबारे मन्त्रालयले परिवार कल्याण महाशाखालाई निर्देशन दियो। आर्थिक वर्ष २०७६÷०७७ मा भ्याक्सिन कार्यक्रमका लागि दुई करोड ७५ लाख सरकारले बजेट विनियोजन गरिसकेको परिवार कल्याण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झाले बताए। तर कुन उमेर  समूहमा कसरी खोप दिने भन्ने विषयमा भने निर्णय नभएको उनी बताउँछन्। ‘खोप दिने व्यक्तिलाई तालिम दिइएको छैन,’ अधिकृत झाले भने, ‘निर्देशिका तयार भएको छैन।’ भ्याक्सिनको खरिद प्रक्रियासमेत नभएको हुँदा यो वर्ष कार्यक्रम सुरुवात गरिने भए पनि यही वर्षबाट भ्याक्सिन लगाउनेमा भने विश्वस्त हुन मुस्किल देखिन्छ। विदेशबाटै भ्याक्सिन ल्याउनुपर्ने भएकाले समय लाग्न सक्ने अधिकृत झाको तर्क छ। सरकारी अधिकृत नै भ्याक्सिन महँगो पर्ने भएकाले यति बजेटले भ्याक्सिन किन्न पुग्ने बजेट नदेखिएको बताउँछन्। प्रक्रिया सुरु हुनै समय लाग्ने देखिन्छ। महाशाखाका खोपका अन्य कार्यक्रमसमेत छन्। तर कार्यक्रम भने यही वर्षबाट लागू हुने अधिकृत झा बताउँछन्।

Leave A Comment