नक्कली क्यारेक्टरका सक्कली दुःख

शनिबार, २८ भदौ २०७६, ०१ : २० भोला अधिकारी
नक्कली क्यारेक्टरका सक्कली दुःख

लोकप्रिय हास्य कलाकार पाँडे उमेरले ३३ वर्षका भए। तर उनले निभाउने क्यारेक्टर ७० आसपासको छ। भद्रगोलमार्फत दर्शकमाझ चिनिएका उनको वास्तविक पहिचान पाँडे पनि हैन, अर्जुन घिमिरे हो। तर उनलाई अर्जुन भनेर कमैले चिन्छन्।
‘भद्रगोल’को पाँडेले उनको वास्तविक परिचय नै खाइदियो।

यस्ता पात्र धेरै छन्, नेपाली हास्य क्षेत्रमा। अधिकांश आफ्नो वास्तविक पहिचानभन्दा सिरियलकै क्यारेक्टरको भरमा चल्न बाध्य छन्। सिरियलको गेटअपमा त सबैले चिन्छन् तर सामान्य दैनिकीमा जब वास्तविक स्वरुपमा हुन्छन्, गुमनाम नै देखिएका छन्।

‘मेरी बास्सै’मा माग्ने बूढाका रुपमा परिचित केदार घिमिरे हुन् या यही शृंखलाका तक्मे बूढा विल्सन विक्रम राई या ‘भद्रगोल’का अर्जुन र दीपक आचार्य। फुलन्देकी आमा बनेका उमेश राई नै किन नहुन्, सबैको समस्या उस्तै छ।

यी सबै कलाकारले आफ्नो पहिचान बुढ्यौली क्यारेक्टरका रुपमा स्थापित गरे। सबैले उनीहरुलाई क्यारेक्टरकै रुपमा चिने। वास्तविक जीवनमा भने गुमनाम समान भए। पछिल्लो समय केदार र विल्सनले फिल्ममा सक्कली गेटअपमै अभिनय गरेकाले दर्शकले ठम्याउन थालेका छन् तर अन्य कलाकारको हालत भने अझै नक्कली गेटअपकै भर पर्नुपर्ने अवस्था छ।

टोल छिमेक र परिवारका सदस्यले उनीहरुलाई चिन्छन् तर दर्शकमाझ असली गेटअपमा जाँदा वास्तै हुन्न। कतिसम्म भने कार्यक्रममा निम्त्याएर सहभागी हुन जाँदा कहिलेकाहीँ आयोजकले नै नचिनेर हैरान भएका रहेछन् कलाकार। कहिले कार्यक्रमस्थलमा प्रहरीले छिर्न नदिएर फर्काउने समेत गरेको रहेछ।
केदार घिमिरेले यस्तै अनुभव पटक–पटक बेहोरेका रहेछन्।

एकपटक उनी पोखरामा भएको कार्यक्रममा सहभागी हुन पुगे। उनी कार्यक्रमस्थलमा जान सक्कली स्वरुपमा पुगेका थिए तर प्रहरीले भित्र छिर्नै दिएनछ।

टेलिसिरियलमा देखिने नक्कली क्यारेक्टर हावी हुँदा, केही कलाकारको सक्कली पहिचानै संकटमा प-यो। उनीहरु आफ्नै स्वरुपमा फर्कने प्रयासमा छन् तर सकेका छैनन्।

टिकट सकिएकाले अन्यलाई प्रवेशमा सुरक्षाकर्मीले रोकेका थिए। उनीसँग प्रहरीले टिकट माग्यो तर थिएन। कलाकार हुँ भन्दा पत्याएन।

‘हलभित्र छिर्नै नपाएपछि कार्यक्रम आयोजकलाई नै बोलाउनु प-यो,’ उनले पीडा पोख्दै भने, ‘आयोजक आएर कलाकार हुन् भनेपछि मात्र भित्र जान सकियो।’

केदार घिमिरे

तक्मे बूढाका रुपमा परिचित विल्सन त झण्डै कोरियाबाटै फर्कनु परेको रहेछ। आयोजकले दुई जनालाई तक्मे बूढालाई लिन भनेर कोरियाको एयरपोर्टमा पठाएका रहेछन्।

विल्सन आफ्नै असली स्वरुपमा विमानस्थल बाहिर आयोजकका व्यक्ति कुरेर बसे तर कोही आएनन्। घण्टौँ कुर्दा पनि कोही नआएपछि उनी तनावमा परे।

एक जना केटा उभिइराखेको देखेपछि हातमा फूल लिएर बसेकाले शंका लागेर के गर्न आएको भनेर सोध्दा बल्ल कार्यक्रममा सहभागी हुन आएको खुल्यो तर पत्याएनन्। उनीहरुले आयोजकको प्रमुखलाई ‘तक्मे बुढो हैन फुच्चे पो छ त !’ भन्दा बल्ल उनको सक्कली स्वरुप खुल्यो र उनी विमानस्थलमा अलपत्र पर्नबाट जोगिए।

‘आयोजकलाई नमस्कार म तक्मे बूढा भन्दा नजिस्क्याउन भाइ, भाइलाई त ठट्टा गर्न त कसैले सिकाउनु पर्दो रहेनछ भन्दै मलाई नै कुरिरहेको घटना समेत भोगियो। कहिलेकाहीँ त आपतै पार्छ नक्कली गेटअपको प्रभावले,’ उनले भने।

बाध्यताले नक्कली गेटअप
अर्जुन घिमिरेले ‘जिरे खोर्सानी’, ‘तीतो सत्य’ लगायतका सिरियलमा सक्कली गेटअपमै अभिनय गरे तर उनको कुनै पहिचान बन्न सकेन। दर्शकले पनि वास्तै गरेनन्।

अर्जुन घिमिरे

सात वर्षअघि ‘भद्रगोल’ निर्माण हुने भएपछि नयाँ गेटअपबारे छलफल हुँदा बुढ्यौली उमेरको अली फटाहा स्वभावको क्यारेक्टर गर्ने भन्ने सल्लाह भयो। उनलाई कुमार कट्टेलले गेटअप पनि सुझाए। सल्लाहअनुसार त्यही गेटअपमा देखिन थाले। दर्शकले वास्ता गर्न दुई वर्ष लाग्यो।

‘अभिनय गर्न थालेको दुई वर्षपछि मात्र हल्का चिन्न थाले, त्यसपछि भने फ्यानहरु ह्वात्तै बढे,’ उनले अनुभव सुनाए।

‘मेरी बास्सै’मा  माग्ने बूढाको गेटअपमा देखिएका केदार घिमिरेले ‘मेरी बास्सै’ अघि ‘ट्वाक्क टुक्क’, ‘जिरे खोर्सानी’, ‘तीतो सत्य’मा अभिनय गरेका थिए। तर दर्शकमाझ परिचित हुनै सकेनन् उनी। ती सिरियलमा वास्तविक गेटअपमै अभिनय गर्थे उनी।

३० वर्षको उमेरमा ६०/७० वर्ष उमेरको अभिनय गरेपछि मात्र उनको अभिनय यात्रा चर्चामा आयो। ‘मेरी बास्सै’ सिरियल प्रशारण शुरु भएको दुई महिनामा नै उनको चर्चा हुन थालिहाल्यो।

विल्सनले पनि २५ वर्षको उमेरमा ७० वर्षका रिटायर्ड आर्मीको क्यारेक्टरमा अभिनय गरेका थिए। त्यसअघि ‘तीतो सत्य’ लगायतका सिरियलमा उनी तेस्रो लिङ्गी, महिला लगायतको भूमिकामा देखिए तर ती चरित्रलाई दर्शकले ख्याल नै गरेनन्। तक्मे बुढाको चरित्रमा भने उनी फिट मात्र भएनन्, उनका प्रशंसक ह्वात्तै बढे।

‘भद्रगोल’ मा ७० हाराहारीको चरित्रमा देखिने दीपक आचार्य ३५ वर्षका हुन्। भद्रगोलमा उनी रक्षाको काकाको भूमिकामा छन्।

दिपक आचार्य

यस्तै वास्तविकभन्दा बूढो देखिने हर्के हल्दार (विष्णु सापकोटा), ‘भद्रगोल’का सेते बा (मधुसूदन पाठक) पनि उमेरका हिसाबले कम नै छन्। उनीहरुलाई पनि वास्तविक उमेरको कुनै नयाँ चरित्रमा भन्दा वृद्धावस्थालाई नै धेरैले रुचाएका छन्।

सक्कलीमा फर्कन सकस
नक्कली गेटअपको प्रभावले सक्कली पहिचानै संकटमा परेपछि कलाकार केदार घिमिरेले सक्कली स्वरुपमै फर्कन निकै प्रयास गरे। तर प्रयास गरे पनि सम्भवै भएन। दर्शकले रुचाइदिएनन् उनलाई।

स्टेज कार्यक्रम होस् या विज्ञापनको अफर, सबैमा उही क्यारेक्टरको माग आएपछि हैरान भएका उनी जब ‘छक्कापञ्जा’मार्फत फिल्ममा देखिन थाले, बल्ल उनको नक्कली क्यारेक्टरसँगै सक्कली अनुहारलाई पनि दर्शकले चिन्न थाले। तापनि अझै उनको सकस कम भने भएको छैन।

‘टाइसुट लगाएर विज्ञापन खेलेको छु तर केदार घिमिरे नाममा फर्काउन सकिरहेको छैन। निकै कठिन हुँदोरहेछ,’ उनले भने।

कला क्षेत्रमा स्थापित भएको परिचयका कारण कतै कतै परिवारले नराम्रो प्रतिक्रियासमेत व्यहोर्नु परेको तीतो अनुभवसमेत उनीसँग छ।

‘एकपटक श्रीमती माइत गएकी थिइन्,’ उनले भने, ‘म माग्ने बुढाको नामले परिचित हुँदै थिए। मेरी बूढीकी हजुरआमा पर्नेले मलाई देख्नुभएको रहेनछ। हजुरआमाले यी नातिनीको बिहे कोसँग गराएको भनेर सोधीखोजी गर्दा सबैले ‘मेरी बास्सै’को माग्ने बूढालाई दिएको भनिदिएछन्। हजुरआमाले त्यति बूढालाई मेरी नातिनी किन दिएको ? त्योभन्दा भर्खरको केटो भेटेनौ ? भनेर सबैलाई गाली गर्नुभएछ। त्यो बेला मेरी श्रीमतीलाई बडो नराम्रो लागेछ।’

छोराछोरी पढ्ने स्कुलमा पनि साथीहरुले डोमिनेट गर्दै माग्ने बूढाको सन्तान भनेर बोलाउँदा चित्त दुखाउने रहेछन्। बच्चाहरुलाई आफ्ना बुबा माग्ने नै हो कि भन्ने पनि लागेछ !

‘घर परिवार र सन्तानलाई समेत नकारात्मक असर पर्न थालेपछि पहिचान बदल्न खोजेँ तर अझै सकिरहेको छैन,’ उनले पीडा सुनाए।

 

विल्सन विक्रम राई

‘मेरी बास्सै’मा ‘दाह्री बा’ भनेर परिचित सूरवीर पण्डितलाई पनि आफ्नो सक्कली पहिचान गुमेकोमा निकै चिन्ता रहेछ।

उनको सक्कली नाम केशवप्रसाद पण्डित रहेछ। तर जता गए नि दाह्री बा भनेर बोलाउँदा नमीठो लाग्ने अनुभव सुनाए उनले।

आफन्त र परिवारले पनि सधैँ झ्याप्प दाह्री पालेको, झुसिलकीरा जस्तो भएर हिँडेको भन्दै यसो चिटिक्क परेर हिँड्नु नि भन्दै गाली गर्ने गरेको अनुभव उनले शुक्रवारसँग साटे।

‘मलाई निकै पहिला हिरो बन्छु भनेर इन्डिया गएको थिएँ,’ उनले सुनाए, ‘त्यहाँ पुगेसी बद्मासीहरुले मेरो पैसा खाइदिए र भागे। पछि हिरो बन्छु भनेर नेपाल फर्किएँ। कसैले पत्याइदिएनन्। बूढो क्यारेक्टर नै अफर भयो। १८ वर्षको उमेरदेखि नै बूढोको पहिचान बनेको अहिलेसम्म पनि बूढैमा खेलिरहेको छु।’
‘भद्रगोल’का अर्जुन घिमिरे भने ‘पाँडे’कै रोलमा रमाइरहेका रहेछन्।

‘मेरो परिवार र आफन्तले यो एउटा पात्र हो भन्ने बुझेका छन्,’ उनले भने, ‘अहिलेसम्म नराम्रो असर परेको छैन। यो क्यारेक्टरको लोकप्रियता कम भए अर्को क्यारेक्टरमा अभिनय गर्ने मन भने छ।’

उनले समस्या नपरेको भने पनि उनी कुनै समय झण्डै पाँडे समूहबाट वहिष्कृतै भइसकेका थिए। आफ्नो समुदायको चरित्र नै फटाहाझैँ देखाएको भन्दै पाँडे समूहले विज्ञप्ति नै निकालेर चरित्र सुधार नगरे कानुनी कार्बाहीमा जानेसम्मको धम्की दिएका थिए।

Leave A Comment