फर्निचर एक्स्पोमा आकर्षक अफर

शनिबार, २८ भदौ २०७६, ०१ : ३६ शुक्रवार
फर्निचर एक्स्पोमा आकर्षक अफर

घरदेखि अफिससम्म फर्निचर तथा फर्निसिङका सामग्री अनिवार्य छ। एकै थलोमा आम उपभोक्तालाई फर्निचर तथा फर्निसिङका सामग्रीको बारेमा जानकारी गराउने उद्देस्यले फर्निचर तथा फर्निसिङ संघ, काठमाडौंको आयोजनामा भदौ २५ देखि २९ गतेसम्म भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो(फर्नेक्स) आयोजना गरिएको छ। एक्स्पो सञ्चालन गर्नुको उद्देस्य, एक्स्पोबाट उपभोक्ताले लिने लाभ, मुलुकमा फर्निचर तथा फर्निसिङ उद्योगको अवस्था, बजार, उद्योग सञ्चालन गर्न नीतिगत समस्याका बारेमा फर्निचर तथा फर्निसिङ संघ, काठमाडौंका अध्यक्ष रुपेश प्रधानसँग शुक्रवार साप्ताहिकका लागि गरिएको कुराकानी।

फर्निचर एक्स्पो आयोजना गर्नुको उद्देश्य के हो ?
फर्निचर तथा फर्निसिङसम्बन्धी सम्पूर्ण सामग्रीको प्रदर्शनीसहित आम उपभोक्तालाई जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरेको हो। नेपालमा उत्पादित सामान तथा विदेशबाट आयात गरिएका सामग्रीको बारेमा उपभोक्तालाई जानकारी दिने। प्रविधिको बारेमा पनि सूचना दिन मेलामा स्वदेशी तथा विदेशी गरी एक सय स्टल रहन्छन्। एक्स्पोमा ६० देखि ७० प्रतिशत स्वदेशी उत्पादन र बाँकी विदेशी उत्पादनका सामग्री रहनेछन्। मेलामा आफ्ना उत्पादनको ब्रान्डिङ गर्ने पनि योजना छ। विभिन्न कार्पेट, म्याट्रेस कम्पनीहरु पनि सहभागी हुन्छन्।

मेलाबाट उपभोक्ताले के फाइदा लिन सक्छन् ?
एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका सामग्रीको प्रदर्शनी हुन्छ। उपभोक्ताले एउटै छानामुनि सबै प्रकारका फर्निचर तथा पर्निसिङका सामान अवलोकन गरेर आफूले चाहेअनुसार खरिद गर्न सक्छन्। दसैंको पूर्वसन्ध्यामा मेला आयोजना गरेकाले शुलभ मूल्यमा जनतालाई राम्रो सामान उपलब्ध गराउँछौं। मेलामा फर्निचर तथा फर्निसिङका नयाँ आइटमहरु लञ्च हुन्छन्। बिक्रेताले विभिन्न प्रकारका फर्निचर एक्स्पोमा आकर्षक अफर छन्। त्यसबाट लाभ लिन सकिन्छ।

फर्निचर तथा फर्निसिङको बजार कस्तो छ ?
समग्रमा नेपालमा यसको बजार वार्षिक ३०/३५ अर्ब रुपैयाँको पुगेको छ। ६० प्रतिशत सामान विदेशबाट आयात भएको छ भने ४० प्रतिशत मात्र स्वदेशी उत्पादनले धानेको छ। हरेक वर्ष १० देखि १५ प्रतिशतले बजार वृद्धि भैरहेको छ। नयाँ घर, अफिस निर्माण भैरहेकाले वर्षेनी माग बढिरहेको छ। हरेक क्षेत्रमा विकासको लहरले फर्निचर व्यवसाय फस्टाउँदो छ। यो उद्योगमा तीनदेखि चार लाख जनाले रोजगारी पाएका छन् भने सानादेखि ठूला उद्योगमा करिब १८/२० अर्ब रुपैयाँ लगानी भएको छ।

फर्निचर तथा फर्निसिङमा ६० प्रतिशत हिस्सा विदेशी सामानको छ भन्नुभयो।  स्वदेशी उत्पादनले ठूलो बजार लिन नसक्नुको कारण के हो ?
मुख्य गरी सरकारी नीति राम्रो नहुनु नै मुख्य समस्या हो। फर्निचर उद्योग सञ्चालन खोल्नका लागि सरकारले सघाउनु पर्छ। त्यस्तो वातावरण तयार भएको छैन। विदेशमा ठूलो बजार भएकाले ठूलो भोलुममा उत्पादन गर्दा लागत कम पर्छ। हाम्रोमा सानो बजार भएकाले ठूलो भोलुममा उत्पादन गर्न नसक्दा उत्पादन लागत महँगो पर्ने भएकाले विदेशीसँग प्रतिस्पर्धा गर्न कठिनाइ छ। यहाँ कच्चा पदार्थ नहुँदा विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। यहाँ भएका कच्चा पदार्थ पनि सही ढंगले प्रयोग गर्न सकिएको छैन। वनमा काठ कुहिएर गए पनि फर्निचर उद्योगले काठ नपाइरहेको अवस्था छ। समयमा लिलाम गरेर बिक्री वितरण गरे सरकारलाई पनि राजस्व आउने उद्योगले पनि प्रयोग गर्न सकिन्थ्यो। अहिले नेपालमा जनशक्तिको पनि समस्या रहेको छ। काम सुरु गर्ने दुई÷चार महिनामा छाडेर हिँड्दा उद्योगीलाई अप्ठ्यारो पर्छ। नीतिगत अस्थिरता रहेको छ। लेबर नीतिमा पनि कठिनाइ देखिन्छ। कतिपय फर्निचर उद्योग कामदार समस्याले धराशयी भएका छन्।

नीतिगत समस्या भन्नुभयो, सरकारले कुन क्षेत्रमा सहयोग गर्नुप-यो त ?
उद्योग सञ्चालनका लागि पूर्वाधार आवश्यक छ। फर्निचर उद्योग चलाउन जमिनको धेरै क्षेत्रफल आवश्यक पर्छ। यो उद्योगका लागि सरकारले निश्चित ठाउँ तोक्नु आवश्यक छ।  फर्निचरका लागि सेज तयार गरेर त्यहाँ धारा, बिजुली, बाटोघाटोलगायतका पूर्वाधार बनाउने काममा गर्नुपर्छ। त्यसैगरी उद्योग खोल्नेलाई सहुलियत दरमा ब्याज, आयकरमा छुट, कर तथा भन्सार नीति पनि व्यवसाय मैत्री हुनुप¥यो। उद्योगी, व्यवसायीले धेरै जोखिम मोल्न चाहेका छैनन्।

वनमा रुख कुहेका छन् तर कच्चा पदार्थको अभाव छ भन्नुभयो किन ?
सरकारले वनमा भएका रूखलाई व्यवस्थापन गर्न सकेको छैन। वनजंगललाई राम्रो व्यवस्थापन गर्ने हो भने यहाँको मागअनुसार काठ हाम्रो जंगलबाट निकाल्न सकिन्छ। वनमा रुख फडानी भएको देखिन्छ तर ती रुख फर्निचर उद्योगमा आएको देखिँदैन। अहिले नेपालमा प्लाइउड उत्पादन हुन्छ। मुलुक प्लाइउडमा आत्मनिर्भर बन्ने बाटोमा छ। ८० प्रतिशत स्वदेशी उत्पादनले धानेको छ।

फर्निसिङका सामग्री उत्पादनको अवस्था के छ ?
फर्निचरको तुलनामा फर्निसिङमा मुलुक आत्मनिर्भरताको बाटोमा छ। यहाँका कार्पेट उद्योगले बजारको माग धानेका छन्। केही नयाँ उद्योग पनि आउँदैछन्। नेपालमा कार्पेटका विभिन्न भेराइटी उत्पादन भैरहकाले सायद अबको एक/दुई महिनामा कार्पेट विदेशबाट ल्याउनु पर्दैन। बजारको मागअनुसार विभिन्न भेराइटीका कार्पेट उत्पादन भैरहेका छन्। डोरम्याट, म्याट्रेसमा पनि मुलुक आत्मनिर्भर भैसकेको छ। हाई ब्रान्डका केही सामान आयात भए पनि यी सामान हाम्रो बजारको मागअनुसार उत्पादन भएका छन्।

स्वदेशी उत्पादनको गुणस्तर कस्तो छ ?
यहाँको उत्पादन विदेशबाट आयातितभन्दा धेरै राम्रो छ। फर्निचरको कुरा गर्दा विदेशको भन्दा महँगो छ। विदेशमा एउटै सामान दसौं हजार गोटा उत्पादन गर्ने र यहाँ सयको संख्यामा उत्पादन गर्ने भएकाले लागत महँगो भएको हो। गुणस्तर हेर्ने हो भने नेपालको टिकाउ छ। दसौं वर्षसम्म केही हुँदैन।

स्वदेशीभन्दा विदेशी फर्निचरको फिर्निसिङ राम्रो छ भन्छन् नि ?
नेपालको उत्पादनको आफ्नै मौलिकता छ। विदेशीको फिर्निसिङ राम्रो भए पनि स्वदेशमा गर्न सकिन्छ। तर, लागत महँगो पर्छ। नयाँ–नयाँ प्रविधि भित्रिएको छ। उपभोक्ताको माग अनुसारको डिजाइन दिन सक्छन्।

प्रयोगकर्ताले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
उपभोक्ताले सामान कहाँ बनेको हो। मूल्य, गुणस्तर, प्रयोग गरिएका काठको विषयमा पनि ध्यान दिनुपर्छ। विदेशी झट्ट हेर्दा राम्रो देखिए पनि स्वदेशी टिकाउ हुने भएकाले स्वदेशी उत्पादनलाई नै प्रयोग गर्न मेरो सुझाव छ। सामानको वारेन्टी र ब्रान्ड पनि हेर्नुपर्छ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकारले के गर्नुपर्छ ?
सरकारले उद्योग खोल्न आह्वान गर्नुप-यो। आवश्यक सेवा सुविधासहित ठाउँ उपलब्ध गराउँछौं। लगानीको सुरक्षा गर्ने दायित्व हाम्रो हो भनेर सरकारले भन्नुप-यो। फर्निचर तथा फर्निसिङका सामान उत्पादन गर्न छुट्टै औद्योगिक क्षेत्र बनाउनु प-यो। जमिन महँगो रहेको छ। जग्गा भाडामा लिएर उद्योग सञ्चालन गर्न कठिनाइ छ। सरकारले उद्योगलाई चाहिने जति ऋण दिनुपर्छ। निश्चित अवधिका लागि आयकर पनि छुट दिनुप-यो। सरकारले रणनीति बनाएर कर, भन्सार, लेबर नीति बनाएर सघाए मात्र यो क्षेत्रको उद्योग फस्टाउँछ।

आयात प्रतिस्थापन गरेर निर्यातको सम्भावना के छ ?
निश्चय पनि निर्यातको सम्भावना छ। त्यसको जिम्मेवारी सरकारको हातमा छ। अहिले पनि यहाँ तयार गरेका बुट्टे झ्याल ढोका विदेशी बजारमा बिक्री भैरहेको छ। फर्निचर उद्योगको सम्भावना रहेको छ। वातावरण बनाउनु प¥यो। सरकारको नीति राम्रो नभएकाले उत्साह जागेको छैन।

Leave A Comment