करङ लच्काउने सूत्र

सोमबार, ३० भदौ २०७६, ०१ : ३२ शुक्रवार
करङ लच्काउने सूत्र

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

करङले शरीरको महत्वपूर्ण अंगलाई संरक्षित गरेर राखेको हुन्छ। मुटु, कलेजो, फोक्सो, आन्द्राजस्ता अंग करङको संरचनाभित्र रहेका हुन्छन्। करङले शरीरका अंगलाई अड्याएर राखेको हुन्छ। शरीरमा करङले घरको डाँडा–भाटाजस्तै काम गरेको हुन्छ। मेरुदण्डले शरीरमा खाँबाको काम गर्छ। काँधले मेररुदण्ड तथा करङलाई अड्याएको हुन्छ। घरको खाँबा र डाँडा–भाटा नै कमजोर भएको अवस्थामा घर लड्ने जोखिम हुन्छ। त्यसैले करङ मजबुत नभएको अवस्थामा शरीरमा समस्या उत्पन्न हुन्छ। काँधभन्दा तल पछाडि र अगाडि (छाति) बाट करङले शरीरका अंगलाई ढाकेर सुरक्षित गरी राखेको हुन्छ। करङमा समस्या भएको खण्डमा शरीरमै समस्या उत्पन्न हुन्छ।

व्यक्तिको शरीरमा सामान्यतः १२ देखि १४ वटा ठूला करङ हुन्छन्।  जम्मा हड्डी भने २०६ वटा हुन्छन्। सामान्यतः महिलाको १६ र पुरुषको १८ वर्ष उमेर समूहसम्म शरीरको हड्डी बढ्छ। बालबालिकाको हड्डी कोमल तथा लचिलो हुने भएकाले सामान्य अवस्थामा भाँचिने जोखिम कम हुने भए पनि टिनएज पार गर्दै गएपछि भाँचिने जोखिम बढी हुन्छ। जति पाको हुँदै गयो त्यति नै हड्डी कडा हुँदै जान्छ।

करङै मजबुद नभएको अवस्थामा अंग असुरक्षित हुने नै भए। त्यसैले व्यक्ति स्वस्थ रहनका लागि करङ मजबुत राख्ने उपाय अपनाउन आवश्यक हुन्छ। करङ मजबुत बनाउनका लागि व्यायाम र सन्तुलित रुपमा स्वस्थ खानपान गर्नु आवश्यक हुन्छ।  

लचिलो–मजबुत
एक त करङ मजबुत बनाउनका लागि व्यक्ति सिधा बस्न आवश्यक हुन्छ। टिभि हेर्दा, गाडी चलाउँदा होस वा अफिसमा काम गर्दा नै किन नहोस् सिधा बस्नु आवश्यक हुन्छ। मेरुदण्ड सिधा ठाडो किसिमले राख्दा करङमा तनाव उत्पन्न हुन्न। जसले करङलाई असहजता भई समस्या उत्पन्न हुन्छ। करङलाई अप्ठेरो हुनु हुन्न। १० मिनेट एउटा आसनमा बसेपछि आसन परिवर्तन गर्नु उचित हुन्छ। यसरी आसन परिवर्तन गर्नाले करङको एकै भागमा तनाव हुनबाट बच्न सकिन्छ। जसले करङ सजिलै भाँचिनबाट जोगाउन सकिन्छ।

करङको व्यायाम गर्नाले करङ लचिलो हुने भएकाले सामान्य किसिमले ठोक्किँदा तथा दुर्घटनामा पर्दा भाँचिने सम्भावना कम हुन्छ। करङ जति लचिलो भयो त्यति नै मजबुत हुन्छ। व्यायाम नगरेको अवस्थामा भने करङ कडा हुन्छ। कडा भएको अवस्थामा भाँचिने जोखिम बढी हुन्छ। व्यायाम नहुँदा मांशपेशी कमजोर हुन पुग्छन्। मांशपेशी नै कमजोर हुँदा रक्तसञ्चारमा असहजता भई करङमा आवश्यक पोषणको अभाव हुन्छ। पोषणको अभाव हुँदा करङ मात्रै हैन शरीरका अंग नै कमजोर हुन पुग्छन्। त्यसैले व्यक्तिले वाम अप गर्ने, उफ्रने, खेल्ने, नाच्ने गर्नाले करङको व्यायाम हुन्छ। विभिन्न तरिकाले करङको व्यायाम गर्न सकिन्छ।

कुर्सीमा सिराने
अफिसमा कुर्सीमा बसेर काम गर्ने व्यक्तिका लागि कुर्सी करङमैत्री हुन आवश्यक छ। कुर्सीमा बस्दा पछाडि अढेस लागिन्छ। सामान्य कुर्सीमा अढेस लाग्ने ठाउँ हुन्छ। आजकाल भने कुर्सीमा ढाड अढेस लगाउने ठाउँमा सानो सिरानेजस्तो अगाडि उठाइन्छ। जसले ढाड अड्याउँछ। यसरी ढाड अड्याउन हल्का सिराने उठाइएको कुर्सीमा बस्नाले उठेको भागले मेरुदण्डको सेपलाई सामान्य र सहज बनाउँछ। मेरुदण्डको सेप सामान्य र सहज हुँदा करङ सन्तुलित तथा सामान्य अवस्थामा रहन्छ। करङ सन्तुलित तथा सहज र सामान्य रुपमा भएको अवस्थाामा करङ बांगिने, भाँचिने, करङका नसा च्यापिनेजस्ता समस्बाट बच्न सकिन्छ। त्यसैले अफिसियल काम गर्ने व्यक्तिले करङमा हुन सक्ने समस्याबाट बच्न करङमैत्री कुर्सीमा बस्न आवश्यक छ।  

कडा कुर्सी
कुर्सी अगाडि–पछाडि फोल्ड गरेर अढेस लाग्न सकिन्छ। कडा किसिमको कुर्सी करङमैत्री हुन्छ। काठको कडा कुर्सीमा बस्नाले करङ दोब्रिने समस्याबाट बच्न सकिन्छ। सोफा तथा नरम किसिमका कुर्सीमा बस्नाले करङ बांगिने, करङमा तनाव सृजना हुनेजस्ता समस्या उत्पन्न हुने जोखिम हुन्छ। त्यसैले मजबुद तथा स्वस्थ करङका लागि लचिलो किसिमको सोफा तथा नरम कुर्सीमा नबस्नु नै बुद्धिमानी हुन्छ।
बस्ने कुर्सी नै अगाडि–पछाडि ढल्काउन मिल्ने किसिमका हुन्छ। विशेषगरी नियमित अफिसमा बसेर काम गर्ने व्यक्तिका लागि मेरुदण्डलाई सपोर्ट गर्ने किसिमको कुर्सी हुनु आवश्यक छ।  

दानाको सिटकभर
दैनिक (सिटमा बसेर) सवारी चलाउने चालकको करङमा समस्या आउने सम्भावना बढी हुन्छ। लामो समयसम्म दैनिक गाडीमा यात्रा गर्दा  करङ बांगिन सक्छ। त्यसैले गाडी चलाउने चालकको करङ मैत्री सिट हुन आवश्यक छ। सवारी चालकको सिट सिधा हुनु पर्छ। गाडीको सिटमा काठको दानाबाट बनाएको जालीको सिटकभर राख्नु उचित हुन्छ। काठको दाना राखिएको सिटकभर जाली भएको सिटमा बस्नाले काठका ती दानाले करङका हड्डी तथा मांपेशीलाई  मसाज पुगेको हुन्छ। जसले करङ बांगिने तथा कमजोर हुने समस्याबाट बच्नुका साथै ढाड तथा कम्मर दुख्ने समस्याबाट जोगिन सकिन्छ।

घरमै व्यायाम
विभिन्न पेशा गर्दा करङमैत्री काम हुन त आवश्यक छ नै  करङको व्यायाम गरेर पनि करङ मजबुत बनाउन सकिन्छ। करङ मालिस गरेर करङलाई सबल बनाउने जिम मेसिन बजारमा पाइन्छ। मेसिन त्यति महँगो हुन्न।
घरमै बसेर मेसिनले मालिस गरी करङ मजबुत बनाउन सकिन्छ। करङ मालिस गर्ने मेसिनमा उत्तानो परी सुतिन्छ। त्यसपछि टाउको उठाएर शरीर उठाउँदै सुतिन्छ। उठ्दै–सुत्दै गर्नाले रोलर जडित मेसिनले करङमा मालिस गरिरहेको हुन्छ। यसरी मेसिनमा गरिने मालिसले करङका मांशपेशी लचिलो तथा मजबुत हुने भएकाले करङमा रक्तसञ्चार सहज हुने नै भयो। जसले करङ मजबुत हुन्छ।

इलेक्ट्रिक व्यायाम
आजकाल विभिन्न किसिमका इलेक्ट्रिक मेसिनमा करङको व्यायाम गर्न सकिन्छ। बजारमा जिम मेसिन मात्रै हैन इलेक्ट्रिक कुर्सी पाइन्छन्। घरमै इलेक्ट्रिक कुर्सी ल्याएर बस्न सकिन्छ। इलेक्ट्रिक कुर्सीमा करङ तथा मेरुदण्डलाई मालिस गर्ने मसिना बल्ब हुन्छन्। जसले इलेक्ट्रिक भाइब्रेसन गरी करङको मालिस गर्छ।

भाइब्रेसनयुक्त सुत्ने बेडसमेत पाइन्छ। भाइब्रेसनयुक्त बेडमा सुत्नाले शरीरमा ताप दिन्छ। बेडबाट निस्कने भाइब्रेसनले करङ मजबुत हुन्छ। यस्ता भाइब्रेसनयुक्त बेडमा दैनिक २/३ पटक व्यायाम गर्न सकिन्छ। सुत्न सकिन्छ। एक पटकमा यस्ता भाइब्रेसनयुक्त मेसिन तथा बेडमा करिब १० मिनेट बस्नु उपयुक्त हुन्छ। करङलगायतको व्यायाम गर्ने यस्ता इलेक्ट्रोनिक मेसिनमा बस्दा भने प्राविधिक तथा विज्ञको सल्लाह लिनु पर्छ। बालबालिका तथा पाको उमेर समूहका व्यक्तिले भने जथाभावि इलेक्ट्रिक व्यायाम मेसिनमा बस्नु हुन्न।

मसाज
ब्याक मसाज गरेर पनि करङको व्यायाम गर्न सकिन्छ। थेरापिस्टले बुढीऔंला, हत्केला, मुठ्ठी, नाडीले करङलाई रगडिन सकिन्छ। तेल लगाएर थेरापिस्टले मालिस गर्दा प्रभावकारी हुन्छ। सकेसम्म हर्वल तथा दुखाइ कम गर्ने किसिमका प्राकृतिक जडिबुटी तथा तेलको प्रयोग गर्नु उचित हुन्छ। ओलिभ, लेमनग्रास, पामरोजा, जुनिपर, इकालेप्टसजस्ता प्राकृतिक जडिबुटीका तेलले करङ मालिस गर्नु उपयुक्त हुन्छ।

यस्ता जडिबुटीका तेलले मालिस गर्दा करङको दुखाइ कम हुनुका साथै करङ लचिलो भई आराम मिल्छ। सामान्य अवस्थाको व्यक्तिले यसरी तेल लगाएर हप्तामा एकपटक मसाज गर्नु करङका लागि फलदायी हुन्छ।

विशेषगरी भान्छामा काम गर्ने व्यक्तिले निहुरिएर गर्ने काम बढी हुन्छन्। यसरी निहुरिएर तथा कुप्रो परेर काम गर्दा करङ तन्किएर करङमा तनाव हुन्छ। जसले करङ कमजोर हुनुका साथै ढाड दुख्नेलगायतको समस्या उत्पन्न हुन्छ। त्यसैले दैनिक भान्छामा काम गर्ने व्यक्तिले निहुरिएर काम गर्ने वातावरण हुनुहुन्न। उठेर काम गर्दा होस् वा बसेर छातिको भाग भन्दा अग्लो टेबल तथा किचन -याक हुन आवश्यक छ। ताकी निहुरिएर काम गर्न नपरोस्। निहुरिएर काम गर्नु परेको खण्डमा प्रत्येक ३० मिनेटमा ढाड सिधा गरी कुर्सी वा कुनै ठाउँमा बस्नु आवश्यक हुन्छ।

सन्तुलित पोषण
उमेर पाको हुँदै जाँदा शरीरका कोषिका मर्दै जान्छन्। जुन स्वाभाविक  तथा प्राकृतिक पक्रिया हो। कोषिका मर्दै गएपछि सिंगो शरीरमा पोषण कम हुँदै जान्छ। शरीरमै पोषणको कमी हुँदै जाँदा करङमा भने पोषण पुग्ने कुुरा भएन। यसरी करङमा आवश्यक पोषण तत्वको कमी हुँदा करङ बांगिने, करङको आकार सानो हुँदै जाने, कुप्रो पर्ने, करङ धमिलो देखिने जस्ता समस्या हुन्छन्। त्यसैले करङ मजबुत बनाउन व्यायाम तथा सन्तुलित रुपमा पोषणको आवश्यक हुन्छ। करङमा आवश्यक पोषण तत्व पुगेको खण्डमा करङमा हुने समस्याबाट बच्न सकिन्छ।

धूमपान तथा मद्यपान गरेर फोक्सो डढ्छ। फोक्सो डढ्दा करङ पनि केही हदसम्म डढ्छ। यसरी करङ डढ्दा कालो भई करङको कार्यक्षमतामा समस्या आई रोग लाग्ने जोखिम हुन्छ। व्यायाम तथा सन्तुलित रुपमा पोषण पुगेको खण्डमा धूमपान तथा मद्यपानका कारण करङमा भएको समस्यालाई समेत सामान्य अवस्थामा फर्काउन  सकिन्छ। उपचार गर्नुभन्दा पहिले त करङ सामान्य अवस्थामा बचाइराख्नका लागि यस्ता धुमपान तथा मद्यपान गर्नै हुन्न।

करङ मात्रै हैन शरीर स्वस्थ तथा मजबुत राख्न हरियो सागपात, प्राकृतिक सागसब्जी खानु पर्छ। कार्बोहाड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम, म्याग्नेसियमयुक्त भएका खाद्यपदार्थ खानुपर्छ। माछा, मासु खानु पर्छ। आजकाल बजारमा हड्डी नै मजबुत पार्ने ग्लुको रसायन, ओमेगा बार्ली (जौँका जमरा), जिन्सेङजस्ता जडिबुटीजन्य डायटरी सप्लिमेन्ट खान सकिन्छ। पर्याप्त पोषणको अभावमा करङ  भाँचिने जोखिम हुनाले सन्तुलित भोजन गर्नु आवश्यक हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment