‘र्‍यापमा छाडै बोल्नुपर्छ भन्ने हुन्न, तर अहिले त्यस्तै चलिरहेको छ’

मङ्गलबार, ३१ भदौ २०७६, ११ : ५५ शुक्रवार
‘र्‍यापमा छाडै बोल्नुपर्छ भन्ने हुन्न, तर अहिले त्यस्तै चलिरहेको छ’

बालेन शाह १४ वर्षदेखि र्‍याप गाउन सक्रिय छन्। र्‍यापमा सामाजिक मुद्दाको उठान उनको पहिचान हो। र्‍यापरपछिको उनको परिचय हो स्ट्रक्चरल इन्जिनियर। ‘आम नेपाली बुवा’, ‘तथ्य’, ‘मार्फाको मदिरा’, ‘तिमी फूल’, ‘नेपाल हाँसेको’ लगायत १५ वटा र्‍याप रेकर्ड गराएका छन् उनले। नेपालको र्‍याप कल्चर, उनको सांगीतिक यात्रा केन्द्रित भएर शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंगः

पछिल्लो पटक आएको ‘गोरखाली टोप’बोलको र्‍यापको प्रतिक्रिया कस्तो छ ?
राम्रो भा’को छ गीत। सन् २००७ तिर युनिक पोइट, एम्सी फ्लो र मैले लगभग एकै समयमा र्‍याप गाउन थाल्यौं। हामी तीनजना अहिलेसम्म पनि यही क्षेत्रमा सक्रिय छौं। सँगै एउटै गीत गरौं न  भन्ने भयो। निर्णय दाइको जन्मदिनमा भेट्दा एकसाथ गीत गाउने योजना बनाएका थियौं। त्यसपछि गोरखाली टोप गरेका हौं।

‘मार्फाको मदिरा’बोलको र्‍यापको राम्रै प्रतिक्रिया आयो हैन ?
हो। दुवै गीतमा फरक–फरक खालको दर्शक पाएँ।

प्रायः सामाजिक मुद्दामा र्‍याप हानेको देखिन्छ तर पछिल्ला दुई गीत तपाईंको ट्रेन्डबाहिर गएझैँ देखियो, किन ?
खासमा र्‍याप अमेरिकामा सोसल इस्युबाट नै सुरु भएको थियो। इन्टरनेन्टमेन्ट र्‍याप पछि मात्र आउन थालेको हो। त्यतिखेर अमेरिकामा काला जातिले गोराहरुमाझ आफ्नो हक माग्ने क्रममा र्‍याप शुरु भएको त हो ! बिस्तारै ग्याङ्स्टर र्‍याप, स्ट्रिट र्‍याप, इन्टरनेन्टमेन्ट र्‍याप अनि लभ सङ र्‍याप आउन थाल्यो। बिस्तारै विधा फरक हुँदै गयो तर सुरुवात सोसल इस्युबाट नै भएको थियो। मलाई पनि सोसल म्यासेजका र्‍याप गर्न मन पर्छ तर फरक–फरक नै छन्, सबै गीत। ‘मेरो आम नेपाली बुवा’, ‘तथ्य’ जस्ता गीतले सामाजिक मुद्दा उठाएको थियो। ‘मार्फाको मदिरा’ लभ सङ भयो। मलाई पर्सनल्ली चिनाउने गीत आउँदै छ अब, ‘सबैलाई हतार छ’ भन्ने। रेकर्ड भइसक्यो। त्यो गीत मेरै टाइपको छ।

नेपालमा त सोसलभन्दा मनोरञ्जन र्‍यापै बढी चलेको छ, हैन ?
अँ, अहिले त धेरै इन्टरटेन्टमेन्ट र्‍याप चलेका छन्। अलिकति छाडा खालको, अलिकति उत्तेजक खालको र्‍याप गायो भने छिट्टै क्याच गर्ने अनि दोहोरिइराख्ने भएकाले अहिले त्यस्तै चलिरहेका छन्।  जस्तो चल्यो, त्यस्तै आउँछन् बजारमा। अरु र्‍यापर पछि यस्तो पो चल्ने रहेछ भनेर त्यतै लाग्छन् तर हामीले कुन चल्छ भनेर गीत गर्दैनौं। जुन गर्न मन लाग्छ, त्यही गरिरहेका छौं अहिलेसम्म।

त्यै त, अहिलेका र्‍यापमा छाडापन बढी भएन र ?
जुन विषय उठाउने हो, त्योसँग जोडिने शब्द प्रयोग गर्नुपर्ने हुन्छ। जस्तैः कसैले सडक बालबालिकाको कथामा गीत बनाउँदैछ भने तिनीहरुले बोल्ने भाषा आइस्यो, गइस्यो भन्ने टाइपको त हुन्न। तिनीहरुले मुख छाडेर बोलिरहेको हुन्छन्। उनीहरुको कथा छ भने ‘रफ वर्ड’ हाल्नपुर्छ पनि। तर सभ्य भाषा प्रयोग हुने विषय उठाइएको छ भने भल्गर शब्द घुसाउन किन प-यो ? जस्तो विषय हो, त्यही हिसाबको शब्द प्रयोग गरे भइहाल्छ। तर र्‍यापमा छाडा शब्द त चाहिन्छ नै झैँ भएको छ अहिले। र्‍यापमा कथा अनुसारको शब्द प्रयोग गरे हुन्छ, छाडै बोल्नुपर्छ भन्ने हुन्न।

छाडा शब्द मिसिएको र्‍याप किन चल्छन् ?
छाडा शब्द भएको गीत मात्र होइन, फिल्म पनि उस्तै छ। सन्नी लियोनीको फिल्म अलि बढी चल्छ। उसको ‘मर्डर’ भन्ने फिल्म थियो एउटा। अमेरिकन फिल्ममा अमेरिकन पाइ भन्ने थियो। भल्गर विषयले १८ वर्ष मुनिकालाई चाँडै आकर्षित गर्ने हो कि जस्तो लाग्छ।

हल्का रफ वर्ड मिसायो भने चलिहाल्ने रहेछ गीत। हिटको पछि लागौं न त भन्ने भएन ?
त्यस्तो भा’छैन। हामीले म्युजिक गर्न थालेको तरिका नै फरक थियो। हामी, यम बुद्ध, एम्सी फ्लोले जुन कारणले संगीत सुरु ग¥र्यौं, त्यो कारण नै फरक थियो। हामीले हिट हुने मात्र गर्ने, टुर गर्दै हिँड्ने अनि एकदम तडकभडक भएर हिँड्न नै खोजेका थिएनौं। र, अहिले पनि त्यस्तो लाग्दैन।

अहिलेको नेपालको र्‍यापको ट्रेन्ड कस्तो छ त ?
अहिले संसारभर नै त्यस्तै ट्रेन्ड चलेको छ। अन्त जस्तो चलेको छ, नेपालमा पनि उस्तै छ। अहिले संसारभर नै एउटा ‘टेम्टेसन’ चलिरा’को छ। कति समय चल्छ थाह छैन। कुनै ट्रेन्ड लामो समय चल्छ, कुनै १–२ वर्ष चलेर हराउँछ।

‘टेम्टेसन’ भन्नाले ?
हिटप्रतिको आकर्षण। हिटको लागि जे पनि गर्छु भन्ने खालको। हिट भन्दा पनि इस्युको पछ्याए राम्रो हो तर अहिले सबैतिर हिटकै पछि लाग्ने ट्रेन्ड छ।

जस्तो रुचाइन्छ, त्यही गर्ने त हो ! चलेको ट्रेन्डभन्दा फरक किन हुनु त ?
हामीलाई हिटको पछि लाग्नु थिएन र छैन। भ्युजको पछि लागेर मात्र हुन्न। आफ्नो मन छोयो भने सुन्ने र हेर्नेको पनि मन छुन्छ नै। हामीलाई पानीको फोका हुनु छैन। हिट होस् या नहोस् तर जतिले सुनुन् उनीहरुको मन छोए पुग्छ।

अहिले युनिक पोइट र भिटेन चलिरहेका छन्। यी दुई कस्तो लाग्छ ?
युनिक पोइट र भिटेनमा धेरै फरक छ। भिटेनको स्ट्रिट र्‍याप विधा हो। जसमा अलिकति छाडा शब्द हुन्छन्। युनिक पोइटको त्यस्तो छैन। उनी फिलोसफीमै छन्।

र्‍यापका दर्शक–स्रोता सीमित छन् भन्ने लाग्दैन तपाईंलाई ?
अहिले सीमित भन्न मिल्दैन। अहिले भिटेनलाई हेर्ने हो भने सबैभन्दा चलेको कलाकार हो। उसको र्‍याप हिट छ। बाहिर पनि सबभन्दा एल्बम बिक्नेमा र्‍यापकै पर्छ। तर लोकदोहोरीको जस्तो त नहोला ! काठमाडौंबाहिर लोकदोहोरी हिट छ। तर अहिले र्‍यापको जति दर्शक–स्रोता छन्, त्यो सानो संख्या होइन।

तपाईको प्रारम्भिक समयबारे कुरा गरौँ न अब। आर्किटेक्ट इन्जिनियरिङ पढेको व्यक्ति र्‍यापतिर कसरी ?
म कक्षा ९ मा हुँदादेखि नै र्‍याप गाउँथे। यसको प्रारम्भ चैँ कविताबाट सुरु भएको हो। कवितापछि साथीहरुमाझ र्‍याप गाउन थालियो। २–३ वटा गीत अपलोड गरेँ। २०११–१२ तिर ‘सडक बालक’, ‘तिमी फूल’ अनि ‘प्रहरी प्रतिकार’ भन्ने गीत रेकर्ड भयो। ती गीतहरु रेडियो, टेलिभिजन बज्न थालेपछि र्‍याप ब्याटल गरें, ‘रबाज’। र्‍याप ब्याटलमा त्यो सिजनको विजेता भएपछि म्युजिकतिरै लागियो। त्यसपछि मास्टर्स पढ्न बैंगलोर गएँ। स्ट्रक्चरल इन्जिनियरिङ सकेर अहिले फेरि निरन्तरता दिएँ।

आउने जाने भइरहेको रहेछ हैन ?
अँ, अलि ग्याप भइरहेको छ। अहिले  डिजाइन अनि कन्ट्रक्सनको काम पनि भइरहेको छ। सँगै संगीतलाई पनि समय दिइरहेको छु।

म्युजिकमा भविष्य नदेखेर इन्जिनियरिङ गरेको हो ?
म्युजिकमा भविष्य छ तर मलाई यो इन्जिनियरिङ छोड्ने मन छैन। म्युजिक मात्र गरे पनि हुन्छ। इन्जिनियरिङ गरे मात्र पनि हुन्छ तर दुइटै सँगै लगौं भन्ने हो।

परिवारको दबाबले त इन्जिनियरिङ गरिएको होइन नि ?
होइन, परिवारले त बरु म्युजिक नै गर्न सुझाउनु हुन्थ्यो। इन्जिनियरिङ मेरो चाहनाले नै गरेको हुँ। बैंगलोरमा लेखेको गीत अब रेकर्ड गर्दैछु। अब उताको बसाई अनि सिकाई उपलब्धिमूलक नै रह्यो। त्यो ठाउँमा पढेर आउनु हाम्रो लागि फाइदा नै भयो। हाम्रोमा अग्ला बिल्डिङ कमै छ नि त ! १–१२ तल्लाको छ तर मैले लिएको ज्ञानले चाहिँ ४०–५० तल्ला बनाउन सकिन्छ भन्ने हो। मास्टर्स सकेको दुई वर्ष भयो। अहिले आफ्नै डिजाइनर कन्सल्टेन्सी छ।

भारतको डिभाइन र नेजीले पनि सामाजिक विषय उठाइरहेका हुन्छन्। तपाईँ उनीहरुबाट प्रभावित त होइन ?
होइन। उहाँहरुले त हामीले भन्दा धेरैपछि गर्नु भएको हो। उहाँहरुले गर्न थालेको धेरै पनि भएको छैन। लाउरे र डिभाइनको त कुरा पनि हुन्छ। लाउरे र डिभाइन त साथी पनि हुन्। इन्डियन र्‍यापरले नेपाली र्‍यापर सबै चिन्छन्। उनीहरुबाट हामी प्रभावित भन्दा पनि हामीबाट उनीहरु प्रभावित छन्। ‘इन्डियाज् रस्टार’ भन्ने आयो नेपालको ‘र बाज’कै नक्कल गरेर। त्यसैले उनीहरु हामीहरुबाट प्रभावित छन्। बरु पञ्जाबी र्‍यापर बोहिमियाले धेरै अगाडि सुरु गरेको हो। यम बुद्धको गीत इन्डियाको धेरै र्‍यापरले सुन्थे। यम बुद्ध बित्दाखेरी र्‍यापर रफ्तारले त ‘रेस्ट इन पिस’ भनेर स्टाटस लेखेको थियो।

भारतीय र्‍यापर नेपालबाट प्रभावित छन् भनेर कसरी थाह भयो ?
यम बुद्ध बित्दा पनि थाह भयो। अब लाउरेबाट पनि थाह भयो। हनी सिंहको एउटा एल्बमको लाइन छ के, ‘चाहे तुम हिन्दी, अंग्रेजी या नेपाली र्‍याप सुन्लो मैं हुँ गुड’। तिनीहरुलाई हाम्रो र्‍यापले अलिकति असुरक्षित त हुँदो रहेछ त !

हिजोआज र्‍याप ब्याटल कम हुन थालेको हो ?
अहिले पनि र्‍याप ब्याटल हुन्छ तर हामी अपडेट नभा’को हो। सिक्किम दार्जिलिङ अनि अमेरिकामा ‘रबाज’को फ्रेन्चाइज भइरहेको छ। तर पहिलाको जस्तो हिट छैन।

र्‍याप ब्याटलबाहेक गीतमै पनि एउटा र्‍यापरले अर्को र्‍यापरलाई उडाउने काम हुन्छ नि, किन ?
त्यो त कल्चर नै हो। त्यसलाई हिपअप कल्चरभित्र र्‍याप ब्याटल, डिस्ट्रा्याक्ट भन्छ। अरुलाई डिस गरेको। डिस भन्नाले डिसरेस्पेक्ट गरेको हो। अरु र्‍यापरले नराम्रो तरिकाको गीत निकाल्यो भने त्यसलाई डिस गरेर सुध्री भनेको हो। जस्तो एउटा संसद भवनभित्र कुनै पार्टीले नराम्रो काम गरिरहेको छ भने विपक्षी पार्टीले यसले नराम्रो गर्दैछ भनेर बोल्छ नि, जस्तै अहिले गगन थापाले एमालेविरुद्ध बोल्छन् नि, त्यही हो। कसैले नराम्रो गरिरहेको छ, उसको गीतबाट नराम्रो प्रतिकूल असर गरिरहेको छ भने डिस्ट्र्याक्ट निकाल्नुपर्छ। हाम्रै गोरखाली ‘टोफ’मा पनि जो–जो र्‍यापरले नराम्रो किसिमको गीत गाइरहेको छ। उनीहरुको गीतबाटै एक–एक लाइन छानेर डिस गरेका छौं। तिमीहरुको यस्तो यस्तो छ है भन्ने कुरा हाम्रो गीतमा समावेश छ।

एक समय त र्‍यापर भन्नेबित्तिकै ‘ड्रग एडिक्ट’ भन्ने छाप नै थियो हैन ?
अहिले परिवर्तन आएको छ। परिवर्तन एम्सी फ्लो, युनिक पोइटले गर्दा भएको हो। एम्सी फ्लोलाई कसैले ड्रग्स एडिक्ट भन्दैन। मलाई पनि एडिक्ट भन्दैन (छेउको लेमन सोडा पिउँदै)। अहिले आएर दर्शकले बुझ्न थाल्नु भएको छ।

अरुका र्‍याप कत्तिको सुन्नुहुन्छ ?
म र्‍याप गाउँछु तर सुन्दिनँ। कहिलेकाहीँ नयाँ र्‍याप छ भने अप्डेट हुन्छु। तर, प्रायः सेन्टिमेन्टल गीत सुन्छु। किनकि र्‍याप गीत सुन्यो भने त्यतैतिर सुनिन्छ।

अहिले नेपाली फिल्म ‘कबड्डी कबड्डी कबड्ढी’को टाइटल गीतमा पनि र्‍याप मिसाएको जस्तो सुनिन्छ नि ?
त्यो र्‍याप होइन। त्यो गीतलाई र्‍याप भन्ने हो भने र्‍यापलाई हेर्ने दृष्टिकोणमा फरक पर्न जान्छ। फिल्ममा पनि र्‍याप राख्ने तरिका छ। जस्तो युनिक पोइटले ‘नाका’ भन्ने फिल्ममा र्‍याप राख्या छ। तर, हिजोआज तरिका नमिलाई र्‍याप राखिएको छ। कालीप्रसाद बास्कोटाले गाएको त्यो गीतलाई र्‍याप मान्दिनँ। र्‍यापको नियम उनीहरुले पढेका भए थाहा पाउँथे होलान्।

फिल्ममा पनि र्‍याप गाउन अफर आएको छ ?
आउँछ। तर उनीहरु के बुझ्दैनन् भने अब मैले गीत लेखेर, कम्पोज गरेर गीत बनाउँदा जति भ्यालु हुन्छ, त्यसको मूल्य महँगो लाग्छ उनीहरुलाई। खास पैसाको लागि काम गर्ने त होइन तर तपाईँको कामको महत्व नै हुँदैन भने बार्गेनिङ नै नगरी नगरौं भनिदिन्छु। मलाई बार्गेनिङ गरेको मन पर्दैन।

आफ्नो र्‍याप भिडियोमा तपाईं आफैँ फिचर्ड हुनुहुन्छ नि, रहर हो ?
आफूले गरेको कुनै चिजमा आफू देखिएन भने त कसले गरेको भनेर सोध्छन् नि त ! त्यसैले गीतमा फिचर्ड हुन सक्छु। पाश्र्व गायकगायिका हराउँछन् नि ! अगार्निक बनाउनु प-यो।

लेडिज फ्यान त पक्कै हुनुहुन्छ होला ?
ठीक ठीकै हुनुहुन्छ। अनमोल केसी जस्तो त नहोला (मुसुक्क हाँस्दै)। मेरो त लेडिज भन्दा पनि मेल फ्यान बढी हुनुहुन्छ। सायद मेरो गीतकै कारण।

स्टेज सोमा कत्तिको हिँडिन्छ ?
पहिला हिँड्थेँ। पछि कम भयो। अब फेरि गर्ने तयारीमा छु।

तपाईँ र्‍यापमा राजनैनिक विषयलाई पनि र्‍यापमा समेट्नुहुन्छ। राजनीतितिर पनि चासो रहेछ है ?
जागरुक हुनुपर्छ। राजनीतिमा के भइरहेको छ त्यसबारे जानकार भने हुनुपर्छ भन्ने मान्यता हो।

नेपालका राम्रो र्‍यापरको नाम लिनुपर्दा ?
युनिक पोइट राम्रो छ। एम्सी फ्लो, लाउरे, भिटेन। साकार राम्रो छ।  

र्‍यापको पहिलो पुस्ताले सुरु गर्दा माहोल कस्तो थियो ?
अरुको राम्रो थिएन। लाउरेलाई परिवारको साथ थिएन। युनिक पोइट पनि कमै थियो। एम्सी फ्लोको पनि त्यस्तै। तर, मलाई त परिवारले साथ नै दिनुभयो।

अहिले त र्‍यापर धेरै देखिएका छन्। लहड हो कि अवसर बढेको ?
र्‍यापर धेरै छन् तर सबै चलेका छैनन्।

विषयवस्तुमा रहेर गाउने कमै छन् हैन ?
हाे, कतिको तरिका पनि मिलेको हुँदैन। र्‍यापरसँग स्केल, नोट कि त इन्स्ट्रुमेन्टको ज्ञान हुनुपर्छ। केही न केही म्युजिकको ज्ञान नभई लाग्नु हुन्न। म्युजिकमा ज्ञान छैन यहाँ। त्यत्तिकै हान्दिउँ न त भनेर स्टुडियो गइरहेका हुन्छन्।

Leave A Comment