तीन वर्षअघि प्लस टु पछि ब्रिजकोर्स गरिरहेको बेला तिमीसँग भेट भएको थियो। त्यो भेटको क्षण अहिले सम्झँदा पनि रमाइलो लाग्छ। म्यासेन्जरबाट सुरु भएको तिम्रा र मेरा वार्तालाप मेरो मस्तिष्कमा अझै ताजा छ। ब्रिजकोर्स सकिएपछि तिम्रो र मेरो भेट नभए पनि मेसेन्जरबाट निरन्तर कुराकानी भइरहेको थियो। मनमा तिम्रा लागि केही फिलिङ्स आइरहेका थिए तर तिमीलाई भन्न सकिरहेको थिइनँ।
म्यासेन्जरबाट हामी फोनमा उक्लियौँ। यसपछि हाम्रो कुराकानी फोनमा पनि लम्बिन थाल्यो। मैले तिमीलाई मेरो मनको कुरा भनेँ पनि। तिमीले केही प्रतिक्रिया जनाइनौँ। त्यो मेरो फिलिङस् फिलिङस्मा नै सीमित रह्यो। तर म केमा सन्तुष्ट थिएँ भने मेरा भावना तिमीलाई भनिसकेको छु। मैले मनको बोझ हलुंगो बनाइसकेको छु। अब प्रतीक्षा यति मात्र थियो कि तिमीले त्यसलाई स्वीकार गरिदेऊ।
तिमी यस विषयमा केही नबोले पनि अन्य विषयमा राम्रोसँग नै बोल्थ्यौँ। म खुशी नै थिएँ किनभने तिमीले पूरै मित्रता त्यागेकी थिइनौ। तिमी नर्सिङ पढ्यौ, मैले साइन्स पढेँ। शायद पढाइको चापले पनि हाम्रो धेरै कुरा हुन सकिरहेको छैन। यसबीच तिमीप्रतिको माया बढेको बढ्यै छ। तिमीलाई कति बुझाउन खोजेँ तर तिमीले बुझ्न चाहेकी छैनौ। म अहिले पनि तिमीलाई उत्तिकै माया गर्छु। तिम्रो मन बद्लिने आशामा अझै पनि म प्रतीक्षामा छु।
स्रोत : नेप्लीज टिनेजर्र्स कन्फेसन
Leave A Comment