किन जीवनदेखि अघाइन् प्रत्यूषा ?

बिहिबार, ०६ जेठ २०७३, ०३ : ४७
किन जीवनदेखि अघाइन् प्रत्यूषा ?

भारतीय टेलिभिजन च्यानल ‘कलर्स’बाट प्रसारित हुने चर्चित टेलिसिरियल ‘बालिका वधू’बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्जी १ अप्रिलका दिन मुम्बईको गोरेगाँवस्थित आफ्नो घरमा मृत फेला परिन् । घरको छतको पंखामा झुन्डिएको अवस्थामा उनको लाश भेटियो । उनले आत्महत्या गरेको भनिएको छ । १ अप्रिलमा घटना भएकाले प्रत्यूषाका कतिपय साथीले उनको आत्महत्याको खबरलाई ‘अप्रिल फुल’ ठानी पत्याउँदै पत्याएनन् भने कतिपयले साहसी र जीवनलाई माया गर्ने प्रत्यूषाले आत्महत्या गर्नै नसक्ने बयानसमेत दिए । उनको मृत्युले सबैलाई अचम्भित बनाएको छ ।

ब्वाइफ्रेन्ड अभिनेता÷निर्माता राहुल राज सिंहमाथि उनलाई आत्महत्याका लागि उक्साउने, धम्क्याउने र घरेलु हिंसा गर्ने आरोप लगाउँदै केस दर्ता गरिएको छ । मिडियासँग कुरा गर्दै प्रत्यूषाका साथी सौम्या पंजाबी र विकास गुप्ताले राहुलले प्रत्यूषालाई धोका दिएको र उनीहरूबीच सम्बन्ध राम्रो नभएको दाबी गरेका छन् । विकासले दाबी गरेका छन्– राहुलकी पूर्वप्रेमिका सलोनी शर्माले प्रत्यूषामाथि दुव्र्यवहार गर्ने गर्थिन् ।

काम्याले भनेकी छिन्– ‘तीनचार दिनअघि प्रत्यूषाले मलाई फोन गरेकी थिइन् र राहुलले आफूलाई धोका दिएको कुरा बताएकी थिइन् । आफू यस सम्बन्धमा रहन नचाहेको र यस सम्बन्धलाई समाप्त गर्न चाहेको पनि प्रत्यूषाले भनेकी थिइन् ।’

आत्महत्याको मामिलामा प्रत्यूषाकी वकिल फाल्गुनी ब्रह्मभट्टले भनेकी छिन्– ‘प्रत्यूषा राहुलविरुद्ध मुद्दा दर्ता गराउन चाहन्थिन् । त्यसका लागि उनले मलाई फोन पनि गरेकी थिइन् । घटना भएको दिन उनी मलाई भेट्ने विचारमा थिइन् । उनले राहुल र केही आर्थिक पक्षबारे मलाई भनेकी थिइन् । कानुनी सल्लाह र मद्दत चाहन्थिन् । उनीमाथि धेरै अत्याचार भइरहेको थियो ।’
प्रत्यूषाका साथी काम्या र विकासले पनि दाबी गरेका छन् कि राहुल सार्वजनिक स्थान र पार्टीमा प्रत्यूषामाथि हात उठाउँथे ।

घटनालगत्तै राहुल श्वास–प्रश्वासको समस्याका कारण अस्पताल भर्ना भएका थिए । आर्थिक समस्याका कारण तनावमा भएकाले आत्महत्या गरेको आरोप राहुलका आमाबुबाले उल्टै प्रत्यूषामाथि लगाएका छन् । राहुलका बुबाले प्रत्यूषाका अभिभावकमाथि आरोप लगाएका छन् कि उनीहरूले प्रत्यूषालाई आर्थिक रूपमा कमजोर बनाइसकेका थिए । त्यसैले प्रत्यूषा आफ्ना अभिभावकविरुद्ध मुद्दा दायर गर्ने सोचमा थिइन् । ‘प्रत्यूषा लाखौँ कमाउँथिन् तर पनि उनी आर्थिक रूपमा कमजोर थिइन् । उनले कमाएको पैसा कहाँ जान्थ्यो ?’ राहुलका बुबाले भनेका छन्, ‘प्रत्यूषाका अभिभावकले उनको नाममा ५० लाखको ऋण निकालेका थिए । साहूहरूले उनलाई पैसा मागेर हैरान पारिरहेका थिए । त्यसैले उनी चिन्तित थिइन् ।’

तर, उनीहरूको आरोपविपरीत प्रत्यूषाका साथी विकासले भनेका छन्, ‘प्रत्यूषा एक मध्यम वर्गीय परिवारसँग सम्बन्धित थिइन् । उनी बिहे गरेर घरजम गर्न चाहन्थिन् । मैले उनलाई एउटा सोको प्रस्ताव पनि गरेको थिएँ तर व्यक्तिगत समस्याका कारण उनले त्यो प्रस्ताव स्वीकार गरिनन् ।’

विकासका अनुसार प्रत्यूषालाई आर्थिक समस्या थिएन । उनी गेस्ट रोलका लागि मात्र एक लाख रुपैयाँ लिने गर्थिन् । ‘प्रत्यूषा आर्थिक रूपमा मजबुत थिइन् । राहुलका आमाबुबा आफ्नो छोरालाई बचाउन जानीबुझी भ्रम फैलाउँदै छन्,’ विकासले भनेका छन् ।

अर्कोतिर प्रत्यूषाकी सहयोगीका अनुसार राहुल र प्रत्यूषाबीच झगडा भइराख्थ्यो । उनीहरूको कोठाबाट कराएको आवाज आउने उनले आफ्नो बयानमा भनेकी छिन् । प्रत्यूषाका सबै एटीएम र चेक राहुलले आफूसँग राखेकाले औषधि, ट्याक्सीजस्ता स–साना खर्चका लागि उनले आफूसँग पैसा माग्ने गरेको कुरासमेत सहयोगीले बयानमा खुलाएकी छिन् ।

अन्य टेलिभिजन अभिनेत्री हीर पटेलले राहुललाई ‘सिरियल चिटर’ भनेकी छिन् । ‘राहुल एउटा ‘सिरियल चिटर’ हो । ऊ कतिपय रिलेसनसिपमा रहिसकेको छ । उसले धेरै केटीहरूलाई धोका पनि दिएको छ,’ उनले भनेकी छिन्, ‘मैले पनि उसलाई २५ लाख रुपैयाँ ऋण दिएको थिएँ । उसले एक सुको पनि फर्काएको छैन । माग्दा उल्टै मलाई अपहरणको केसमा फसाउने धम्की दिन्छ । कोर्टमा हामीहरूको केस चलिरहेको छ । उसले एक जना एयर होस्टेससँग बिहे गरेर सम्बन्ध–विच्छेद पनि गरिसक्यो । तर, यसबारे कसैलाई भनेको छैन । मलाई विश्वास छ पक्कै पनि उसले नै प्रत्यूषालाई दुःख दिएको होला । त्यसैले उनले आत्महत्या गरेकी होलिन् ।’

२४ वर्षीया प्रत्यूषा १७ वर्षको उमेरमा टेलिभिजन क्षेत्रमा प्रवेश गरेकी थिइन् । टेलिसिरियल ‘बालिका वधू’मा ‘आनन्दी’ बनेर उनले आफ्नो पहिचान बनाएकी थिइन् । मध्यम वर्गीय परिवारबाट सम्बन्धित प्रत्यूषाले कक्षा १० सम्ममात्र पढेकी थिइन् । उनी आमाबुबाकी एक्ली सन्तान थिइन् । नृत्यकी सोखिन उनले पढ्दाताका कथक नृत्य र मोडलिङको तालिम लिएकी थिइन् । १७ वर्षको उमेरमा उनले स्टेज सो गर्न सुरु गरिन् । अभिनयमा आउनुअघि उनी मोडलिङ गर्थिन् । पछि करिअरको खोजीमा उनी जमशेदपुर, झारखण्डबाट मुम्बईतिर लागिन् । सन् २०१० मा उनले टेलिसिरियल ‘बालिका वधू’मा आनन्दीको भूमिकामा अभिनय गर्ने अवसर पाइन् । यस भूमिकाबाट उनले प्रशस्तै चर्चा कमाइन् । यसपछि उनी सन् २०१२ मा ‘झलक दिखला जा’मा सहभागी भइन् । सन् २०१३ मा ‘बिग बोस’का घरमा उनले ६३ दिन बिताइन् । ‘हम है ना’, ‘इतना करो ना मुझे प्यार’, ‘ससुराल सिमर का’, ‘कुमकुम भाग्य’, ‘आहत’, ‘पावर कपल’ र ‘कमेडी सर्कस’मा पनि उनले काम गरिन् । ‘पावर कपल’मा उनले राहुलसँगै भाग लिएकी थिइन् ।

 

Leave A Comment