रियालिटी चेक : फ्लप भए प्रमोद

बिहिबार, ०२ असोज २०७६, ०४ : २० भोला अधिकारी
रियालिटी चेक : फ्लप भए प्रमोद

भ्वाइस अफ नेपालको दशैं एसिसोडको अन्तिममा मञ्चमा आइपुगिन् विमोचना लम्जेल । संगीतको ताल शुरु भएसँगै भारतको दार्जिलिङबाट आएकी उनले गाइन्, ‘भैसी लड्यो है माया ।’ 

स्वर सुरिलो थियो । एक एक गर्दै चारै जना कोच उनीतिर फर्किए । कोच फर्किएसँगै कुर्सी तल लेखियो, ‘आई वान्ट यू’ । कोच प्रमोदले उनलाई फेरि गाउन लगाए । उनले निर्धक्क गाइदिइन् ।

कोचले सोधे, ‘यो कसको गीत हो थाहा छ ?’ मुसुक्क हाँस्दै उनले भनिन्, ‘मेरी आमाले गाउनुभएको !’ 
सबै कोच छक्क !

उनी थिइन्, लोक गायिका डेजी बराइलीकी छोरी, जसले ४४ वर्षअगाडि १६ वर्षको उमेरमा यो गीत गाएकी थिइन् । 
संगीतको अभ्यास गरिरहेकी उनले नेपालमा भइरहेको सांगीतिक कार्यक्रम भ्वाइसको ब्लाइन्ड अडिसन पार गर्न आफ्नै आमाको गीत छानेकी थिइन् ।

प्रतियोगी लिजेन्ड गायिकाकै सन्तान भएको खुलेपछि सबै कोचले आमा–बाबा आउनुभएको छ ? भनेर सोधे । उनले छ भन्दै मञ्चमा बोलाइन्, ‘आमा–बाबा आउनुस् ।’

मुस्कुराउँदै डेजी र उनका श्रीमान् मञ्चमा देखिए । चारै जना जजको अनुहार प्रफुल्ल भयो । डेजीलाई मञ्चमा पाएका जजले के छाड्थे ! एक गीत गाउन आग्रह गरिहाले । उनले उही गीत गाइन्, ‘भैसी लड्यो है माया भीरबाट हेर ।’
उनले गाउँदा स्वर बिग्रिएको छ है, भनेकी थिइन् तर सुन्दा त्यस्तो लागेन । उस्तै सुरिलो र लयमा थियो उनको स्वर ४४ वर्ष अगाडिझैँ ।

डेजी बराइलीकी छोरीलाई आफ्नो टिममा पार्न चारै कोच लालायित थिए । उनीहरुले शालिन पारामा अफर गरे, आफ्नो टिममा आउन । कोच आस्थाले पनि आफ्नो नौटंकी स्वभाव सम्हालेकी थिइन्, यो बेला । लागेको थियो, पक्कै उनी कोच दीपको टिममा जानेछिन् तर उनले छानिन्, कोच प्रमोद ।

फ्लप भए प्रमोद
झापातिरबाट कोही आयो कि कोच प्रमोदको पारा नै बेग्लै हुन्छ । एक त प्रतियोगी फकाउनै माहिर छन् उनी । झापाको परेपछि त ‘ए हाम्रै झापाको पो ?’ भनेर लटपट पारेर प्रतियोगीलाई आफ्नो टिममा ल्याइहाल्छन् उनले ।
तर नवौं एपिसोडमा भने उनको जादु चलेन । कोच दीप नै हावी भए उनीमाथि । झापाबाट आएका प्रतियोगी उनीतिर हैन कोच दीपतिर लागिदिए ।

एपिसोड नौको पहिलो प्रस्तुति हेटौडाका विनय कार्कीको थियो । उनको गायकीले चारै कोचको कुर्सी घुम्यो । उनी बोल्दा, आवाज अड्कन्थ्यो । भकभकको समस्या रहेछ तर गाउँदा भने बुलन्द । 

उनी कोच प्रमोद र आस्थाका लागि नौला रहेनछन् । प्रमोदले त उनको कम्पोजमा चार वटा गीत गाइसकेका रहेछन् । आस्था पनि परिचित रहिछन् । माहोल हेर्दा उनी प्रमोदतिर जाने चान्स बढी थियो तर गइदिए कोच दीपको टिममा ।
सिन्धुपाल्चोकबाट भ्वाइस अफ नेपालमा सहभागी हुन आएकी प्रतियोगी सृष्टि सुनारले ‘दिल यो मेरो दिल’ बोलको गीत गाइन् । उनको गायनले कोच राजुको कुर्सी घुमायो । कार्यक्रममा उनले आफ्नो दुःख पनि बिसाइन् । बाबुले कान्छी आमा ल्याएका रहेछन् । उनको दुःख सुनेर कोच र दर्शक दुवै भावुक भए । राजु मात्र घुमेकाले उनी स्वतः उनकै टिममा परिन् ।

प्रतियोगी विकास लिम्बुले ‘मैले पुण्य मन पराए’ बोलको गीत गाए ।   पहिलो कुर्सी घुमाउने कोच प्रमोद थिए । अन्य कोचको पनि कुर्सी नघुमी रहन सकेन घुम्यो । उनलाई सबै कोचले आ–आफ्नो टिममा बोलाए । प्रमोद आफू पहिलो पटक घुमेको र आफू नघुमेको भए अरु नघुम्न नि सक्थेसम्म भन्न भ्याए । तर उनको फकाउने कला काम लागेन । विकास टिम दीपकोमा गए । दोस्रो पटक प्रमोद फ्लप भए । कोच आस्थाले सटायर हान्ने मौका छाडिनन् । ‘झापाली भनेर मात्र काम लाग्दैन’ भन्दै प्रमोदलाई व्यंग्य कसी हालिन् । 

श्रीमान्–श्रीमती नै असफल
नवौं एपिसोडमा श्रीमान्–श्रीमती नै अडिसनमा सहभागी भए । कार्यक्रमले पनि निकै महŒव दिएको थियो, उनीहरुलाई नाटकीय अभिनय गराउँदै प्रस्तुत गरिएको थियो, दुवैको परिचय विदिषा शाक्य र युस्के केसी । 

दुवैले एक्लाएक्लै पुरानो लोकलयको गीत गाएका थिए तर दुवैको प्रस्तुतिमा कुनै कोचको पनि कुर्सी घुमेन ।
भारतको दार्जिलिङबाट आएकी आकांक्षा थापाले तीन जना कोचका कुर्सी फर्काउन सफल भइन् । १८ वर्षीया थापाले ‘आज बाह्र हाते पटुकी’ बोलको गीत गाएकी थिइन् । उनलाई तान्नका लागि कोच प्रमोदले आफ्नो कक्षा आठमा पढ्दाको कुरा सम्झाए । ‘मैले कक्षा आठमा पढ्दा आकांक्षाले नाटक लेखेको’ भनेर मख्ख बनाइदिए । 
कोच राजुले गीत गाएर आफूतिर बोलाए तर उनी कोच दीपको टिममा समावेश भइन् । छोरीले ब्लाइन्ड अडिसन पास गरेकोमा खुसीले बाउआमाको आँशु थामिएन र धरधरी नै रोए । 

एपिसोड १० मा पनि उस्तै माहोल बनेको थियो । यस एपिसोडको पहिलो अडिसन दिन आएकी सुनिता बिसीले कुनै कोचको कुर्सी घुमाउन सकिनन् । धरानका अभित राईले अनिल सिंहको ‘डुब्न देऊ मलाई’ गीत गाएर सबै कोचलाई डुबाउन सफल भए । 

अभितलाई फकाउन आस्थाले बढी नै नौटंकी गरिन् । आफूलाई भित्र छोएको भन्दै छाती पिट्न थालिन् । माया माया भन्दा आफैँलाई बोलाए जस्तो भयो भन्दै स्टेजमै पुगेर अंकमाल गरिन् । उनको नौटंकीले काम गरेन । उनी कोच प्रमोदको टिममा गए । अर्की प्रतियोगी सम्झना तामाङको गीत ठिकै रह्यो । उनी कोच राजुकोमा समावेश भइन् । 

सशस्त्रका इन्स्पेक्टरको जादु
सम्झनालगत्तै अर्का प्रतियोगी पृथ्वी खनाल मञ्चमा आए । सशस्त्र प्रहरीका इन्स्पेक्टर रहेका खनालले कोच राजुलाई मात्र फर्काउन सफल भए । उनले ‘साथीभाइ जर्नेल कर्नेल’ बोलको गीत गाएका थिए । 

अनिश महर्जनको प्रस्तुति त्यत्ति जमेन । रक फ्लेवरको गीत गाएका उनकोमा कोच आस्था मात्र फर्किइन् । 
झापा दमकबाट आएका राजीव पाठकले ‘मस्की मस्की’ बोलको गीत गाए । उनको गायनले सबै कोचको कुर्सी घुमाउन सफल भयो तर यहाँ गायनको भन्दा बढी चर्चा उनको कपालको भयो । उनको हेयर स्टायल कोच प्रमोदसँग मिल्यो । उनले कपाल फिँजाएर नै देखिाइदिए । यो पालि भने प्रमोदको प्रयास जम्यो । उनी उतै गए । 
झापाबाट आएका अर्का प्रतियोगी बलराम राजवंशीले कोच दीपकै गीत गाए । उनी कोच प्रमोदकै टिममा गए । 
 

Leave A Comment