शुक्रवार एक्सक्लुसिभ : सोझा नेताको गम्भीर अपराध

शुक्रबार, ०३ असोज २०७६, ०६ : २० प्रजु पन्त
शुक्रवार एक्सक्लुसिभ : सोझा नेताको गम्भीर अपराध

सोझो र इमान्दार छवि बनाएका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पदको दुरुपयोग गर्दै गम्भीर अपराध गरेको प्रमाण शुक्रवारले फेला पारेको छ । उनको अपराध हो, आफ्ना दुई नातिका बाबु र आमा नै परिर्वतन गरिदिने । 

तीन पटक सांसद भएका उनले आफू संविधानसभाको सभासद् भएको बेलामा काुनन छलेर जेठा छोरा सचित्र केसीतर्फका दुई छोरा सचित र सचिन केसीलाई कान्छा छोरा विष्णु केसीका छोरा बनाइदिएका हुन् । उनले दुवै नातिको बाबु मात्रै हैन, आमा समेत फेरिदिए । 

शुक्रवारले प्राप्त गरेको प्रमाणअनुसार यो अपराध भएको हो– २०६७ माघ ५ गते । सोही दिन प्रशासनले पत्तै नपाई चित्रबहादुरका जेठा छोरा सचित तर्फका दुई छोरा कान्छा छोरा विष्णुतर्फका सन्तानमा परिणत भए ।

कानुनअनुसार एकै परिवारका सदस्य भए पनि धर्मपुत्र या धर्मपुत्री बनाउने कानुनी बाटो भए पनि बाहिर रहेर एकै दाजुभाइका छोरा–छोरीको आमा–बाबु परिर्वतन सम्भव हुन्न । धर्मपुत्र–धर्मपुत्री बनाउन पाउने पनि छुट्टै कानुनी प्रक्रिया र शर्त छन् । तर केसी परिवारले धर्मपुत्रसम्बन्धी कानुनी प्रावधानबाट नाबालकहरुको आमा–बाबु परिर्वतन गरेका हैनन्, संरक्षक बनाएका पनि हैनन् । कानुनलाई सिधै ढाँटेर आमा–बाबु नै बदलिदिएका हुन् । 

शुक्रवारले प्राप्त गरेको प्रमाणमा चित्रबहादुरले आफू सभासद भएको समयमा प्रभावमा पारेर गाउँ विकास समितिबाट झूटो सिफारिस बनाउन लगाई सोही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट नाबालिग परिचयपत्र बनाउन लगाएको देखिन्छ । 

कानुनी रुपमा सचित र सचिनको बाबु–आमा नै बदल्दा सचितको उमेर १२ वर्ष थियो भने सचिन ६ वर्षका थिए । स्रोतका अनुसार जेठा पट्टिका दुई छोरालाई कानुनलाई छलेर कान्छा छोरा विष्णुपट्टिका छोरा बनाउन चित्रबहादुर आफैँ खटिएका थिए । स्रोतका अनुसार चित्रबहादुरले कानुन मिचेर काम गर्न लागेको जानकारी पाएपछि जनमोर्चाका केही कार्यकर्ताले त्यस्तो नगर्न आग्रह गरेका थिए ।

तर उनले नमानेपछि कमसेकम सो प्रक्रियामा आफैँ प्रत्यक्ष सहभागी नहुन सुझाव दिए पनि उनले मानेनन् र आफैँ जिल्ला प्रशासन कार्यालय बाग्लुङ पुगेर जेठा तर्फका दुवै छोरालाई कान्छा तर्फका छोरा बनाइछाडे ।
तत्कालीन माल्म गाउँ विकास समितिबाट यी दुवैको नाबालिग प्रमाणपत्रको सिफारिस बनेको थियो । गाविसको नाबालिग प्रमाणपत्र सिफारिसपत्र बोकेर केसी परिवार जिल्ला प्रशासन कार्यालय बाग्लुङ गयो ।

गाविसको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट २०६७ माघ ५ मा सचित र सचिनको नाममा ११०४ र ११०६ नम्बरको नाबालिग प्रमाणपत्र जारी भयो । 

प्रमाणपत्र जारी हुनु भन्दा अगाडिसम्म सचित र सचिनका वास्तविक र कानुनी बाबु सचित्र केसी र आमा तारा गिरी थिए । प्रमाणपत्र जारी भएपछि यी दुवैजनाको कानुनी रुपमा बाबु काका विष्णु केसी भए भने आमा काकी मीरा केसी पुरी भइन् ।

चित्रबहादुर संलग्न भएर भएको आपराधिक घटनाबारे शुक्रवारले सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय बाग्लुङको ढड्डामा रहेको विवरण खोजी गरेको थियो । नाबालिग प्रमाणपत्र जारी भएपछि विवरण राखिने सरकारी ढड्डामा सचित र सचिनको बाबु–आमाको विवरणमा काका विष्णु र काकी मीराकै नाम फेला प¥यो । 

झूटो प्रमाणको आधारमा राहदानी

(तत्कालिन दुइ नाबालिगकाे नाममा राहदानी लिन  दिएकाे राहदानी फारम )

झूटो विवरणको आधारमा सरकारी कागजपत्र बनाउने क्रम यत्तिमै रोकिएन । जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट जारी भएको नाबालिग प्रमाणपत्रको आधारमा केसी परिवारले ती दुवै बालकको राहदानीसमेत बनाए । 

केसीको परिवार काठमाडौँ आएर आकस्मिक रुपमा राहदानी बनाएको देखियो । उनीहरुले माघ ५ मा नाबालिग प्रमाणपत्र बनाएका थिए । सोही नाबालिग परिचयपत्र र आवेदनका आधारमा राहदानी विभागले सचित र सचिनको नाममा २०६७ माघ २० (सन् २०११ फेब्रुअरी ३) मा राहदानी जारी भयो । 

राहदानी आवेदन पत्रमा नाबालिगको खबर गर्ने निकटतम व्यक्तिको नाममा भानु केसीको नाम छ । भानुसँग सचित र सचिनको सम्बन्ध खुलाउने महलमा दिदी लेखिएको छ । 

यस विषयमा चित्रबहादुरको प्रतिक्रिया लिने शुक्रवारको प्रयास सफल भएन । उनी पार्टीको कामका लागि भारत गएका छन् । पार्टी प्रवक्ता तथा सांसद दुर्गा पौडेलले चित्रबहादुरसँग सम्पर्कका लागि दिएको भारतीय नम्बरमा फोन गर्दा आनन्द शर्माले उठाए । उनले चित्रबहादुर केसी अहिले आफूसँग नभएको बताए । उनलाई शुक्रवारले सम्पर्क गर्न खोज्नुको कारण खुलाउँदै सम्पर्कमा ल्याइदिन आग्रह गर्दा ‘म उहाँलाई फोन गरेर कल गर्छु’ भनेका थिए तर बुधबार बेलुकासम्म उताबाट फोन आएन ।

यस प्रकरणबारे दुवै बालककी आमा तारा गिरीको भारतीय नम्बरमा सम्पर्क गर्दा अर्कै व्यक्तिले फोन उठाए । ती व्यक्तिलाई फोन गर्नुको कारण खुलाएपछि उनी अहिले आफूसँग नरहेको बताए । यसलगत्तै ताराको माइती पक्षबाट फोन आयो र भने, ‘यस विषयमा उनी केही बोल्न चाहन्नन् ।’

चित्रबहादुरका जेठा छोरा सचित्र केसीलाई यस विषयमा फेसबुक म्यासेन्जरबाट सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन । उनी अहिले जापानमा छन् ।

चित्रबहादुरले ढाँटेर दुई नातिका आमा–बाबु नै बदलिदिएको विषयबारे पार्टीमा समेत छलफल भएको सूचनाको आधारमा जनमोर्चाकी प्रवक्ता पौडेलसँग प्रतिक्रिया लिँदा उनले निकै हल्का प्रतिक्रिया दिइन् । भनिन्, ‘दाजुका छोरा आफ्नै छोरा बराबर हुन् । जेठोका छोरालाई कान्छोका बनाउँदा राष्ट्रलाई केही क्षति पुग्दैन ।’

जापान लान बदलिए बाबु–आमा
गैरकानुनी रुपमा दुई बालकको आमा–बाबु नै बद्लिनुको कारण देखियो, जापान मोह । चित्रबहादुरका कान्छा छोरा विष्णु जापानमा छन् । चित्रबहादुरले दुई नातिलाई जापान पठाउने मोहकै कारण उनीहरुका आमा–बाबु नै बदलिदिएको देखियो ।

जुन बेला नाबालिग प्रमाणपत्र बनाइयो त्यो बेला जेठा छोरा सचित्र भने नेपालमै थिए । २०५९ तिर उनी कोरिया गएका थिए तर त्यहाँ बस्न नसकेपछि पुनः नेपाल फर्किएर बाबुको पार्टीको सांस्कृतिक समूह रक्तिम सांस्कृतिक अभियानमा संलग्न भएका थिए । 

जेठो छोराको पारिवारिक सम्बन्ध पनि राम्रो भएन । उनकी जेठी बुहारीको माइती भारतमा बस्छन् । श्रीमान्सँगको सम्बन्ध राम्रो नभएपछि उनी प्रायः भारतमा बस्थिन् । अहिले दुवैको छोडपत्र भइसकेको छ ।

जेठा छोरा सचित्रको आर्थिक अवस्थासमेत राम्रो नभएपछि दुवै सन्तानको लालनपालन राम्रो हुन सकेन । यसैबीच कान्छा छोरा विष्णुले आफू तर्फका दुई छोरा जापान लैजान उनीहरुको नाबालिग प्रमाणपत्र बनाउन नेपाल आएको बेला चित्रबहादुरले जेठा तर्फका दुवै सन्तानलाई समेत जापान पठाउन सजिलो हुने भन्दै जेठाका सन्तानको आमा–बाबु कान्छो छोरा र कान्छी बुहारी बनाइदिए । 

केसी परिवार निकट स्रोतका अनुसार पारिवारिक सल्लाह अनुसार नै जेठापट्टीका दुवै छोरालाई कान्छो छोराको सन्तान बनाइएको हो । शुक्रवारले प्राप्त गरेको प्रमाण पनि स्रोतको दाबी निकट देखियो । जेठा सचित्रका दुवै छोरा र कान्छा विष्णुका दुवै छोराको नाबालिग प्रमाण पत्रको सिफारिस, नाबालिग प्रमाणपत्र जारी भएको मिति र राहदानीका लागि आवेदन दिएको मिति एकै छ ।

राहदानी बनेपछि चित्रबहादुरका कान्छा छोरा विष्णुले आफू तर्फका सक्कली दुवै छोरालाई जापान लगे । बाबु–आमा नै नक्कली राखेर बनाएको राहदानीको आधारमा जेठा सचित्रका दुई छोरामध्ये सचित जापान गइसकेका छन् । स्रोतका अनुसार उनी केही महिना अगाडि नेपाल आएर विवाह गरी उतै फर्किसकेका छन् । 

जेठा तर्फका कान्छा छोरा सचिन भने नेपालमै छन् । स्रोतको दाबीअनुसार केही महिना अगाडि भारतमा बस्ने उनकी आमा तारा गिरी नेपाल आएर सचिनलाई कलेज भर्ना गरेर फर्किएकी थिइन् । चित्रबहादुरका जेठा छोरा सचित्र अहिले जापान गइसके । उनको फेसबुकमा राखिएको विवरण हेर्दा उनी पनि चार वर्ष अगाडि जापान पुगेका हुन् । अहिले उनी उतै छन् र हालै जापानमा रक्तिम परिवारको अध्यक्ष चुनिएका छन् ।

तीन वर्षदेखि लुकाइएको रहस्य
चित्रबहादुर केसीले गरेको बदमासी नौ वर्षपछि सार्वजनिक भए पनि यो प्रकरण उनको पार्टीभित्र उठ्न थालेको भने तीन वर्ष भइसक्यो । यस प्रकरणबारे जानकार पार्टीका नेताहरुले पार्टी बैठकमा पटक–पटक कुरा उठाउन खोजे पनि जनमोर्चा नेपालको भूमिगत संगठन नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह, जनमोर्चाका अध्यक्ष चित्रबहादुर आफैं र जनमोर्चाकी पार्टी प्रवक्ता तथा सांसद दुर्गा पौडेलले ‘व्यक्तिगत विषय पार्टीमा छलफल नगरौं’ भन्दै पन्छाएका थिए ।

पार्टीका प्रभावशाली तीन जना नेताले पेलेपछि अन्य नेता तथा जानकार केही कार्यकर्ता भने मौन बसे । स्रोतका अनुसार चित्रबहादुरकी तत्कालिन जेठी बुहारीले समेत आफ्ना दुवै छोराको आमा नै बदलिदिएको भन्दै पार्टीमा कुरा उठाएकी थिइन् तर उनलाई पनि पेलपाल गरेर मौन बनाइयो ।

तीनै जनाले नेताले पेलपाल पारेर यो विषय दबाउन खोजे पनि विषय भने भित्रभित्रै भुसको आगोझैँ सल्किरहेको थियो । पार्टीबाहिर भने कुरा चुहिएको थिएन । आन्तरिक बैठकहरुमा भने राष्ट्रियताको कुरा गर्ने पार्टी अध्यक्षले आफ्नै नातिका आमाबाबु नै बदल्ने अपराध गरेको भन्दै बहस चलाइरहेका थिए ।

गएको भदौ ६ र ७ मा बाग्लुङमा पार्टीको जिल्ला प्रशिक्षण भेला राखिएको थियो । प्रशिक्षणका प्रमुख अतिथि चित्रबहादुर केसी नै थिए ।  भित्रभित्रै सल्किरहेको सो विषय प्रशिक्षण कार्यक्रममा पुनः उठ्यो । प्रशिक्षणमा चित्रबहादुरले राष्ट्रियतामा खतरा उत्पन्न भएको भन्दै कार्यकर्तालाई राष्ट्रियता बचाउन पार्टीको अभियानमा खट्न निर्देशन दिएका थिए । 

बन्दकोठामा भएको कार्यक्रममा दर्शकदीर्घामा रहेका एक कार्यकर्ताले सोधे, ‘तपाईं राष्ट्रियता बचाउने कुरा गर्नुहुन्छ तर आफूले किन जेठो छोरा–बुहारी सचित्र केसी र तारा गिरिका दुई छोराहरु सचिन र सचितलाई कान्छा छोरा विष्णु केसी र मीरा केसी पुरीको बनाउनुभयो ?’

पुरानै प्रसंग उप्काइएपछि उनले सुरुमा व्यक्तिगत कुरा यता नउठाउनु भनेर जंगिए । कार्यकर्ताले प्रश्न सोध्न नछाडेपछि उनले ‘मेरो जेठो छोरो लफङ्गोेलफङ्गो टाइपको थियो । कान्छो छोरो जापान ग’को त्यही भ’र उल्ले मिला’र लग्यो नाबालिग प्रमाणपत्र बनाउने बेला म साक्षी बस्या हो’ भनेर स्वीकार गरेको प्रशिक्षणमा सहभागी स्रोतले शुक्रवारलाई बतायो । 

प्रस्टीकरण दिने क्रममा उनले ‘मैले मात्र गरेको हो र ? अरुले पनि गरेका छन् नि !’ भनेर थुम्थुम्याउने प्रयास गरेका थिए । कार्यकर्ताले चित्त बुझाएनन् तर कार्बाही हुने डरले बाहिर सार्वजनिक गर्न पनि सकेनन् । 

पारिवारिक मोहले फन्दामा
चित्रबहादुर नेपाली कम्युनिस्ट आन्दोलनका सम्मानित नेता हुन् । काठमाडौँमा भाडामा बस्ने, सार्वजनिक यातायात प्रयोग गर्ने, साधारण जीवनशैली र प्रस्ट वक्ताका कारण कम्युनिस्ट बाहिरका नेता कार्यकर्ताले पनि उनलाई रुचाउँछन् । 
सामान्य नागरिकले सहज रुपमा बुझ्ने गरी राजनीतिक मुद्दा उठाउने, तुक्का हान्दै विपक्षीमाथि प्रहार गर्ने उनको शैलीका प्रशंसक धेरै छन् । उनका चेलाहरु राजनीतिक यात्रामा लागेर विलासी जीवनशैलीमा प्रवेश गरिसक्दा पनि उनी भने साधारण जीवनशैलीमा रहे । उनी काठमाडौंको मैतीदेवीको घट्टेकुलोमा अहिले पनि डेरामै बस्छन् । 

लामो राजनीतिक यात्रामा २०४४ बाट निरन्तर जनमोर्चा नेपालको अध्यक्ष भइरहेका उनी तीन पटक बाग्लुङबाट सांसद भए । एक पटक उपप्रधानमन्त्री समेत भए पनि उनले बदमासी र छलछाम गरेको कुनै घटना सार्वजनिक भएको थिएन । तर अख्यिारीको दुरुपयोग गरेर आफ्ना दुई नातिका आमा–बाबु नै नक्कली बनाउँदा उनको निष्कलंक छवि धुमिल बन्न पुगेको छ ।

पाँच वर्ष कैद हुनसक्छ
अधिवक्ता स्वीकृति बरालका अनुसार नाबालिग प्रमाणपत्र नागरिकता समान हो । दुई नातिका बाबुआमा बदल्न चित्रबहादुरबाट भएको कामले नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने देखिन्छ ।

सो दफाअनुसार कसैले नेपाली नागरिकताको झूटो वा कीर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ प्रावधान छ । झूटो प्रमाण बनाउन साक्षी बस्नुसमेत कानुनअनुसार कार्बाहीको भागिदारीको काम हो । 

सोही प्रमाणपत्रको आधारमा दुवै बालकको नाममा राहदानीसमेत जारी भएको छ । यसले राहदानी ऐनसमेत आकर्षित हुन्छ । राहदानी ऐन २०२४ अनुसार जानीजानी झूटो विवरण दिई राहदानी लिएमा तीन वर्ष कैद र ३० हजारसम्म जरिवानाको प्रावधान छ ।

‘यो ठूलो इस्यु हैन’
दुर्गा पौडेल, जनमोर्चा प्रवक्ता तथा सांसद
केसीजी (चित्रबहादुर केसी) कोे कान्छा छोरा आफैँ जापान आउने–जाने गरिरहन्थे । जेठा छोराको घरपरिवार  बिग्रियो । त्यो भएपछि साना छोराहरुको बिचल्ली भयो । पछि हामीले जेठा छोराको जेठा छोरा जापान गएको कुरा थाहा पायौँ । हामीले कसरी गएछ भनेर बुझ्दा कान्छाले आफ्नो छोरा बनाएर लगे भन्ने बुझियो । तर यसबारे पार्टीमा कुनै कुरा उठेको भने छैन । 
हाम्रो नेपाली समाजमा आफ्नो दाइको छोरालाई आफ्नै छोरा मान्ने चलन छ । यसले राष्ट्रलाई कुनै घाटा पुर्याउँदैन । बाबुआमाले दाबी गरे भने कुरा उठाउनु स्वाभाविक हो । बाबुआमाले कुरा उठाएका छैनन् । फेरि चित्रबहादुरजी आफैँ सहभागी भएजस्तो मलाई लाग्दैन । कानुनमा के कुरा छ, मलाई थाहा भएन तर यो ठूलो इस्यु हैन । 
 

Leave A Comment