अभिभावकलाई लेखकको सुझाव : ‘पुस्तक थुपारेर पढ् भन्दैमा हुँदैन’

शनिबार, ०४ असोज २०७६, ०२ : २० शुक्रवार
अभिभावकलाई लेखकको सुझाव : ‘पुस्तक थुपारेर पढ् भन्दैमा हुँदैन’

–आन्विका गिरि

मलाई धेरै अभिभावकले सोध्नुहुन्छ, ‘छोराछोरीलाई पढ्ने बनाउने कसरी ? मेरा छोराछोरी त पढ्दै पढ्दैनन्, किन होला ?’

झन् हिजोआज युट्युब, फेसबुक, टिभीका कारण आफ्ना छोराछोरीले नपढेको भन्नेमा धेरै अभिभावकको एकमत देखिन्छ। यही कारण अभिभावकमा धेरै चिन्ता थपिएको छ। अभिभावकले चिन्ता मात्र गरेर हुँदैन। चिन्तनशील हुन आवश्यक भइसकेको छ।

किन मेरा छोराछोरी पढ्न रुचि राख्दैनन् ? उनीहरुको रुचि के हो ? उनीहरुले कस्ता विषयवस्तुमा रुचि राख्छन् ? उनीहरुले रुचि राखेअनुसारका विषयवस्तु भएको पुस्तक पाएका छन् ?’ यी विषयमा हरेक अभिभावकले सोच्नुपर्ने बेला आएको छ।

घरमा पुस्तक थुपारी दिएर पढ् भन्दैमा हुँदैन। बच्चाहरुलाई पढ्ने बनाउन अभिभावकले उनीहरुसँगै आफूले पनि पढ्नुपर्छ। कुनै पनि विषय पढिसकेपछि छलफल हुनुपर्छ। अभिभावकले भन्नुपर्छ, ‘मैले यो पढेँ, विषयवस्तु यस्तो थियो, प्रस्तुति यस्तो थियो। तिमीले हिजोआज के पढिरहेका छौँ ? यस्तो विषयमा तिम्रो के विचार छ ?’

यति सोध्नेबित्तिकै उनीहरुले आफूलाई महत्व दिएको भन्ने महसुस  गर्छन्। जसका कारण उनीहरु पढ्न उत्साहित हुन्छन्।

हाम्रोमा अझै पनि बच्चाहरुको कुरा सुन्ने चलन छैन। उनीहरुले के पढे भनेर पढिसकेका पुस्तकबारे छलफल गर्न आवश्यक ठान्दैनौँ तर यसैको महत्व ठूलो छ। आफूले पढेका कुरा उनीहरुले बुझ्ने भाषामा यस्तो रहेछ भन्नुपर्छ। यसरी सेयरिङ गर्नाले बच्चाको रुचि कस्ता विषयवस्तुमा छ, बुझ्न सहज हुन्छ।

नेपाली भाषाको १० देखि १५/१६ वर्ष समूहकाले पढ्ने बाल पुस्तकहरु एकदमै कम छन्। जसले गर्दा ठूला मानिसका लागि लेखिएका पुस्तकहरु पढ्न दिनुपर्ने बाध्यात्मक स्थिति छ। उनीहरुले बुझ्न सक्दैनन्। सोही कारणले किशोरकिशोरीले नेपाली भाषाका पुस्तकमा कम रुचि राख्छन्। यसको लागि एउटै साहित्य पनि बालबालिकाका लागि र ठूलाको लागि भनेर छुट्ट्याएर लेख्न  सकिन्छ।

मेरो आफ्नो अनुभवले पनि के भन्छ भने बच्चाहरुसँगै उनीहरुको पुस्तक पनि पढ्ने गर्नुपर्छ। र, पढेका कुरामा यस विषयमा मेरो धारणा यो छ, तिम्रो के छ भनी सोध्न बिर्सन हुँदैन। यसो गर्दा उनीहरुको रुचि थाहा पाइन्छ।

सबै विषयवस्तुमा उनीहरुले बुझिने भाषामा कुराकानी गर्नुपर्छ। कुनै विषयमा उनीहरुले चासो राखे भने झर्कोे नमानी जवाफ दिनुपर्छ।

प्रायः ११ वर्ष मुनिका बालबालिकालाई कथासँगै रंगीन चित्र भएको पुस्तक आफूले पढ्ने, उनीहरुले पढेको सुन्ने, त्यो भन्न खोजेको कुरा उनीहरुले कसरी बुझिरहेका छन् भन्ने कुरा थाहा पाउने। 

बाह्र तेह्र वर्षको बच्चाहरुलाई एडभेन्चर मनपर्ने हुँदो रहेछ। समस्या के हो ? समस्या कसरी पत्ता लगाउने जस्ता पुस्तकहरु उनीहरुलाई मनपर्छ। विशेष गरी  त्यसमा केटाकेटीले नेतृत्व गरेको पुस्तक भयो भने उनीहरुले अपनत्व महसुस गर्ने रै’छन्।

१३ वर्षभन्दा माथिका बच्चालाई इमोसनल प्रकारका कुराहरु मन पर्छन्। परिवारलाई बुझ्ने, नाता–सम्बन्ध उल्लेख गरिएको, अपोजिट सेक्स प्रतिको धारणा, दाजु बहिनीको झगडा र माया लेखिएको पुस्तकहरु उनीहरुको रोजाइमा पर्छन्। कारण, त्यो बेला शारीरिक तथा मानसिक रुपमा उनीहरु परिर्वतन भइरहेका हुन्छन्। उनीहरुलाई कस्तो कुरामा रमाइलो लाग्छ, कस्ता कुरामा रिस उठ्छ भन्ने बुझेर व्याख्या गरिएको पुस्तक उपलब्ध गराइनुपर्छ। उमेर अनुसारको रुचि पनि फरक हुन्छ। उमेर बढेसँगै लामा उपन्यास, कथा, बायोग्राफीमा रुचि हुन्छ।

यति थाहा हुँदाहुँदै पनि सबै अभिभावकले छोराछोरीका लागि प्रशस्त समय दिन पाएका हुँदैनन्। चाहे शहरी क्षेत्रका हुन् या ग्रामीण, कामले थाकेर चुर भएका अभिभावकले उनीहरुसँगै बसेर पढ्ने छलफल गर्ने समय पर्याप्त नहुन सक्छ।

त्यसका लागि राज्यले ध्यान दिनुपर्छ। कम्तीमा विद्यालयका पुस्तकालयमा विद्यार्थीको पहुँच सहजै पु-याइनुपर्छ। सरकारले केही वर्षदेखि सामुदायिक स्कुललाई पुस्तकालयको लागि रकम दिएको थियो। कामै नलाग्ने पुस्तकहरु त्यस्ता पुस्तकालयमा पुगेका थिए भने कति विद्यालयले त ती पुस्तकको पहुँच विद्यार्थीसम्म नपुगेको समाचारमा जनाइएको थियो। राज्यले कस्ता पुस्तक पुग्नुपर्ने मापदण्ड बनाएन। यसले समस्या निस्क्यो नै। फेरि अर्काे गल्ती ग-यो– कस्ता पुस्तक पु-याइएको छ, त्यसको अनुगमन गरिएको छैन। गाउँगाउँका विद्यार्थीले पुस्तकै पढ्न पाएका छैनन्।

समय दिन नभ्याउने अभिभावकले स्कुलको पुस्तकालयको भ्रमण गर्नुपर्छ। आफ्नो छोराछोरीलाई महँगो स्कुलमा भर्ना गरिएको हुन्छ, त्यहीअनुसार शुल्क बुझाइन्छ। उनीहरुले पढ्ने स्कुलमा पुस्तकालयको कस्तो व्यवस्था छ, त्यो अभिभावकलाई महत्वको कुरा हो। हामी कति अभिभावक उनीहरुको पुस्तकालय पुगेका छाैं या छैनौँ अलग कुरा भयो तर विद्यायलमा निश्चत समय तोकिदिन सक्छौँ।

हाम्रोमा बच्चाहरुका लागि कन्टेन्ट थोरै छ। बजार सानो भएकाले फाइदा पनि उत्ति हुँदैन। केही न केही निजी क्षेत्रले गरिरहेका छन् तर त्यो पनि पर्याप्त छैन। बच्चाहरुको कन्टेन्ट उत्पादनमा ध्यान दिन जरुरी छ। अँ, अभिभावकले देशमा कुनै ठूलो घटना भयो भने बच्चाहरुलाई  सामान्यीकरण गरेर बुझाउनुपर्छ। सेयर गर्दै गइसकेपछि बच्चाबच्चीहरुलाई ती कुराप्रति चासो बढ्दै गएको हुन्छ। एकअर्काबीच खुल्दै पनि गइन्छ।

अहिलेका धेरै जसो अभिभावकले चाहे छोरा होस् या छोरी होस्, करियरमा निकै लगानी गरेको पाइन्छ। तर केही विभेद भने हामीले हटाउन सकेका छैनौँ। केही हप्ताअघि बाल पुस्तक सम्पादन गर्ने क्रममा किताब पढ्दै गएको त लैंगीक आधारमा विभेद गरिएको पाएँ। केही जातिलाई त्यहाँ होच्याएका शब्दहरु थिए। मैले सिधै रिजेक्ट गर्दिएँ, कारण विभेद गर्न सिकाउने होच्याउने पुस्तक छन् भने त्यस्ता पुस्तक हाम्रा छोराछोरीलाई पढ्न दिनुहुन्न।
(प्रजु पन्तसँग कुराकानीमा आधारित)

Leave A Comment