चल्नकै लागि समागमका गीत

सोमबार, ०६ असोज २०७६, ०१ : २२ भोला अधिकारी
चल्नकै लागि समागमका गीत

तीजे गीत ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ हिट भएपछि हौसिएका गायक दुर्गेश थापाले हालै नयाँ गीत सार्वजनिक गरे, ‘तिम्रो एक्स र मेरो वाई मिक्स गर्नुछ, अरु केही नभए नि भल्ट्याङभुल्टुङ फिक्स गर्नु छ।’

गीत सार्वजनिक भएपछि उनले पहिलाझैँ प्रशंसा पाएनन्, आलोचना शुरु भयो। आलोचनाको कारण दुईअर्थी शब्दको प्रयोग थियो। यौन समागमलाई केन्द्रमा राखेर उनले गीत बनाएको प्रस्टै देखिन्छ।

दुईअर्थी शब्द राखेर बनेका गीतले संगीत क्षेत्रलाई हेर्न दृष्टिकोण नै खराब बनाएको भन्दै आलोचना हुने गरे पनि गीत आउने क्रम भने रोकिएको छैन। त्यसैको उदाहरण हो दुर्गेशको गीत।

तर गायक दुर्गेश किताबमा पढिरहेको कुरालाई आफूले गीतमार्फत प्रस्तुत गरेको भन्दै नकारात्मक रुपमा नलिन आग्रह गर्छन्। उनको दाबी छ, यो गीत सन्देश दिने खालको हो।

‘दुई जनाबाट भल्टयाङभुल्टुङ जन्माउन एक्स क्रोमोजम र वाई क्रोमोजम मिल्ने हो,’ उनले भने, ‘यो त सन्देश दिने गीत पो हो ! कसरी दुई अर्थी भयो ?’

नेपाली संगीत क्षेत्रमा चलेका गायकहरु दुईअर्थी शब्दको पछि लाग्न पनि कम छैनन्। चर्चाकै लागि र चाँडै हिट हुने लोभका कारण चर्चित गायक पशुपति शर्माले पनि एक समय यस्तै गीत गाएका थिए। उनले गाएको गीतको बोल यस्तो थियो :
‘यता तिर्खा लागेको धेरै भो,
 त्यता माया बगेर खेरै गो,
 हेर्दै कति थुक निल्नु घुटुक्क,
एकदिन माया सबैले लाउने हो,
देऊ न माया चाख्नलाई सुटुक्क।’
उनले समागम प्रेरित यो गीत गाएको धेरै भइसक्यो तर अहिले चलेको छ उनको यो गीत।
‘निकै पहिला गाएको गीत अहिले चर्चामा आयो,’ उनले भने, ‘त्यो बेलामा म नेपाली गीतसंगीतमा संघर्ष गर्दै थिए, शब्द मेरा हैनन्, गाएको मात्र हो।’

त्यस्तै यता प्रवीण थापाले बजारमा ल्याएको गीतको शीर्षक राखेका छन्,  ‘कस्तो गर्न मन लाग्छ।’ गायिका पूर्णकला बिसीको स्वर रहेको यो गीतको भिडियोमा ज्योति मगरले निकै खुलेर नृत्य गरेकी छन्।
कमल गाउँलेसँग मिलेर ज्योति मगरले ‘ब्याउने बनाउँछु’ बोलको गीतसमेत गाएकी थिइन्। दर्जन बढी गीतमा आवाज भरेका लोकगायक गायक रोशन  सिंहले पनि उस्तै खाल्का गीत बजारमा ल्याउने गरेका छन्। उनी  र ज्योति मगरले  गाएको ‘ओई, ज्योति हाम्लाई नि देऊ न एक चोटी’ विवादमै आएको थियो।
गत साता मात्रै अभिनेत्री प्रियंका कार्कीसँग विवादमा आएका गायक प्रकाश कटवालले पनि उस्तै समागम प्रेरित गीत गाउने गरेका छन्। गायक प्रकाश कटवाल र गायिका श्रीदेवी देवकोटाले ‘ढाडे बिरालो’ बोलको गीत गाएका थिए।

चल्नकै लागि दुईअर्थी
गायक पशुपति शर्मा राम्रा शब्द र भाका भएका गीतभन्दा दर्शक स्रोताको रुचि दुईअर्थीमै बढी देखिदा यस्ता लयका गीत आइरहेको बताउँछन्।

‘मैले धेरै राम्रा गीतहरु गाएको छु,’ उनले भने, ‘राम्रा गीतलाई स्रोता दर्शकले रुचाउन कन्जुस्याइँ गर्नुभयो। मैले केही दुईअर्थी बोकेको गीत गाएँ। राम्राभन्दा दुईअर्थी गीत नै दर्शकको नजरमा परे।’

गायक तथा मोडल दुर्गेश पहिला आफू चल्न टन्नै दुईअर्थी गीतमा नाचेको स्वीकार्छन्। उनले ज्योतिसँग ‘घण्टा बजाउँछु’ बोलको गीतमा पनि नाचे। तर अहिले दुईअर्थी गीतमा ध्यान नदिएको उनको दाबी छ तर उनको दाबी उनको अहिले बजारमा आएकै गीतले काटिरहेको छ।

Leave A Comment