तेलुगू फिल्ममा परमिता

मङ्गलबार, ०७ असोज २०७६, ०१ : ३१ शुक्रवार
तेलुगू फिल्ममा परमिता

लामै समय गुमनाम पारमिता आरएल राणा अहिले एकाएक चर्चामा आएकी छन्। उनले अभिनय गरेका कुनै पनि फिल्म नेपालमा सफल छैनन्। पारमिता ‘चपली हाइट २’ बाट डेब्यु गरेकी थिइन्। पछिल्लो रिलिज ‘चंगाचेट’मा पनि उनी चैट् नै भएकी थिइन्।

कुनै फिल्मले सफलता हात नपारेपछि फिल्मको स्क्रिप्ट लेख्दैछु भन्दै गफ दिँदै आएकी उनले तर गत शुक्रबार भने हैरान पारिन्। भारतको हैदरावादस्थित एक मन्दिरमा एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने ‘बेनामे’ फिल्ममा शुभमुहूर्त गरिएको तस्बिर बाहिर आएपछि उनी गुमनाम हुनुको रहस्य खुलेको हो।

पहिलो पटक तेलुगू फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित रहेको पारमिताले बताएकी छन्। ‘सुपरस्टार गोपीचन्दसँग प्रतिष्ठित एसबीसीसी ब्यानरबाट मेरो पहिलो तेलुगू फिल्ममा स्क्रिन सेयर गर्न पाउँदा आफूलाई सम्मानित महसुस गरेकी छु,’ उनले गोपीचन्दसँग फिल्म मुहूर्तको तस्बिर फेसबुकमा राख्दै लेखेकी छन्। नेपाली निर्देशकले नपत्याएपछि विदेशतिर हुइँकिएकी पारमितालाई उडाउनेहरुले पनि कहाँ बाँकी छाडे र ?

केहीले त भन्दैछन्, फिल्मको मुहूर्त पो भयो त ! सुटिङ त शुरु भएकै छैन ! सुटिङ शुरु भएपछि अर्को किस्सा गसिप बजारमा गर्माउने छ, फिल्म सुटिङ त भयो, कम्प्लिट त अझै भइसकेको छैन ! अनि फेरि किस्सा बजारमा अर्को किस्सा पनि थपिनेछ, ‘फिल्म पूरा त भयो, रिलिज कहिले होला ?’
अब यस्तो सिलसिला फिल्म हिट नहुञ्जेल चलिरहन्छ। के गर्ने दुश्मनको यहाँ कुनै कमी छ र ?

Leave A Comment