डा. डीबी सुनुवार,
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी
खुट्टाका पञ्जाले भुइँमा टेकिन्छ भने शरीरको भार गोलिगाँठाले थेगेको हुन्छ। गेलिगाँठै कमजोर भए अपांगै हुने जोखिम हुन्छ। खुट्टाको कुर्कुच्चा, पञ्जा तथा औँला गोलिगाँठाबाटै चलायमान हुन्छन्।
खुट्टाको पिँडुला भन्दा तल र कुर्कुच्चाभन्दा माथि जोर्नी हुन्छ। जोर्नीसँगै खुट्टाको दायाँ–बायाँ दुवैपट्टि गुच्छाजस्तो उठेको भाग गोलिगाँठा हुन्। गुच्छाजस्तो हुने भएकैले गोलिगाँठो भनिएको हो। सामान्य रुपमा भने खुट्टाको बाहिरपट्टिको भागलाई गोलिगाँठो भनेर बुझिन्छ। पिँडुलातर्फबाट आएको भाग र पञ्जातर्फको भाग गोलीगाँठोमा भएको जोर्नीले जोडेको तथा अड्याएको हुन्छ। गोलिगाँठो नटबल्टु जस्तै जोर्नीको भाग हो। त्यसैले गोलिगाँठामा भएको जोर्नी मजबुत हुन आवश्यक हुन्छ।
कमजोर हुने कारण
विशेषगरी बाथ तथा युरिक एसिडको समस्या हुँदा गोलिगाँठो दुख्ने, सुन्निने, हिँड्नै नमिल्ने तथा खुट्टै नचल्नेजस्ता समस्या उत्पन्न हुन सक्छ। बाथ तथा युरिक एसिड हर्मनको गडबडीले हुने दिर्घकालीन किसिमको समस्या हो। सन्तुलित खानपान तथा व्यायामको कमीले हर्मोनमा असन्तुलन भई बाथ तथा युरिक एसिडको जोखिम हुन्छ। व्यायम तथा पोषणलगायतको कमीले खुट्टाका नसा, मांशपेशी खिइने भएकाले गोलिगाँठो तथा पञ्जा कमजोर हुन्छ। विविध कारण समस्या उत्पन्न हुन सक्छ। पानीको अभावका कारण समेत समस्या उत्पन्न हुन सक्छ।
उचित खानपान तथा व्यायमको कमीले गोलिगाँठो खुस्किने, खुट्टाका पञ्जा तथा औँला सजिलै दोब्रिने, औँला भाँचिने, मर्किनेजस्तो जोखिम हुन्छ।
त्यसो भए अव गोलिगाँठो तथा खुट्टाको पञ्जा लचिलो र मजबुद बनाउने विषयमा जानौँन त।
गोलिगाँठो उत्तोलक
हिँडडुल तथा खेलकुदजस्ता गतिविधि गरेको अवस्थामा त खुट्टाको गोलिगाँठो तथा पञ्जाको मात्रै हैन सिंगो शरीरकै व्यायाम हुन्छ।
हिँड्दा गोलिगाँठाले शरीर र पञ्जाको भारको उत्तोलकको काम गर्छ। यसको अर्थ गोलिगाँठाले शरीरको भार त थेग्छ नै गोलिगाँठाकै मांशपेशी लचिलो हुन्छ। व्यामाय पुगेर मांशपेशी लचिलो भएको अवस्थामा कतै ठोकिँदासमेत सजिलै गोलिगाँठाको जोर्नी मर्किने तथा भाँचिने जोखिम कम हुन्छ। खुट्टाको गोलिगाँठो तथा पञ्जाको व्यायाम गर्ने विशेष किसिमका विधि छन्।
कुर्कुच्चा टेक्ने
कुर्सीमा बसेर दुवै खुट्टाका कुकुच्चाले भुइँमा टेकेर खुट्टाका पञ्जा उठाउँदै भुइँमा टेक्दै गर्न सकिन्छ। एक साइकलमा १०/१२ पटक यस्तो व्यायाम गर्नु उचित हुन्छ। कुर्कुच्चा टेकेर पञ्जा उठाउँदै गरिने यस्तो व्यायाम गर्दा गोलिगाँठो चल्छ। गोलिगाँठो चल्दा गोलिगाँठामा भएको कुर्कुरे हड्डीसमेत चल्ने भयले हड्डी तथा जोर्नी लचिलो हुन्छ। लचिलो भएपछि मजबुत त हुने नै भयो।
यो त भयो कुर्कुच्चाले टेकेर गरिने खुट्टाको तल्लो भाग तथा गोलिगाँठाको जोर्नीको व्यायाम। यसको विपरीत खुट्टाका पञ्जाले भुइँमा टेकेर कुर्कुच्चा उठाउँदै भुइँमा राख्न सकिन्छ।
कुर्कुच्चा र पञ्जा टेकेर दुवै तरिकाले व्यायाम गर्नाले खुट्टाको अगाडि–पछाडि दुवैतर्फको गोलिगाँठाको मांशपेशी तथा हाडजोर्नी लचिलो हुन पाउँछ। जसले सहजै गोलिगाँठाको भाग तथा पञ्जा मर्किने, भाँचिने डर हुन्न।
पञ्जा दायाँ–बायाँ
त्यसैगरी कुर्सीमै बसेर दुवै खुट्टाका पञ्जा दायाँ–बायाँ गर्दै भित्र–बाहिर गर्न सकिन्छ। यसरी पञ्जा भित्र–बाहिर गर्दा गोलिगाँठाको दायाँ–बायाँको भाग मजबुत हुन्छ। यस्तो व्यायामले नसा चलायमान हुने भएकाले विशेषगरी खुट्टाको पञ्जा फर्किने तथा मर्किने जोखिमबाट बच्न सकिन्छ।
टेबलमा कुर्कुच्चा
गोलिगाँठो तथा पञ्जा मजबुत बनाउने अर्को उपाय छ। आफू कुर्सीमा बसिन्छ। आफू बसेसमानको कुर्सीजत्तिकै उचाइ भएको टेबल आफ्नो अगाडि राखिन्छ। टेबलमा एउटा खुट्टा राखिन्छ। त्यसपछि टेबलमा राखेको खुट्टाको कुर्कुच्चाले टेबल टेकिन्छ। पञ्जा भने उँभो उठाउँदै टेबलमा टेक्दै, तलमाथि अगाडिपछाडि लगिन्छ।
त्यसैगरी कुर्कुच्चाले टेबलमा टेकेर दायाँ–बायाँ गोलो गर्दै पञ्जा घुमाउन सकिन्छ। यो प्रक्रियामा दायाँदेखि बायाँ र बायाँबाट दायाँ गोलोगरी दुवैतर्फ बराबर घुमाउनुपर्छ। यस्तो व्यायामले विशेषगरी गोलिगाँठो, खुट्टाको औँला र पञ्जालाई फाइदा पुग्छ।
पालैपालो दुवै खुट्टाको यसरी १०÷१२ पटक व्यायाम गर्नाले गोलिगाँठो तथा कुर्कुच्चा र पञ्जाका मांशपेशी चलायमान भई खुट्टाका औँला बाउँडिनेलगायतका समस्याबाट बच्न सकिन्छ।
।
कुर्सीमा उपरखुट्टी
कुर्सीमा बसेर उपरखुपट्टी लगाएर व्यायाम गर्न सकिन्छ। उपरखुट्टी लगाएर गरिने व्यायाममा कुर्सीमा बसेर एउटा खुट्टा भुइँमा टेकिन्छ। अर्को खुट्टो भने उपरखुट्टी लगाइन्छ। भुइँमा टेकेको खुट्टाको तिघ्रामाथि उपरखुट्टी लगाएको खुट्टाको पिँडुला र गोलिगाँठाको बीचको भाग राखेर अड्याइन्छ। त्यसपछि उपरखुट्टी लगाएर अड्याइएको खुट्टाको एक हातले पञ्जा समाइन्छ भने अर्को हातले गोलिगाँठो समाइन्छ। खुट्टाका पञ्जा समाएको हातले खुट्टाका पञ्जालाई बिस्तारै दायाँ–बायाँ गोलोगरी घुमाउनु पर्छ।
दुवै खुट्टा पालैपालो उपरखुट्टी लगाएर यस्तो व्यायाम गर्नु उचित हुन्छ। यस्तो किसिमको व्यायामले गोलिगाँठा तथा पञ्जाको हड्डी चारैतिरबाट लचिलो हुन्छ। जसले खुट्टा मर्किने, सजिलै गोलिगाँठो खुस्किने जोखिमबाट बच्न सकिन्छ। उपरखुट्टि लगाएर गरिने व्यायाम गोलिगाँठाको व्यायाममध्येकै प्रभावकारी व्यायाम हो।
उपरखुट्टी लगाएर गरिने व्यायाम खुट्टा दुखेको अवस्थामा समेत गर्न सकिन्छ। दुखाइसमेत कम गर्न मद्दत गर्छ।
फुट मसाज
यस्ता व्यायाम गरिसकेपछि तेलले गोलिगाँठो तथा पञ्जा राम्रोसँग मालिस गर्नु उचित हुन्छ। विशेषगरी जडिबुटीका हर्बल तेलले मालिस गर्नाले गोलिगाँठो तथा पञ्जाको भागमा आराम मिल्छ।
व्यायाम गर्दा गोलिगाँठो तथा पञ्जाको भाग थकित हुने भएकाले यस्तो फुट मसाज गर्नु उचित हुन्छ। फुट मसाजमा घुँडादेखि खुट्टाको औँलासम्मका सबै हाडजोर्नी तथा मांशपेशी र नसाहरु पुनर्ताजगी हुन्छन्। नसा तथा मांशपेशी हातले दबाएर हल्का माडेर थिच्दै, थपथपाउँदै, बटार्दै तेलले मालिस गर्नाले हाडजोर्नी, मांशपेशी तथा नसा सम्पूर्ण रुपले चल्ने भएकाले सक्रिय हुन्छन्। जसले प्यारालाइसिसको जोखिमबाट समेत बच्न सकिन्छ।
पोषणको कमीले नसा कमजोर
यसरी कम हिँड्दा तथा गोलिगाँठाको जोर्नी तथा पञ्जाको उचित व्यायाम नहुँदा खुट्टाको तल्लो भागको नसा स्थिर तथा निष्क्रिय भई चुटिने जोखिम हुन्छ। व्यायाम मात्रै हैन पोषणको अभावमा पनि नसा कमजोर भई चुटिने जोखिम हुन्छ। व्यायाम तथा आवश्यक पोषणको अभावमा खुट्टाका औँला नचल्ने, सुन्निने, दुख्नेजस्ता समस्याको जोखिम हुन्छ।
शरीरका मांशपेशी, हाडजोर्नी मजबुत बनाउनका लागि सन्तुलित रुपमा विशेषगरी प्रोटिन,क्याल्सियमयुक्त माछा–मासु, अण्डा, फलफूल, हरियो सागसब्जी खानु पर्छ। प्रशस्त मात्रामा तरल पदार्थ पिउनु पर्छ। बजारमा ग्लुकोजसमाइनजस्ता प्रोटिन तथा क्याल्सियमयुक्त प्राकृतिक डायटरि सप्लिमेन्टसमेत पाइन्छन्।
युरिक एसिड तथा बाथको समस्या भएको अवस्थामा भने एसिडजन्य खाद्यपदार्थ खानु हुन्न। एसिडजन्य खाद्यपदार्थले दुखाइ बढाउँछ। त्यसैले बट्टामा लामो समयसम्म गालेर तथा साँदेर राखिएका मसलेदार अचार, तारेको तथा भुटेको खाद्यपदार्थले असर पु¥याउने भएकाले यस्ता अचार तथा खाद्यपदार्थ नखाएकै राम्रो।
प्रस्तुतिः उपेन्द्र खड्का
Leave A Comment