रियालिटी चेक : गाली खाइन् आस्थाले

बिहिबार, ०९ असोज २०७६, ०१ : ५८ शुक्रवार
रियालिटी चेक : गाली खाइन् आस्थाले

भ्वाइस अफ नेपाल सिजन २ की कोच आस्था राउतको झूर प्रतियोगी छान्ने अनि गाली खाने क्रम जारी छ। उनी कहिले अन्य कोचको इशारामा प्रतियोगी छान्छिन् त कहिले अति झूर गाए पनि कुर्सी घुमाइदिन्छन्। अनि राम्रो गाउने प्रतियोगीमा मौन बसिदिन्छिन्।

उनले यसअघि अमेरिकाबाट आएकी सम्झनाले सुर न तालको गीत गाए पनि छानिदिएकी थिइन्। ब्लाइन्ड अडिसनको १२ औं भाग सकिँदा यस्तै भयो फेरि।

११ औँ एपिसोडमा सिक्किमबाट सहभागी नवीन गजमेरले राम्रै गीत गाएका थिए। कोच राजु लामाले झन्डै झन्डै बज गरिसकेका थिए तर गरेनन्। उनले ‘आँशुको अर्थ के थाहा’ बोलको गीत गाएका थिए। आस्थाले धोका पाउँदा कस्तो हुन्छ भन्ने पार्ट खोज्दाखोज्दा नभेटेपछि बज नगरेको प्रतिक्रिया दिइन्। कोच राजुले नजिक नजिक पुगे पनि बज गर्न नसकेको भन्दै माफी मागे। कोच दीप श्रेष्ठ र प्रमोद खरेलले पनि गायनको प्रशंसा गर्दै नोट्समा समस्या देखिँदा वज गर्न नसकेको प्रतिक्रिया दिए।

नवीनलगत्तै आइन्, श्रृंखला जोशी। ११ औं एपिसोडको अन्तिम प्रतियोगीको रुपमा मञ्चमा आएकी उनले देउडा गाएकी थिइन् तर झुर। कोच दीप, राजु र प्रमोदलाई गायनले तानेन। उनीहरु चुपचाप बसे। एक्कासि कोच आस्थाले बज गरिन्।

अघिल्लो प्रतियोगीले राम्रै गाउँदा पनि बज नगर्ने अनि झूर गाउँदा चैँ बज गरेपछि दर्शकहरुले सहन सकेनन् र भेदभाव गरेको भन्दै आस्थाको आलोचना गरे। आलोचनाको अर्को कारण पनि थियो। गीत गाउने को हो नदेखीकनै आस्थाले बज गरेकी थिइन्। श्रृंखला देउडा गायक नन्दकृष्ण जोशीकी छोरी हुन्।

श्रृंखला आस्थाकी साथी रहिछन्। उनले श्रृंखलालाई ओई भन्दै कुराकानी गरेकी थिइन्। यसले दर्शकलाई झूर गाए पनि साथी भएर छानेको भान परिहाल्यो। आलोचना बढेपछि आस्थाले फेसबुकमा प्रस्टीकरणै दिनुप-यो, ‘नवीनले आधुनिक गीत गाएकाले अन्य कोचहरुले पनि छान्न सक्ने र यस अगाडि देउडा गाउने झुप्रीलाई छानेकाले उनीसँग ब्याटल राउन्डमा जोडीका लागि श्रृंखला छानेँ त के बिराएँ।’
तर भन्दैमा पत्याउने कसले ?

अब ब्लाइन्ड राउन्ड
कार्यक्रमको १२ औं एपिसोड प्रशारण सकिएसँगै ब्लाइन्ड राउन्डसमेत सकिएको छ। ब्लाइन्ड राउन्डबाट चारै जना कोचको टिममा १६–१६ जना प्रतियोगी छानिइसकेका छन्। अब तेह्रौँ एपिसोडबाट ब्याटल राउन्ड शुरु हुनेछ। ब्याटल राउन्डमा कोचहरुले आफ्नै टिमका २ प्रतियोगीलाई एक आपसमा भिडाउनेछन् र एक जना चयन गर्ने छन्। एउटा कोचले छाडेका कुनै प्रतियोगी अर्को कोचलाई राम्रो लागे चोर्न सक्नेछन्। पहिलो सिजनमा प्रमोदले छाडेकालाई कोच दीपले स्टिल गरेकै प्रतियोगीले उपाधि जितेका थिए।

ब्याटल राउन्डका लागि कोच दीपको टिममा अंकित, डम्बर, धर्मा, कविराज, निर्मला, रजनी, राम, रमा, शिवा, आकांक्षा, विकास, विनय, पृथविन्द्र, सुमन, सुनील र सुरज परेका छन्।

प्रमोदको टिममा जमिर, कमल, मधु, मेचु, प्रवेश, सैकिरण, सजन, सदीक्षा, सुशान्त, शुष्मा, बलबहादुर, विमोचना, विशाल, राजीव, सौगात र अमित छन्।

टिम राजुमा भने अनुशा, वैशाली, विजय, गीता, करण, कुमार, पे्रक्षा, रेवन, समीर, सनिश, संजय, सशिका, श्रवण, सम्झना, श्रृष्टि र अञ्जु छन् भने आस्थाको टिममा आरिफ, झुप्री, कुमा, नवीना, राजीव, रीता, सविना, सम्झना, सोनिया, सुरज, यान्की, अजेश, अनिश, जमुना, राहुल र श्रृंखला छन्।

१२ औं एपिसोडसम्म आइपुग्दा प्रतियोगीहरुको प्रस्तुतिको आधारमा सबैभन्दा बलियो टिम प्रमोदको देखिन्छ। कोच दीप र कोच राजुको टिममा पनि राम्रै प्रतियोगी छन् तर आस्थाको टिम कमजोर देखिन्छ। छनोट गर्दा क्षमताभन्दा भावना धेरै बहकिँदा कमजोर प्रतियोगीले उनको समूह भरिएको छ। आरिफ, कुमा, राजीव, याङ्की, नविनाले उनको टिमलाई पार लगाउन सक्छन्।

सुनीलको कमाल
पहिलो सिजनमा शास्त्रीय संगीतका प्रतियोगीको बलियो प्रभाव थियो। दोस्रो सिजनमा पनि बलियो शास्त्रीय संगीतको पृष्ठभूमि भएका गायक आएका छन्। एघारौँ एपिसोडमा पहिलो प्रतियोगीका रुपमा कमल आएका थिए। उनी कोच प्रमोदको समूहमा गए।

११ औं एपिसोडको प्रारम्भमा भक्तपुरका सुनील लोहोला श्रेष्ठ आए। भारतमा शास्त्रीय गायनमा प्रशिक्षण लिएका उनले ‘शिव हर महेश्वर’को बोलको भजन गाएका थिए। चारै जना कोचको कुर्सी घुम्यो। सबै कोचले उनलाई आफ्नो टिममा पार्न प्रयास गरे। तर उनी पहिल्यै तय गरेर आइसकेका रहेछन्, त्यसैले सहजै कोच दीपको टिममा गए। भारतमा बसेर प्रशिक्षण लिएकाले हुनसक्छ उनको बोलीमा भारतीय छनक देखिन्छ।

११ औं र १२ औं एपिसोडमा जमुन राई, सौगात राई, अरुणा शाक्य, राहुल विश्वकर्मा, अञ्जु राना मगर, सुमन परियार, अजेस पौडेल, अलिषा घिमिरे, शितलराज पाण्डे, सुरज प्रताप सिंह, विशाल राई सहभागी भएका थिए।

Leave A Comment