पदक र स्वामीभक्ति

शुक्रबार, १० असोज २०७६, ०१ : १४ अच्युत काेइराला
पदक र स्वामीभक्ति

पदक, पुरस्कार र सम्मान पाउन एउटा निश्चित मापदण्ड पूरा गर्नुपर्छ। जबसम्म हामीले यिनमा रहेको त्यो ‘मापदण्ड’ बुझ्दैनौँ, पुरस्कारले फलानोमाथि न्याय गरेन भन्दै हरेक वर्ष कोकोहोलो मच्चाइरहन्छौँ। नेपालमा १२ सयभन्दा बढी शीर्षकका पदक, पुरस्कार र सम्मान हरेक वर्ष बाँढिन्छ तर हरेक पटक कोही न कोही आफ्नो ‘क्षमता’का बाबजुद पुरस्कार नपाएकोमा डाँको छाडिरहेको हुन्छ। त्यो डाँको कसैको चर्को हुन्छ त कसैको शुष्क।

पदकको मापदण्ड
हालै नेपाल सरकारले पदक बाँड्यो। त्यो पदकमा गर्व गर्नेभन्दा वहिष्कार गरेँ भन्नेहरुको संख्या यस पटक बढेको देखियो। पदक प्राप्त गर्नेहरुमा यस पटक प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सकदेखि बिल्कुलै स्वार्थी समूह परेको भन्दै आक्रोशहरु सामाजिक सञ्जालमा पोखिए।

जो शक्तिमा छ, उसले पदकलाई दुई तरिकाले उपयोग गर्छ र इतिहासदेखि नै यसैका लागि यो ‘आविष्कार’ भएको थियो। पहिलो, उसले पदकलाई आफ्ना वफादारहरुलाई अझ बढी जिम्मेवार बनाउन उपयोग गर्छ। दोस्रो, उसले आफ्नो विरोधी स्वरलाई शुष्क बनाउन प्रयोग गर्छ। तपाईं कुनै शक्तिशाली दुस्मन होइन र तपाईं उसप्रति ‘वफादार’ हुनुहुन्न भने तपाईंको योगदान मुलुकका लागि जतिसुकै ठूलो किन नहोस्, त्यो पुरस्कारको हकदार हुनुहुन्न। तपाईं वफादार पनि हुनुहुन्न तर तपाईंले पदक पनि पाउनु भयो भने सम्झनुस्, पदकले आफ्नो वजन बढाउने प्रयास गरिरहेको छ वा तपाईंको शक्ति उसले आफ्नो शक्तिमा जोड्न खोजिरहेको छ।

पदकको मनोविज्ञान
अकिरा कुरोसावाद्वारा निर्देशित जापानी फिल्म ‘सेभेन समुराई’ हेर्नु भएको छ ? त्यहाँ डाका दलहरुसँग भिड्न एउटा गाउँमा आइपुगेका सात जना समुराईको युद्धकौशल प्रस्तुत गरिएको छ।

डाकादलको कहरमा जो पनि पर्न सक्छ। सात समुराई र गाउँलेहरु एक्लाएक्लै ती डाकासँग जुझ्न थाले भने हरेक व्यक्ति मारिन सक्छ। चाहे त्यो जतिसुकै बलियो किन नहोस्। तर जब समुराई गाउँलेहरुलाई एकताबद्ध, निष्ठावान बनाएर युद्धमा उत्रन्छन्, जतिसुकै खतरनाक र बलियो डाकादललाई पनि ठेगान लगाई छाड्छन्।

पुरस्कार, सम्मान र पदकको उद्देश्य अरुलाई भेला पारेर जहिल्यै आफ्नो वृहत्तर हितका लागि काम गर्नु हो। चाहे त्यो कुनै संस्थाको होस् या कुनै देशको। तपाईं जति बढी शक्तिशाली हुनुहुन्छ, तपाईंलाई उति नै बढी वफादार र स्वामीभक्त मानिस चाहिन्छ। यसको अभावमा तपाईं शक्तिशाली रहनुहुन्न। र, उसको मनोविज्ञानसँग खेलेर आफूप्रति वफादार रहिरहन बाध्य पार्नुहुन्छ।

जस्तो कि फ्रान्सेली राजा लुई चौधौँलाई जहिले पनि आफ्ना भाइ फिलिपसँग एक किसिमको असुरक्षा हुन्थ्यो। फिलिप युद्धमा पारंगत र देशको भूमि बढाइरहने कुशल सेनापति थिए। यता लुई स्त्री लम्पट र महँगा चिजको शोखिन। उनी जहिले पनि युद्धमा जान्थे, हारेर आउँथे। त्यही युद्धमा फिलिप विजयध्वज फहराएर आउँथे। यस्तोमा लुईलाई आफ्नो गद्दी खोसिएला भन्ने सधैँ एक किसिमको असुरक्षा हुन्थ्यो। उनले यही असुरक्षाबाट बच्न यस्तो अभेद्य किल्ला निर्माण गरे कि भाइ फिलिपले कहिल्यै दाइको गद्दीमाथि कुदृष्टि राख्न सकेनन्, राखे पनि जाइलाग्न सकेनन्। र, त्यो अस्त्र थियो– फिलिपको समलैंगिक सम्बन्धको गोप्यता।

फिलिपका नजिकका पुरुष साथीलाई लुईले भर्सिलीको दरबारमा आउजाउ गर्न छूट दिन्थे, जबकि त्यो बेला समलैंगिकता प्रतिबन्धित मात्र थिएन, दण्डयोग्यसमेत मानिन्थ्यो। फिलिप लुईप्रति सधैँँ कृतज्ञ मात्र रहेनन्, उनका विश्वासपात्र, राजाका लागि आफू सेरिनसमेत तयार थिए। यो बुझेका लुईले कयौँ अवस्थामा शक्तिशाली भाइलाई पाखा लगाउने अनेकन अवसर आए पनि उनले सधैँ आफू नजिक राखे। उनी भन्थे, ‘सबैभन्दा शक्तिशाली मानिसलाई आफूनजिक राख्नुपर्छ ताकि उसले आफूलाई हटाउने षडयन्त्र गर्ने समय नपाओस्।’

सबै किसिमका पुरस्कार, सम्मान र पदक शक्तिशालीलाई आफूनजिक राखिराख्ने अस्त्र हो। पुरस्कार वितरण समारोहमा हेर्नुस्, देशका एक से एक मानिसहरु तपाईंको छेउमा मुस्कुराउँदै उभिएका हुन्छन्।

पुरस्कार, पदक र सम्मानको यो पृष्ठभूमि भए पनि प्रायः आफ्नो उद्देश्य छद्म रुपमा लुकाइएको हुन्छ। कुनै पनि पुरस्कारको उद्देश्य झट्ट थाहा पाउँदैनन्, थाहा पाए, त्यसको गरिमा स्वतः स्खलित हुन्छ। त्यसको भाउ खस्किन्छ। नेपालमा त्यस्ता कयौँ पुरस्कार थिए, केही वर्षको तामझाम पनि देखियो तर पछि स्वतः हराएर गए।
अहिले हुँदाहुँदा यो रोग सरकारी पदकसम्म यसरी पसेको छ कि यसले पुरस्कार पाउनेको सम्मान हुनेभन्दा बढी अपमान भएको छ।

हालै एउटा सरकारी पदक पाएका व्यक्ति स्वयं आपूmले पाएकामा आश्चर्य व्यक्त गरिरहेका थिए। उनले सञ्चारमन्त्रीलाई आफ्नो ‘पार्टीप्रतिको योगदान सुनाउँदै दुई तिहाईको सरकार हुँदा पनि केही नपाउने भनी गुनासो गर्दा कुनै गतिलो जागिर पाइएला भन्ने अपेक्षा गरेको त पदकको सूचीमा उनको नाम परेछ’ भनी छक्क परिरहेका थिए।

यसको सीधा अर्थ हो, हरकोहीले यस्तो पदक देशका लागि होइन, आफ्नो स्वार्थ समूहले आफ्ना लागि के गरेको छ, त्यो हेरी बाँड्ने गरिन्छ। यस्तो पहिलेदेखि नै नभएको होइन तर यत्तिको सर्वाङ्ग त कुनै पनि सरकार भएको थिएन।

यु आर अल्वेज राइट्
जब देशका लागि भन्दा व्यक्ति वा समूहका लागि सोच्ने मानिसहरुलाई बढी महव दिइन्छ, व्यक्तिभन्दा देशलाई महत्व दिनेहरु किनाराकृत हुन्छन्, त्यो मुलुक पतनको संघारमा छ भन्ने बुझे हुन्छ।
सानो घेरामा रमाउनेहरुले नै आफ्नालाई बढी महत्व दिने हुन्।

चाहे सरकार होस्, चाहे पार्टी हुन्, चाहे अन्डरवल्र्ड वा माफिया हुन्, तिनको शक्तिको कारण उनीहरुमाथिको ‘लोयल्टी’ अर्थात् निष्ठा हो। र, यो निष्ठा विविध स्वरुपमा देखिन्छ। मूल विशेषता चाहिँ यसले कहिल्यै प्रश्न गर्दैन। जतिसुकै हार बेहोर्नु परोस्, नेपोलियनका सेनाले भन्थे, ‘नेपोलियन इज् अल्वेज राइट्।’

तर जब हरकोही ‘यु आर अल्वेज् राइट्’को नारा घन्काउन थाल्छन्, टेकिएको धरातल कहाँनेरबाट पहिरो जान्छ भन्न सकिन्न। अहिले हरकोही ‘यु आर अल्वेज राइट्’को सेल्फीमा रमाइरहेका छन् र ‘यु आर रङ हेयर’ (तिमी यहाँनेर गलत छौ) भन्ने आवाज भने सुन्न तयार छैनन्।

निष्ठाको मूल्य
कुनै पनि युद्ध लडिएको उद्देश्य वा वादका कारण जितिने होइन, त्यसमा सामेल निष्ठाका कारण जितिन्छ। अर्थशास्त्री डोरा कोस्टा र म्याथ्यु कानले गरेको एउटा शोधले विविध गृहयुद्धहरुको अध्ययनपछि लेखेका छन्, ‘सामूहिक निष्ठा वा स्वामीभक्ति कुनै सिद्धान्तभन्दा दोब्बरले महत्वपूर्ण हुन्छ अनि नेतृत्वभन्दा छ गुणाले।’

त्यसैले त कटिबद्ध पार्टीका कार्यकर्ताले कुनै पनि विषयले देशको हित गर्छ कि गर्दैन भनेर कहिल्यै बहस गर्दैनन्, पार्टीको हित केमा हुन्छ, त्यो मात्र हेर्छन्।

सबैलाई थाहा छ, यसले मुलुकको भलो गर्दैन तर पनि उनीहरु ती व्यक्ति वा पार्टीप्रति यति कटिबद्ध हुन्छन् कि आफ्नै मुलुकमाथि गद्दारी गर्न रत्ति डराउँदैनन्।

दोस्रो विश्वयुद्धका बेला जुन उद्देश्य र सिद्धान्तका लागि युद्ध लडिएको थियो, त्योभन्दा लडाकुहरुमा सामूहिक निष्ठा तीन गुणा बढी महत्वपूर्ण मान्थे। त्यस्तै सैन्य नेतामाथि भन्दा चौध गुणा बढी भरोसा सामूहिकतामा विश्वास गर्थे।

भनाइको अर्थ, अहिले हामी यस्तो अनिश्चयको युद्धमा छौँ कि देशभन्दा ठूलो पार्टी बन्न पुगेको छ। पार्टीभन्दा ठूलो कुनै अमूक नेता र नेताभन्दा आफ्नो स्वार्थ समूह।
यस्तो त्यो बेला हुन्छ, जुन बेला चारैतिर अस्तव्यस्त, अनिश्चय र आफ्नो कुनै भविष्य देखिँदैन।

त्यसैले त पार्टीमै आबद्ध भएका संघसंस्थाले पनि यातायात सिन्डिकेट तोड्न पार्टी र सरकारलाई सघाएनन्। देशमा पार्टी र नेता भन्दा सामूहिक संघसंस्था बलियो हुनुको कारण यही हो। देश युद्धको स्थितिमा छ, अनिश्चय र निराशाबाट गुज्रिरहेको छ।

यो हाहाकार, अनिश्चय र निराशाबाट उम्कने कुनै उपाय छ ? अवश्य छ। त्यसका लागि अब्राहक लिङ्कनको जस्तो विशाल हृदय चाहिन्छ। जसले आफ्ना प्रखर विरोधीलाई मन्त्रिमण्डलमा महत्वपूर्ण पद दिलाएका थिए। जब कसैले उनलाई सोधे, ‘तपाईंले प्रखर विरोधीलाई ठाउँ दिनुभयो नि ?’
उनको उत्तर थियो, ‘मैले ठीक गरिरहेको छु भन्ने साथीहरुबाट थाहा पाउँछु तर कहाँनेर र कसरी गलत भइरहेको छ भन्ने चाहिँ दुस्मनबाट।’

हाम्रो नेतृत्व ‘अँरिगाल’को साथमा रमाइरहँदा (त्यो आवश्यक पनि छ), घनघोर विरोधीका कुरा सुनेर सच्चिने र सच्चिएका दिन देश सही बाटोमा हिँड्नेछ। र, यो कुरा नेकपाको सरकारको सन्दर्भमा मात्र लागू हुँदैन, नेपाली कांग्रेस वा जुनसुकै वादको सरकारको पालामा पनि लागू हुन्छ।

Leave A Comment