ज्यानले गर्ला त कमाल ?

शुक्रबार, १० असोज २०७६, ०२ : ०२ शुक्रवार
ज्यानले गर्ला त कमाल ?

धेरै फिल्ममा पातलो ज्यान भएका हिरोका रुपमा चिनिएका प्रदीप खड्काले सबैको मुख बन्द गरिदिएका छन्। उनले ‘प्रेम गीत ३’का लागि बडो खाइलाग्दो ज्यान बनाइरहेका छन्। लिखुरे हिरो भनेर दर्शक तथा शुभचिन्तकको आरोप खेप्दै आएका प्रदीपले अब भने कुरा काट्नेको मुख थुनिने दिन आउँदैछ।

लाइनै फिल्महरु फ्लपिँदा फ्लप हिरोको ट्याग लागेपछि चिन्तामा परेका प्रदीपलाई एउटा सुपरहिट फिल्मको कति आवश्यकता छ भन्ने त उनलाई नै थाहा छ।

हुन त हरेक फिल्ममा मिहिनेत गरेको छु भने पनि मिहिनेत गरेको फिल्मले फल दिन सकेको छैन। तर यसमा उनको दोष पनि के छ र ? उनले त फिल्म खेल्ने हो, फ्लप या हिट बनाउने उनले होइन। दर्शकले नै नपत्याएपछि कसको के लाग्छ र ? त्यसमाथि जस्ता कन्टेन्टमाथि फिल्म बनेका छन्, त्यसलाई भरपर्दो बनाउने जिम्मा उनी एक्लैको पनि होइन क्यार !

ज्यान रहे, जहान (संसार) छ भन्ने एउटा उखानै छ क्यार ! त्यसैले उनले यतिबेला ज्यान बनाउन लागिपरेको खबर चुहिएको छ। अब उनको ज्यान हेर्न दर्शक आउने हुन् कि फिल्मको विश्वासिलो र मनोरञ्जक कन्टेन्ट ! त्यसका लागि त केही समय कुर्नै पर्ने भो बा !

Leave A Comment