भाइरलको टेकोमा संगीतकार

शनिबार, ११ असोज २०७६, ०२ : ३५ शुक्रवार
भाइरलको टेकोमा संगीतकार

बाल शोषण कि उद्धार ?
धादिङकी ११ वर्षीया कमला घिमिरे यतिबेला सामाजिक सञ्जालमा छाइरहेकी छन्। उनको गायन कलाले युट्युबका दर्शक तानेपछि लोकसर्जक अमृत सापकोटा काठमाडौं–धादिङ गरिहेका छन्। भाइरल बाबा अनि रवि लामिछानेको केस सामसुम भएर ट्वाँ परेका युट्युबरका लागि उनी राम्रो मसला बनिरहेकी त छन् नै, भाइरलको भरमा आफ्नो संगीतयात्रा अगाडि बढाउन चाहनेहरुले पनि हानाथाप गरिरहेका छन्, उनको गीत रेकर्ड गर्न।

बिरामी हुँदासमेत उनले नगाई बस्न धर पाएकी छैनन्। ११ वर्षीया बालिका काठमाडाैं–धादिङ गरिरहेकी छन्, हप्तैपिच्छे। उनी एक साता अगाडि धादिङबाट काठमाडौं आएकी थिइन्। त्यो बेला उनी बिरामी थिइन् तर युट्युबरले छाडेनन्, घेरिरहे, गीत गाउन लगाइरहे।

धादिङबेसीको पशुपति माविमा कक्षा ६ मा पढ्दै गरेकी उनको अहिले परीक्षाको समय हो तर घर बसेर मज्जाले पढ्न पाएकी छैनन्।

लोकगायक अमृत सापकोटा उनलाई डो-याएर हिँडिरहेका छन्। वर्षौं दोहोरी गाउँदा पनि छायाँमा परेका उनी बालिका कमलाकै कारण चर्चामा छन् अहिले।
चर्चामा आउनु नराम्रो हैन। तर कुन उमेरमा र कसरी ? त्यो भने महत्वपूर्ण हो।
प्रतिभाको सम्मान गर्दै बालबालिकालाई उचित प्रशिक्षण दिएर भविष्यको बलियो तयारी गरिदिए राम्रै हो। कमलाभन्दा पहिला सामाजिक सञ्जालमा भाइरल भएर अहिले गुमनाम हुँदै गएकाहरुको अवस्था हेर्दा बालबालिकाको गलाको कलालाई निखार्न सघाउनु भन्दा पनि सामाजिक सञ्जालमा चलुञ्जेल साथ दिने, छायाँमा पर्न थालेपछि छाडिदिने घटना बढेका छन्।

टंकको पासोमा अशोक
झापाका अशोक दर्जी कुनै समय कमलाझैँ भाइरल थिए। उनीबारे युट्युबमा जे सामग्री आए पनि भ्युज लाख पारि जान थालेपछि उनको अन्तर्वार्ता बजाउने प्रतिस्पर्धा नै चल्यो। संगीतकार तथा गायक टंक बुढाथोकीको नजर उनीमाथि प-यो, जसरी अहिले गायक सापकोटाको नजर परेको छ, कमलामाथि।

भाइरल भएका दर्जीलाई बुढाथोकीले काठमाडौँ ल्याएर गीत रेकर्ड गराए। उनका गतिविधि भिडियो बनाएर आफ्नै युट्युब च्यानलमा राख्न थाले। ‘मन बिनाको धन ठूलो कि’ बोलको गीत रेकर्ड भयो पनि, जसमा अशोकको कच्चा स्वर प्रस्टै सुनिएको थियो।

उमेरअनुसार नियमित शिक्षा र प्रशिक्षण पाउने हो भने उनी भविष्यमा राम्रो कलाकार बन्न सक्ने खुबी देखिएकै थियो। उनको परिवारका लागि घर कसले बनाइदिने भन्ने प्रतिस्पर्धा पनि चल्यो। अशोकलाई कसले राख्ने भनेर झगडै भयो।

अहिले उनी गुमनाम बराबर छन्। कहाँ छन् ? उनको सांगीतिक यात्रा कस्तो छ, युट्युबमा अपडेट सामग्री फेला पर्दैनन् किनभने अशोक युट्युबर र बुढाथोकीकै लागि दर्शक तान्न नसक्ने भइसके।

सोधखोज गर्दा उनी अहिले काठमाडौँको तीनकुनेमा रहेको एप्पल इन्टरनेसनल स्कुलमा युकेजीमा पढिरहेका भने खुल्यो। सांगीतिक यात्रा ठप्पै छ उनको।

पोखराकी समीक्षा अधिकारी पनि कुनै बेला युट्युबमा खुबै हिट थिइन्। उनको क्रेज देखेर संगीतकार वसन्त सापकोटाले उनलाई काठमाडौं ल्याए। फिल्मको गीत पनि गाउन लगाए। ‘नाइ नभन्नु ल ५’ मा बालापनको उमेर बोलको गीत चल्यो पनि। गीत गाउन लगाए पनि पारिश्रमिक नदिएको खुलेपछि विवाद शुरु भयो।

उनको गायन कला देखेर अन्य संगीतकारले पनि गीत गाउन अफर गर्न थाले। तर वसन्तले आफ्नो एकल हकझैँ व्यवहार गरेर उनलाई आफूबाहेक अन्यको गीत गाउन रोकेपछि खटपट बढेको थियो।

अहिले उनी वसन्तकै संगीतमा गीत गाइरहेकी छन्। अशोकभन्दा केही सक्रिय छिन् उनी। उनले बालगीतसँगै केही फिल्मी गीत पनि गाइन्। अहिले पनि उनी वसन्तबाट बाहिर आउन भने सकेकी छैनन्। वसन्तले झापाकी  १७ वर्षीया रचना रिमाललाई समेत काठमाडौं ल्याएका थिए।

सहयोगको आवरणमा शोषण
सामाजिक सञ्जालमा भाइरल भएका बाल प्रतिभालाई स्थापित भएका र स्थापित हुने संघर्षमा रहेका गायक र संगीतकारले प्रारम्भमा सहयोग गरेझैँ गर्ने गरेको देखिन्छ।

केहीले इमान्दारीपूवर्क ती बालबालिकाको प्रतिभा निखारेर राम्रो कलाकार बन्ने बाटो देखाइदिने पनि गरेका छन् तर अधिकांशको नियत भने चलुञ्जेलसम्म युट्युबमा चलाउने, चल्न छाडेपछि अलपत्र पार्ने गरेको पनि देखिन्छ। अशोकको हकमा यो धेरै लागू भएको देखिन्छ। पारिश्रमिकै नदिई गीत गाउन लगाउने संगीतकार सापकोटाको नियत पनि सफा भने देखिएन।

संगीतकार सापकोटा भने आफूले समीक्षाको शोषण नगरी गीत गाउने अवसर दिएको दाबी गर्छन्। ‘मैले कसैको प्रतिभालाई बाहिर ल्याउनु र आम जनमानसमा चिनाउँदा गर्व महसुस गर्नुपर्ने हो,’ उनको तर्क छ।
रचना अहिले बानेश्वरको रत्नराज्य स्कुलमा कक्षा ११ मा पढिरहेकी छन्।

संगीतकार बुढाथोकी त प्रारम्भदेखि नै अशोकको उद्धार गरेको दाबी गर्छन्। उनको क्रेज रहेको बेलामा आफू र आफ्नो छोरालाई समेत सञ्जालमा हिट गराउने अभ्यास गरेका उनी बाटोमा गाउँदै हिँडेको बच्चालाई काठमाडौँ ल्याएर गीत रेकर्ड गराएर चर्चामा ल्याइदिएको र अहिले स्कुल पढाइदिएकाले शोषण गरेको भन्न नमिल्ने तर्क गर्छन्।

‘उसले र मैले गाएको गीतहरु हिट पनि छन्,’ उनले भने, ‘उसले गर्दा म हिट भएको भन्ने आरोप पनि लागेको छ। जसले जसरी बुझे पनि हुन्छ।’
अन्य कसैले गीतको अफर गरे मात्रै हैन, लगेर पाल्छु भने पनि अशोकलाई पठाउन आफू राजी भएको टंकको तर्क छ।

कमलाको भाइरल यात्रा
धादिङकी कमला गत भदौमा जिल्लामै भएको तीज कार्यक्रममा सहभागी भएकी थिइन्। सो कार्यक्रममा गाउँकी एक दिदीले ‘कमलाले राम्रो गीत गाउँछिन्’ भनेर दोहोरी गायक तथा कार्यक्रमका निर्णायकसमेत रहेका स्थानीय सञ्चारकर्मी तथा लोक गायक अमृत सापकोटालाई भनेकी थिइन्।

अमृतले ती बालिकासँग दोहोरी गीत गाए। उनले गलबन्दी भाकामा रमाइला तुुक्का प्रयोग गरेर गाएको सामाजिक सञ्जालमा आएपछि धेरैको ध्यान तानियो। कमलाले गीत गाएको भिडियो अमृतले नै खिचेर आफ्नो युट्युब च्यानलमा राखेका थिए। दोहोरी भाइरल भइहाल्यो।

त्यसपछि शुरु भयो युट्युब च्यानल सञ्चालकको ताँती लाग्नेक्रम। कार्यक्रम चलाउन भाइरलको भर पर्दै आएको मेरी बास्सैले उनलाई हास्य टेलिसिरियलमा पनि खेलाइसक्यो। गायक राजु परियार कमलालाई आफ्नो कार्यक्रममा हिँडाउने योजनामा छन्।

Leave A Comment