निर्देशक कुमार भट्टराईले हैरान छन् अहिले। हैरानीको कारण हो, उनले निर्देशनको तयारी गरेको फिल्म ‘दासढुङ्गा २’ को अनुमतिपत्र नपाउनु। फिल्मको सबै तयारी सक्किइसक्यो तर चलचित्र विकास बोर्डमा गएर अनुमति अड्कियो। अनुमति पाउन चार महिनादेखि दौडधुप गरिरहेका छन् तर उपलब्धि शून्य। कतै आक्रोशित, कतै रोदनका साथ फिल्म निर्माणको अनुमति माग्दै हिँडिरहेछन्। दासढुंगामा भएको एमालेका तत्कालीन महासचिव मदन भण्डारीको मृत्युलाई केन्द्रमा राखिएको फिल्ममा सत्ताको स्वार्थ बाझिदा पीडामा परेका भट्टराईसँग ‘दासढुङ्गा २’का प्रकरणमा केन्द्रित भएर शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंग संवादः
‘दासढुंगा–२’ ले चार महिनादेखि निर्माण अनुमति नै पाएन। किन होला ?
हामीले गत चैतबाट तयारी गरेका हौँ। पहिला फिल्मको आइडिया तयार पा-यौँ। त्यो बेला के भएको थियो ? प्रमाण, आयोगको प्रतिवेदन अध्ययनपछि मदन भण्डारीसँग सम्बन्धित सक्रिय नेतासँगको सहकार्यमा फिल्म बनाउने निर्णय भयो। पहिलो चरणको काम सकेपछि जेठ २ गते चलचित्र विकास बोर्डमा फिल्म दर्ताका लागि पठायौं। पहिलेको ‘दासढुङ्गा’लाई पनि दर्तामा केही समस्या नभएकाले त्यही युनिटले फिल्म बनाउँदा अवरोध होला भन्ने लागेन। हामीले हाम्रो काम थाल्यौँ। म लेख्न बसेँ। कलाकार भेट्न थालेँ। रिसर्च टिम नेताहरु भेटेर अन्तर्वार्ता लिँदै थियो। विकास बोर्डले अरु बेला फिल्मलाई २४ घण्टामा स्वीकृति दिन्थ्यो तर यो भने रोकियो। साउनतिर फिल्मको दर्ता के भयो भनेर बुझ्न खोज्दा फिल्मको अनुमति नै रोकिएछ।
अनि ?
यो कसैको जीवनमाथि बन्न लागेको फिल्म थियो। पहिला पनि यस विषयमा फिल्म बनेकाले निर्माण नै रोकिएला भन्ने त लाग्दै लागेन। निर्माण अनुमतिमा ढिलाई भए पनि फिल्म बनाउनै नदिने षडयन्त्र भइरहेको होला भनेर त सोच्दै सोचिएन। भ्रम फैलाउने गरी फिल्म लेखेकै थिइनँ तर बोर्डले यस्तो फिल्म दर्ता गर्न मिल्दैन भन्ने कुरा गरेछ। छक्क परेँ। फिल्म बनाउने अनुमति पनि नदिने अनि भेट्न पनि नभेट्ने गर्न थाले बोर्ड अध्यक्ष केशव भट्टराईले। भदौबाट फिल्म छायाँकनमा जानुपर्ने थियो। त्यसैअनुसार कलाकारहरुसँग समय लिइसकेको थिएँ।
भदौ लाग्दा पनि अनुमति नआएपछि हतोत्साही नै भएँ।
बोर्डका अध्यक्षले अहिलेसम्म भेटेकै छैनन् ?
बोर्ड अध्यक्षले बाहिर अन्टसन्ट अन्तरर्वार्ता दिँदै हिँडेछ अब यो फिल्म बन्दैन भनेको सुनेँ। त्यसपछि उहाँलाई भेट्न गएँ। उहाँ त रिसाएर प्रस्तुत हुनुभयो। मबाट फिल्म दर्ता हुँदैन भन्नुभयो। मदन भण्डारी फाउन्डेसनबाट आपत्ति आएको रहेछ ! यस्तो हो भने त बोर्डले सहजीकरण गर्नुपर्ने हो नि ! सहजीकरण गर्न आग्रह गरेँ तर उहाँ त दर्ता गर्न मिल्दैन भनेरै बस्नुभयो। चार महिना भइसक्यो। अहिलेसम्म विकास बोर्डले हामीलाई अपराधीजस्तो व्यवहार गरिराख्नु भा’को छ। टिम लाखापाखा लागिसक्यो। फिल्मलाई त बन्नुअघि नै सेन्सर भयो।
प्रि–सेन्सरसीप भयो हैन ?
फिल्म दर्ताका लागि फिल्मको दुई पानाको सिनोप्सिस (कथासार) दिएर पठाएका थियौँ। तर खै कैँची लगाइदिए। सिस्टमसँग व्यक्ति असन्तुष्ट भयो भने कविता लेख्न पाउनुपर्छ, गीत लेखिन पाउनुपर्छ, फिल्म पनि बनाउनुपर्छ। बोल्न खोज्नेको मुख थुनिदिएर, सही र गलत के हो छुट्याउन सक्ने आँखा थुन्देर सत्ताको राम्रो मात्र आओस् भन्ने व्यवहार लोकतन्त्र सुहाउँदो पक्कै हैन।
भदन भण्डारीको श्रीमती अहिले राष्ट्रपति हुनुहुन्छ। हिजो त्यो घटनाको पार्टीले अनुसन्धान गर्दा नेतृत्व गर्नुभएको व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ। यो बेलामा पनि यो रहस्यको पर्दा खुलेन भने कहिले खुल्छ ? ए हजुर, तपाईँहरुले अहिले पनि शक्तिशाली आयोग नबनाए कहिले भन्न पनि नपाउनु ?
राष्ट्रपति, प्रधानमन्त्रीलाई नै ‘दासढुंगा’को दोषी देखाएर फिल्म बनाउन लागेकाले रोकिएको हो भन्ने नि आयो। हो ?
बोर्डका अध्यक्ष केशव भट्टराईजीले केही ठाउँमा यस्तै भनेको सुनेँ तर मेरो अघिल्तिर त्यस्तो बोल्न सक्नुहुन्न। मदन भण्डारी त नेकपा एमाले पार्टीलाई भारी ऋण बोकाएर बित्नु भएको हो। उहाँको ठूलो योगदान छ कम्युनिस्ट राजनीतिक आन्दोलनमा। हो, मैले उहाँहरुको नाम लिएर प्रश्न गरेको छु, अन्त्यमा। यो घटना कहीँ नपुगेपछि नेपालमा पनि सुनौलो भविष्य आउला भन्ने लाइन छ, कथासारमा। अहिले हामी अँध्यारोमा छौँ, कुनै दिन आशाको किरण भेटिन्छन् भन्ने भाव छ। तर बोर्ड अध्यक्षले पार्टीको नाम तोक्यो भन्दै हिँड्नु भएको रहेछ। तर, मैले हत्यारा शब्द कहाँ लेखेको छु ?
भदन भण्डारीकी श्रीमती राष्ट्रपति हुनुहुन्छ। हिजो त्यो घटनाको पार्टीले अनुसन्धान गर्दा नेतृत्व गर्नुभएको व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ। यस्तो बेलामा पनि यो रहस्यको पर्दा खुलेन भने कहिले खुल्छ ? ए हजुर तपाईँहरुले अहिले पनि शक्तिशाली आयोग नबनाए कहिले त भनेर उहाँहरुको नाम लेखेको छु। मैले त्यसरी भन्न पनि नपाउनु ? तर बोर्ड अध्यक्ष भट्टराईले नै बाहिर एन्टि–दासढुङ्गा मुभमेन्ट चलाइराख्नु भा’छ।
दासढुंगा घटनालाई कसैले हत्या भन्छन्। कोही दुर्घटनालाई राजनीतिक रङ दिइयो भन्छन्। यस्तो विवादितमा फिल्म बनाउन कडा रिसर्च चाहिन्छ। के–के रिसर्च गर्नुभयो ?
पहिलो चरणको काम मदन भण्डारीसम्बन्धी किताब नै हो। त्यो संकलन र अध्ययन ग-यौँ। घटनाको बेला अन्तर्राष्ट्रिय छापामा के आए ? खोज्यौँ। बाहिरका राजनीतिज्ञले लेखेका किताब पनि पढ्यौँ अनि अधिकारकर्मीको डकुमेन्ट हे-यौँ। मार्टिन चौतारीमा सरकारले गठन गरेका विभिन्न आयोगका प्रतिवेदन रहेछन्। त्यो अध्ययन ग-र्यौं। अमर लामाले अन्तिम दिन छापामा बोलेको कुरा, मदन भण्डारी प्रतिष्ठानले वार्षिकीमा छापेको किताब पढ्यौँ। नेपाली कम्युनिस्ट आन्दोलनका सक्रिय सबै नेताहरुसँग अन्तर्वार्ता ग-यौं। अन्य पार्टीका नेतासँग पनि भिडियो अन्तरर्वार्ता लियौँ। मदन भण्डारीको व्यक्तिगत जीवन, राजनीतिक सिद्धान्त अध्ययन ग-यौँ। उहाँको गृहजिल्ला गएर आनीबानीबारे अध्ययन ग-यौं। सम्भव भएसम्मको सबै पाटो र पक्षमा पुगेका थियौं।
सरकारले गठन गरेको आयोगको प्रतिवेदनमा चित्त नबुझाएर तत्कालीन एमालेले केपी ओलीको नेतृत्वमा समिति गठन गरेको थियो। त्यो प्रतिवेदन पढ्नुभयो ?
अहँ। प्रतिवेदनै सार्वजनिक गरेको रहेनछ।
जसले यो हत्या हो भने उनीहरुकै प्रतिवेदन किन लुकाएको होला ?
त्यो घटना हुँदा म बच्चै थिएँ (मुसुक्क हाँस्दै) तर मेरो परिवार राजनीतिमा भएकाले घरमा छलफल हुँदा केही आइडिया भने थियो। स्नातकमा एक पेपर पोलिटिकल साइन्स पनि गरेँ। मलाई ती कुराले तान्थ्यो। ओली नेतृत्वको समितिको प्रतिवेदन किन सार्वजनिक गरिएन ? यो मेरो पनि प्रश्न हो।
‘दासढुङ्गा’ तत्कालीन एमालेले भनेझैँ देशी–विदेशी शक्ति सहभागी भएर गराइएको षड्यन्त्रपूर्ण हत्या हो कि तत्कालीन सरकारले भनेझैँ दुर्घटना हो ?
यो अचम्मको विष्मयकारी घटना हो। मैले विष्मयकारी किन भनेँ भने, यो अहिले पनि दुविधाको अवस्थामा छ। घटना घटेको यत्रो वर्षपछि पनि न यसलाई हत्या भन्न सकिने अवस्था छ, न दुर्घटना। तत्कालीन एमालेका नेताहरु अहिले पनि यसलाई दुर्घटना मान्न तयार हुनुहुन्न। हत्या हो भन्ने आधार पनि छैन। घटनाका एक मात्र जीवित प्रत्यक्षदर्शी अमर लामा पनि रहस्यमय रुपमा मारिए। त्यो पनि तत्कालीन माओवादीबाट। यो रहस्यको पर्दा अमर लामाबाट खुल्न सक्थ्यो। उनको सुरक्षा राज्यको जिम्मेवारी पनि थियो तर हुन सकेन। अमर लामाको रहस्यमय हत्या हुँदा एमाले बोल्नुपर्ने हो नि ! तर मौन बस्यो।
पुराना नेताले रहस्यलाई नै राजनीतिक मुद्दा बनाए। अहिलेका युवा नेता पनि त्यही रहस्यलाई नै मुद्दा बनाउन लागिरहेका छन्। दुर्घटना हैन भने किन हैन, हो भने किन हो बोलिदिने सबै पक्ष मौन छन्। हरेक वर्ष मदन भण्डारी स्मृति दिवसमा हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने दाबी आउँछ तर कहिल्यै अनुसन्धान हुन्न। त्यसैले राज्य जसरी अन्योलमा छ, म पनि अन्योलमै छु।
अमर लामाको हत्यालाई तपाईंले कसरी हेर्नु भएको छ ?
एउटा गम्भीर राजनीतिक घटनाका साक्षी अमर लामा कालगतिले मरेका हैनन्। सफाया नै गरियो एक दलबाट। दासढुंगा दुर्घटनामा उनलाई भिलेनका रुपमा प्रस्तुत गरियो। अदालतबाट सफाई पाएर उनी सार्वजनिक जीवनमा फर्कदै थिए। यस्तो अवस्थामा उनको हत्या गरियो, राजनीतिक दलको आवरणमा। ठूलो रहस्य आफैंसँग लिएर बिलाएर गए, अमर लामा। त्यत्रो ठूलो घटनाका साक्षी लामालाई किन मार्नुप-यो ? पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन एमालेले सोध्नु पर्ने हो नि !
अहिलेको सत्तालाई ‘दासढुंगा’बारे के समस्या रहेछ ? फिल्म नै बनाउनु नहुने के समस्या देख्नुभयो ?
खै, छक्क पर्ने पाटो यही त हो ! बोर्डका अध्यक्षसँग हामीले १५/१६ मिनेट कुरा ग-यौं यहीबारे। तर उहाँ अनुमति दिन समस्या के भन्दा पनि अन्टसन्ट कुरा गर्न थाल्नुभयो। उहाँ पड्केको पड्कै ! रौद्ररुपै देखाउनु भयो। तर किन यत्ति साह्रो रिसाएको हो ? भेउ नै पाइएन। उहाँ त नेपाली फिल्म क्षेत्रको अभिभावक हैन ? उहाँले हाम्रो कुरा सुन्नु पर्दैन ? सहजीकरण गर्नुपर्ने पदाधिकारीले ‘म राज्यबाट नियुक्ति लिएर आएको व्यक्ति तिमीहरुको फिल्मको पक्षमा किन लबिङ गर्छु ?’ भन्दा त हामी छक्कै प-यौं। निर्माताले फिल्मबाट केही हटाउनुपर्ने हो भने हटाउँछु पनि भन्नु भयो। तर, उहाँले अहिलेको सरकारको प्राथमिकतामा पर्दैन यो र यस्ता फिल्म, जुन दिन बनाउनु पर्ला जस्तो लाग्छ त्यो दिन दर्ता हुन्छ पो भन्नुभयो !
उहाँ मेरो नातेदार पनि पर्नुहुन्छ। उहाँले रिसाउँदै यस्तो फिल्म किन बनाउँछौ, ‘जात्रा’ जस्तो फिल्म बनाऊ न, भनेर हप्काउनु भयो। त्यो कुरा म कहिले पनि बिर्सन सक्दिनँ। उहाँले मेरो बेइज्जत नै गर्नुभयो। बोर्डको अध्यक्षले एउटा फिल्म मेकरलाई तँ यस्तो गर्, यस्तो नगर् भन्न मिल्छ ? के अब ‘छक्कापञ्जा’, ‘जात्रा’ जस्ता फिल्म मात्र बनाएर बस्नु पर्ने हो ?
साह्रै दुःख दिएछन् है ?
कुरै नगर्नुस्। म भावनात्मक रुपले नै पीडित भएको छु। मसँगै काम सुरु गरेको साथीहरुको फिल्म रिलिज भएर कहाँबाट कहाँ पुगिसक्यो ! तर मेरो फिल्म दर्तासमेत हुन पाएन। सोच्दा पनि फ्रस्टेट हुन्छु। मेरो कन्फिडेन्स नै हरायो। यो चार महिनामा फिल्म क्षेत्रबाट पनि कसैबाट सहयोग भएन। मनोज पण्डितले साथ दिनुभयो। अरु बोल्दा पनि बोलेनन्। एउटा राम्रो फिल्म बनाउने मुड थियो, अहिले डिमोटिभ भा’छु। रुँदै हिँड्नु परेको छ। एमाले नेताको अगाडि गिडगिडानु परेको छ। (आँखा हल्का रसाउन थाल्यो।)
यी कुराले परिवारमा कत्तिको असर ग-यो त ?
परिवारलाई पनि तनावै भयो नि ! मेरो परिवार झापामा हुनुहुन्छ। अहिलेको वर्तमान प्रधान्मन्त्री खड्काप्रसाद ओली र हाम्रो बसोबास धेरै टाढाको होइन। हामी एउटै क्षेत्रका हौँ। मेरो बुवा धनबहादुर भट्टराई पनि राजनैतिक र सामाजिक रुपले क्रियाशील हुनुहुन्छ। उहाँ अर्कै पार्टीको हुनुहन्छ। त्यही भएर उहाँलाई नचिन्ने भन्ने कुरै आएन। तपाईँको छोरा यस्तो किसिमको फिल्म बनाउँदै रहेछ, नबनाए हुन्थ्यो भनेर घरसम्मै कुरा पुगेछ। एक किसिमको धम्की नै सहनुप-यो परिवारले। अहिले त परिवारबाटै यो फिल्म छोड्दे भन्नुभएको छ। उहाँहरु धेरै आत्तिनु भएको छ। बुबासँग हिजै कुरा भा’को थियो। उहाँले त्यो फिल्म बनाउने भनेर आशै नगर्, खुरुक्क घर आइज भन्नुभा’छ।
अब फिल्म छोड्ने नै हो त ?
हो (गम्भीर भावमा)। सकिएन बनाउन। फिल्म बनाउन छाड्न तीन कारणले निर्णय गर्न पुगेँ। पहिलो, पहिला यो फिल्म बनाउन जुन ऊर्जा थियो अहिले त्यो फिटिक्कै छैन। दोस्रो, फिल्म बनाउन एउटा टिम चाहिन्छ। मेरो टिम तितरबितर भइसक्यो। तेस्रो, फिल्म बनाउन लाग्दा परिवारलाई नै थ्रेट हुन थालेपछि बढी चिन्ता लाग्ने रहेछ। त्यसैले सम्भवतः १०० मा ९९ प्रतिशत म यो फिल्म बनाउँदिन अब।
(कुमारले फिल्म छोड्ने कुरा गर्दैगर्दा, कुमारको छेउमा रहेका निर्माताले लामो सास फेरे)।
नबन्दै यस्तो छ (हाँस्दै) ! बनिसक्दा फेरि रोकिदेला, म पटक–पटक फाइट गर्ने अवस्थामा छैन अब।
अनुमति पाउनुभयो भने ?
अहिले यो फिल्म गरिहाल्छु भन्ने आँट नै बटुल्न सक्दिनँ।
सत्तासँग हार्नु भयो त्यसो भए ?
लड्दा कुन लेभलमा, कस्तो अधिकारसँग लड्दै हुनुहुन्छ भन्नेले अर्थ राख्छ। मलाई अहिलेको वर्तमान न्याय प्रणालीमा पटक्कै विश्वास छैन। न्यायपालिका प्रणालीलाई पनि छेड्खानी देखाउन सकिँदो रहेछ। ठूला–ठूला भ्रष्टाचारका काण्ड, राज्य मुछिएको काण्डमा हामीले अपेक्षा गरे भन्दा फरक नतिजा आउँछ। सत्ताबाट प्रभावित छ। फिल्मका लागि लडेँ–लडेँ तर परिणाम विपरीत आयो भने के गर्ने ? मलाई ३/४ वर्ष नै यही फिल्मको केसमा तानिदेलान्। अनि म यसमै अड्केर बस्ने त ? चलचित्रसँग सम्बन्धित संघ संस्थाका पदाधिकारी मौन छन्। न निर्माता संघ बोल्छ न निर्देशक समाज नै, न कलाकार संघ बोल्छ। आज मलाई पर्दा सबै मौन बसे। भोलि उनीहरुले पनि यस्तै भोग्नु पर्दैन भन्न सकिन्न। एकजना व्यक्ति राज्यसँग लड्छु भनेर लड्न सक्दैन। लडेर जित्छु भन्ने त्यो आत्मविश्वास पनि अब मसँग छैन। यस्तैलाई भोट दिएर सत्तामा पठाएछु। आज तिनैले मलाई यस्तो गरे।
Leave A Comment