सोमबार बेलुका करिब ७ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा गोपालप्रसाद पाण्डेय भेटिए। उनी सिनियर अहेब हुन्। तर उनी न त हवाईजहाज चढेर नै जान लागेका हुन न आएका नै। उनी त त्यहाँ ‘हेल्थ डेस्क’ को संयोजकको रुपमा ड्युटीमा खटिएका थिए। उनको काम हो–नेपालमा ल्यान्ड गरेका यात्रुमा इबोला संक्रमणको लक्षण छ वा छैन भनेर निक्र्योल गर्ने।
विमानस्थलको हेल्थ डेस्कमा पाँचजना सिनियर अहेब कार्यरत रहे पनि सोमबार बेलुका भने ड्युटीमा पाण्डेय एक्लै थिए।
‘तीन सिफ्टमा ड्युटी हुने भएकाले दुई सिफ्टमा २/२ जना पर्छन्,’ संयोजक पाण्डेयले भने, ‘आज म एक्लै परेँ।’ विमानस्थलमा पहिला हेल्थ डेस्क थिएन। अफ्रिकन मुलुकमा इबोलाको महामारी फैलिएसँगै विमानस्थलबाट नेपाल भित्रिनेमा इबोलाको प्रभावको परीक्षण गर्न ‘हेल्थ डेस्क’ खडा गरिएको थियो। हेल्थ डेस्क इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारीमा छ।
करोडको मेसिन थन्किए
हेल्थ डेस्क त बन्यो तर न पर्याप्त कर्मचारी देखिए न पूर्वाधार नै। ‘हेल्थ डेस्क’का लागि आवश्यक संरचनाको अभावमा कर्मचारिले जेनतेन काम चलाइरहेको देखियो। उनीहरुको अहिलेको काम हो–‘विमानस्थल ल्याण्ड गरेका यात्रुको गन जस्तै ‘इन्फा–रे’ मेसिनले तापक्रम नाप्नु। यस्तो मेसिनले प्रत्येक व्यक्तिलाई नाप्नुपर्ने भएकाले झण्झटिलो हुने पाण्डेयले सुनाए।
एकै पटकमा धेरै यात्रुको तापक्रम मापन गर्न सकिने दुईवटा ‘थर्मल स्क्यानर’ उपयुक्त संरचनाको अभावमा थन्किएका रहेछन्। यी मेसिनले क्यामेराको फोकस बाहिरबाट आएका यात्रुको निधारमा पर्छ र शरीरको तापक्रम मापन गर्छ। तापक्रमको आधारमा सामान्यभन्दा बढी तापक्रम भएका व्यक्तिलाई ‘हेल्थ डेस्क’ मा परामर्श गरी रोगको लक्षण भएको वा नभएको थाहा पाउन सकिन्छ।
२०७२ मा विनाशकारी भूकम्प आउनु अघिसम्म यी स्क्यानर जडान गरिए पनि वातावरणअनुकूलको संरचना नभएपछि यात्रुमा तापक्रमको मात्रा बढी देखियो दुवै मेसिन प्रयोगविहीन भए। दुवै मेसिन ५०/५० लाख गरी एक करोडमा खरिद गरिएको थियो।
विमानस्थलमा ‘हेल्थ डेस्कका’लागि संरचना बनिरहेको र संरचना तयार हुनासाथ मेसिन सुचारु गर्न सकिने संयोजक पाण्डेयले दाबी गरे।
छैन जनशक्ति
अर्को समस्या देखियो कर्मचारीको। हेल्थ डेस्कमा आवश्यक कर्मचारी नै देखिएनन्। यस्तो हेल्थ डेस्कमा दक्ष जनशक्ति आवश्यक हुन्छ। विशेषज्ञ चिकित्सक, नर्सलगायतको टोलीको आवश्यक पर्ने भए पनि छैनन्। अहिले दुईवटा बेड मात्र छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालसमेत सेवाप्रति सन्तुष्ट देखिएनन्। सामान्यतः अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यको संयन्त्र हुन्छ। नेपालमा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ को स्थापना गरियो। तर अझै अस्थायी प्रकृतिकोे नै छ।
‘यो स्थायी प्रकृतिको हुनुपर्ने हो,’ निर्देशक डा. विवेकले भने, ‘स्थायी कर्मचारीको व्यवस्थापन हुनु पर्छ। दक्ष कर्मचारी हुन आवश्यक छ।’ तर नेपालमा भने त्यस्तो छैन। जेनतेन चलिरहेको छ।’
मुलुक संघीयतामा जानुभन्दा अघि काठमाडौंका जिल्ला स्वास्थ्य कार्यालय (काठमाडौं उपत्यकाका स्वास्थ्य कार्यालय) अन्तर्गतका कर्मचारीलाई काजमा ‘हेल्थ डेस्क’ मा खटाइएको थियो। विमानस्थल तथा स्थलगत रुपमा रहेको सीमा नाकामा खटिने कर्मचारीको स्थायी दरबन्दीसहितको संरचनाका लागि इपिडिमियोलोजीबाट फाइल उठाएर निर्णायार्थ मन्त्रालयमा पठाइएको भए पनि अहिलेसम्म त्यसको निर्णय भएको छैन।
निर्देशकका अनुसार अहिले जिल्ला स्वास्थ्य कार्यालय नरहेको अवस्थामा कतिपय केन्द्र र धेरैजसो स्थानीय तहका कर्मचारी ‘हेल्थ डेस्क’मा खटिएका छन्। स्थानीय तहले आफ्ना कर्मचारी फिर्ता बोलाउने अवस्था रहेकाले ‘हेल्थ डेस्क’ सञ्चालन नै चुनौतीमा देखियो।
रोग रोक्न डेस्क
हरेक वर्ष नाकामा रोग नियन्त्रणको पूर्व तयारीका बारे स्व मूल्यांकन गरी सदस्य राष्ट्रले विश्व स्वास्थ्य संगठनको महासभामा प्रतिवेदन पठाउँछ। विश्व स्वास्थ्य संगठनको समन्वयमा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञको ४/५ टिम आएर मूल्यांकन हुन्छ। त्यो टोली नेपालमा पहिलोपल्ट आउन लागेको छ। नेपालले सैद्धान्तिक निर्णय गरेर प्रक्रिया अघि बढिसकेकाले केही महिनाभित्र सो टोली आउने डा. विवेकले बताए।
सरकारले अन्तर्राष्ट्रिय विमानस्थलसँगै विभिन्न सीमा नाकामा ‘हेल्थ डेस्क’ राखेको छ। हवाई मात्रै हैन स्थलगत मार्गमा समेत हेल्थ डेस्क छ। इलामको पशुपति नगर, झापाको काँकडभिट्टा, विराटनगरको रानी भन्सार, रसुवाको रसुवागढी, कञ्चनपुरको डड्डा चौकी, भैरहवाको बेलिया नाका, नेपालगञ्जको जमुनाहा नाकामा ‘हेल्थ डेस्क’ छ।
इन्टरनेसनल हेल्थ रेगुलेशन–२००५ को सन्धिको नेपाल यसको पक्ष राष्ट्र हो। रोग कुनै एक देशबाट अर्को देशमा फैलिन नदिन नाकामा स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था छ। हरेक मुलुकले कुनै दुर्घटना, रोगको महामारीलगायतको विषयमा पूर्व तयारी र समन्वयका लागि यस्तो व्यवस्था गरिएको हो।
देखाउन मात्र हेल्थ डेस्क
युगाण्डा, केन्या, कंगो, दक्षिण अफ्रिका, सुडानलगायत १५ देशबाट नेपाल ल्याण्ड गरेका यात्रुको तापक्रम मापन गरी संक्रमण भए नभएको बारे फारम भरी जानकारी लिइन्छ। शंका लागे टेकु पठाइन्छ। ०७०/७१ तिर अफ्रिकन मुलुकमा इबोलाको संक्रमण भएको समयमा करिब १० जनामा इबोलाको शंका लागि स्वास्थ्य जाँच गर्न परामर्श दिइए पनि स्वास्थ्य परीक्षणमा संक्रमण देखिएन।
शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले विमानस्थलमा रहेका कर्मचारी हाइकाडेर बसेको देखिएको बताए। अहिलेसम्म कुनै पनि शंकास्पद संक्रमित हेल्थ डेस्कको परामर्शमा शुक्रराज अस्पतालमा स्वास्थ्य जाँचका लागि नआएको उनी बताउँछन्।
केही समय अगाडि नाइजरबाट आएका यात्रुलाई कर्मचारीले नाइजेरियाबाट आएको भन्ठानेर इबोलाको शंका लागी विमानस्थलबाटै फर्काइदिएका थिए। त्यस्ता संक्रमित शुक्रराज अस्पतालमा आए त्यहाँ बेडको व्यवस्था नभएको उनले जानकारी दिए।
चुनौतीको सामना
विमानस्थलमा इन्फ्लुएन्जालगायतका रोगको लक्षण पत्ता लगाउने उपकरण राख्ने वातावरण अनुकूल संरचनाको अभाव छ। उपकरणको समस्या नभएको निर्देशक लालले बताए। विश्वस्वास्थ्य संगठनलाई अनुरोध गरेर उपकरण मगाउन सकिने उनको तर्क छ। विमानस्थलमा थर्मल स्क्यानर भए पनि त्यसको प्रयोग गर्न सकिएको छैन। अहिले भने विशेषगरी अफ्रिकन देशबाट आएका यात्रुको लक्षणको आधारमा मौखिक परामर्श मात्रै दिने काम भैरहेको छ।
प्रशासनिक प्रक्रिया, समन्वय, प्राथमिकतामा नपरेको कारण पनि स्थायी रूपमा सेवा दिन सकिएको छैन। तर विश्वमा नयाँ–नयाँ रोग देखिएकाले अन्तर्राष्ट्रिय स्तरको मापदण्डसहितको ‘हेल्थ डेस्क’ आवश्यक रहेको विशेषज्ञ बताउँछन्।
स्थलगत रुपमा भने सेवा अत्यन्तै फितलो रहेको इपिडिमियोलोजीले बताएको छ। ‘स्थायी दरबन्दी सृजना नभएसम्म प्रभावकारी सेवा प्रवाह हुन सक्दैन,’ डा. विवेक भन्छन्, ‘अहिले सामान्य उपस्थिति जनाउने काम मात्रै भएको छ।’ प्रभावकारी सेवाका लागि फुकाउनुपर्ने गाँठो भनेकै स्थायी कर्मचारी र संरचना नै रहेको देखिन्छ।
Leave A Comment